आधुनिकिकरण पश्चिमीकरण होईन

0
393

टिकाराम यात्री,

Advertisements

 

 

 

विकासशील र अविकसित देशको विकास एवं आधुनिकताको पूर्वसर्त पश्चिमीकरण हो ? पश्चिमीकरण नमान्नु या दुत्कार्नु आधुनिकतालाई अस्वीकार गर्नु हो ? यी र यस्ता प्रश्नको वस्तुनिष्ठ उत्तर नखोजेसम्म हाम्रो समाज आधुनिक हुने लालसामा पश्चिमीकरणको दलदलमा झन् तीव्र गतिमा भासिने निश्चित छ ।

उन्नाईसौं र बीसौं शताब्दी युरोपकेन्द्रित रह्यो । त्यही अवधिमा युरोपका शक्तिशाली देशले संसारभर साम्राज्य र उपनिवेश कायम गरेकाले विश्वव्यापी पश्चिमीकरणको लागि मार्गप्रशस्त भयो । युरोपको औद्योगिक क्रान्तिले एक प्रकारले त्यही अवधिमा विश्वभर युरोपेली देशको उपनिवेश कायम थियो नै ।

अन्य देशमा लादिएको उपनिवेश र साम्राज्य पुष्टि गर्न सभ्यता निर्यात गर्ने भनिएकाले भाषा, साहित्य, कला, धर्म, संगीत, शिक्षा प्रणाली हुँदै खानपान र पोसाकसम्म युरोपकै शैली अनुकरण गर्नु सर्व श्रेष्ठ ठानियो । त्यो भ्रम उघारिनुको साटो आज झन् हर क्षेत्रमा अन्धानुकरणको दबदबा छ ।

युरोप, अमेरिका औद्योगिक क्रान्ति सम्पनन गरेर सामाजिक उत्थानतर्फ अघि बढिसके । भर्खरै आर्थिक उन्नतितर्फ तंग्रिदै गरेका एसियाली, अफ्रिकी देशमा सशक्तीकरण, सामाजिक उत्थानको भारी बोकाउँदा यी देश आन्तरिक द्वन्द्वमा मात्रै फसेका छैनन्, आर्थिक उन्नतिको बाटोसमेत अल्मलिन पुगेको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग आबद्ध कथित कुलिन, बुज्रुक पुस्ता पश्चिमी संस्थासँग मिलेर अघि बढ्दा सामाजिक दरार पैदा भयो । हुन त सामाजिक न्याय, मानवअधिकारको विषय विश्वव्यापी सर्वस्वीकार्य मूल्य पद्धति बनिसकेको छ, बन्नु पनि पर्छ ।

तर त्यही वैशाखी टेकेर तेस्रो विश्वमा विग्रह, विभाजन र उत्तेजना ल्याउनु आधुनिकताको अभ्यास होइन, पश्चिमीकरणको अनुसरण हो । समाजको मूल्य प्रणाली हेर्ने दृष्टि पनि एकपक्षीय छ । उन्नाईसौं शताब्दीमा ब्रिटिस साम्राज्य कहिल्यै घाम नअस्ताउने गरी ५२ देशमा फैलिएकाले त्यही भाषा विश्वको माध्यम भाषा बन्यो । इतिहास, प्राज्ञिक अध्ययनको शैली र दृष्टिकोण पनि उतैबाट आयो । संग्रह एवं अभिलेख पनि त्यस्तै भयो, त्यसैले घरेलु सामाजिक अन्तद्र्वन्द्वलाई आयातित चस्माले हेरिनाले प्रायोजित मुद्दाले प्र श्रय पाए ।

नेपाली समाज व्यापक रूपमा आधुनिकतातर्फ उन्मुख भइरहेको छ, त्यो राम्रो हो । विडम्बना यहाँ पश्चिमीकरणलाई नै आधुनिकता भन्ने भ्रम पर्न थालेको छ । आधुनिकताले समाजलाई उन्नत, सुसंस्कृति, सभ्य, पुनर्ताजगी तुल्याउँछ तर पश्चिमीकरणले हाम्रो मान्यता र आदर्श ध्वस्त पार्छ । आधुनिकता र पश्चिमीकरणबीच एउटा मसिनो धर्र्सा हुन्छ । त्यसको भेद खुट्ट्याउन नसके मौलिकता मुर्झाउने मात्रै होइन, जताततै उदात्त रूपमा पश्चिमा प्रभाव बढ्छ ।

