के हो मास हिस्टेरिया ?

0
771

ओम बानिया“

दुई दशकयता विश्वका अधिकांश समाजहरू नाटकीय रूपमा दु्रत गतिमा भएको प्रविधिको विकासले प्रभावित भइरहेका छन् । हात–हातमा मोबाइल फोन, घर–घरमा इन्टरनेट तथा स्याटेलाइट सूचना–प्रविधिका कारण मानिसको आवश्यकताहरू घर–घरमा पुगेको छन् । तर, यस्ता आवश्यकताहरू परिपूर्तिका लागि मानिसलाई निकै मेहनत गर्नुपरेको छ, कठिनाइहरू झेल्नुपरेको छ । यस्तो स्थितिबाट नेपाली समाज पनि अहिले अछुतो छैन । त्यहीमाथि प्राकृतिक विपत्ति, जनसंख्याको तीव्र वृद्धि, बढ्दो सहरीकरण, सहरकेन्द्रित बसाइसराइ, आधुनिकरण, फैसन, सा“घुरो बाटोघाटो, कठिनाइपूर्ण यात्रा, उपभोग्य वस्तुहरूको अभाव, राजनीतिक उथलपुथल, पढाइलेखाइ तथा रोजगारका लागि तीव्र प्रतिस्पर्धाले गर्दा नेपाली समाजले दिनहँु प्रशस्त चाप (स्टे«स) तथा तनाउ (स्टे«न) खेप्नुपरेको छ ।

Advertisements

नेपाली जीवन पनि एकदम तनाव र धपेडीपूर्ण भएको छ । यस किसिमको स्टे«स र स्टे«नले गर्दा मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नु कुनै अनौठो होइन । त्यसमाथि १० वर्षे माओवादी सशस्त्र द्वन्द तथा बन्दहडतालहरूले पारेको मानसिक घाउहरू त अहिले पनि त्यस्तै छन् । यसका साथै अहिले पनि नेपाली समाज विभिन्न समूहरूको धाकधम्की र आक्रमणले गर्दा डर, त्रास र आतंकको जीवन बा“च्न बाद्य छ भने अर्कोतिर कलिला का“धमाथि किताबको भारी र पढाइलेखाइको बोझ छ । यस्तो अवस्थामा नेपालमा मानसिक रोगहरू बढ्नु स्वाभाविकै हो ।

कालीदेवी सम्झना

२७ वर्षीय सम्झना (नाम परिवर्तन), एक विवाहित महिला हुन् । उनी हाल एक बैंकमा अधिकृत पदमा कार्यरत छिन् । तर, उनीस“ग तीन वर्ष पहिलाको एक मानसिक समस्याको कटु अनुभव छ । उनी भन्छिन्, ‘यदि मैले समयमै उचित मनोवैज्ञानिक सेवा नपाएको भए सायद म देवीको रूपमा बाहिरबाट पूजनीय, तर भित्रभित्र घुट्न र अन्तद्वन्द्वको जीवन बा“च्न बाध्य हुने थिए“ ।’

कुरा तीन वर्ष पहिलाको हो । निम्नमध्यम परिवारकी सम्झनाको एक निम्नमध्यम परिवा™का लेखा अधिकृतस“ग विवाह भयो । उनका पति तीन भाइहरूमा जेठा थिए । उनका दुवै देवर पढ्दै थिए । व्यवस्थापनमा स्नातक सम्झनालाई एमबीए गर्ने ठूलो धोको थियो । तर, आफ्नो पतिको जिम्मेवारी र घरको आर्थिक स्थिति देखेर उनले आफ्नो एमबीए पढ्ने इच्छा पति र सासुूससुरासामु व्यक्त गर्न सकिरहेकी थिइनन् । यसरी समय बित्दै गयो, आफ्नो धोको पूरा नहुने देखेर उनी ज्यादै चिन्तित र परेसान हुन थालिन् । एक दिन काम गर्दागर्दै अचानक उनी बेहोस भइ भुइ“मा लडिन् । केही समयपछि हातखुट्टा फाल्दै हल्लिन थालिन् । उनी एउटा खुट्टा चल्न छोड्यो । त्यो देखेर प™िवारका सदस्यहरू जम्मा भए र तुरुन्त अस्पताल पु¥याए । अस्पतालमा उनको सम्पूर्ण मेडिकल प™ीक्षण भयो । तर, सबै मेडिकल रिपोर्टहरू सामान्य देखिए । अनि फिजिसियनले उनलाई मानसिक रोग विभागमा पठाए ।

