पुँजी बजारमा उतारचढाव अस्वाभाविक

0
281

काठमाडौं: पुँजी बजारमा देखिएको अस्वभाविक उतारचढाव नाटकीय भएको सरोकारवालाको निष्कर्ष छ । अन्नपूर्ण पोस्ट्ले शुक्रबार आयोजना गरेको राउन्ड टेबल कार्यक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन)का उपनिर्देशक अम्बिकाप्रसाद गिरीले सेयर बजार छिनमै दोहोरो अंकले बढ्नु र छिनमै घट्नु नाटकीय भएको बताए ।

Advertisements

‘अहिले सेयर बजार घट्नुपर्ने कारण छैन तर लगातार घटबढ भइरहेको छ, यो नाटकीय हो’, उनले भने, ‘बजार यसरी लगातार घट्दैन र बढ्दैन पनि । बजार उतारचढाव हुनु नेप्सेको विशेषता हो तर बजार कुन अनुपातमा घटबढ भइरहेको छ त्यसले भने महत्त्व राख्छ । तर, अहिलेको अवस्था ‘करेक्सनको फेज’ भएकाले लगानीकर्ताले लगानी डुब्ला भनी डराउनपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

सेबोनले लगानीर्तालाई बुझेर मात्रै लगानी गर्न आग्रह गरेको छ । बजारमा आएको सूचनालाई राम्ररी बुझेर हल्लाका पछाडि नलागी सेयरमा लगानी गर्न आग्रह गरेको उनले बताए । नेपाल इन्भेस्टमेन्ट फोरमका अध्यक्ष आत्माराम घिमिरेले नेपालको पुँजी बजार सुरु भएदेखि हालसम्म दिनहुँ यसरी बजारमा उतारचढाव आएको महसुस नगरेको बताए ।

‘सामन्यतयाः २० प्रतिशतसम्मको करेक्सन राम्रै मानिन्छ तर अहिले जसरी बजार निरन्तर ओर्लिने र उकालो लाग्ने गरिरहेको छ, यो ‘बिग इस्यू’ हो’, घिमिरेले भने, ‘पछिल्लो समय बजार नाटकीय रूपमा घट्यो र त्यसैगरी बढ्यो ।’ बजार लगातार ६०, ४० अंकले बढ्नु र सोही दरमा घट्नु अस्वभाविक भएको उनले बताए ।

बजार नाटकीय रूपमा अगाडि बढे पनि अर्बौंको कारोबार हुने बजारमा सहजै चलखेल हुने सम्भावना नरहेको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अञ्जनराज पौडेलले बताए । ‘आपूर्ति अलि धेरै भएको र संस्थागत ठूला लगानीकर्ताले निरन्तर बिक्री मात्रै गरिरहँदा बजारले थेग्न नसकेको हो’, उनले भने । तर, पनि यसले बजारमा आर्कषण भने पैदा गरेको उनले बताए ।

बजार निरन्तर घट्ने र फेरि उही हिसाबले बढिरहेको हुँदा चलखेल भयो भनिए पनि आफू निरन्तर यसमै लागेकाले त्यसको आधार नभएको उनले बताए ।

हालको बजारलाई व्यवस्थित गर्न म्युचुअल फन्ड आउनुपर्ने सरोकारवालाले बताएका छन् । बजारमा आइरहेको भोलाटाइललाई थप म्युचुअल फन्ड आएपछि थेग्ने अनुमान गरिएको थियो । नागरिक लगानी कोषलाई मार्केट मेकरको रूपमा ल्याउने कुरा भइरहेको भए पनि अहिलेसम्म आउन सकेको छैन ।

कार्यक्रमा नेपाल स्टक एक्चेन्जका कायमुकाय उपप्रबन्धक निरञ्जन फुयाँलले अहिलेको अवस्थामा मार्केट मेकरभन्दा डिलरसीप महत्त्वपूर्ण भएको बताए । धितोपत्र बजार तलमाथि हुँदा अझ यसको मार्केट भ्यालु बढ्ने गर्छ । बजार घटबढ हुने ट्रेन्डले बजारको महत्त्व बढ्ने गिरीले बताए ।

