पुरानाको विस्थापन नयाँ स्थापित हुँदै

0
306

वर्ष २०७३ मा प्रदर्शन तथा निर्माण भैरहेका नेपाली चलचित्रमार्फत झन्डै एक दर्जन नयाँ अनुहार नायिकाका रूपमा पदार्पण गर्दैछन् । यीमध्ये केही नयाँ नायिकाका चलचित्र प्रदर्शन भैसकेका छन् भने केही प्रदर्शनको तयारीमा छन् । दुई साताअघि प्रदर्शन भएको चलचित्र ‘जात्रा’ बाट नायिकाका रूपमा पदार्पण गर्ने प्रेक्षा बज्राचार्यको अभिनय दर्शकले मन पराएका छन् ।

Advertisements

sundari

चलचित्रमा रवीन्द्र सिंह बानियाँको प्रेमिकाको भूमिकामा प्रस्तुत भएकी प्रेक्षा अहिले नायिकाका रूपमा चिनिए पनि गायिकाका रूपमा सक्रिय भएको लामै समय भैसकेको छ । प्रेक्षाले र्‍याप ब्याटलमार्फत संगीतकर्मीको परिचय बनाइसकेकी छिन् । ब्यान्डमा उनी परी उपनामले प्रख्यात छिन् । उनका र्‍याप ब्याटल युट्युबमा समेत उपलब्ध छन् ।

 

प्रेक्षाले गाएका कभर गीतहरू पनि युट्युबमा हजारौं पटक हेरिएको छ । त्यसबाहेक उनी भिडियो ब्लगरसमेत हुन् । फुर्सदमा थांका चित्र सिर्जना गर्ने प्रेक्षाले भविष्यमा चलचित्र अभिनयलाई निरन्तरता दिने बताएकी छिन् । छायांकनको अन्तिम चरणमा रहेको चलचित्र ‘ऐश्वर्य’ मार्फत नायिकाका रूपमा प्रस्तुत हुन लागेकी अभिनेत्री हुन्– दीपिका प्रसाईं ।

 

दिवाकर भट्टराईद्वारा निर्देशित रमेश उप्रेतीको चलचित्रमार्फत रजतपटमा आउन लागेकी दीपिका मोडल हुन् । आफ्नो पहिलो चलचित्रमा उनले मोडलकै भूमिका निर्वाह गरेकी छिन् । अडिसनबाट उक्त चलचित्रका लागि छनोट भएकी दीपिकाले स्नातक तहसम्मको अध्ययन पूरा गरेकी छिन् । धनगढीकी दीपिका ५ फिट ६ इन्च अग्ली छिन् ।
अघिल्लो साता प्रदर्शनमा आएको चलचित्र ‘द फेमस’ मार्फत नायिकाका रूपमा पदार्पण गर्ने कलाकार हुन्– सोनिया जिआर । बालकलाकारका रूपमा विभिन्न टेलिश्रृंखला तथा वृत्तचित्रमा अभिनय गरिसकेकी सोनियाले पहिलो चलचित्रमा सकेसम्म राम्रो अभिनय गर्ने प्रयास त नगरेकी होइनन् तर चलचित्र व्यवसायिक रूपमा सफल नभैदिँदा उनको भविष्यका बारेमा यसै भन्न सकिँदैन । मोडलिङ तथा सामाजिक कार्यमा समेत रुचि राख्ने सोनियाले अवसर पाएसम्म चलचित्रमै सक्रिय हुने योजना बनाएकी छिन् ।

 

आरोही शर्मा विश्वकै कान्छा निर्देशक सौगात विष्टको दोस्रो चलचित्र ‘हैरान’ मार्फत नायिकाका रूपमा पदार्पण गर्दैछिन् । छायांकनको अन्तिम अवस्थामा रहेको यो चलचित्रका लागि आरोहीले नायिका आँचल शर्मालाई विस्थापित गरेकी हुन् । विगतमा थुप्रै चलचित्रबाट डेब्यु गर्ने अवसरलाई वेवास्ता गर्दै आएकी आरोहीले चित्तबुझ्दो भूमिका भएका कारण ‘हैरान’ लाई छनोट गरेको दाबी गरेकी छिन् । यो चलचित्रको स्क्रिप्ट तथा युनिट मन परेको उनको तर्क छ ।
मिस नेपालमा प्रतिस्पर्धा गरिसकेकी ओसिमा बानु अब अभिनेत्रीका रूपमा दर्शकमाझ आउँदैछिन् । हसन खानको चलचित्र ‘रोमियो’ मार्फत पदार्पण गर्न लागेकी ओसिमा स्थापित मोडलसमेत हुन् । छायांकनको तयारीमा रहेको यो चलचित्रमा अभिनय गरेलगत्तै ओसिमा मुस्लिम समुदायबाट नायिका बन्ने पहिलो कलाकार बन्ने छिन् । ‘चलचित्रमा नायिकाका रूपमा प्रस्तुत हुन पाउँदा निकै एक्साइटेड छु, ओसिमा भन्छिन्— ‘दर्शकले मलाई नायिकाका रूपमा स्वीकार गर्नुहुनेछ भन्ने कुरामा विश्वस्त छु ।’