तर, सम्झनाका सासूससुरा तथा आमाबा सम्झना मनोरोगबाट पीडित भएको मान्न तयार भएनन् । उनीहरूले सम्झना भूतप्रेतको बाधाअड्चनद्वारा पीडित भएको दाबी गर्दै उनलाई धामीकहा“ लिएर गए । धामीले झारफुक गर्न थाले । सम्झना पनि धामीस“गै हल्लिन थालिन् । एकाएक उनको आवाज फेरियो । उनले जोड–जोडले हा“स्दै आफू कालीदेवी भएको र आफ्ना कुरा नमानेको खण्डमा ठूलो बित्यास पर्ने दाबी गर्न थालिन् । सबै आश्चर्यचकित भए । गाउ“भरि हल्ला फैलियो । अनि सम्झनालाई देवीका रूपमा पुज्न थालियो । पूजापाठ तथा स्वस्तीशान्ति पनि गरियो । तर, उनको समस्या जस्ताको तस्तै थियो । त्यो किनभने सम्झनामा देवी उत्रिएको थिएन । उनी त एक मनोवैज्ञानिक रोग कनभर्जन डिस्अर्डर (हिस्टे™िया) बाट पीडित थिइन् ।

pic-2

के हो हिस्टेरिया ?

हिस्टोरिया ग्रिक शब्द हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो । आजभन्दा २ हजार वर्षअगाडि हिप्पोक्रेटस भन्ने ग्रिक चिकित्सकले यो समस्या महिलाहरूमा मात्र देखे र महिलाको प्रजनन अंग पाठेघरसग सम्बन्धित ठानेकाले त्यतिबेला हिस्टेरिया भन्ने नामकरण गरे । बर्सौंसम्म यो समस्यालाई यसै प्रकारले हेरियो । तर, अनुसन्धानहरूले यो समस्याको यौनस“ग कुनै सोझो सम्बन्ध नभएको र यो समस्या तनावस“ग सम्बन्धित भएको देखाए । तनाव नभई हिस्टेरिया हुँदैन, तनावको प्रकारचाहिँ जस्तो पनि हुन सक्छ । जस्तै ः पढाइलेखाइको तनाव, पारिवारिक तनाव, नाता–सम्बन्धको तनाव, आर्थिक तथा समाजिक तनाव, प्रतिस्पर्धाको तनाव, कामनापूर्ति नहु“दाको तनाव, इज्जत–प्रतिष्ठाको तनाव आदि । यौनसम्बन्धी समस्याहरूले पनि तनाव उत्पन्न गर्न सक्छन् । नेपालजस्तो संकीर्ण समाजमा यौनसम्बन्धी समस्याहरूको तनाव निकै हुने गर्छ ।

अतः यस्ता अव्यक्त मानसिक तनाव शारीरिक लक्षणका रूपमा परिवर्तन (कन्भर्ट) हुने हुनाले आजकाल यो समस्या कन्भर्जन डिसर्डर भनेर चिनिन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणका रूपमा प्रकट हुने समस्या नै वास्तवमा हिस्टेरिया हो । वास्तवमा हिस्टेरिया अवचेतन मनको खेल हो, जसलाई बिरामीले मानसिक आघातविरुद्ध प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो ।