तरलता अभाव, ब्याजर वृद्धि, राजनीतिक अस्थिरतालगायतका घटनाले बजार बढ्दैन भन्ने संकेत गरेको छ । नियामक निकायले ल्याउने नीतिले पनि बजार प्रभावित हुने बताइएको छ । बजारमा वित्तीय क्षेत्रको बाहुल्यता बढी भएकाले राष्ट्र बैंकको नीति तथा निर्णयले सेयर बजार प्रभावित हुन्छ ।

अहिले दैनिक एक/डेढ अर्बको कारोबार भइरहेको सेयर बजारमा कसले किन्यो र कसले बेच्यो भन्ने पक्ष बजारको पहुँचमा भर पर्ने नेपाल मर्चेन्ट बैकर्स संघका अध्यक्ष प्रवीणरमण पराजुलीले बताए । ‘विशेषगरि म्युचुअल फन्ड भनेको मार्केट मेकर होइन्,’ उनले भने, ‘विशेषत हाम्रो भूमिका भनेको त धितोपत्र बोर्डसँग गरेको प्रतिवद्धता अनुसार फन्ड म्यानेज गर्ने मात्रै हो ।’

पुनर्निर्माणको कामले तीव्रता पाई तरलताको अभाव कम भए यस्तो अवस्थामा पनि बजार उकालो लाग्न सक्छ । ‘तर पुनर्निर्माणले गति लिन सकेन, पुस मसान्त आउँदैछ, करको माध्यमबाट सरकारी खातामा पैसा जम्मा हुन गयो भने बजारमा तरलताको समस्या झन बढ्न सक्छ’, उनले भने, ‘यस्तो अवस्थामा बजार ओरालो लाग्न समय लाग्दैन ।’

बजार घटबढ नाटकीय
आत्माराम घिमिरे/अध्यक्ष, नेपाल इन्भेस्टमेन्ट फोरम

२०५० सालदेखि सेयर बजारमा छु यतिधेरै उतारचढाव पहिलोपटक देखें । पुँजी बजारमा उतारचढाव सामान्य हो तर अहिलेको उतारचढाव अस्वभाविक छ, नाटकीय देखिन्छ । सामन्यतया २० प्रतिशतसम्मको करेक्सन राम्रै मानिन्छ । जसरी लगातार ओर्लिने र उकालोलाग्ने गरिरहेको छ, यो डरलाग्दो अवस्था हो । तीन/चार दिन लगातार ५०,४० र ६० अंकले बजार घट्यो । त्यसपछि लगातार ६०,४० अंकले उकालो लागिरह्यो ।

यसअघि पनि ४० र ६० अंकले घटबढ हुन्थ्यो । तर, ६० अंकले बढेको बजार अर्को दिन २/४ अंकले मात्र बढ्थ्यो । करेक्सन भए पनि ८/१० अंकले मात्र हुन्थ्यो । अहिले बजार लगातारको घटबढ अस्वभाविक हो । बजारमा भइरहेको अस्वभाविक गतिमा ब्रोकर कम्पनीको चलखेल भन्ने हल्ला छ ।

सामान्यतः बजारमा बुलिस ट्रेन्डमा माथि जान्छ, अलिकति करेक्सन हुन्छ, अनि फेरि माथि जान्छ, करेक्सन हुन्छ । बजारको माथि जाने मात्रा बढी हुन्छ, तल झर्ने मात्रा कम हुन्छ । यो बुलिस ट्रेन्ड भयो । बियरिस ट्रेन्डमा पनि यस्तै हुन्छ । बियरिस ट्रेन्डमा बजार घट्ने मात्रा बढी हुन्छ, फेरि बढ्छ, अनि फेरि तल झर्छ, करेक्सन भइहाल्छ ।

