भारु साट्न तीन घन्टासम्म लाइन

0
242

‘तीर्थाटनका लागि सात हजार भारु साटेको थिए । पाँच सय र हजारका नोट नचल्ने भएपछि यहाँ पैसा साट्न आएको । पाँच हजार साट्न आएको हुँ । दुई हजारमात्र बैंकले दियो । नपुग पैसा कसरी कहाँबाट पुर्‌याउने हो थाहा छैन । बुधबारसम्म पाँच हजार भारु साटिदिने भन्ने सुनेको थिए । बिहीबार दुई हजारमात्र साटिदियो,’ भारु साट्न नेपाल राष्ट्र बैंकको थापाथली कार्यालय पुगेकी बौद्धकी लमु लामाले भनिन् ।

Advertisements

‘गाडि रिजर्भ गरेर भारत बतकयामा कालचक्र पुँजामा जान भारु साट्न आएको हुँ । जनवरी ३ मा त्यहाँ ठूलो मेला लाग्दैछ । तिर्थ गर्न जान पैसा नहुँदा अलमल्लिएका छौं । यहाँ टिकट देखा भन्छ । गाडि रिजर्भ गरेर जानेसँग के टिकट हुनु । हामी मात्र होइन आठ जना अट्ने यस्तै ६० गाडि तीर्थाटनका लागि बौद्धबाट भारत जाँदैछन् । पैसा नपाइएला भनेर साट्न आएको,’ तीर्थाटनका लागि दश हजार भारु साट्न राष्ट्र बैंक आएकी टुसालकी छिरिङ शर्पाले भनिन्, ‘ दुई हजारले के गर्नु ।’

भारतले ठूला दरका पाँच सय र हजारका नोट चलन चल्तीमा प्रतिबन्ध लगाएपछि साना दरका भारु साट्न नेपाल राष्ट्र बैंकको थापाथली कार्यालयमा लाइन बस्नेको गुनासो हो यो ।

सातदोबाटोबाट भारु साट्न थापाथली आइपुगेका अजय चौधरी भन्छन्, ‘पैसा साट्न आएको । नागरिकता नभएर लाइन बसिन । पहिला पाँच हजारसम्म साट्नलाई नागरिकता चाहिदैन्थ्यो । सर्लाही घर हो, गाउँमा जानका लागि भारु लिन आएको हुँ । गाउँमा नेपाली पैसा चल्ने ठाउँमा सामान पाइदैन, सामान पाउने ठाउँमा नेरु चल्दैन, भारु छैन् । घर जाँदा जहिले पनि भारु लिएर जाने गरेको छु । नेपाल भारत सीमा नाकामा गएर सामान किन्नु पर्छ । भारुमा किन्दा सस्तो पर्ने भएकाले उता किन्ने गरेको हुँ ।’ ‘नागरिकता लिन साथी कोठामा गएको छ,’ घडी हेर्दै उनले भने, ‘एक बजेपछि राष्ट्र बैंकले पैसा साटिदिँदैन ।’

चौधरीसँगै आएका सञ्जय थारुले भने, ‘नेपालमा नुन पनि पाइदैन, महिना भरिलाई पुग्ने दाल, चामल, चिनी तथा तेल नारायणपुर नाकाबाटै किनेर ल्याउने गरेको छु । म मात्र होइन मेरा छिमेकीले पनि त्यसै गर्छन् ।’ सँगै आएका साथीलाई देखाउँदै उनले भने, ‘उसले पाएदेखि दश हजार भारु साट्छ । उसको परिवार ठूलो छ, त्यति रकम नभइ महिना चलाउन गाह्रो हुन्छ । मलाई भने घरमा बुबा आमामात्र भएकोले पाँच हजार भारु साट्न पाए मंसिर महिनाको गर्जो टथ्र्यो ।’
त्यस्तै भक्तपुरबाट भारु साट्न थापाथली आएका पेम्बा शेर्पाले तीन घन्टा लाइनमा बसेर दुई हजार भारु साटेका छन् । पाँच हजार भारु साट्न आएका उनले दुई हजार मात्र पाए ।

भारत सरकारले पाँच सय र हजार दरका भारुमा प्रतिबन्ध लगाएपछि राष्ट्र बैंकमा अहिले यसरी भारु साट्नेको भीड लाग्ने गरेको छ । तीर्थाटन, विभिन्न तालिम तथा शिक्षा एवं औषधोपचारका लागि भारत जाने तथा सीमामा बस्ने सर्वसाधरणलाई भारु प्रतिबन्धले पिरोलेको छ । गत आइतबारदेखि भारु साट्नेको चाप बढ्दै गएको राष्ट्र बैंकले बताएको छ ।
सामान्य समयमा एक सयको हाराहारीमा आउने गरेका मानिसको संख्या अहिले तीन गुणाले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