हिस्टेरियाका लक्षण

हिस्टेरियामा विभिन्न लक्षणहरू देखा पर्न सक्छन् । जस्तै ः बेहोस हुने । अदृश्य शक्तिले छोप्ने । हातखुट्टा झम्झमाउने र लाटो हुने । घा“टीमा डल्लो अड्केको महसुस हुने । वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने । छिटोछिटो सास चल्ने । हातखुट्टा नचल्ने । आवाज बन्द हुने । आ“खा नदेख्ने । रुने, चिच्याउने, काम्ने । उत्तेजित हुने । कुटपिट गर्ने, कपडा च्यात्ने । सम्झना शक्ति हराउने आदि । कतिपय बिरामीले आफूलाई देवीदेउताको रूप र अवतारसम्म पनि भन्ने गरेको देखिएको छ । हिस्टेरियाका लक्षणहरूलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । त्यसैले, यसका लक्षणहरू पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरूबीच फरक हुन सक्छन् ।

हिस्टेरियाका कारण

जब कुनै व्यक्तिलाई हिस्टेरियाका लक्षण देखिन्छ भने उक्त व्यक्ति कुनै न कुनै मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणले हिस्टेरिया र यौन असन्तुष्टिलाई चाहिनेभन्दा बढी महŒव दिएको देखिन्छ । तर, यो बुझाइ गलत हो । त्यो किनभने हिस्टेरिया अनेक कारणहरू उपज हो । कुनै घटना तथा समस्या, जसलाई व्यक्तिले विविध कारणले गर्दा साथी तथा परिवारजनसामु व्यक्त गर्न नसक्दा यो रोग लाग्ने सम्भावना हुन्छ ।

साधारणतया यस्तो रोग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्याहरू सकेसम्म कसैलाई नभन्ने र लुकाउने गर्छन् । मनोचिकित्सकहरूले पनि एकै पटकमा सबै यथार्थ थाहा नपाउन सक्छन् । यसक्रममा मानसिक द्वन्द्वको कारण पत्ता लगाउन मनोविशेषज्ञहरूले विभिन्न प्राविधिक उपायहरू पनि अवलम्बन गरेको देखिन्छ । यसबाट के देखिन्छ भने हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणहरूले हुन सक्छ ।

महिलालाई किन बढी ?

महिलाले पुरुषजसरी आफ्ना कुरा व्यक्त गर्न नसक्ने हुनाले उनीहरूको मनमा पीडा गुम्सिएको हुन्छ । यही कारणले गर्दा महिलामा यो समस्या बढी हुन्छ । यो समस्या किशोरीमा किशोरमा भन्दा बढी देखिनुमा उनीहरूमा आउने शारीरिक परिवर्तनसँगै परिवार र समाजबाट बढी नियन्त्रण हुनु हो । महिलाले सहनुपर्छ, लजाउनुपर्छ, सेवा गर्नुपर्छ जस्ता सामाजिक मान्यताका कारण पनि महिला बढी अन्तरमुखी बन्न बाध्य हुन्छन् । पढ्ने, जीवन साथी रोज्ने र आफ्ना समस्याहरूलाई नडराई, नलजाई भन्न सक्ने वातावरण भएका देशहरूमा हिस्टेरियाको समस्या कम भएको देखिन्छ ।

हिस्टेरिया र अन्य मनोरोग

हिस्टेरियाको अन्य मानसिक रोगस“ग गहिरो सम्बन्ध छ । केही व्यक्तिहरूमा पहिले नै मानसिक रोगहरू भएको अवस्थामा हिस्टेरिया उत्पन्न हुन सक्छ । केही मानसिक रोगहरूले व्यक्तिको तनाव वहन गर्न सक्ने क्षमतामा ह्रास उत्पन्न गराएर हिस्टेरिया हुन सक्ने सम्भावना बढाइदिन्छन् । हिस्टेरियाको समयमै उपचार भएन भने अन्य मानसिक रोग उत्पन्न हुन सक्छ । यस्तो व्यक्ति आफूले तनावको पहिचान गर्न त्यति सजिलो नहुने हुनाले हिस्टेरिया अन्य कुनै व्यक्तिको सहायताविना ठीक हुन मुस्किल नै हुन्छ । यदि हिस्टेरियाको समयोचित समाधान नभएमा व्यक्तिमा हीनताबोध उत्पन्न हुनेदेखि विभिन्न प्रकारका मानसिक रोगहरू (डिप्रेसन, आत्तिने रोग इत्यादि) उत्पन्न हुन सक्छन् ।

