दिल्लीसँगको दिल

0
303

संविधान संशोधनबाटै नेपाललाई पराधीन बनाउन तम्तयार

इतिहास बडो निर्मम र क्रूरजस्तो लाग्छ तर त्यसको सूक्ष्म अध्ययनबेगर वर्तमान बुझ्न सकिँदैन । त्यसैले कानुन, पत्रकारिता, कूटनीति, राजनीतिलगायतका सम्पूर्ण विधामा इतिहास नै नजिर मानिन्छ । यस्तै प्रमाण, नजिर वा दस्ताबेजलाई चेतनाको ऊर्जा मानिन्छ ।

Advertisements

सन् १६६१ मा तिब्बत भ्रमणमा गएका क्रिश्चियन (पादरी) जोन ग्रुबरले कुती प्रदेशलाई नेपालको भूमि भनेका छन् । तर सन् १७२१ मा तिब्बतमै ६ महिना बसेका इपोलितो डेजीदेरी नामका इसाई गुरुले ‘कुनै बेला कुती नेपाल राजाको अधीनमा थियो, अहिले ल्हासाका राजाको अधीनमा छ’ भनेको पाइन्छ । प्रताप मल्लको राज्यकालमा उनका भाइ काजी भीम मल्लको दुःखले आर्जेको त्यो क्षेत्र पच्चीस वर्षजति नेपालको नियन्त्रणमा रह्यो । तिब्बतमा त्यसबेला महेन्द्रमल्ली (मुद्रा) चल्यो । नेपालको मानसम्मान थियो । सन् १६८३ मा परलोक भएका पाँचौं दलाई लामाको कार्यकालमा त्यो क्षेत्र स्वतन्त्र भयो । इतिहास खोज्दै जाँदा दक्षिणमा गंगा-जमुना-सरस्वतीको संगम प्रयागसम्म नेपाल रहेको त्यहाँस्थित समुद्र गुप्तको शिलालेखमा पाइन्छ ।

सन् १०२५/२६ तिर महमद गजनवीले भारतको सोमनाथ मन्दिर लुटेर अथाह र अमूल्य सम्पत्ति लगे । बंगालका नवाव समसुद्दीनले १४७६ सालमा पशुपतिनाथको मन्दिर र काठमाडौंका कैयन् ठाउँमा लुटपाट गरेको इतिहासमा उल्लेख छ । कत्युरवंशी अर्जुन मल्लको राज्यकालमा लखनउका नबाब हुसेन खाँले डोटीसम्म पुगेर लुटेको पाइन्छ । पहिले विद्रोही र पछि सर्वेसर्वा बनेर दिल्लीको संरक्षणमा राष्ट्र लुट्नेहरूको गवेषणा गर्दा इतिहासमा माओवादीहरूको नाम अंग्रपक्तिमा लेखिनेछ ।

६४ वटा बैंक र सात हजारभन्दा बढी घर, पसल, कारखाना आदि लुटेका लडाकुमध्ये धेरैजसो आज पनि दुःखी छन् । सत्र हजारभन्दा धेरैको प्राण हरण गर्ने-गराउने सरदार र सीमित व्यक्ति करोडौं रुपैयाँको चलअचल सम्पत्ति जोडेर मालिक बनेका छन् । ६० वर्ष अघिदेखि एउटै बाटोमा हिँडेका चित्रबहादुर केसी सार्वजनिक यातायातमा चढ्दा सडकमा पछारिएर इन्तु न चिन्तु भए, तर उनले हात समातेर डोर्‌याएका उरन्ठेउला कार्यकर्ता सहरका ठूलाठूला उद्योगपतिसरह अर्बौं रुपैयाँका मालिक छन् । विदेशीले पनि रातारात काजीलाई पाजी र पाजीलाई काजी घोषणा गरिदिए । त्यसैले सत्ता, सम्पत्ति, सुख र समृद्धि दिलाउनेहरूकै हितमा उनीहरू राजनीतिलाई डोर्‌याइरहेका छन् । दिल्लीसँग दिल जोडेका छन् ।

