महिला अधिकारः भनेजस्तो सजिलो छैन

0
335

–जमुना वर्षा शर्मा

काठमाडौं, १४ मंसिर:

Advertisements

jamuna

-महिला हिंसाको विषय केवल महिलाको मात्रै हो भनेर बुझिदिने गर्दा पनि समस्याको समाधानमा कठिनाइ भइरहेको छ ।

-विचार फरक होला, धारणा फरक होला, विश्लेषण फरक होला तर निचोड एउटै हुनुपर्छ । भन्न खोजीएको र गर्न खोजिएको कार्यको तालमेल हुनुपर्छ ।

‘घर शान्तिनै विश्व शान्तिको आधारः दिगो विकासकालागि लैगिंक हिंसा रहित समाज’ भन्ने नाराका साथ यतिबेला लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने यस अभियान महिला हिंसा विरुद्ध अन्तराष्ट्रिय दिवसका रुपमा स्थापित छ । १६ दिनसम्म चलाइने अभियानमा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले लैगिंक हिंसा विरुद्ध सचेतना र घटनाको अभिलेखीकरण, कानुनी उपचार लगायतका विषयमा कार्यक्रमको आयोजना गरिरहेका छन् । अहिले भइरहेका कार्यक्रमलाई हेर्ने हो भने महिला अधिकारका कुराहरुलाई स्थापित गर्ने सवाललाई प्रमुखता दिएर उपलब्धिलाई हेर्ने भन्दा पनि १६ दिनको कर्मकाण्डीलाई पुरा गर्ने औपचारिकताको निरन्तरता हो भन्न सकिन्छ ।

लैंगिक हिंसा विरुद्धको अभियान र यसको सार्थकताको बारेमा समेत अहिले निकै बहसहरु हुन थालेको पाइन्छ । महिला हिंसा अन्त्य एवं न्यूनीकरणका लागि महिलाहरुले के कस्तो उपाय अवलम्बन गर्ने भन्ने बारेमा महिला अधिकारकर्मीमै मतमतान्तर देखिएको छ । कसैले समान हैसियतमा रहेका श्रीमान् श्रीमतीको काम, कर्तव्य र अधिकार एउटै हुनुपर्छ जसले समानता ल्याउँछ भन्ने तर्क गर्छन्, भने कतिपयले महिला पुरुषको भूमिका र जिम्मेवारी फरक छन्, त्यसैले यसलाई फरक तरिकाबाट व्यवस्थापन गर्नुपर्छ जसले गर्दा विभेद देखिए पनि सकारात्मक हुन्छ भन्ने तर्क राख्छन् ।

पक्कै पनि महिला अधिकारको कुरालाई स्थापित गराउन खोज्दा महिला हिंसाको बाटो देखिनु हुँदैन । आखिर जो कोहीले चाहेको पनि सुन्दर र समतामूलक न्यायिक समाजनै हो । हिजोआज महिला अधिकारका एकतर्फी र एकोहोरो कुराहरुमात्रै हुँदा ‘एक्टिभिज्म’ भन्दै नकारात्मक टिका टिप्पणि समेत गरेर ओझेलमा पार्न थालिएको छ । महिला हिंसाको विषय केवल महिलाको मात्रै हो भनेर बुझिदिने गर्दा पनि समस्याको समाधानमा कठिनाइ भइरहेको छ । महिला अधिकारका व्यवहारिक पक्षलाई उजागर गरेर सामाजिक न्यायका लागि अग्रसर हुन अबको अभियान सहयोगी बन्नु पर्दछ ।

कतिपय भद्रभलाद्मी पुरुषहरुले महिला अधिकारकर्मी संस्थाहरुको कार्यक्रममा उपस्थित हुनुलाई टाउको दुखाइको विषय सम्झने गर्छन् । जति ताने पनि तन्निकरहने महिला हिंसाको विषयमा प्रवेश गर्यो‍ भने बाहिर निस्कनै गाह्रो हुन्छ भन्दै उपस्थिति जनाउनै गाह्रो मान्छन् । कार्यक्रममा उपस्थित भैहाले पनि मौन सहमति जनाउँदै ‘आज हामी हजुरहरुको कुरा सुन्न आएको हौं भन्दै’ बहसमा जुट्न चाहँदैनन् । यसबाट पनि के प्रष्ट हुन्छ भने आफुबाट भएका कमिकमजोरी कतै बाहिर आउँछ कि भन्ने त्रास कतिपय अधिकारवादी पुरुषहरुमा समेत देखिन्छ भने अर्को तर्फ एउटै विषयवस्तुलाई जेरी झै बनाउने परम्परा पनि हो ।

वर्तमान अवस्थामा महिलाहरुले हासिल गरेका केही उपलब्धिलाई कतिपय पुरुषहरुले समयले ल्याएको परिवर्तन भन्दै १० वर्ष अगाडि रोपेको बाँस १० वर्ष पछि हर्लक्क भए जस्तै हो भन्ने धारणा राख्दै महिला अधिकारका बारेमा उठेका आवाजहरुलाई मत्थर पार्ने प्रयासमा समेत जुटेको पाईन्छ । महिलामाथि हुने हिंसाको प्रसंगमा कतिपय पुरुषहरुले महिला स्वयंमको कमिकमजोरीको नतिजाको रुपमा व्याख्या गरेर पनि हिंसालाई बढावा दिइरहेको पाइन्छ ।

