'राष्ट्रपति निर्वाचनको पुन: मतगणना अवैध'

0
260

वासिङटनः संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनको पुनः मत गणनाको मागलाई अवैध माग भनेका छन् । ग्रिन पार्टीका तर्फबाट विस्कन्सिन राज्यमा पुनः मतगणनाको माग गरिएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

Advertisements

उनले भने, ‘अमेरिकी नागरिकले मतदान गरिसकेका छन् । चुनाव सक्इिसकेको छ ।’ ग्रिन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जिल स्टाइनले पुनः मत गणना गर्नुपर्ने माग गर्दै निवेदन दिएकी छन् । उनले जसरी भए पनि पुनः मत गणना गर्नुपर्ने दबाव दिन र्‌याली पनि आयोजना गरेका छन् । उनले मिसिगन र पेन्सिलभानिया राज्यमा पनि फेरि मत गन्नुपर्ने माग गरिरहेका छन् ।

अमेरिकामा नोभेम्बर ८ तारिखमा भएको चुनावमा ट्रम्पले पेन्सिलभानिया र विस्कन्सिनमा अनपेक्षित रूपमा निकै कम मत अन्तरले हिलारीलाई हराएका थिए । मिसिगन राज्यमा पनि कम मत अन्तरले ट्रम्पले बाजी मारेका थिए । डेमोक्र्याट उम्मेदवार हिलारीले चुनावको परिणाम आएलगत्तै जनमतको सम्मान गर्ने बताएको पनि उनले स्मरण गराए ।

ट्रम्पले जनताको मतको सम्मान गर्न आग्रह गरेका छन् । चुनौती र गाली दिनुको साटो जनमतको सम्मान गर्नु प्रजातान्त्रिक व्यवहार भएको उनको भनाइ छ । ट्रम्पले ग्रिन पार्टीका उम्मेदवारले पैसा कमाउन यस्तो माग गरेको पनि आरोप लगाएका छन् । पुनः मतगणनाका लागि मागकर्ताले निश्चित रकम बुझाउनुपर्ने हुन्छ । यसै बहानामा स्टाइनले चन्दा पनि उठाउन सुरु गरेकी छन् । यसबाट ग्रिन पार्टीमा ठूलो रकम उठेको छ । विस्कन्सिन राज्यको निर्वाचन आयोगले पुनः मतगणना गर्न स्वीकार गरिसकेको छ ।

प्रदर्शनमा क्लिन्टन सहभागी

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटका तर्फबाट उम्मेदवार भएकी हिलारी क्लिन्टनले वासिङटनमा पुनः मत गणना गर्न माग गदै भएको प्रदर्शनमा सहभागिता जनाएकी छन् ।

‘हामीलाई यो अत्यावश्यक लागेको छ, कानुनी व्यवस्था हेर्दा पनि यो गर्न मिल्ने देखिन्छ’, क्लिन्टनका वकिल मार्क एलिसले एक वक्तव्य जारी गरी बताएका छन् । पुनः मतगणनाको गणनाको निर्णयमा पुर्‌याउन दबाव स्वरूप अभियान चलाइएको र मत गणना पुनः हुनेमा क्लिन्टन समूह विश्वस्त देखिएको छ । ग्रिन पार्टीकी उम्मेदवार जिल स्टेनले गत शुक्रबार मत फेरि गणना गर्न माग गर्दै निवेदन दर्ता गरेकी थिइन् । त्यही माग गर्दै स्टेनले गराएको प्रदर्शनमा क्निटन सहभागी भएकी हुन् । राष्ट्रपतीय निर्वाचनमा निकै कम मतान्तर रहेका तीनओटा राज्यमा पुनः मत गणना गर्न माग गरिएको छ ।

क्लिन्टनले नतिजा उल्ट्याएर डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस जानबाट रोक्न भने धेरै नै ‘इलेक्ट्रोरल’ भोटको आवश्यकता पर्दछ ।

चुनाव परिणाम स्विकार्छौं: ह्वाइट हाउस

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको परिणाम स्वीकार गरेको बताएको छ । निर्वाचनमा साइबर हमला भएर फरक परिणाम आएको विवाद उठ्न थालेपछि शुक्रबार राष्ट्रपति कार्यालयले यस्तो जानकारी दिएको छ ।

अमेरिकामा चुनावका बेला रूसले ह्याक गरेकाले डोनाल्ड ट्रम्पका पक्षमा अप्रत्याशित बहुमत आएको आवाज उठ्न थालेका छन् । यस्तो बेलामा अमेरिकी निर्वाचनमा कुनै पनि खाले ह्याकिङ नभएको बताउँदै ओबामा प्रशासनले उक्त नतिजा स्वीकार्य भएको स्पष्ट पारेको छ ।

चुनावका बेला ट्रम्प रूसप्रति नरम भएको र उनलाई रूसी राष्ट्रपति पुटिनको सहयोग र सद्भाव भएको भन्ने समाचार आएका थिए । अमेरिकी सञ्चारमाध्यम र विश्लेषकहरूले डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टनले सजिलै जित हात पार्ने दाबी गर्दै आएका थिए । निर्वाचनमा यस विपरीत ट्रम्पको सानदार विजय भएपछि रूसले निर्वाचनमा ह्याकिङ गरेर परिणाम ट्रम्पको पक्षमा पारेको आरोप लगाउन थालिएको थियो ।

यसै कारण रूसले शरण दिएका एडबर्ड स्नोडेनले हिलारीलाई हराउन विदेश मन्त्रालयका सूचना लिक गर्दै हिलारीको विपक्षमा जनमत खडा गरेको केही अमेरिकीको आरोप छ ।

एक अधिकारीले भने, ‘जेसुकै भनिए पनि हामीले निर्वाचनको परिणाम स्वीकार गर्छौं । यसमा अमेरिकी जनताको मत स्पष्ट रूपमा अभिव्यक्त भएको छ ।’ अमेरिकी चुनाव प्रक्रियामा केही व्यवधान पुगेका समाचार आएपछि संघीय सरकारले यसको बारेमा अनुसन्धान गरेको र त्यस्ता कुनै गतिविधि फेला नपरेको ती अधिकारीले स्पष्ट पारेका छन् ।

विस्कन्सिन, पेनसिल्भानिया र मिसिगनमा ट्रम्पको विजयलाई अनुमानविपरीत भन्दै आश्चर्य व्यक्त गरिएको थियो ।

LEAVE A REPLY