ब्रिटेनका फिल्डमार्सल सर फिलिप चेटउडले घतलाग्दो भाषण दिएका थिए, ‘राष्ट्रको सुरक्षा, इज्जत र कल्याण सदासर्वदा पहिले आउँछ । त्यसपछि आफ्नो मातहतका मानिसहरूको सुरक्षा, इज्जत र कल्याण । तपाईंको आफ्नो सुख, सुविधा त अन्त्यमा आउँछ ।’ नेपालमा दुःखी, दरिद्र, पीडित र अभावग्रस्त जनतालाई भोकैनांगै राखेर संसद्बाट हतारहतार आफ्नो तलबभत्ता र सुविधा बढाउने निर्लज्ज, स्वार्थी, अहंकारी र धनलोलुप जनप्रतिनिधिहरूलाई लज्जाको अनुभूति नै भएन । आफ्ना दलका नेतादेखि कार्यकर्तासम्मलाई राज्यकोषबाट ‘लुटको धनमा फुपुको श्राद्ध’ भने झैँ करोडौं रुपैयाँ वितरण गर्ने क्रम रोकिएन । त्यसैले लोकतन्त्र नामको लोभतन्त्र प्रहसन मात्र बनेको छ । प्रचण्डपथ त्यागेर पतनको पथमा अग्रसर माओवादी दिल्लीको दास बनिरहेको छ ।

सन् १९५९ को नोभेम्बर २८ मा स्टेटस्म्यान अंग्रेजी दैनिकमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको विवादास्पद कथन छापियो, ‘नेपाल र भूटानमाथिको हमलालाई भारतले आफैँमाथिको हमला ठान्नेछ ।’ चीनका परराष्ट्रमन्त्री मार्सल चेन यीले प्रत्युत्तर दिए, ‘नेपाललाई कसैले छोएमा चीन चुप लागेर बस्दैन ।’ त्यसपछि नेपालबारे नेहरू धेरै बोलेनन् ।

कतैकतै गाउँको चौतारामा जाँडरक्सी बेच्ने सोझी केटीलाई लाहुरे केटाहरू छुट्टीमा आउँदा क्रिमपाउडर ल्याइदिन्छन् । कतिपय युवतीले त लाहुरे फर्केपछि मात्र आफू गर्भवती भएको चाल पाउँछन् । सन्तान जन्मेपछि नाता प्रमाणित गरिपाऊँ भन्दै मुद्दा चल्छ, कचहरी बस्छ । नेपालमा पनि गणतन्त्र त जन्मियो तर बाबुको टुंगो नलागेकाले संविधानको प्रस्तावनामा राजनीतिक पद्धतिबारे काइते भाषा प्रयोग गरिएको छ । त्यस्तै प्रणव मुखर्जी र नरेन्द्र मोदीले ‘जसरी भए पनि संविधान संशोधन गर्नू’ भन्ने आशयको ‘सल्लाह’ (आदेश ? ) दिएपछि भारतपरस्तहरू आज आत्मसमर्पणको कलाविहीन नाटक देखाइरहेका छन् । त्यसैले अहिलेको अवस्था राष्ट्रवादीहरूको अग्निपरीक्षा पनि हो ।

अमेरिकाको संविधान संसारकै सबैभन्दा सानो र संक्षिप्त मानिन्छ । त्यसको धारा ५ मा जनताका सबै वास्तविक प्रतिनिधि (तल्लो र माथिल्लो सदन) बाट दुईतिहाइले संविधान संशोधन गर्न सक्ने उल्लेख छ । दासत्व उन्मूलनको घोषणा तेह्रौँ संशोधनमार्फत गरिएको थियो भने उन्नाइसौँ संशोधनले महिलालाई मताधिकार प्रदान गरेको थियो । संविधान संशोधन गर्न सकिन्छ, तर त्यो राष्ट्रको हितमा हुनैपर्छ । यो अन्तर्राष्ट्रिय मान्यता र संविधानको मर्म पनि हो ।

नेपालको वर्तमान संसद् म्याद थपेर करारमा काम गरिरहेको अवस्थामा छ । माथिल्लो सदन बनेकै छैन । प्रदेशसभा (प्रान्त) पत्रपत्रिकामा मात्रै छ । तसर्थ संघीयता र संविधानको पूर्णरूपेण कार्यान्वयन नहुँदै वर्तमान संसद्ले विदेशी मालिकहरू र उनीहरूका कृतदासहरूलाई रिझाएर सत्ताको स्वाद लिइरहन संविधान संशोधन गर्न खोजेको सर्वसाधारणले समेत बुझिसकेका छन् । २०७४ साल माघ ७ गतेभित्र तीन तहको निर्वाचन गराएर छुट्टी लिन धेरैजसो दलहरू तयार देखिँदैनन् । घाटमा बसेर मुर्दा पोल्नेलाई सहरमा महामारी फैलिए पनि खुसी लागे झैँ संक्रमणकालमै मालामाल भइरहेका नेतागण र उनीहरूका सुविधाभोगी अनुयायीहरू राष्ट्र ढले पनि आफू ‘अमर’ हुन चाहन्छन् । जबसम्म राष्ट्रिय हित शिरोपर गर्नेहरूलाई मतदाताले नै चिन्न सक्दैनन्, तबसम्म अस्थिरता रोकिँदैन ।

