पास–फेल जे भए पनि निर्वाचन : प्रधानमन्त्री

0
233

prachandaप्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत विभिन्न पक्षको माग सम्बोधन गर्न संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक पास–फेल जे भए पनि अब निर्वाचन मिति तोकिने स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सरकारले चैत÷वैशाखमा हुने गरी अब चाँडै स्थानीय तहको निर्वाचन मिति तोक्नेसमेत प्रस्ट पारेका हुन् ।

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस र नेकपा एमाले संघीयताविरुद्ध भएको र जनताको दबाबले मात्र संघीयता मानेको उल्लेख गर्दै अहिले पुनः संविधान र संघीयता धरापमा पार्ने खेल हुन थालेको आरोपसमेत लगाएका छन् । संघीयता र संविधानलाई बचाउन निर्वाचनमा जानुको विकल्प नभएको दाबी उनको छ ।

Advertisements

दाहालले निर्वाचनको वातावरण बनाउन नै सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको भन्दै त्यसमा मोर्चाले आलोचनात्मक समर्थन गर्ने र सम्भव भए राजनीतिक सहमतिमै र नभएको खण्डमा दुई तिहाइबाट भए पनि पारित गराएर निर्वाचनमा जाने बताए । यद्यपि संशोधनमा दुई तिहाइ पुग्ने अवस्था नरहेको जानकारीसमेत उनले दिएका छन् ।

दुई तिहाइ संख्या नपुग्ने अवस्था आएको जनाउ, संशोधनको पक्षमा मतदान गर्न रायमाझीलाई निर्देशन

संशोधन पास हुने अवस्था नआएमा पनि सरकारले निर्वाचन मिति तोकेर अघि बढ्ने तयारी गरिरहेको बैठकमा दाहालले खुलाएका छन् । शनिबारबाट राजधानीमा सुरु भएको पोलिटब्युरो बैठकमा ब्रिफिङ गर्दै दाहालले अहिलेसम्मका उपलब्धिको रक्षा गर्नु अहिलेको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै त्यसका लागि पनि निर्वाचनमा जानु आवश्यक रहेको बताएका थिए ।

‘अहिलेसम्मको बलिदान, त्याग, संघर्ष र योगदानबाट प्राप्त उपलब्धि नै गुम्ने खतरा भयो,’ दाहालले बैठकमा भने, ‘अब संविधान कार्यान्वयनका लागि निर्वाचन नगर्ने हो भने सबै उपलब्धि खतरामा पर्ने स्थिति देख्दै छु, त्यसैले सरकारले अब चाँडै निर्वाचन मिति घोषणा गर्नेछ, तपाईंहरू सबैले अब निर्वाचनमा ध्यान दिएर अघि बढ्नु पर्दछ ।’

प्रधानमन्त्री दाहालले ब्रिफिङका क्रममा केही दलले गाविसको संरचनामा जानुपर्छ भन्ने कुरा पनि उठाइरहेको समेत जानकारी गराएका थिए । तर, उनले आफू आयोगले दिएको संख्याकै आधारमा स्थानीय तहको निर्वाचन गराउने पक्षमा रहेको समेत स्पष्ट पारेका थिए । ‘अब हामीले निर्वाचनलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ, हाम्रो जोड आयोगले दिने पुनःसंरचनाको प्रस्तावकै आधारमा निर्वाचन गर्नेमा हुनुपर्दछ,’ उनले भने ।

नेपाली कांग्रेस र नेकपा एमालेले संघीयता नै नरुचाए पनि जनताको दबाब थेक्न नसकेर मात्र मानेको उल्लेख गर्दै दाहालले जुन मूल्य चुकाएर भए पनि निर्वाचनमा जानुको विकल्प नरहेको बताएका थिए । ‘कांग्रेस र एमाले त संघीयताको पक्षपाती दल नै होइनन्, तर मधेसी, आदिवासी जनजाति तथा थारू समुदायको प्रेसर धान्न नसकेर मात्र संघीयताको लाइनमा आएका हुन्,’ दाहालले भने, ‘तर अहिले प्राप्त उपलब्धि गुम्ने खतरा पैदा भएको छ, त्यसैले हामी जुन मूल्यमा भए पनि निर्वाचनमा गएर उपलब्धिको रक्षा गर्नेमा जानुपर्दछ ।’

प्रधानमन्त्री दाहालले पाँच नम्बर प्रदेश टुक्र्याएर असन्तुष्टको माग सम्बोधन गर्ने सरकारको तयारीको विषय पार्टीभित्रै मन नपरे पनि समस्या समाधानका लागि ल्याएको जिकिरसमेत गरेका छन् । उनले पार्टीकै केही नेताहरू त्यसविरुद्ध लागे पनि उनीहरूले पनि आलोचनासहित अन्तिममा स्विकारेर अघि बढ्न निर्देशन दिएका छन् । दाहालले संविधान संशोधन गर्नुअघि प्रतिपक्षी दल एमाले पनि आलोचनात्मक समर्थन गर्दै संशोधनमा आउने कुरा गरेको तर अहिले भने सडकमै ओर्लिएकाले संशोधनमा समर्थन गर्ने सम्भावना टरेको समेत जनाएका थिए । यद्यपि, दाहालले संशोधनसहित निर्वाचन मितिलगायत विषयमा एमालेसँग अझै पनि प्याकेजमै सहमति गरेर अघि बढ्न सकिने सम्भावना भने जारी रहेको समेत बताएका थिए ।

पार्टी प्रवक्ता पम्फा भुसालले वर्तमान राजनीतिक अवस्था, संगठन तथा कार्यविभाजनलगायत विषयमा बैठकमा छलफल भइरहेको बताइन् ।

बैठकमा संविधान संशोधन, संगठन, नेताहरूको कार्यविभाजन र कार्ययोजनाको विषयमा निर्णय गर्ने बताइएको छ । पोलिटब्युरो सदस्य मौसम लिम्बुले शनिबार अध्यक्ष दाहालले राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेको र आइतबार संगठनलगायत विषयमा छलफल हुने बताए ।

LEAVE A REPLY