अंग्रेजी भाषा अन्तर्राष्ट्रिय व्यापार, वाणिज्य, शिक्षा, स्वास्थ्य क्षेत्र, विज्ञान प्रविधि, कूटनीति, सञ्चार, उड्डयन, सामुद्रिक परिभ्रमण, पर्यटनको अभिन्न माध्यम हो, तर मात्रै माध्यम त्योभन्दा बढी होइन । बेलायतको उपनिवेशकालमा संसारभर फैलिएको यो भाषा विश्वको भाषाका रूपमा माध्यम पनि बन्यो, बन्ने नै छ । तर यसको अर्थ यो होइन कि भाषासँग जोडिएर सभ्यता, संस्कार, संस्कृति र धर्म आयात हुनु हुँदैन । आधुनिकता र पश्चिमीकरणबीचको मसिनो तर ज्यादै पेचिलो धर्सो यही हो ।

धेरैलाई लाग्दो होे, युरोप र अमेरिकामा बस्ने मानिसले लगाउने भेषभूषा, खानपान, मनाउने चाडपर्व, अंगीकार गर्ने धर्म, संस्कृति, उन्नत, परिस्कृत र सभ्य होला । होला पनि, तर प्रश्न अरू भूगोल, इतिहास र सभ्यता भएकाहरूका लागि यो किञ्चित पनि मार्गनिर्देशन होइन, हुनु हुँदैन । उनीहरूको सभ्यता पश्चिमी हो नकि आधुनिक । आधुनिकताको मुहान जुनसुकै भुगोल, इतिहास र संस्कृति हुन सक्छ ।
एउटा उदाहरण हेराै‌ं, टाइ केको प्रतीक होला ?

हाम्रा राजनीतिज्ञ, उच्च प्रशासक तथा कथित कुलिनहरूका शिरमा देखिने टोपी र गालामा लड्किएको टाइ हाइब्रिडका नाममा भांग्राको टोपीमा गुयलाको फूल प्रतीत हुन पुगेको छ ।

अधिकांशको मुखबाट स्वाभाविक रूपमा निस्कन्छ यो सभ्यताको, आधुनिकताको, छरितोपनको, भलाद्मीपनको तथा चुस्तपनको प्रतीक हो । युरोपबाट सुरु भएको यो संस्कृति एसियादेखि अफ्रिकासम्म, अस्ट्रेलिया लियादेखि ल्याटिन अमेरिकासम्म यही बुझाइ बनेर धेरैको गलामा सजिएको छ ।

टाइको सुरुआत इसाई धर्मको मूल्य प्रणालीसँग अझ जिसस क्राइस्टले क्रुसमा चढेको प्रतीकात्मक बिम्बका रूपमा सन् १६४६ बाट सुरु भयो भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । सन् १६१८ देखि तीन दसकसम्म चलेको पर्सियन युद्धका क्रममा फ्रान्सेली सेनाले विजय प्राप्त गरेको उत्सवको रूपमा शासक लुई चौधौंले क्राइस्टले सुलीमा चढेको प्रतीकात्मक अर्थ खुल्ने गरी त्यही स्वरूपको पहिरन सेनालाई पहिराइदिए । त्यो दिन अक्टोबर १८ थियो ।

निकै कमलाई मात्रै जानकारी होला, लुई चौधौंले विजेता सेनालाई क्राइस्टप्रति समर्पित गर्दै त्यही विशिष्ट उपहार दिएको दिन युरोप र अमेरिकामा टाइ दिवसको रूपमा मनाइन्छ । अब भनिरहनु परोइन, टाइ संस्कृति आधुनिकीकरणको प्रतीक हो या पश्चिमीकरणको विश्वव्यापी आलिंगन ?

