नोटप्रतिबन्धले भारत पाकिस्तानबीच तनाव

0
355

india-currency-5843b4b49cd622-60513072

 

नयाँदिल्लीः भारतमा पाँच सय र एक हजारका मुद्रामा लगाइएको प्रतिबन्धले भारत र पाकिस्तानबीच तनाव पूर्ण स्थिति आएको छ । भारतस्थित पाकिस्तानी उच्चायोगका कूटनीतिज्ञले डलरमा पाउनुपर्ने तलब पाउन कठिनाइ भएको छ ।

Advertisements

यसै विषयलाई लिएर पाकिस्तानले भारतलाई चेतावनी दिएको छ । यस्तै व्यवहार भएमा पाकिस्तानस्थित भारतीय कूटनीतिज्ञले पनि समस्या भोग्नुपर्ने उसको भनाइ छ ।

यी दुई देशबीच कूटनीतिकस्तरमा गत बिहीबारदेखि कटुतापूर्ण स्थिति खडा भएको छ । कूटनीतिज्ञले करमुक्त तलब अमेरिकी डलरमा लिन पाउँछन् । भारतमा विदेशी कूटनीतिज्ञले कुनै कागजातबिना ६ हजार अमेरिकी डलरसम्म निकाल्न पाउँछन् । उक्त रकमभन्दा बढी डलर झिक्नुपरेमा उद्देश्य खुलाएर चिठी बुझाउनुपर्ने हुन्छ ।

भारतमा ठूला नोटमा प्रतिबन्ध लगाइएपछि डलरको माग निकै बढेको छ । बैंकमा अमेरिकी डलरको मौज्दात कम हुन थालेको छ । पाकिस्तानी उच्चायोगका कर्मचारीहरूको तलब निजी बैंक रत्नाकर बैंक लिमिटेड (आरबिएल)मा रहेको छ । उक्त बैंकले कम परिमाणमा अमेरिकी डलर झिक्दा पनि कुन उद्देश्यका लागि भनेर चिठी माग्न थालेको छ । पाकिस्तानी कूटनीतिज्ञले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आफ्ना कूटनीतिज्ञलाई डलरमा तलब झिक्न नदिएर भियना सन्धिको उल्लंघन गरेको पाकिस्तानले बताएको छ । यसको बदलामा इस्लामाबादस्थित भारतीय कूटनीतिज्ञलाई पनि यस्तै प्रतिशोधपूर्ण कारबाही गरिने उसले बताएको छ । पाकिस्तानी उच्चायोग, आरबिएल बैंक र भारतीय विदेश मन्त्रालयका अधिकारीले यसबारेका काम भइरहेको भनेर जवाफ दिएका छन् । आरबिएल बैंकले डलरको कमीका कारण उनीहरूलाई डलरमा तलब दिन नसकिएको स्वीकार गरेको छ ।

आरबिएल बैंकले पाकिस्तानी उच्चायोगसमक्ष तीनवटा विकल्प दिएको छ । पहिलो डलर निकाल्नुको उद्देश्य पुष्टि हुने पत्र दाखिला गर्नुपर्ने, दोस्रो डलर बराबरको रकम भारतीय रुपैयाँमा झिक्न र तेस्रो उक्त रकम पाकिस्तानबाट निकाल्न सकिने बैंकको भनाइ छ ।

पाकिस्तानी उच्चायोगले भने कुनै पनि विकल्प आफूलाई मान्य नहुने बताएको छ । डलरको कमीले नभएर भारत सरकारले आफ्ना कूटनीतिज्ञलाई दुःख दिन यस्तो व्यवहार गरेको पाकिस्तानी उच्चायोगले आरोप लगाएको छ ।

LEAVE A REPLY