आत्मसंयम

0
269

डा. मतिप्रसाद ढकाल,

Advertisements

 

12193679_656193417855903_6562239809985979929_n

 

 

हामीलाई हाम्रा अभिभावकहरूले नियन्त्रण गर्छन् भने अभिभावकले आफूलाई आफैले नियन्त्रण गर्छन् । निश्चित अनुशासन वा निर्धारित नियमहरूको अधीनमा रहन जोकसैलाई पनि निकै गाह्रो हुन्छ । नियन्त्रणभन्दा बाहिर हुँदा स्वतन्त्रता त प्राप्त हुन्छ तर त्यसले स्वच्छन्दता निम्त्याउँछ । स्वच्छन्दताको हुरीले मान्छेलाई उडाएर कहाँ पुर्याउँछ ? भन्न सकिँदैन । त्यसैले हामी कसै न कसैको अधीनमा रहनैपर्छ । धेरै दिनसम्म दाम्लामा बाँधिराखेका गाईवस्तुहरू दाम्लाबाट मुक्त हुँदा जसरी अनियन्त्रित हुन्छन्, मान्छेलाई पनि अति नियन्त्रण गर्दा त्यस्तै अतिस्वच्छन्दता निम्तिन सक्छ । हामी स्वच्छन्द हुँदै गयौं भने हाम्रै सिको गरेर हाम्रा सन्ततिहरू पनि स्वच्छन्दतामा अग्रसर हुन रुचाउँछन् । आफ्ना सन्तति वा भावी पुस्ताका लागि पनि हामीले आफूलाई आफैले नियन्त्रण गर्नुपर्छ । हामीहरू आत्मसंयमी हुन सक्यौं भने त्यसबाट हाम्रो भावी पुस्ता पनि आत्मसंयमी बन्नका लागि प्रयत्नशील भइरहने छ ।

युद्धमैदानमा युद्धको शङ्खघोष भइसकेपछि अर्जुनमा एकाएक वैराग्य आयो । उनले कर्म, अकर्म र विकर्मका बारेमा विचार गर्न सकेनन् । उनमा आत्मसंयमको अभाव देखियो । आत्मसंयमी बनेर कर्तव्य कर्ममा प्रवृत्त हुनका लागि अर्जुनलाई मार्गनिर्देशन गर्न श्रीकृष्ण बाध्य भएका हुन् ।

केवल अग्निलाई त्याग गर्दैमा कोही पनि सन्न्यासी हुन सकतैन भने केवल क्रियाहरूलाई छाड्दैमा कोही पनि योगी बन्न सक्तैन । अपितु जसले कर्मफलको आश्रय नलिईकन कर्तव्य कर्म गर्छ, वास्तवमा त्यही व्यक्ति सन्न्यासी र योगी पनि ठहरिन्छ । जसलाई सन्न्यास भनिन्छ, वास्तवमा त्यही योग हो किनकि सङ्कल्पहरूलाई नछाड्ने कुनै पनि व्यक्ति योगी बन्न सक्तैन । योगरूपी आसनमा बस्न चाहने व्यक्तिका लागि निष्काम कर्म गर्नु नै कारण ठानिन्छ भने योगारूढ भइसकेपछि त्यही कर्मको अभाव नै कल्याणको कारण मानिन्छ । जुनबेला इन्द्रियहरूको भोगमा र कर्महरूमा आसक्ति हुँदैन, त्यसबेला नै सम्पूर्ण सङ्कल्पहरूलाई त्याग गर्ने व्यक्ति ‘योगारूढ’ भएको ठहरिने छ । योगारूढ हुन चाहनेले आफ्नो उद्धार आफैले गर्नुपर्छ र आफूलाई कहिल्यै उदासीन वा दुःखी बनाउनु हुँदैन किनभने आफ्नो मित्र हामी आफै हौं र आफ्ना शत्रु पनि हामी आफै हौं । मन र इन्द्रियहरूसहित शरीरलाई जित्न सक्यौं भने हामी आफ्नो मित्र आफै हुन्छौं भने तिनलाई जित्न नसकेका खण्डमा हामी आफू नै आफ्ना लागि शत्रु ठहरिने छौं ।