विचार फरक होला, धारणा फरक होला, विश्लेषण फरक होला तर निचोड एउटै हुनुपर्छ । भन्न खोजीएको र गर्न खोजिएको कार्यको तालमेल हुनुपर्छ । जसले सकारात्मक परिवर्तनलाई प्रवाह गर्न सकोस् । आन्दोलनको ज्वारभाटा लिएर अगाडि बढिरहँदा समाजमा यसको के कस्तो प्रभाव परेको छ भन्ने कुरालाई पनि ध्यान दिनु जरुरी छ । एक जना महिला मित्रले महिला अधिकारसम्बन्धि कार्यक्रममा सहभागी भएर फर्कने क्रममा भनेकी थिइन् । ‘घरमा गएर यस्तै कुरा गर्ने हो, भने श्रीमानले डिभोर्स दिएर बस भन्छन् ।’ यी कुराहरु सुन्दा लाग्छ, आन्दोलन यसैका लागि हा,े उठाउनु पर्ने आवाज यसैको लागि हो । तर वास्तविकता कहाँनेर जोडिन्छ भने उनका अभिव्यक्तिले अधिकारलाई स्थापित गराउँदा हिंसाको अर्को रुप देखिने प्रष्ट हुन्छ । सबै समाज, सबै परिवार, सबै महिलाको अवस्था र हैसियत एउटै हुदैन, परिवर्तन गर्न समय लाग्छ सिधै श्रीमान श्रीमती बराबर हो, तिम्रो श्रीमानको जत्तिको सामाजिक हैसियत र अधिकार छ, तिम्रो पनि त्यत्तिकै छ ।

आवाज उठाउ, लड, भिड र आफ्नो अधिकारलाई स्थापित गर भनेर अव्यवहारिक अधिकारका कुराले महिलामाथि अर्को समस्या निम्याउन सक्छ । कमै महिला हुन्छन् पारिवारीक सम्बन्धबाट बाहिरिएर आफ्नो अधिकार प्राप्ति पछि रमाउने । सामाजिक हिसाबले पनि बिखण्डनबाट प्राप्त अधिकारले जो कोही सन्तुष्ट हुन सक्दैन । यो नचाहेर पनि स्वीकार्नु पर्ने यथार्थता हो । हाम्रो आन्दोलन देखाउने दाँत बनाएर होइन, चपाउने बंगारा बनाएर लैजानुपर्छ ।

अबको बाटो भनेको हिंसाको कारणको खोजी हो । कुन परिवेश, कुन समुदाय र कुन वर्गमा कस्ता खालका हिंसाले महिला प्रताडित भएका छन् त्यस समुदायमा कुन कार्यक्रमले सकारात्मक परिवर्तन दिन सक्छ भन्ने तिर अब ध्यान जानुपर्छ । विभिन्न भौगोलिक परिवेश, विभिन्न धर्म जातजाति र समुदायका महिलालाई एकै किसिमको हिंसा नहुन सक्छ । त्यहाँको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक पक्षको अध्ययनले त्यहाँको वस्तुस्थितिलाई बुझ्न सकिन्छ । महिला हिंसा न्यूनीकरणमा महिलाका आवाजहरुलाई मात्रै होइन, परिवर्तनको अगुवाइमा पुरुषको भूमिकालाई खोज्न जरुरी छ । सामाजिक एवं पारिवारिक सम्बन्धमा महिलाको सामाजिक हैसियतलाई समान रुपमा स्थापित गराउन पहिला सचेतनाको जरुरी हुन्छ ।

यी कुराहरु बन्दकोठामा जोडदार भाषणबाजीले मात्र सम्भव हुदैन समुदाय एवं वस्ती तहमा पुरुषहरुको उपस्थितिलाई जोड दिएर मनोसामाजिक तरिकाले समानताको आवाजलाई छिराउनु पर्दछ । गोमन साँपले जसरी आफू भित्र भएको विष थाहा पाउँदैन त्यसरीनै पुरुष भित्र रहेको हिंसात्मक प्रवृत्ति स्वयं पुरुषलाई थाहा नहुन सक्छ । पुरुषत्वले निम्त्याएको कतिपय अहंमताले हिंसालाई प्रश्रय दिइरहेको छ । त्यसलाई चिनाएर व्यवहारमा परिवर्तन ल्याउन अबको अभियान केन्द्रित हुनुपर्छ ।

हिंसामा उत्रने पात्रलाई यो महसुस होस् की ‘मेरो व्यवहारले हिंसा निम्त्याएको छ, विभेदलाई मलजल गरेको छ । यो मेरो महानता होइन, मैले महानता सम्झदै गरेको व्यवहारले, मेरा सन्ततीलाई अपराध बोध गराउनेछ । म स्वयं बाच्ने समाज पनि कलंकित हुनेछ ।’

LEAVE A REPLY