पछिल्लो समय बजार घटबढी निकै अस्वभाविक देखियो । बढ्दा लगातार बढ्ने होइन, घट्दा पनि लगातार घट्ने होइन । बजार प्रभावित पारियो भनिन्छ । यसलाई हटाउने एक मात्र उपाय हो, अनलाइन ट्रेडिङ हो । ब्रोकरले सेयर मूल्य बढाउनुछ भने १० हजार कित्ता सेयर माग भएको देखाइदिन्छ । हामीले मार्केट हेर्छौं, ओहो खरिद गर्ने २२ हजार छन्, बिक्री गर्ने १२ सय मात्र छन्, यो सेयर बढ्छ । कन्सेप्ट त यही हो ।

ब्रोकर कसले राख्यो थाहै हुँदैन । अनलाइन ट्रेडिङ भएमा यस्तो समस्या घट्छ । सचेत भएर सेयरमा लगानी गर्न सुझाव दिँइदै आएको छ, नियामक नियकायका साथै लगानीकर्ताको तर्फबाट पनि । बजारको स्वभाव सँधै बढ्ने र सँधै घटिरहने होइन । कुन बेला कति अंकले बढ्छ, कति अंकले घट्छ भन्न सकिँदैन । लगानीकर्ताले सेयर बजार घटबढ हुने सामान्य सिद्धान्त भनेर बुझ्नुपर्छ ।

हामीले बजार १८८१ अंकमा पुगिसकेपछि यथास्थितिमा अझैमाथि जाला भन्न पनि सकिँदैन । तरलता अभाव, ब्याजरमा वृद्धि, राजनीतिक अस्थिरतालगायतका घटनाले बजार बढ्दैन भन्ने संकेत गर्छ । यस्तो बेलामा बजार अब नबढ्ला भन्ने आँकलन गर्न सकिन्छ । नियामक निकायले ल्याउने नीतिले पनि बजार प्रभावित हुन्छ । बजारमा वित्तीय क्षेत्रको बाहुल्य भएकाले राष्ट्र बैंकको नीति तथा निर्णयले सेयर बजार प्रभावित हुन्छ ।

हाम्रो बजार धितोपत्र बोर्डको निर्णयभन्दा राष्ट्र बैंकको निर्णयले बढी प्रभावित हुन्छ । किनकी बजारमा हिस्सा बैंक वित्तीय संस्थाको बढी छ । बजारमा विविधिकरण छैन । बजारमा सेयरको सप्लाइ बढी छ । बैंकको चुक्ता पुँजी दुई अर्ब भनिदिएको छ, कहिले आठ अर्ब पुर्‌याउनुपर्ने भनेको छ । राष्ट्र बैंकको ‘सप्लाइ साइड म्यानेजमेन्ट’ उत्कृष्ट छ । डिमान्ड साइडको म्यानेजमेन्ट न राष्ट्र बैंकले हेरेका छ, न धितोपत्र बोर्डले ।

बजार सञ्चालकले पनि हेरेका छैनन् । उहाँहरूले डिमान्ड साइड पनि हेर्नुपर्छ । एनआरएनको लगानी ल्याउन बाटो खुला गर्छौं भन्नुभयो । तर, काम हुन सकेको छैन । कुरा गरेको पनि चार वर्ष भइसक्यो । पुँजी बजार विस्तार गर्ने, वाणिज्य बैंकलाई धितोपत्र कारोबारको लाइसेन्स दिने, ब्रोकरलाई जिल्लामा पठाउने भनिएको छ तर काम भएको छैन । कम्तीमा ५० वटा ब्रोकरलाई ५० जिल्लामा पठाए धेरै काम हुन्थ्यो ।

अहिले दिनमै डेढ अर्बको सेयर कारोबार हुन थालेको छ । डेढ अर्बको कारोबार हुने ठाउँमा २० लाख रुपैयाँ पुँजी भएको ब्रोकर कम्पनीले कसरी ठूलो कारोबार गर्छन् । २० लाख पुँजी भएको संस्थाले ८/१० करोडको कारोबार गर्न कसरी मिल्छ ? ब्रोकरको पुँजी पाँच करोड बनाउनुपर्ने होकी दुई करोड बनाउनु पर्ने हो, नियामक निकायले नीति बनाओस् । हामी लगानीकर्ताले देखेको ब्रोकरको संस्थागत क्षमता छैन ।

