विशेष रिपोर्ट

0
344

यो पिडा कसले बुझ्ने?

 

बिजय ज्ञवाली ।

Advertisements

 

 

 

 

 

 

हृदयनारायण ठाकुर, (३८) हाल मलेसिया क्वालालम्पुरस्थित एक कम्पनीमा काम गर्दछन। जिल्ला पर्सा स्थित टारी गा.वि.स.का स्थायी वासिन्दा ठाकुरले २०५२ सालमा बिहार आधापुरकी स्थायी वासिन्दा हरविर सिंहकी छोरीसंग मागी विवाह गरे।

बिहे त धूमधाम नै भयो।
तर बिहेपश्चात भने उनी ठूलो फसादमा परे। दोस्रो मुलुककी बेहुली भित्राएका ठाकुरले आफ्नी आधिकारिक श्रीमती बनाउन यतिसम्म झमेला बेहोर्नुपर्ला भनेर सायदै सोंचेका होलान।

गतहप्ता लजिम्पाटस्थित एक म्यानपावर कम्पनीको प्राङ्गणमा भेटिएका ठाकुरले श्रीमतीको बिबाह दर्ता र नागरिकताको खातिर बेहोर्नुपरेको सास्तीले गर्दा उनी आफ्नै भूमीमा नै अपमानित भएको महसुस गर्दछन।

भन्दछन,” मधेसका हामी असली नागरिक अन्यायमा पर्ने, अनि बिहार र यूपीबाट आएर पैसाको ध्वाँसोको बलमा नागरिकता लिनेले नै हामीमाथी दमन गर्ने? खोइ सरकारले कुरो बुझेको?” बिगतको यौटा तितो अनुभव सम्झंदै ठाकुर भन्छन,” एकपटक हामी सामान किन्न भन्दै विरगंज बजार गएका थियौं, विरगंज बजार प्रायस: बिहारीहरुको कव्जामा छ, जसले पैसा र शक्तिको आडमा नेपाली नागरिकता लिएर नेपालमा अड्डा जमाएर बसेका छन, उनिहरुले बारम्बार हामीमाथी अति नै तुच्छ व्यवहार गरेका छन।

उनिहरुको पसलको सामुन्ने साइकिल या रिक्सा रोक्यो कि कि त मिल्काईदिने नत्र नगरपालीकालाई खवर गरेर उठाईदिनेसम्मका हर्कत गर्ने गरेका छन। किनकी नगरपालीका का मान्छेपनि तिनै बिहारी ब्यापारीसंग सांठगांठ गरेका हुन्छन।” ठाकुरले गुनासो पोखे। ” “हामी नेपालमा जन्मिएर हुर्केकाले चाहिँ नेपालमै अपमानित हुनुपर्ने, अनि बिहारबाट आrojgarएर किनेको नागरिकताको बलमा नक्कली नेपालीले हैकम जमाउने? यस्तो दूर्दर्शा छ मधेसमा। यसतर्फ कसले हेर्ने?” उनले आक्रोश पोखे।

आफ्नै श्रीमतीको अंगिकृत नागरिकता बनाउंदाताकाको झमेला सम्झिंदै ठाकुर भन्छन,” मैले बिहेपश्चात श्रीमतीको अंगिकृत नागरिकता बनाउन भनि गाविस हुँदै जिल्लास्थित नागरिकता फांटसम्म पुग्दा मैले जति कष्ट बेहोर्नुपर्यो त्यस्तो कष्ट त सायद कसैले नबेहोरेका होलान।” उनी थप्छन, ” नेपालको कानुनले अधिकार दिएवमोजिम म श्रीमतिको अंगिकृत नागरिकता बनाउन भनी गाविस हुँदै जिल्लासम्म गएँ, तर मैले सहजै नागरिकता पाउन सकिन।