भारतका ठूलाठूला सहरमा अबोध केटाकेटी अपहरण गरी हातखुट्टा वा आँखा नै काम नलाग्ने बनाइदिएर भीख माग्न पठाउने ‘दादाहरू’ अहिले पनि छन् । अपांग बनाइएका केटाकेटीलाई आधा पेट मात्र खान दिएर दादाहरू मोजमज्जा गर्छन् भन्ने खबर अखबारमा पनि बारम्बार आउने गर्छ । सिंहदरबारमा पुगेका ‘राजनीतिक’ दादाहरूको चरित्र ठ्याक्कै त्यस्तै छ ।
लाखौ जनता पानी चुहिने छाप्रोमा बसेका छन् । तुइनमा झुन्डिएर हजारौँ केटाकेटी स्कुल धाइरहेका छन् । तीनचार घन्टा हिँडेर स्कुल-कलेज जानु त पहाडी जिल्लामा सामान्य मानिन्छ । एक गाग्री पानी ल्याउन दुईतीन घन्टा लाग्छ ।

राष्ट्रघातीको छुट्टै युनिफर्म हुँदैन । हामीभित्रै घाँसमा हरियो सर्प लुके झैँ दलका नेता, सम्पादक, लेखक, हाकिम, उद्योगपति, शिक्षाविद्, विश्लेषक वा समाज सुधारकको छद्मभेषमा राष्ट्रघातीले नेपाल आमाको मुटु कुटुकुटु खाइरहेका छन् । त्यस्तालाई समर्थन गर्नु राष्ट्रघातकै समर्थन हो ।

ओखती नपाएर हरेक वर्ष सयकडौं नेपाली मरिरहेका छन् । तर गरिब जनतालाई देखाएर अन्तर्राष्ट्रिय समुदायबाट हरेक वर्ष करोडौं डलर भिख मागिन्छ र त्यसको व्यापक दुरुपयोग गरिएको छ । जहाँ राज्यले नै जनताको पीडा बुझ्दैन, त्यो कसरी लोकतन्त्र हुन्छ ? जहाँ राष्ट्रलाई विदेशको प्रान्तजस्तो बनाउन खोजिँदै छ, त्यहाँ राष्ट्र कमजोर बनाउने उद्देश्यले पटकपटक संविधान संशोधन गर्न खोज्दा जनताले स्वागत गर्नुपर्ने ? विदेशीको इच्छा पूरा नगर्दा सरकार ढल्ने र ढाल्ने खेल नयाँ होइन । जब दलहरू नै राष्ट्र ढाल्ने खेलमा लाग्छन्, त्यो अपराध जनतालाई कदापि सह्य हुँदैन ।

‘तपाईंले हामो पल्टनसमक्ष आत्मसमर्पण गर्नुभयो भने भारतमा करोडौंको सम्पत्ति, महल र सबै सुविधा दिएर राख्छौं’ भनेर नालापानी युद्धमा अमरसिंह थापालाई अंग्रेजहरूले प्रलोभन देखाउँदा उनले छाती तन्काएर भनेका थिए, ‘म बाघको सन्तान हुँ, सिनो खाने स्याल नसम्झ … ।’ कहाँ गयो नेपालीको त्यो स्वाभिमान ?

हिन्दुस्तान मोटर्स कम्पनी (कलकत्ता) मा चौकीदार काम गर्ने दरिद्र नेपाली बाहुनका छोरा प्रधानमन्त्री भएपछि अन्ततः दिल्लीकै चौकीदार हुन पुगे । आर्थिक संकट टार्न हरेक नेपालीसँग मासिक पाँचपाँच रुपियाँ मात्र चन्दा मागे पनि करोडौं रुपैयाँ जम्मा हुन्थ्यो । विदेशीको गुलामी गर्नुपर्ने थिएन । आज सरकारको क्रियाकलाप हेर्दा हरेक नेपाली लज्जित हुनुपर्ने अवस्था छ ।