जाडो–गर्मी, सुख–दुःख र मान–अपमान हुँदा पनि जो आन्तरिक रूपमा शान्त हुन्छ, त्यस्तो जितात्म व्यक्तिमा परमात्मा समाहित हुन्छन् । जसको अन्तरात्मा ज्ञान र विज्ञानद्वारा तृप्त छ, जसको अवस्था अपरिवर्तनशील छ, जसले सारा इन्द्रियहरूलाई विशेष प्रकारले जितेको छ र जसले माटो, ढुङ्गो र सुनको मूल्य बराबर देख्छ, त्यस्ता योगीले परमात्मालाई प्राप्त गरेको ठहरिन्छ । स्वार्थरहित भएर सबैको हित गर्ने सुहृद्, सुख र दुःखमा पनि साथ दिने साथी, शत्रु, पक्षपात नचाहिने तटस्थ वा उदासीन, दुवैको भलाइ चाहने मध्यस्थ, द्वेष गर्नेवाला र बन्धुगण, धर्मात्मा तथा पापीहरूमा पनि समान भावना राख्ने योगी अत्यन्त श्रेष्ठ मानिन्छ ।

मन, इन्द्रिय र शरीरलाई वशमा राख्ने, आशा नराख्ने र कुनै चीजको सङ्ग्रह नगर्ने योगीले एक्लै एकान्तमा रहेर आत्मालाई निरन्तर परमात्माको चिन्तनमा लगाओस् वा तपस्या गरोस् । पवित्र ठाउँमा कुश, मृगचर्म र वस्त्र बिछ्याएको न अग्लो न होचो आसनमा बसेर मन र इन्द्रियहरूलाई वशमा राखी एकाग्र भएर आत्मिक शुद्धिका लागि योग गरोस् । शरीर, शिर र घाँटीलाई समान रूपमा हलचल नगराईकन स्थिर भएर आफ्नो नाकको अग्रभागलाई मात्र हेर्दै ब्रह्मचर्य व्रतमा रहेर निडर र शान्त भई चञ्चल मनलाई रोकेर भगवान्को चिन्तन गरोस् । यस्ता योगीले भगवान्लाई मात्र होइन भगवान्मा रहने परमानन्दको पराकाष्ठारूप शान्तिलाई पनि प्राप्त गर्दछ ।

धेरै खानेले, खाँदै नखानेले, धेरै सुत्नेले र सधैं जागिरहनेले पनि योगमा सफलता प्राप्त गर्न सक्तैनन् । सम्पूर्ण दुःखहरूलाई निवारण गर्ने योगमा यथोचित आहारविहार गर्नेले, कर्ममा यथोचित चेष्टा राख्नेले, निर्धारित समयमा सुत्नेले र निर्धारित समयमा जाग्नेले नै सफलता प्राप्त गर्दछन् । विशेष किसिमले वशमा राखिएको मन जुनबेला परमात्मामा स्थित रहन्छ त्यसबेला सम्पूर्ण भोगहरूद्वारा निस्पृह भएको व्यक्ति योगी ठहरिन्छ । हावा नलागेका ठाउँमा जसरी बत्ती चलायमान हुँदैन, त्यसरी नै परमात्माको ध्यानमा संलग्न भएको जितेन्द्रिय योगीको चित्त पनि चलायमान हुँदैन । इन्द्रियहरूबाट टाढा र सूक्ष्म बुद्धिद्वारा ग्रहण गर्न योग्य अनन्त आनन्दको अनुभव गरेर स्थिर रहने योगी परमात्माको तत्त्वबाट कहिल्यै विचलित हुँदैन । परमात्मालाई प्राप्त गरेर त्यसभन्दा ठूलो अर्को कुनै लाभको चाहना गर्दैन त्यस्तो योगी अत्यन्त दुःखहरूबाट पनि विचलित हुँदैन । दुःखरूपी संसारको संयोगबाट वियोग भएको भनेर योगलाई बुझ्नुपर्छ र धैर्यवान् चित्तले निश्चयपूर्वक योग गर्नु अपरिहार्य छ ।

योग गर्ने व्यक्तिले सङ्कल्पद्वारा उत्पन्न हुने सम्पूर्ण कामनाहरूलाई छाडी मनद्वारा सबै इन्द्रियलाई राम्रोसँग नियन्त्रण गरेर बिस्तारै बिस्तारै अभ्यासद्वारा विषय भोगबाट विरक्त भई धैर्यवान् बुद्धिद्वारा मनलाई परमात्मामा स्थित गरेर परमात्माबाहेक अन्य केही पनि चिन्तन नगरोस् र अस्थिर एवं चञ्चल मनलाई रोकेर परमात्माकै अधीनमा पु¥याओस् । किनभने मन राम्रोसँग शान्त नभएको र पापी व्यक्तिले कहिल्यै पनि परमात्माका साथ उत्तम शान्ति प्राप्त गर्न सक्तैन ।