जवकी मभन्दा धेरै पछाडीको रोलक्रममा रहेको यौटा बिहारीले पैसाको आडमा सहजै नागरिकता लिएको मेरै आंखाले देखीराखेको छ। तर मलाई भने माईतिपक्षका पांच जना आफन्तीको दस्तखत, भारतको बिहार राज्यवाट वहिर्गमन स्वीकृत पत्र, नेपालमै मेरो स्थायी र अस्थायी वासस्थान, पांच राजनैतिक दलको सिफारिस र हजुरवुवादेखीको नालीवेली सोधियो।

“के हामी मधेसी हुनुको नतिजा यहिं हो? खोइ हामिमाथीको विभेद अन्त भएको? कैले हुने हो? आखिर आफ्नै धर्तीमा कैलेसम्म अपमानित भएर बस्नुपर्ने हो?” ठाकुरले एकाएक आक्रोश पोखे। उनी अझ थप्छन,” हो यस्तै विभेदले गर्दा नै आज मधेस जलिरहेछ क्या ! सरकारलाई आफ्नै जनताको वास्ता छैन, भारतवाट आएकालाई चाहिँ छानी छानी नागरिकता वितरण गर्दछ, त्योपनि पैसा र शक्तिको आडमा।

हामी निध्रा जनता पिसिएको पिसियै जताबाट पनि। आखिर बिहारीलाई नेपालमा हैकम जमाउने अधिकार कसले दियो, सरकारले होईन?” उनी उत्तेजित हुँदै भन्छन। के यो मधेस आन्दोलनले तपाईंले भोग्नुपरेका यी र यावत समस्याहरु सम्बोधन गर्ला त भन्ने जिज्ञासामा उनी भन्छन,” आखिर के को लागि चलेको छ त आन्दोलन? के मान्छेले मर्न मजाक सम्झिएका हुन र मधेसमा? आन्दोलनले अवश्य निर्णय गर्नेछ, तर नेताको नियत पनि ठिक हुनुपर्यो क्या ! हिंजोजस्तो सत्तामा जाने मोज गरे भने त अब फेरि कहिल्लै मधेसका जनताले न्याए पाउन्नन, तर अहिले चाहिँ केही न केही छिनोफानो अवश्य हुन्छ।” उनी भन्दछन।

माथी उल्लेखित संवाद त यौटा प्रतिनिधि घटनामात्र हो। वास्तवमा मधेसका भूमीपूत्रहरु, जसको सरोकार र भरोसा नेपाल सरकारसंग मात्र छ र रातदिन सरकारले केही उपाय अपनाउला र हामी पनि नेपाली हुनुमा गौरव गरौंला भनेर बसिराखेका छन तिनिहरुको आशमा भने सरकारले संवोधन गर्न भने सकेको छैन। दूईदेशिय सिमानाको बिचमा हुने चर्को दुर्व्यवहार खेप्न बाध्य नेपाली नागरिकमध्ये अधिकांशको त नागरिकता त के जग्गाको लालपूर्जासमेत छैन। ती नागरिकले नेपालको हुँ त भन्दछन तर परिचयको कुनै आधार भने छैन। यस्तै पिडितमध्येको एक पिडित परिवार हो पर्साकै ठोरी गाविसका तुलसीदास ठाकुर। पेसाले मिष्त्री काम गर्ने उनी नेपाली त हुँ भन्छन तर प्रमाण छैन।

” हाम्रा सवैजना यहिंका हुन, म यहिं जन्मिएं, हुर्कें र अब मर्नेबेला हुनथाल्यो, तर अहिलेसम्म परिचय कार्ड पाएको छैन। न जग्गाको लालपूर्जा छ न नै कुनै सरकारी कागजको खोष्टो। घरजग्गा त छ तर कताको हो अत्तोपत्तो छैन। बारम्बार अड्डा धाउँदासम्म पनि कुनै निकाश निस्किन नसकेको गुनासो पोख्ने उनी अब बाँकी जिम्मा आफ्नै बिहे भएर गैसकेकी छोरीको नाममा सुम्पिने तरखरमा छन। क्यान्सरको कारण श्रीमतीको मृत्यु भएपछि एक्लिएका उनका सन्ततिका नाममा यौटी छोरीमात्र हुन। नेपाल र भारत दुवैपक्षबाट सिमानाकाका जनतामाथी हुने दूर्व्यवहारले आजित उनी भने आफू जिउंदो छंदै सरकारले केही गरे हुन्थ्यो भन्ने झिनो आशमा छन।