केही दिनअघि ‘शान्ति प्रक्रियाको दस वर्ष’ शीर्षकमा नेपाल ट्रान्जिसन टु पिस इन्स्टिच्युट नामक रहस्यमय संस्थाको कार्यक्रममा एकजना देशभक्त युवाले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको र त्यति ठूलो एकीकरण अभियानमा पनि जनधनको खासै क्षति नभएको प्रशंग उठाउँदा सो संस्थालाई दानापानी दिने विदेशी मालिक (राजदूत) रिसाएछन् । पृथ्वीनारायण शाहको तारिफ गर्ने संस्थालाई आर्थिक सहायता बन्द गर्ने चेतावनी दिएछन् ।

राष्ट्रनिर्माण, शान्ति, एकता वा पुनर्जागरण होइन, नेपालमा जात, क्षेत्र, धर्म र सम्प्रदायको आगो सल्काउन विदेशी शक्तिले चौतर्फी रूपमा हमला गरिरहेको पाइन्छ । यो मनोवैज्ञानिक युद्धमा राष्ट्रिय शक्तिहरू प्रतिरक्षात्मक (डिफेन्सिभ) मात्र देखिनु हुँदैन । छुट्टै मार्गचित्र बनाएर राष्ट्रको रक्षा गर्न सशक्त ढंगले अघि बढ्नुपर्ने खाँचो देखिएको छ । चाणक्यले भनेका छन्, ‘शत्रुलाई मौका दिने, शत्रुको प्यारो हुन खोज्ने र शत्रुले घेरेको चाल नपाउने मूर्खले दुःख पाउँछ । पराजय भोग्छ ।’

त्यसैले राष्ट्रघातका यावत् सूचना संग्रह गरेर स्पष्ट नीति बनाउँदै राष्ट्रिय सुरक्षाको जिम्मेवार निकाय सशक्त ढंगले उपस्थित भयो भने मात्र अस्तित्व बचाउन सक्ने देखिन्छ । होइन भने राष्ट्र धेरै वर्ष स्वतन्त्र रहन सक्ने देखिँदैन ।

राष्ट्रघातीको छुट्टै युनिफर्म हुँदैन । हामीभित्रै घाँसमा हरियो सर्प लुके झैँ दलका नेता, सम्पादक, लेखक, हाकिम, उद्योगपति, शिक्षाविद्, विश्लेषक वा समाज सुधारकको छद्मभेषमा राष्ट्रघातीले नेपाल आमाको मुटु कुटुकुटु खाइरहेका छन् । अरूको प्रान्त भएमा भन्सार नलाग्ने गाडी चढ्न पाइन्छ भन्ने मूर्खहरू पनि भेटिन्छन् । घरघरमा विदेशी सेना पसेर जब उनीहरूका श्रीमती, छोरी, बुहारी सबैलाई लुटेपछि गाडी चढ्ने सपना त्यसबेला चकनाचुर हुन्छ । तसर्थ, राष्ट्रलाई निर्बल, पंगु, खण्डखण्ड र लाचार बनाएर जो संविधान संशोधनबाटै नेपाललाई पराधीन बनाउन तम्तयार छन्, ती नेपाल आमाका कपुत हुन् । त्यस्तालाई समर्थन गर्नु राष्ट्रघातकै समर्थन हो ।

नेपाली जनता अभाव खप्न सक्छन्, अपमान सहन सक्दैनन् । सिक्किमे जनता झैँ पिँजडाको सुगा बन्न पनि सक्दैनन् । हजारौँ वर्ष अघिदेखि स्वतन्त्र यो राष्ट्र कसैको अंग बनोस् भन्ने स्वाभिमानी नेपालीहरू सोच्न पनि चाहँदैनन् । त्यसकारण राष्ट्र गम्भीर संकटमा परेको बेला सत्य कुरा बोल्नु र विदेशी हस्तक्षेपको प्रतिकार गर्दै बाह्य शक्तिका मतियार तथा हतियारलाई भुत्ते बनाउनु देशभक्त र राष्ट्रवादीहरूको पहिलो कर्तव्य हो ।

यसमा दल होइन, राष्ट्रको हित प्रमुख हुन्छ । तसर्थ हिजो को कहाँ थियो ? राजनीतिक विचारमा केकति मतभिन्नता रह्यो र कुन दलले के गर्‌यो भन्ने बिर्सेर राष्ट्र बचाउनु सम्पूर्ण नेपालीको पहिलो दायित्व हो । आजै सही निर्णय गर्न सकिएन भने विश्वमानचित्रबाट एक दिन नेपाल नै हराउन सक्छ त्यसबेला पश्चात्ताप गरेर बस्नुबाहेक कुनै उपाय बाँकी रहने छैन ।

LEAVE A REPLY