 
बेलायतमा बसोबास गर्ने सारालाई अभिनेता निखिल उप्रेतीले चलचित्र ‘रुद्र’ मार्फत नायिका बनाएका छन् । चार्टड एकाउन्टेन्टको अध्ययन पूरा गरेकी सारा नेपाल आएका बेला निर्देशक रामजी लामिछाने तथा निर्माता निखिल उप्रेतीको नजरमा परेकी हुन् । छायांकन सम्पन्न भैसकेको यो चलचित्रमा अभिनय गरिसकेपछि साराले आफूलाई नेपाली चलचित्रले आकर्षित गरेको तथा भविष्यमा पनि यही क्षेत्रमा रमाउने सोच पलाएको टिप्पणी गरेकी छिन् ।
अभिनेता अनमोल केसीको चौथो चलचित्र ‘कृ’ मार्फत मोडल अदिति बुढाथोकी पनि नायिकाका रूपमा दर्शकमाझ आउने तयारी गर्दैछिन् । केही म्युजिक भिडियो तथा थुप्रै फेसन शोमा क्याटवाक गरिसकेकी अदिती अहिले मुम्बईमा छिन् । मुम्बईमा म्युजिक भिडियोहरूमा अभिनय गरिरहेकी अदितीले अडिसनमार्फत ‘कृ’ मा आफ्नो भूमिका निश्चित गरेकी हुन् । सुवास गिरी तथा भुवन केसीले निर्माण गर्ने यो चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गर्नेछन् ।

 

 

भर्खरै छायांकन सम्पन्न भएको चलचित्र ‘अग्निदहन’ मार्फत तीन नयाँ अनुहार नायिकाका रूपमा नेपाली दर्शकहरूमाझ आउँदैछन् । अनुपमा भण्डारी, प्रमिला तुलाचन तथा तुलसी जिसीले उक्त चलचित्रमार्फत नायिकाका रूपमा पदार्पण गर्नेछन् । भर्खरै छायांकन सम्पन्न भएको यो चलचित्रमा बोक्सी प्रथामा आधारित भएको निर्देशक घनश्याम लामिछानेले बताएका छन् । यी तीन नवनायिकामध्ये तुलसा गायिकाका रूपमा स्थापित भैसकेकी छिन् ।
निर्देशक तुलसी घिमिरेको चलचित्र ‘दर्पणछायाँ–२’ मार्फत दुई नयाँ अनुहार नायिकाका रूपमा चलचित्र क्षेत्रमा भित्रिंदै छन् । सहारा कार्की तथा श्रद्धा प्रसाईंलाई निर्देशक घिमिरेले अभिनेता पुष्प खड्काको जोडीका रूपमा प्रस्तुत गरेका छन् । फागुनमा प्रदर्शन हुने यो सांगीतिक चलचित्रमार्फत साहारा तथा श्रद्धाले दर्शकको मन जित्ने हुन् कि होइनन् प्रतिक्षाकै विषय हो । छायांकनको तयारीमा रहेको चलचित्र ‘प्रेमगीत–२’ बाट रजतपटमा आउन लागेकी नायिका हुन्– अश्लेषा ठकुरी । रामशरण पाठकले निर्देशन गर्ने सन्तोष सेनको यो चलचित्रमा अश्लेषाले अभिनेता प्रदीप खड्कासंग अनस्क्रिन रोमान्स गर्नेछिन् । ५ फिट ५ इन्च अग्ली २१ वर्षीया अश्लेषाले रंगकर्मी सुनिल पोखरेलसँग अभिनयको प्रशिक्षण लिएकी छिन् ।

 

LEAVE A REPLY