मैले आठ/दसवटा ब्रोकरकहाँ काम गर्छु । तर, कुनै पनि ब्रोकर अहिलेको बजार/कारोबारअनुसार सक्षम छैनन् । ब्रोकर कम्पनीले ७५ जिल्लामै शाखा खोल्छन् भने दिनुपर्छ । उनीहरू सक्षम भए किन रोक्नु । प्राथमिकता बैंकभन्दा ब्रोकर कम्पनीले पाउनुपर्छ । उहाँहरूले लामो समयदेखि काम गर्दै आउनुभएको छ । उहाँरूले सक्दिन भनेर हात उठाएमा बैंकलाई जिम्मा लगाउनुपर्छ । अनलाइन ट्रेडिङमा नगई हुन्न ।

त्यसो भए ब्रोकरले जिल्लामा शाखा खोल्न पनि पर्दैन, उनीहरू जानु पनि पर्दैन । काठमाडौंमा भएका ब्रोकरबाट जुम्लाको किसानले अनलाइनबाट सेयर किनबेच गर्न सक्छ । विदेशमा इन्भेस्टमेन्ट बैंकले धेरैजसो सहायक कम्पनी खोलेर सेयर कारोबार गर्छन् । जहाँ अर्बौं डलरको सेयर कारोबार हुन्छ, त्यही अनुरुप कोष व्यवस्थापन गरिदिनुपर्छ । यहाँ जति पनि सूचीकृत कम्पनी छन्, सबैको पुँजी एउटै छैन । सबैको सेयर सप्लाइ एउटै छैन । इन्भेस्टमेन्ट बैंकको आठ अर्ब चुक्ता पुँजी भइसक्यो । उसले एफपीओ पनि जारी गर्‌यो । अहिले उसको प्रशस्त सेयर बजारमा छ । त्यही भएर आम्दानी राम्रो हुँदा पनि इन्भेस्टमेन्टको सेयर मूल्य कम छ ।

लगानीकर्ता आत्तिनु पर्दैन
अम्बिकाप्रसाद गिरी/उपनिर्देशक, नेपाल धितोपत्र बोर्ड

पुँजी बजारमा एकदमै उतारचढाव छ । बजार तलै जानुपर्ने अवस्था छैन । तसर्थ, लगानीकर्ता आँत्तिनुपर्ने अवस्था छैन । लगानीकर्ता आँत्तिने, सानो समाचार/सूचना आउनासाथै हतोत्साही हुनु भएन । सेबोनले लगानीर्तालाई बुझेर मात्रै लगानी गर्न आग्रह गरेको छ । हल्लाको पछाडि नलाग्न र वास्तविकता बुझेर मात्रै लगानी गर्न आग्रह गरिरहेका छौं । नागरिक लगानी कोषलाई मार्केट मेकरको रूपमा ल्याउने कुरा भइरहेको छ ।

मुख्य समस्या नै लगानीकर्ता पर्याप्त सचेत/सुसूचित नहुनु हो । यसमा सेबोन नेप्से, इन्भेस्टर फोरम सबैको उत्तिकै भूमिका हुन्छ । सेबोनले आफ्नै भूमिका निर्वाह गरिरहेको छ । उतारचढाव आउनासाथ ब्रोकर कम्पनीमाथि सतर्कता अपनाउने/अनुगमन गर्ने गरिहेका छौं । सबैभन्दा ठूलो चुनौती नै सुपरीवेक्षण नियमित गर्ने र बजारमा म्यानुपुलेसन हुन नदिनु हो । अहिले बजारमा सेयरको आपूर्ति मात्रै भयो माग पनि बढानुपर्छ । अनि बजारका जोखिम कम हुन्छन् । बजारमा थप जनशक्ति चाहिए सेबोनले व्यवस्थापन गर्छ । कर्मचारी थप गरेर सक्रियता देखाइरहेको छ ।

