उखुको मूल्य नतोकिँदा किसान मारमा

0
373

गौशाला (महोत्तरी): बेलगाछीको लिकटोल ढल्केका ४७ वर्षीय रामचन्द्र महतोले दुई बिघामा उखुखेती गरेका छन् । काट्ने बेला भइसक्दा पनि उखुको मूल्य नतोकिँदा उनी चिन्तित छन् । गत वर्ष पनि उखुको मूल्य समयमै नतोकिँदा तीन बिघाको उखु खेतमै सुकेको थियो । यस वर्ष महतोले दुई बिघामा मात्रै उखुखेती गरेका छन् । उखु क्रसिङको सिजन आइसक्यो । तर, चिनी मिल चल्ने छाँटकाँट देखिएको छैन ।

Advertisements

उखुको समस्याबारे कुरा गर्दा उनी तनावमा देखिन्थे । उनी भन्छन्, ‘खेती गर्न बैंकबाट लिएको चार लाख रुपैयाँको ब्याज तिर्न छाक कटाएर धान र तरकारी बेच्ने गरेको छु ।’ उखु खेतमै भेटिएका रामचन्द्रले समयमा उखु नकाटिए आफूजस्ता धेरै किसान ऋणकै भारी बोकेरै मर्ने बताए । एक बिघामा उखुखेती गरेका गौशालाका ६५ वर्षीय सेख सतार उखुखेतीमा आउने समस्याबाट आजित छन् । उनले भने, ‘एक वर्षसम्म दसनंग्रा खियाएर किसानले उखुको लाथ्रा तयार गर्छ । मूल्य लागतका आधारमा किसानले दर तोक्न पाउनुपर्ने हो । तर किसानको कुनै भूमिका रहँदैन । उखुखेती गर्न मनै लाग्दैन ।’
उखुलाई नगदेबाली मानिए पनि मूल्य निर्धारणमा ढिलाइ हुँदा किसान समस्यामा पर्दै आएको लक्ष्मीनियाका किसान देवलाल महतोले बताए । ‘एक त समयमा उखुको मूल्य तय हुँदैन । त्यसमा पनि उखु किसानले चिनी मिलबाट रकम लिन आन्दोलन गर्नुपर्छ’, उनले भने ।

एभरेस्ट चिनीमिल रामनगर महोत्तरीका महाप्रबन्धक युगलकिशोर चौरसियाले यस वर्ष महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहटलगायतका जिल्लाबाट झन्डै २५ हजार किसानको उखु खरिद गर्न लागेको बताए । यो नेपालकै ठूलो चिनी कारखाना मानिन्छ ।
१८ जिल्लाका किसान चिन्तित

उखुको मूल्य नतोकिँदा महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी रूपन्देही, कञ्चनपुरलगायत १८ वटा जिल्लामा एक लाख भन्दाबढी किसान चिन्तामा छन् ।

मूल्य निर्धारण गर्न कात्तिक २६ मा काठमाडौंमा किसान प्रतिनिधि र उद्योग प्रतिनिधिबीच बैठक बसेको थियो । हाल बजारमा बिक्री भइरहेको चिनीको मूल्यका आधारमा किसानले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ८५ रुपैयाँ हुनुपर्ने माग गरेका थिए । चिनी उद्योगीले किसानले माग गरेका मूल्य स्वीकार नगर्दा बैठक निष्कर्षविहीन भएको बैठकमा सहभागी नेपाल उखु तथा चिनी विकास समिति (बोर्ड) का सदस्य रमेश (कमल) बुढाथोकीले बताए ।

गत वर्ष बजारमा चिनी प्रतिकिलो ५८-६० रुपैयाँ हुँदा चार सय ४८ रुपैयाँ उखु मूल्य तोकिएको थियो । यसपटक बजारका चिनी ८० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । त्यसैका आधारमा किसानले प्रतिक्विन्टल पाँच सय ८५ मागेका हुन् ।

भारत विहारस्थित रिगा मिलले यस वर्ष क्विन्टलमा भारु २५ बढाउने निर्णय गरेको नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले जानकारी दिए । उखुको मूल्य निर्धारण गर्न मंसिर १५ मा अर्को बैठक बस्नेछ ।

लगानी बढ्दै, मूल्य घट्दै

उखुको मूल्य निर्धारण गर्न प्रत्येक वर्ष लामो किचलो हुने गरे पनि दीर्घकालीन उपाय खोजिएको छैन । किसानले चालू सिजनका लागि तुरुन्त मूल्य निर्धारण गर्न सरकारसँग माग गरेको उखु उत्पादक कृषक संघ रामनगरका अध्यक्ष रामनरेश महतो बताए ।

उखुखेती गर्न लगाएर उद्योगपतिले मूल्य निर्धारणका बेला समस्यामा पार्ने गरेको किसान बताउँछन् । चार वर्षअघि किसानले प्रतिक्विन्टल चार सय ८१ रुपैयाँ ५० पैसाका दरले चिनी मिललाई उखु बेचेका थिए । गत वर्ष उखुमा लागत बढे पनि प्रतिक्विन्टल चार सय ४८ रुपैयाँमा उखु बेच्न बाध्य थिए ।

गत वर्षभन्दा लगानी बढेकाले उखुको भाउ बढाउनुपर्ने माग किसानले गरेको नेपाल उखु तथा चिनी विकास समित (बोर्ड) का अध्यक्ष रामचन्दा सिंह कुशवाहले बताए ।

कौडीको मूल्यमा बेच्दै किसान

उखु किसान र चिनी उद्योगी प्रतिनिधिबीच उखुको मूल्य तोक्न १२ दिनअघि बसेको वार्ता असफल भएपछि किसानहरू कौडीको भाउमा उखु बेच्न थालेका छन् । समयमा चिनी मिल नचल्दा गत वर्ष उखु खेतमै सुकेको थियो । उखु किसानले न्यून दररेटमै उखु बिक्री गरेर गुजारा चलाउँदै आएको बिजलपुराका किसान हरदेव महतोले बताए ।

किसानले स्थानीय सख्खर उद्योगलाई प्रतिक्विन्टल तीन सय रुपैयाँका दरमा धमाधम उखु बिक्री गर्दै आएका छन् । अहिले सख्खर उद्योगलाई उखु बिक्री गर्दा समयमै खेत खाली हुने र त्यसमा नयाँ बाली लगाउन पाएपछि किसानले साबिकको मूल्यभन्दा एक१ सय ४८ रुपैयाँ कममा उखु बिक्री गर्दै आएको गौशाला नगरपालिकाका किसान रामविलास साहको भनाइ छ ।

उत्पादन घट्यो

यस वर्ष नेपालमा एक करोड ५६ लाख ८६ हजार ६ सय १४ मेट्रिक टन उखु उत्पादन भएको र त्यसबाट एक लाख ४७ हजार एक सय ४९ मेट्रिकटन चिनी उत्पादन हुने नेपाल उखु तथा चिनी विकास समितिले जनाएको छ ।

गत वर्ष दुई करोड १३ लाख १७ हजार सात १३ मेट्रिक टन उत्पादन भएको उखुबाट एक लाख ९४ हजार तीन सय २० मेट्रिक टन चिनी उत्पादन भएको थियो । नेपालमा ३७ जातका उखु रोपिन्छन् । यहाँ १५ वटा चिनी उद्योग छन् ।

LEAVE A REPLY