हिस्टेरियाको अर्को रूप

शारदा माविका कक्षा १० मा पढ्ने नौ विद्यार्थीहरू एक्कासि हल्लिने, चिच्याउने, काम्ने, उफ्रने, चिथोर्ने, मनपरी बोल्ने, कोकोहोलो मच्चाउने तथा बेहोस हुन थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने स्थिति सिर्जना भयो । उक्त विद्यालयकी शिक्षिकाका अनुसार कक्षा १० मा अध्ययनरत छात्रा सृष्टि (नाम परिवर्तन) लाई बिहान दोस्रो घन्टीमा (गणितको कक्षामा) अचानक यस्तो लक्षण देखिएपछि क्रमशः नौजना छात्रामा सो लक्षण देखिएको थियो । दिदीलाई के भयो भनेर आत्तिदै हेर्न आएकी उनकी बहिनी कृष्टि (नाम परिवर्तन) मा पनि एकाएक यो लक्षण देखिएपछि विद्यालयमा एक प्रकारको तमासा नै भएको थियो ।

यही कारण गर्दा उक्त विद्यालय दुई दिनका लागि बन्द भयो । दुई दिन समान्य देखिएकी सृष्टि तेस्रो दिन विद्यालय जाने बेलामा पुनः त्यसरी नै एक्कासि हल्लिने, चिच्च्याउने, काम्ने, उफ्रने, चिर्थोने, मनपरी बोल्ने तथा कोकोहोलो मच्चाउने गर्न थालिन् । दिदीस“गै बहिनी कृष्टिमा पनि यस्तै लक्षणहरू देखियो । शिक्षिकाका अनुसार आफ्ना छोरीहरूमा यस्ता लक्षणहरू देखिएपछि सृष्टका बाआमा झारफुकतिर लागेका छन् । ठाउ“ठाउ“मा जति झारफुक गरे पनि बेलाबेलामा उनीहरूमा यस्ता लक्षणहरू भने देखिइरहेका छन् । गाउ“का कतिपय बूढापाका तथा जान्नेसुन्नेले यो रोग विवाहपछि ठीक हुन्छ भन्ने सुझाव दिएपछि अहिले सृष्टिका बाआमा तथा आफन्तहरू सृष्टिका विवाह गर्न केटो खोज्दै छन् । तर, सृष्टि भने विवाह गर्न तयार छैनन् । उनलाई पढ्न मन छ । पढेलेखेर आफ्नै खुट्टा उभिने उनको सपना छ ।

सर्वसाधारणका लागि ज्यादै रहस्यमय लाग्ने यस्ता घटनाहरू केही वर्षयता नेपालमा मात्र होइन, भारत, पाकिस्तान, बंगलादेश तथा अफ्रिकाका द्वन्द्व प्रभावित देशहरू पनि घटिरहेका छन् । तर, यस्ता घटनाहरूलाई कतै यौनस“ग सम्बन्धित ठानिएको छ, कतै धर्मस“ग जोडेर देवीदेवताको हुइया“ फैलाउने काम भइरहेका छन् । यथार्थ भने अर्कै छ, कुनै प्रभु वा देवीदेवता उत्रिएका कारण यस्तो भएको होइन, यो त अत्यधिक चाप, तनाव, डर–त्रास, पीडा, बेचैनी, उपेक्षा र कौवाले कान लग्यो भनेर कौवाको पछि दौडिने कमजोर मनले पैदा भएको एक मनोजनित रोग हो, एपिडेमिक हिस्टेरिया हो । यो रोग एकैपटकमा धेरैजनालाई एकैसाथ हुने ह“ुदा यसलाई मास हिस्टेरिया भनिएको हो ।

मासहिस्टेरिया के हो ?