अहिले बजारमा तरलताको अभाव छ । ४/५ प्रतिशतबाट ८/९ प्रतिशत ब्याज दिँदा त्यसतर्फ सुरक्षित त्यो हो कि भनेर लगानीकर्ता त्यतातर्फ गएका हुन्छन् । भारु पाँच सय र हजार नोटको प्रतिबन्धले पनि प्रभाव परेको छ । संस्थागत लगानीकर्ता कम भयो । म्युचुअल फन्डले संस्थागत भूमिका खेल्नुपर्छ । म्युचुअल फन्ड कम्पनीले लगानी गरिहेको छैन भन्ने गुनासो पनि आयो । सबै म्युचुअल फन्डमा पुगरे हामी अध्ययन प्रतिवेदन बनाउँदै छौं । उनीहरूले नियम मिचेर काम गरेको पाइएको छैन । सूक्ष्मरूपले अझै अध्ययन भइरहेको छ । अझै म्युचुअल फन्ड आउनुपर्छ ।

यिनले गर्ने लगानीको सीमा कति र के भन्ने विषयमा नियमन प्रष्ट छ । बजारमा आइरहेको उतारचढावलाई म्युचुअल फन्ड आएपछि थेग्छ कि भन्ने अनुमान पनि हो । ब्रोकरले गर्ने सेयरको कारोबारको काम बैंकलाई दिने भन्ने विषय तत्काल अगाडि बढिसकेको छैन । छलफलकै चरणमा छ । बैंकलाई तत्काल नदिएर उनीहरूको सहायक कम्पनीका रूपमा सञ्चालन गर्न सकिन्छ कि भन्ने हो । सेबोनको लक्ष्य सबै ठाउँबाट किनबेच गराउनु हो । सहजताका लागि बैंकलाई दिने कि भन्ने विषयमा छलफल भएको भए पनि प्रक्रिया अगाडि बढिसकेको छैन ।

बैंकसँग राम्रो नेटवर्क हुन्छ र सहायक कम्पनीमार्फत दिन सकिन्छ भन्ने विषयको छलफल मात्रै हो । यसका साथै, बजार सुधारका लागि हामीले कानुनमा परिमार्जन गर्नपर्ने हुन्छ । कानुनमा क्रमशः परिमार्जन गरेका पनि छौं । रियल सेक्टरलाई कसरी ल्याउने भन्नेमा पनि गृहकार्य भइरहेको छ । पहिले ३० प्रतिशत पब्लिकमा आउनै पथ्र्यो । अहिले हामीले मर्चेन्ट बैंक नयाँ खोल्नका लागि रोकेका छौं । ब्रोकरको कार्यक्षेत्र विस्तार र पुँजी बढाउने विषयमा पनि छलफल जारी छ ।

यसका लागि नियमावली संशोधन गर्नपर्ने हुन्छ । ब्रोकरको काम गर्न सक्षम कम्पनी बन्नुपर्छ भन्ने हो । ब्रोकरको नियमनमा पनि संशोधनको तयारी छ । प्रविधिको प्रयोग बढाउने कुरामा पनि हामी अगाडि बढिसकेका छौं । संस्थालाई कर्पोरेटाइजेसन गर्ने काम पनि अगाडि बढिरहेको छ । अनलाइन ट्रेडिङ गर्ने विषयमा पनि प्रक्रिया अगाडि बढेको छ । अनलाइनबाट बाइसेल गर्ने र ब्रोकर थ्रो आउटिङ दिने भन्ने हो । हाम्रोमा भने ब्रोकरबाट नै जाने भन्ने विषयमा छलफल भइरहेको छ । ब्रोकरको पुँजी, जनशक्ति र कार्यक्षेत्र बढाउनुपर्छ । फेरिपनि लगानीकर्ता सचेत नभएसम्म बजार व्यवस्थित हुँदैन ।

सुधारको प्रक्रिया निरन्तर
निरञ्जन फुँयाल/कायममुकाय उप-प्रबन्धकः नेपाल स्टक एक्सचेन्ज लिमिटेड