वास्तवमा मधेस अझ विशेष गरेर सिमानाका आसपासमा हुनेगरेका यस्ता आपराधिक कृयाकलापप्रति राज्य बेखवर अवश्य होईन। तर राज्यले बेलैमा उचित पहलकदमी लिन नसक्ता यस क्षेत्रका वासिन्दा दोहोरो मारमा परिराखेका छन। एक त नागरिकतासंवन्धी समस्या यथावत छ भने आर्को घरजग्गाको उचित कागजात बन्न नसक्ता यस क्षेत्रका नागरिक दुवैपक्षका सुरक्षाकर्मीवाट दुर्व्यवहार सहनुपरेको छ।

सवाल अंगिकृतको, विरगंज व्यापार संघका अध्यक्ष अशोक जयसवाल कलवार वास्तवमा भारतिय नागरिक हुन। २०६४ भन्दा पहिला उनको नेपालमा कुनै थातथलो नै थिएन। तर ६२/६३ को जनआन्दोलन लगत्तै तराई भेगमा चलेको नागरिकता अभियानसंगै २०६४ सालमा उनी पनि एकाएक नेपाली नागरिक ठहरिन पुगे। कालान्तरमा यतै व्यापार ब्यवसाय गरि बस्न थाले र हालका दिनमा विरगंज व्यापार संघका अध्यक्ष समेत हुन पुगे।

कांग्रेस निकट जयसवाल राजनितिमा त्यति सकृय नभए पनि उनका भाइ भने विरगंज आसपासमा राजनितिको आडमा सान जमाउन सफल छन। आखिर यस्तो कसरी हुन पुग्यो त भन्ने जिज्ञासामा नाम उल्लेख नगर्ने शर्तमा विरगंज उप-महानगरपालीकाका एक नागरिक अगुवा भन्छन,” यो सरासर हाम्रा राजनैतिक दलहरुको नपुंशकताको पराकाष्ठा हो।

अलिकती दवाव थेग्न मात्र सकेको भए आज यस्तो हविगत देख्नुपर्थेन। बिहारी रातोरात नेपाली भा`छन, जो यहाँका भूमीपुत्र अल्पमत र अन्यायमा पर्दै आएका छन। भारतिय षड्यन्त्र बुझ्दा बुझ्दै पनि बुझ पचाएर आफ्नो स्वार्थमा मुलुक डुवाउन उद्धत नेताहरुलाई जनमत मिल्नु पनि जनताकै कमजोरी औंल्याउंछन उनी। तर सोही उप-महानगरपालिका भित्रकै एक कलेजमा अध्यापन गराउंदै आएका शिक्षक संजिव यादवको भने अलिक फरक मत छ। उनी भन्छन,” अंगिकृत भन्दाबित्तिकै हाम्रो जड् मानशिकता खलवल्याउनु कुनै आवश्यकता छैन।

समस्या समाधान हुन्छ तर दल र सरकार राज्यप्रति वफादार रहनुपर्दछ। नक्कली नागरिता धमाधम छानविनको दायरामा ल्याईनुपर्दछ र मधेसका वास्तविक भूमीपूत्रहरुलाई न्यायपूर्ण व्यवहार गरिनुपर्दछ। कुनैपनि मुलुकको लागि अंगिकृत नागरिकता अपरिहार्यता छ, तर राज्य नियन्त्रीत हुनुपर्दछ।”

LEAVE A REPLY