हिस्टेरियाको लक्षण कुनै समुदाय, परिवार, गाउ“, स्कुल, कलेज तथा अन्य ठाउ“हरूमा एकैपटक धेरै जनामा देखिन्छ भने त्यो मास हिस्टेरिया हो । केलाउँदै जाने हो भने सो समूहमा एक यस्तो व्यक्ति भेटिन्छ, जो कुनै तनावले ग्रस्त भएको हुन्छ र हिस्टेरिया हुने प्रथम व्यक्ति हुन्छ । उसलाई हिस्टेरिया भएपछि अन्यमा पनि हिस्टेरिया हुन थालेको भेटिन्छ । यसरी पछि हिस्टेरिया हुनेहरू या त प्रथम व्यक्तिसँग भावनात्मक सम्बन्ध भएकाहरू हुन्छन् या उनीहरू त्रासका कारण  सो अवस्थामा पुगेका हुन्छन् ।

विद्यालय तथा छात्रावासजस्ता समूहगत रूपमा किशोरकिशोरी रहने स्थानमा बेलाबेलामा मासहिस्टेरिया भेटिन्छ । मानिस वा मानिसको समूहलाई कुनै कुराप्रति अत्यधिक डर वा अति तनाव वा रिस भयो र त्यसलाई थेग्ने मानसिक क्षमता भएन भने एकाएक यो मास हिस्टेरियाका लक्षण देखिन थाल्छन्, मानिसहरू एकासाथ हल्लिने, चिच्च्याउने, कराउने, हातखुट्टा फाल्ने, मनपरी बोल्ने, ज्यादै उत्तेजित हुने तथा बेहोस हुने गर्दछन् । मास हिस्टेरिया पैदा हुने प्रमख कारण अत्यधिक डर, क्रोध, तनाव, उपेक्षा तथा अति यौन उत्तेजना पनि हो ।

मनोवैज्ञानिक भाÈामा भन्ने हो भने यो अवचेतन मनको नाटक हो, तर यो नाटक मानिसको नियन्त्रणमा ह“ुदैन । तर कतिपयले भने आफ्नो स्वार्थपूर्तिका लागि देखावटी पनि गर्ने गर्दछन् र देवता वा कुल उत्रिएको देखाउन जानीजानी हिस्टेरियाको नक्कल गर्न थाल्छन् । यो रोग प्रायः महिलाहरूलाई हुने भए तापनि पुरुषहरूलाई पनि यो रोग लाग्ने गर्दछ । तर, १२ देखि ३५ वर्षका महिला नै बढी मात्रामा यो रोगको सिकार हुने गर्दछन् ।

समाजजनिक रोग

नेपालमा मास हिस्टेरिया बेलाबखत विभिन्न जिल्लामा, विशेष गरेर स्कुलहरूमा देखा परिरहने गर्छ । दक्षिण एसियाका धेरै देशमा यो समस्या बेलाबेलामा देखिन्छ । नेपालको परिप्रेक्षमा हेर्ने हो भने विगतमा धेरै संख्या यो रोगबाट आक्रान्त भएका देखिएको छ । विशेषगरी मास हिस्टेरिया एक किसिमको कृत्रिम त्रास जनमानसमा उब्जिएपछि हुने गर्छ । यस किसिमको त्रास धार्मिक, राजनीतिक, स्वास्थ्यसम्बन्धी अथवा कुनै पनि हुन सक्छ । यो त्रास र भयको सिकार एकजनालाई भएपछि लगातार थुप्रै व्यक्तिहरूलाई हुन सक्छ ।