कारोबारलाई अनलाइन प्रणालीमा ल्याउने काम भइरहेको छ । नेप्से सरकारी संस्था भएकाले सार्वजनिक खरिद कानुनअनुसार चल्नुपर्छ । सानो संस्था, थोरै बजेट छ । परामर्शदाता ल्याउन दुई वर्ष लाग्यो । परामर्शदाता नियुक्त गरी टेन्डर प्रक्रियामा जाने तयारी भएको थियो तर अदालतमा मुद्दा दर्ता भएपछि काम रोकियो । अब नेप्सेले यतिमात्र भन्न सक्छ कि नियामक निकाय र अदालतले गर्ने निर्णयअनुसार यो काम अगाडि बढ्छ ।

यसो भइसकेपछि अनलाइन ट्रेडिङ सञ्चालन गर्न कुनै पनि समस्या छैन । वैदेशिक लगानी धितोपत्र बोर्डले राष्ट्र बैंक, अर्थ मन्त्रालय, र नेप्सेसहितको संलग्नतामा वैदेशिक लगानी भित्त्याउने बारे छलफल सुरु गरिसकेको छ । छलफलमा बजारलाई कसरी व्यववस्थापन गर्ने र वैदेशिक लगानी कसरी ल्याउन सकिन्छ भने विषयमा छलफल भइरहेको छ । यसको लागि निर्देशिका बनाउन लागिएको छ । फेरि डलर ल्याउने विषय भने राष्ट्र बैंक सगँ जोडिएको विषयवस्तु पनि हो ।

नागरिक लगानी कोषलाई मार्केट मेकरका रूपमा किन ल्याउने भन्ने विषयमा प्रश्न उठेको छ । उसले मार्केट मेकरका रूपमा काम गरेन भनेर आलोचना पनि भएको छ । मार्केट मेकर पुरानो पद्धिति हो, यसमा जोखिम पनि छ । अहिलेको अवस्थामा मार्केट मेकरभन्दा डिलरसीप महत्त्वपूर्ण छ । अहिले लगानीकर्ता स्मार्ट भइसकेका छन् । बजारमा बिक्री नभएको सेयर मार्केट मेकरको हातमा र पैसामा भने बजारमा जाने गर्छ ।

यसका लागि नेपाल स्टक एक्सचेन्ज डिलरसीप को बाटोमा जाने तयारीमा छ । यसका लागि प्रणाली बनिसक्यो । बजार चलखेल पुँजीबजार चलखेलरहित छ भन्ने दाबी गर्दिन, अन्तर्राष्ट्रिय बजारमा पनि हुन्छ तर जुनरूपमा चलखेलको हल्ला छ, सत्य छैन । दैनिक अर्बौ रुपैयाँको कारोबार हुने बजारमा कसैलाई चलखेल गर्नपनि अर्बौ रुपयाँ आवश्यक पर्छ भन्ने बुझ्न पर्‌यो । बजारमा चलखेलका लागि प्रविधि र ऐन कानुनको पनि सहयोग चाहिन्छ ।

बजारमा चलखेल भयो भनेर पहिले देखिनै ब्रोकर, नेप्सेलाई समेत गाली गर्ने चलन थियो तर अहिले भने धितोपत्र बोर्डलाई समेत गाली गर्न थालेका छन् । वाणिज्य बैंकको मात्रले बजारमा चलखेल बढ्न सक्दैन् । बजारमा पाँच रुपैयाँ तलमाथि हुन साथ डिमान्ड र सप्लाइमा धेरै नै फरक पार्छ । त्यसले पनि कुनै एक व्यक्तिले कुनै एक कम्पनीको बजार मूल्य १० प्रतिशतले बढाउन सक्दैन । बजार जति तलमाथि हुन्छ त्यसले नै मार्केटमा लगानी बढाउने हो ।

मार्केट तलमाथि हुने भनेको नै सेयर बजारको सुन्दर पक्ष हो । कुनै कुनै बेला र थोरै कारोबार हुने कम्पनीमा यस्तो चलखेलको सम्भावना हुन सक्छ तर नियमति कारोबार गर्ने ठूला कम्पनीमा यस्तो हुन सक्दैन ।

