संकटमा सरकार,संविधान संशोधन विधेयक ‘निल्नु न ओकल्नु’

0
288

काठमाडौं २२ मंसिर

Advertisements

संविधानप्रति सन्तुष्ट पक्षको माग सम्बोधन गर्न संसद्मा संविधान संशोधन विधेयक दर्ता गरेपछि सरकार क्रमशः संकटमा पर्दै जान थालेको छ ।सत्तारूढ दलभित्रै संशोधन विधेयकको विरोध सुरु हुनु, संयुक्त मधेसी मोर्चाले समर्थन नगर्नु तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सडक र सदनमा अवरोध जारी राख्नुले सरकारलाई संशोधन प्रस्ताव ‘निल्नु न ओकल्नु’ बनेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले जसरी पनि संशोधन प्रक्रिया अगाडि बढाइछाड्ने दाबी गरिरहेका बेला सरकारमा सहभागी दलहरूले एकपछि अर्को गर्दै साथ छाड्न थालेका छन् । सरकारमा सहभागी परिवार दलले समर्थन फिर्ता लिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकले विधेयकमा सहयोग गर्न नसकिने निर्णय गरिसकेको छ ।

मधेसी मोर्चालाई विश्वासमा लिएर दुई तिहाइ जुटाउने सरकारको प्रयासमा यी दुई दलको निर्णयले संकट ल्याइदिएको हो । राप्रपाले यथास्थितिमा संशोधनका पक्षमा जान नसकिने स्पष्ट पारे पनि प्रधानमन्त्री दाहाल भने कुनै हालतमा प्रस्ताव फिर्ता नहुने बताउँछन् । बुधबार एक कार्यक्रममा सहभागी हुन धनगढी पुगेका दाहालले प्रस्ताव फिर्ता नलिने अडान राखे पनि पारित गराउने रणनीतिबारे भने बताउन सकेनन् ।

 

प्रमुख प्रतिपक्षी एमालेले कुनै पनि हालतमा संशोधन प्रस्ताव संसद्मा टेबुल हुन र छलफलमा लैजान नदिने अडानमा छ । सरकारले औपचारिक रूपमा विपक्षी दलहरूसँग छलफल तथा वार्ता गरेर निकास खोज्नुपर्नेमा त्योसमेत सकारात्मक तरिकाले अघि बढ्न सकेको छैन ।

प्रतिपक्षको अवरोधसँगै सत्तारूढ दल नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रका केही नेता नै सरकारले संसद्मा दर्ता गरेको संशोधनको विपक्षमा खुलेरै लागेपछि सरकार थप अप्ठ्यारोमा परेको हो । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला दलहरूबीच आवश्यक छलफल नगराई सरकारले संशोधन प्रस्ताव ल्याएकाले विनासहमति प्रस्ताव पास हुन गाह्रो रहेको बताउँछन् । आफ्नै पार्टीभित्र पनि संशोधनका विषयमा आवश्यक छलफल नै नभएकाले संशोधनमा समस्या सिर्जना भएकोे उनी बताउँछन् ।

यता, प्रमुख प्रतिपक्षी दल एमालेले संशोधनको विरोधमा सदन अवरोधदेखि सडकमा आन्दोलन जारी राख्दै कुनै पनि हालतमा संशोधन पारित हुनै नदिने चेतावनी दिँदै आएको छ ।

उनले कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापनाका लागि पहल गरिने उनले बताए । कैलालीको खुटियादेखि दीपायल हँुदै बझाङ, ताक्लाकोटसम्मको दु्रत मार्ग निर्माणका लागि सरकारले प्राथमिकताका साथ काम अघि बढाइसकेको प्रधानमन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले कैलाली र भारतको सिमानाका गौरिफन्टाको स्तरोन्नति गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको र कञ्चनपुरको दोधारामा बन्ने सुक्खा बन्दरगाह सञ्चालन ल्याउन भारतीय पक्षसँग गम्भीर छलफल भएको बताए ।

प्रधानमन्त्री दाहालले सुदूरपश्चिमको खप्तड, रामारोशनलगायतका प्रसिद्ध पर्यटन स्थलको विकासका लागि सरकार कटिबद्ध रहेको बताउँदै खप्तडमा होटल खोल्न चाहने व्यावसायीका लागि नेपाल राष्ट्रबैंकबाट सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइने बताए । पश्चिम सेती जलविद्युत् आयोजना सञ्चालनका लागि चिनियाँ कम्पनीसँग सम्झौता भई काम अघि बढाइएको चर्चा गर्दै प्रधानमन्त्रीले दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाबाट छिट्टै विद्युत् उत्पादन र वितरण सुरु हुने बताए ।

‘कालो झन्डा’ ले एक दर्जन घाइते

प्रधानमन्त्री दाहाललाई कालो झन्डा देखाउन सडकमा उत्रिएका एमाले कैलालीका जिल्ला अध्यक्षसहितलाई प्रहरीले निर्मम कुटपिट गरी घाइते बनाएको छ ।प्रधानमन्त्री धनगढी आउनु एक घण्टाअगावै प्रहरीले धनगढीको रातो पुलनजिक विरोध गरिरहेका एमालेलगायतका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी कुटपिट गरेको एमाले जिल्ला कमिटी सदस्य दीर्घ जोशीले बताए ।

प्रहरीले नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारी, जिल्ला सचिव रणबहादुर चन्द, सचिवालय सदस्य यज्ञराज बाँस्तोल, जिल्ला कमिटी सदस्य दीर्घ कापडी, युवा संघका केन्द्रीय सदस्य मदन रेग्मी, अनेरास्ववियुका जिल्ला अध्यक्ष चूडामणि भट्ट, एमाले कार्यकर्ता प्रेम महरालगायतका कार्यकर्तालाई कुटपिट गरी पक्राउ गरेको बताइएको छ ।

उनीहरूको टाउको, पाखुरा, निधारलगायतका ठाउँमा चोटपटक लागेको छ । पक्राउ पर्ने जनमोर्चाका कार्यकर्ताहरू पनि रहेका छन् । प्रदर्शनकारीहरूले दाहाल नेतृत्व सरकारले राष्ट्रघाती संविधान संशोधनको प्रस्ताव ल्याएको भन्दै दाहाल सम्मिलित कार्यक्रम अवरोध गर्न सदरमुकाम धनगढी १२ बजेदेखि ४ बजेसम्मका लागि बन्द गरेका थिए । पक्राउ परेका सबैजनालाई पाँच घण्टा प्रहरी कार्यालयमा राखेर छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

LEAVE A REPLY