नेपालमा निजी विद्यालय खुलेदेखि नै टाइ संस्कृति भित्रिए पनि यो आम प्रवृत्ति र प्रचलन भइसकेको थिएन । तर पछिल्ला वर्षहरूमा सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमलाई अनिवार्य बनाएजस्तै यो गलपासोलाई पनि बाध्यात्मक बनाउनु त्यही आधुनिक हुने नाममा पश्चिमी हुने होडको द्योतक हो ।

पाल्पाली ढाकाटोपी र भादगाउँले टोपीलाई राजामहाराजा र शासकको पोसाक बताउनेहरूसमेत टाइको सांस्कृतिक पहिचानबारे बेखबर रहनु ताजुबलाग्दो विषय हो । अरू त अरू राजनीतिज्ञ, उच्च प्रशासक तथा कथित कुलिनहरूका शिरमा देखिने टोपी र गालामा लड्किएको टाइ हाइब्रिडका नाममा भांग्राको टोपीमा गुयलाको फूल प्रतीत हुन पुगेको छ । परस्पर विपरीत मूल्य संस्कृति बोक्ने पोसाक एकैपटक पहिरिनु फ्युजन होइन, कन्फ्युजन हो ।

दक्षिण एसियामा भाषा, संस्कृति तथा धर्ममा व्याप्त पश्चिमी प्रभाव पर्गेल्न सन् १८३५ तिर फर्किनुपर्ने हुन्छ । भारतलाई उपनिवेश बनाएको इस्ट इन्डिया कम्पनीलाई सत्ता र अर्थतन्त्रमा मात्रै नभई समाजका सबै पक्षमा प्रभावी बनाउने र अंग्रेजको शासनसँगै अंग्रेजी भाषा, संस्कृति, सभ्यता, धर्म तथा शिक्षा प्र्रणाली लागू गर्ने भन्ने योजनातर्फ ध्यान दिन जरुरी छ ।

सोही प्रयोजनको लागि बेलायती संसद्ले लर्ड म्याकालेलाई भारत पठायो । सन् १८३५ देखि १८३८ सम्म भारतको सबै क्षेत्रमा अध्ययन गरेर म्याकालेले बेलायती संसद्मा बुझाएको प्रतिवेदनको सार थियो, कुनै पनि देशमा दीर्घकालीन शासन गर्न धर्म, भाषा र संस्कृतिमा आक्रमण गर्नुपर्ने र हर क्षेत्रमा बेलायती मोडेल लागू गर्नुपर्छ । सोही सिफारिसमुताबिक सरकारबाट संस्कृत गुरुकुलको लागि दिइँदै आएको अनुदान रोक्का गरियो र अंग्रेजी पठनपाठनको लागि संस्थागत रूपमै प्रोत्साहित गरियो ।

म्याकालेको निष्कर्ष थियो- कुनै पनि देशमा शासन सत्ता विस्तार गर्नु छ भने त्यहाँको मूल्य प्रणाली, भाषा र धर्मप्रतिको आस्था खण्डित गर्नु र नयाँ मूल्य प्रणाली लागू गर्नु । त्यसैले त हाम्रो धर्म, संस्कृतिलाई ढोंगी, कुरीति ग्रसित, अन्धविश्वासी, पुरातन भन्ने उक्ति हामै्रहरूमार्फत हामीलाई भनाउन उनीहरू सफल भए । भारतमा त्यही गरियो र त्यसको प्रभाव समग्र दक्षिण एसियामा पर्‍याे । ७० वर्षअघि अंग्रेजले छोडेर गए पनि उनीहरूले छोडेको शिक्षा पद्धतिको अंग्रेजी मोह भने झन्झन् विस्तार हुँदै गएको छ । सोही सोपान टेकेर समाजका हर क्षेत्र पश्चिमी प्रभावबाट ग्रस्त छ, जसलाई हामी आधुनिक भन्दै कुहिरोको काग बनिरहेका छौं ।

अन्नपूर्ण पोष्टवाट।(यात्री एपी वान टेलिभिजनका समाचार प्रमुख हुन् ।)

LEAVE A REPLY