चलखेल देख्दिन
अञ्जनराज पौडेल/पूर्वअध्यक्षः स्टक ब्रोकर एसोसिएसन

सेयर बजारका उतारचढाव मध्ये यसपालिको उतारचढाव अलि फरक भएकै हो । बजार तलमाथि हुन्छ नै, नेपालको सन्र्दभमा अन्तर्राष्ट्रिय घटनाक्रमले फरक पार्दैन् । किनकी नेपालमा क्रस बोर्डर लिस्टिङ छैन । वैदेशिक लगानीलाई अनुमति छैन । हाम्रो बजार भनेको टापुमा बसेको बजार हो । प्रभाव आन्तरिक कारणले पर्छ । तैपनि बजार हिस्सा बढेको छ । दैनिक अर्बौ रुपैयाँको कारोबार हुन्छ । देशको आर्थिक अवस्थाअनुसार ठूलो कारोबार मान्नुपर्छ । दुईदशक पारगरिसकेको बजारमा पछिल्लो उतारचढाव अलि फरक थियो ।

नाटकीय नै भन्न सकिन्छ । तर, सेयरको आपूर्ति अलि धेरै र संस्थागत लगानीकर्ताले निरन्तर बिक्री मात्रै गरिरहँदा पनि बजारले थेग्न नसकेको बुझ्नुपर्छ । बजारमा आर्कषण पैदा गरेको छ, राम्रो पक्ष यही हो । गत वर्ष भूकम्प र नाकाबन्दीका कारण उद्योग, कलकारखाना बन्द भए, कम क्षमता चले । लगानीको क्षेत्र सीमित हुँदा सेयर बजारमा लगानी भयो । यसैले आर्थिक परिसूचक नकारात्मक हुँदासमेत सेयर बजार उकालो लागेको थियो ।

अहिले त्यस्ता लगानीकर्ता यथास्थानमा फर्किएका छन् । बजारमा साना लगानीकर्ता थपिए । गत वर्षको जस्तो लगानी बढ्न सकेको छैन । लगानी भनेको फेरि एकैनासले बढ्ने मात्र होइन घट्छ पनि । केही दिन बजार निरन्तर घट्ने र फेरि उही हिसाबले बढ्ने भइरहेको छ । यसोहुँदा चलखेल भएको अड्कल काटिए पनि मैले कुनै चलखेल देख्दिन ।

कुनै व्यक्ति/संस्था विशेषको क्षमताभन्दा बजार ठूलो भइसकेको छ । पहिला बजार सानो थियो, अर्बौंको कारोबार हुने बजारमा कसको तागत । पुँजी भएका मात्र थिए, अहिले त्यस्तो छैन । सिकारु लगानीकर्ता पनि छ्याप्छ्याप्ती छन् । ऐन कानुन र प्रविधिमा समयसापेक्ष परिमार्जन आवश्यक छ । एनआरएनलाई लगानीको अनुमति दिने कुरा छ, यहाँ आएर औंठाछाप लगाएर कारोबार गर्ने कुरा हुन्न–अनलाइन ट्रेडिङ प्रणाली यथाशीघ्र लागू गर्नु पर्‌यो ।

समग्र बजारलाई प्रतिनिधित्व गराउन विभिन्न स्किम ल्याउनुपर्छ । ब्रोकर कम्पनीको व्यवसाय लगानीकर्ताको काम सहज गराउनु हो । तर, हामीलाई हात खुट्टा बाधेर काम गर्नु भनिएको अवस्था छ । सार्वजनिक खरिद ऐनमा खरिद र बिक्री आदेशमा लिखित अर्डर लिएर मात्रै काम गर्नुपर्ने भनिएको छ । तैपनि धितोपत्र बोर्डमा नेतृत्वले सुधारको आश जगाएको छ ।

