३९ देशका कलाकार नेपालमा

0
327

काठमाडौं: यतिबेला ३९ देशका चित्रकार नेपालमा जम्मा भएका छन् । बिहीबारदेखि राजधानीमा सुरु भएको अन्तर्राष्ट्रिय जलरङ महोत्सव तथा स्थलगत कार्यशाला २०१६ मा सहभागी हुन कलाकारहरू नेपाल आएका हुन् ।

Advertisements

बबरमहलस्थित आर्ट काउन्सिलको ग्यालरीमा यी कलाकारहरूको चित्र प्रदर्शन भइरहेको छ । भाषा, संस्कृति फरक भए पनि विश्वभरि रङ एउटै हुन्छ । मानिसको भावना उस्तै हुन्छ । प्रदर्शित चित्रमा देशअनुसारको भेष पाइन्छ । रङ संयोजनमा पृथकता देखिन्छ ।

भारत, बंगलादेश, चीनजस्ता नजिकका मुलुकको संस्कृति नेपालीका लागि त्यति नौलो लाग्दैन । इरान, इन्डोनेसिया, म्यानमार, कोसोभोलगायतका देशका कला भने फरक खालका छन् । एकै ठाउँमा कलाकृतिको यस्तो विविधता विरलै देख्न पाइन्छ । एक साता चल्ने प्रदर्शनीको उद्घाटन शिक्षामन्त्री धनीराम पौडेलले गरे ।

अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपाल च्याप्टरले आयोजना गरेको प्रदर्शनीमा नेपाललगायत ३९ देशका दुई सय ११ जलरङ्गी चित्रकारका कलाकृतिको राखिएको छ । एक सय ५६ विदेशी र ६५ नेपाली कलाकार सहभागी छन् । नेपाली कलालाई विश्वमा चिनाउन प्रदर्शनी गरिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बताए । प्रदर्शनीमा सहभागी हुन तीन सय ५० विदेशी कलाकारले कलाकृति पठाएकोमा एक सय ५६ जनाका कलाकृतिमात्रै छनोट गरिएको हो ।

कात्तिक १८ देखि २५ सम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा एकहप्ते कला प्रदर्शनी, डेमोस्टेसन कार्यक्रम, सांस्कृतिक कार्यक्रम तथा घान्द्रुकमा स्थलगत कला कार्यशालासहितको जलरङ महोत्सवलाई भव्य रूपमा सफल बनाउनका लागि सांस्कृतिक संस्थान तथा नेपालका कलासम्बन्धी विभिन्न संघसंस्थाले सहयोग गरेका छन् ।

८० देशमा शाखा रहेको अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटीको नेपाल च्याप्टरले विभिन्न च्यारिटीमार्फत सामाजिक कार्यमा सहयोग जुटाउँदै आएको छ । यो प्रदर्शनीले नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने र नेपाली कलाकारलाई विश्वमा स्थापित गराउने उद्देश्य राखिएको छ ।

अमेरिका, चीन, भारत, स्पेन, अस्ट्रेलिया, थाइल्यान्ड, मलेसिया, म्यानमार, बंगलादेश, पाकिस्तान, टर्की, इन्डोनेसिया, फिनल्यान्ड, ग्रिस, चेक रिपब्लिकन, बुल्गेरिया, बेलारुस, सिंगापुर, बेलारुस, रसिया, मेक्सिको, इरान, अल्बानिया, अस्ट्रिया, लाटभिया, कोसोभो, ताइवान, सुडान, कोरिया, मेसेडोनियालगायतका देशका एक सय ५५ कलाकारका एक सय ५५ र नेपालका ६५ कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा नेपालबाट मदन चित्रकार, रागिनी उपाध्याय, दुर्गा बराल, केके कर्माचार्य, एनबी गुरुङ, डी राम पाल्पाली, लालकाजी लामा, देवेन्द्र थुम्केली, दीपेन्द्र बनेपाली, केशवराज खनाल, भीम श्रेष्ठ, दामोदर बराल, डीबी राई, विनोद गुप्ता, सुरेश स्याङ्तान, सूर्य बराइली, विश्व पराजुली, अनिता खनाल भट्टराई सुमन श्रेष्ठ, छितेन शेर्पा, शान्त हितांगलगायत ६५ कलाकार प्रदर्शनीमा सहभागिता छ । एकहप्ते प्रदर्शनीसँगै कास्कीको घान्द्रुकमा दुईदिने ‘ओपन एअर चित्र कार्यशाला’ समेत गर्न लागिएको छ ।

LEAVE A REPLY