रेप सिनले ४४ वर्षपछि उब्जायो विवाद

0
305

07122016075852last-tango-in-paris-1000x0मंसिर २२, २०७३- सन् १९७२ मा रिलिज भएको थियो, इटालियन इरोटिक ड्रामा ‘लास्ट टयांगो इन पेरिस’ । रिलिजको ४४ वर्षपछि उक्त फिल्मका निर्देशक र अभिनेता यति बेला आफ्नै भनाइका कारण विवादमा मुछिएका छन् ।

हालैको एउटा अन्तरवार्ताका क्रममा त्यसका निर्देशक बर्नार्डो बर्तोलुचीले फिल्ममा राखिएको नायिका मारिया स्नाइडरको रेप सिन खिच्ने बेला उनलाई वास्तविकता थाहा दिइएको थिएन भन्ने खुलाएपछि एकाएक विवाद निम्तिएको हो । निर्देशकले उक्त रेप सिन गर्ने क्रममा आफू र अभिनेता मार्लोन ब्रान्डोले सुनियोजित रूपमा उक्त दृश्य थपेको बताएको भन्दै मिडियामा समाचार आयो, जुन भाइरल भइहाल्यो ।

Advertisements

निर्देशक बर्नाडोले भने त्यो सिनलाई वास्तविकझैं बनाउन नायिकालाई थाहा नदिई खिचेको बताएको जिकिर गरेका छन् ।

त्यसो त सन् २००७ मै एउटा अन्तरवार्तामा पनि मारियाले उक्त सिनबारे भनिसकेकी थिइन्, ‘त्यो सिन ओरिजिनल स्क्रिप्टमा थिएन । यो सबै आइडिया मार्लोनको थियो । जब सुट गर्ने बेला आयो, तब मात्रै भनियो । त्यो बेला मलाई रिस पनि उठ्यो ।’ उक्त बेला नायिकाले आफू १९ वर्षकी मात्रै भएकाले अनावश्यक सिन गर्न आफू बाध्य नहुनेबारेमा थाहा नभएको र वकिलसँग परामर्श गर्नेबारेमा पनि सोच्न नसकेको बताएकी थिइन् ।

मारियाको २०११ मा निधन भएको थियो भने, अभिनेता मार्लोनको पनि सन् २००४ मा मृत्यु भएको थियो । उक्त घटनाबारेका एक्ला जीवित प्रत्यक्षदर्शी रहेका निर्देशकले यति बेला मुख खोलेपछि बोली आफ्नै लागि पासो भएको हो ।

निर्देशकलाई इंगित गर्दै आएका खबरपछि हलिउड सेलेब्सले समेत उक्त कार्यको खुलेर विरोध गरिरहेको एक दिन नबित्दै बर्नार्डोले आफ्नो भनाइलाई बंग्याएर समाचार आएको टिप्पणी गरेका छन् । यति बेला भने उनले उक्त सिनका बारेमा नायिकालाई पहिल्यै जानकारी भएको दाबी गरेका छन् । ‘मारियालाई रेप सिनका बारेमा पहिले नै बताइएको थियो,’ उनले भने, ‘सिनलाई अझ रोचक बनाउन अभिनेतासँगको छलफलमा खाली केही सिक्वेन्स थपिएको थियो, नायिकाको वास्तविक प्रतिक्रिया खिच्न पाइयोस् भनेर । मलाई थाहा थिएन, आखिर नायिकाले मप्रति त्यो रिस जिन्दगीभरि पाल्नेछिन् ।’

त्यसो त ‘लास्ट टयांगो इन पेरिस’ पत्नीले आत्महत्या गरेपछि अन्य युवतीसँग अफेयर चलाउने एक वयस्कको कथामा आधारित उक्त समयको सर्वाधिक विवादित फिल्म हो । सेक्स र रेपलाई प्राथमिकताका साथ राखिएको उक्त फिल्मको रिलिज नै त्यस बेला सनसनीपूर्ण बनेको थियो । १२ लाख डलरको फिल्मले त्यस बेला नै बक्सअफिसमा ९ करोड ६३ लाख डलर कमाएको थियो ।

LEAVE A REPLY