अनलाइन कारोबार चाहिन्छ
प्रवीणरमण पराजुली/अध्यक्ष, नेपाल मर्चेन्ट बैंकर्स संघ

मर्चेन्ट बैंक तथा म्युचुअल फन्डका तर्फबाट भन्नुपर्दा सकारात्मक पक्ष भनेको कारोबारको आकार हो । दिनमा डेढ अर्बको कारोबार भइरहेको छ । कसले किन्यो र कसले बेच्यो भन्ने पक्ष त बजारको पहुँचमा भरपर्छ । कुनै संस्थाले बेच्यो, कुनैले किन्यो, बजार घटबढ हुनुसँगको सन्दर्भमा गहिरिएर जानु सान्दर्भिक नहुन सक्छ । म्युचुअल फन्ड मार्केट मेकर होइन, धितोपत्र बोर्डसँग गरेको प्रतिबद्धताअनुसार फन्ड म्यानेज गर्ने मात्रै काम हो ।

यही भूमिका हाम्रो सम्पत्ति हो । हाम्रो दायित्व के हुन्छ भने बजारले राम्रो गरिरहेको छ, परिसूचक बढ्नु र घट्नुको कुनै तर्क छ कि छैन भनेर हेर्नुपर्छ । अलिअलि घट्नु र बढ्नु त सामान्य नै हो । सँधै बढ्यो भने बजार कहाँ पुग्छ ? बजारले एउटा गति लिएको हुन्छ, त्यसमा निश्चित बिन्दूमा पुगेपछि घट्ने हुन्छ र बढ्ने पनि हुन्छ त्यो नै वृद्धिको प्रक्रिया हो ।

म्युचुअल फन्डको भूमिका संस्थागत लगानीकर्ताको हो भने दायित्व भनेको युनिट होल्डर जसले हजारौंको संख्यामा फन्ड म्यानेजरलाई विश्वास गरेका हुन्छन् । उनीहरूको भूमिका र लगानीको संरक्षण गर्नु नै हो । अहिले सेबोन तथा नेप्से पनि निकै सक्रिय भएर आइरहेका छन् । सबैलाई खुला पहुँच दिन अनलाइन कारोबार चाहिन्छ ।annapurna-round-table-5843955f99f893-86066209

अहिलेको समयमा नम्बरमा जानु हुँदैन भन्ने मेरो बुझाइ हो । सर्भिस दिने ठूलो कुरा हो । बजारमा आउने र जानेलाई रोक्नु हुँदैन बजारको अपेक्षाअनुसार पनि जान दिनुपर्छ । कसैले चलखेल गर्‌यो भन्नुभन्दा पनि बजार कसरी अगाडि बढ्छ भनेर हेर्नुपर्छ, धरातलीय यथार्य हेर्नुपर्छ । एक अर्ब रुपैयाँको कारोबार हुँदा पनि बजार घट्छ भने सप्लाइ त अझै रहेछ नि त भनेर हेर्नुपर्छ ।

बजारमा पहुँच, क्षेत्र र सीमा बढाउनुपर्छ । हामी अनलाइनमा सहजीकरण खोज्दैछौं । प्रविधिमा हामीले सुधार गर्नुपर्छ । १० वटा म्युचुअल फन्डको १० अर्बकै कारोबार भइरहेको होला । हामीले पेशागत मर्यादालाई भुल्नु भएन । गैरआवासीय नेपालीका बारेमा पनि धितोपत्र बोर्डले गृहकार्य थालेको चार वर्ष भयो ।

लगानी/लाभांश फिर्ता (रिप्याट्रिएसन) गर्नेमा प्रगति भएको छैन । सेबोन, राष्ट्र बैंक र अर्थ मन्त्रालयसहितको संयुक्त बैंठकले कसरी रिप्याट्रेसन गर्न सकिन्छ र एनआरएनको विदेशी लगानी कसरी गर्न सकिन्छ भनेर अध्ययन सुरु गर्नु सकारात्मक हो । तर, काम समयमै हुनपर्‌यो । नीति बनेको पाँच वर्षपछि कार्यान्वयनमा जाने होइन । Annapurna postshare-karobar-jpg

LEAVE A REPLY