योगमा चित्तलाई जोडिसकेको र सबैमा समभाव देख्ने व्यक्तिले आत्मालाई सबै प्राणीमा रहेको र सबै प्राणीलाई आत्मामा रहेको देख्तछ । यसरी सम्पूर्ण प्राणीमा सबैको आत्मरूप भगवान्लाई देख्ने र सम्पूर्ण प्राणीलाई भगवान्कै अंश देख्ने व्यक्तिका लागि भगवान् अदृश्य हुँदैनन् भने त्यस्तो व्यक्ति पनि भगवान्का लागि अदृश्य हुँदैन अपितु त्यस्ता भक्त र भगवान् दुवैको साक्षात्कार हुन्छ । एकाग्र भएर सम्पूर्ण प्राणीहरूमा आत्मरूपमा भगवान् रहेका छन् भनेर ठान्ने व्यक्ति भगवान्मै लीन हुन्छ । यसरी परमात्मामा लीन हुने योगहरूमध्ये जसले आफूलाई र सबै प्राणीहरूलाई तथा सुख र दुःखलाई पनि समान देख्छ त्यस्तो योगी भगवान्का दृष्टिमा सर्वोत्कृष्ट ठहरिन्छ ।

जतिसुकै समभावले योगका बारेमा चर्चापरिचर्चा गरे पनि मन चञ्चल भयो भने त्यसलाई बुझ्न सकिँदैन । वायुलाई रोक्न कठिन भएजस्तै अत्यन्त चञ्चल, दृढ, बलवान् र दुःखदायक मनलाई नियन्त्रण गर्न गाह्रो छ तापनि भगवत्प्राप्तिका लागि बारम्बार गरिएको अभ्यास र वैराग्यद्वारा त्यसलाई नियन्त्रण गर्न सकिन्छ । जसको मन वशमा छैन त्यस्तो व्यक्तिका लागि योग दुष्प्राप्य छ भने मनलाई वशमा राखेका व्यक्तिले योगलाई सहज रूपमा ग्रहण गर्न सक्छ ।

जसले योगमा श्रद्धा राख्छ तर जो संयमी छैन र भगवत्प्राप्तिको मार्गमा मोहित छ तर आश्रयवान् छैन भने पनि त्यस्तो व्यक्ति नष्ट एवं भ्रष्ट हुँदैन । योगमार्गमा प्रवृत्त हुने यस्तो व्यक्ति स्वर्गमा धेरै वर्ष बसेर पुनः पवित्र कुलमा जन्म लिन पुग्छ अथवा स्वर्गमा नपुगे पनि यस्तो वैरागी व्यक्तिले ज्ञानवान् योगीहरूको कुलमा जन्म लिन्छ, जुन जन्म यस संसारमा अत्यन्त दुर्लभ अर्थात् श्रेष्ठ मानिन्छ । यसरी पुनर्जन्म लिने व्यक्तिले पूर्वजन्मको समबुद्धिरूप योगको संस्कारलाई सहजै प्राप्त गर्दछ र त्यसकै प्रभावले गर्दा पुनः भगवत्प्राप्तिरूप सिद्धिका लागि ऊ बढ्ता प्रयत्नशील रहन्छ । यस्तो व्यक्ति पराधीन भए तापनि पूर्वाभ्यासद्वारा भगवान्प्रति आकर्षित हुन्छ भने योगको जिज्ञासुले पनि शास्त्रविहित सकाम कर्मफललाई उल्लङ्घन गर्न सक्छ । तर प्रयत्नपूर्वक अभ्यास गर्ने योगी पूर्वजन्मको संस्कारले यसै जन्ममा संसिद्ध भएर सम्पूर्ण पापले रहित भई मोक्ष प्राप्त गर्दछ । तपस्वीहरूभन्दा, शास्त्रज्ञाताहरूभन्दा र सकाम कर्म गर्नेहरूभन्दा योगी श्रेष्ठ मानिन्छ र सबै योगीहरूमध्येमा पनि निरन्तर भगवान्को भजन गर्ने श्रद्धावान् योगी नै भगवान्का लागि सर्वश्रेष्ठ मानिएको छ । त्यसैले अर्जुनमात्र होइन हामीहरू पनि आत्मसंयमी र श्रद्धावान् योगी बन्न अग्रसर हुनु आवश्यक छ ।
(२०७३ कार्तिक ५, गैंडाकोट–१, विकासचोक, नवलपरासी)

 

 

 

 

LEAVE A REPLY