दिनहुँ भारु साट्नेको चाप बढ्दो छ, धेरै मानिसलाई सेवा उपलब्ध गराउन राष्ट्र बैंकले गत बुधबार सकुर्लर जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई भारु नसाट्ने बताएको छ भने औषधोपचारका लागि उपलब्ध गराउँदै आएको ५० हजार भारुमा पनि कटौती गरी २५ हजारमा झारेको छ । त्यस्तै नागरिकता देखाएर कारण खुलाएमा आम सर्वसाधारणलाई दिँदै आएको २५ हजार भारुलाई घटाएर १० हजारमात्र दिने व्यवस्था गरेको छ ।

त्यतिकै साटिदै आएको पाँच हजारलाई कटाएर दुई हजारमात्र दिन थालेको छ । सर्वसाधारणको लागि गत मंगलबारसम्म राष्ट्र बैंकले पाँच हजार साट्दै आएको थियो ।

वाणिज्य बैंकलाई तत्कालका लागि यस्तो सेवा बन्द गरेको नेपाल राष्ट्र बैंक बैकिङ कार्यालय थापाथली कार्यालयका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीले जानकारी दिए । यसअघि राष्ट्र बैंकले दैनिक ५ लाखदेखि अधिकतम १० लाखसम्म भारु सटही व्यवस्था मिलाउँदै आएको थियो । तर, आइतबार भने राष्ट्र बैंकले ग्लोबल आईएमईलाई एक लाख र नविल बैंकलाई दुई लाख भारु उपलब्ध गराएको छ । उनीहरूलाई अत्यावश्यक व्यहोरासहितको निवेदन आएपछि राष्ट्र बैंकले सो रकम उपलब्ध गराएको हो ।

‘सैद्धान्तिक रूपमा अरु देशको रुपैयाँ हामीलाई राख्ने अधिकार छैन,’ अधिकारीले भने, ‘हामीले व्यवहारिक पक्ष तथा भारतसँगको हाम्रो परनिर्भरतालाई बुझेर भारु साट्ने सहज व्यवस्थामात्र बनाइ दिन खोजेका हौं ।’

बैंकमा भारु साट्नेको लाइन भए पनि हाल नेपाल राष्ट्र बैंकसँग ६ महिनालाई पुग्ने भारु रहेको छ । गत शुक्रबारसम्म राष्ट्र बैंकसँग करिब ४ अर्ब भारु मौज्दात छ । ‘भारतीय रिजर्भ बैंकले नेपाललाई वार्षिक ६ अर्ब भारु उपलब्ध गराउने सम्झौता भएको छ,’ उनले भने, ‘यस वर्ष भने राष्ट्र बैंकले सम्झौता अनुसारको एक अर्ब २० करोडमात्र घटस्थापनापछि ल्याएका हौ ।’ एकै पटक सबै रकम ल्याउन नसकिने समस्याका कारण सम्झौता अनुसारको नोट ल्याउन नसकिएको हो । अहिले भारु प्रतिबन्धपछि उसले सम्झौता अनुसारको रकम पनि नदिने बताएको छ ।

सम्झौता हुँदा मार्चसम्म भारु नेपाल ल्याउनुपर्ने व्यवस्था छ । दसैंयता भारतले भारु ल्याउने प्रक्रिया (बीमा, सुरक्षा, पारवहनलगायतका) मिलाउँदै ठूला दरका नोटमा प्रतिबन्ध लगायो,’ उनले भने, ‘यसपछि डिसेम्वरसम्म नेपाललाई भारु उपलब्ध गराउने÷नगराउने विषयमा कुनै निर्णय नगर्ने र सम्झौता अनुसार ल्याउन बाँकी रहेको रकम हाललाई नदिने भारतले बताएको छ ।’ ‘जनवरी लागेपछिमात्र नेपाललाई भारु दिने÷नदिने विषयमा टुंगो लाग्ने भारतबाट लिखित जवाफ आएको छ’ उनले थपे । अबको एक डेढ महिनामा भारतले पनि केही निर्णय गर्ला र सहज होला भन्ने उनको भनाइ छ ।

पहिला सामान्य समयमा महिनाको ५० देखि ६० करोड जति भारु साटिन्थ्यो । अहिले भारु साट्ने रकम कटौती गरे पनि दैनिक करिब ४० देखि ५० लाखको हाराहारीमा राष्ट्र बैंकको थापाथली कार्यालयमा भारु साट्न आउनेको घुइचो लाग्ने गरेको छ । उनका अनुसार सामान्य समयमा भारु साट्नका लागि पेशेवरहरु आउथे भने अहिले जसलाई भारु आवश्यक परेको छ उनीहरूमात्रै आउने गरेका छन् ।

अहिले तीर्थाटनको समय भएकाले तीर्थजानेहरूबाट धेरै रकमको माग आएको छ । देशको परिस्थितिलाई बुझेर अहिले नगरी नहुने वाहेक अन्य काम नगर्न र भरसक एटीएम प्रयोग गर्न राष्ट्र बैंकले सुझाव दिएको छ ।

LEAVE A REPLY