एउटा कुनै सानो घटना बढाइचढाइ गरेर जनमानसमा पुगेपछि पहिलेदेखि नै निरीह बनेको समुदायमा यसको असर बढी देखिन सक्छ । त्यसैले, मास हिस्टेरियालाई समाजजनिक रोग (मास सोसियोजेनिक इलनेस) पनि भन्न सकिन्छ । यस किसिमको रोगको स्रोत पनि समाज, सामाजिक र राजनीतिक कार्यकर्ता, उच्च अधिकारी, धार्मिक नेता र सञ्चार माध्यमहरू हुन सक्छन् । यस समस्यालाई बढाउन वा समस्या समयमै निराकरण गर्न जनसमुदायको अत्यन्त ठूलो भूमिका हुन्छ ।

समाजको दायित्व

कुनै व्यक्तिलाई हिस्टेरियाको लक्षण देखा प¥यो र अरूलाई पनि त्यस्तै किसिमका लक्षणहरू देखा परे सर्वप्रथम त त्यस संस्था अथवा ठाउ“को प्रमुख व्यक्तिले धैर्यपूर्वक महŒवपूर्ण भूमिका निभाउनुपर्छ । जस्तो कि विद्यालयमा यस किसिमको समस्या देखिनेबित्तिकै प्रिन्सिपलले अत्यन्त संयमित भई पटकपटक यसबारे तथ्यपक सूचना प्रवाह गरिरहनुपर्छ । विद्यालय प्रशासनको गलत सूचनाले समस्या जटिल भई समाधानमा विभिन्न व्यवधान आउन सक्छ । यो रोग वा अन्य के कारणले बेहोस भयो भनी पत्ता लगाउन स्वास्थ्यकर्मीको सहायता लिनुपर्छ । मानसिक स्वास्थ्यमा तालिमप्राप्त स्वास्थ्यकर्मीले समेत हिस्टेरिया भए÷नभएको पत्ता लगाउन सहयोग गर्न सक्छन् ।

हिस्टेरियाका कारण कोही बेहोस भए वा काम्दै चिच्चाउ“दै गरेको खण्डमा आत्तिनुहु“दैन । त्यस्तो अवस्थामा जबर्जस्ती बिरामीको मुख खोल्ने, मुखमा केही राखिदिने, हातखुट्ट चलाइदिने गर्नुहु“दैन । बिरामीलाई सुरक्षित ठाउ“मा राखेर आराम गर्न दिनुपर्छ । केही बेरपछि उसलाई बिस्तारै होस आउ“छ ।

यस रोगको स्थायी समाधानका लागि विशेषज्ञको सल्लाह र सहमतिमा उपचार सुरु गर्नुपर्छ । उपचारका क्रममा बिरामी मात्र नभएर उनीहरूका सहपाठीहरू तथा शिक्षक, अभिभावक, समुदायको पनि उपचारमा ठूलो योगदान हुन्छ । कुनै त्रास, भय, हल्ला अथवा कुनै त्यस्तै कुराहरूले समस्या गरिरहेको छ भने सर्वप्रथम त्यस्ता कुराहरूलाई निषेध गर्नपट्टि ध्यान दिनुपर्छ । यो समस्या दोहोरिन नदिन र कतै देखिइहाले पनि यसको चाँडै निराकरण गर्न शिक्षक, विभिन्न समुदायका अगुवाहरू र आम जनताले व्यापक चेतना जगाउनुपर्ने हुन्छ । यस कार्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको अहं भूमिका रहने गर्छ ।

अन्धविश्वास, कुरीति, चेतनाको कमी नै हाम्रोजस्तो अविकसित देशमा मास हिस्टेरियाको कारण र उपचारमा ढिलाइ हुने मुख्य कारणमध्ये एक हो । देवीदेवता उत्रेको, नाग लागेको तथा विभिन्न किसिमका भूतप्रेतहरूमाथिको अन्धविश्वासले गर्दा यो रोग लाग्न मात्र होइन, यस रोगको राम्रोस“ग उपचार गराउन पनि समस्या देखिएको छ ।

अहिले पनि नेपाली समाजमा अविवाहित महिलामा हिस्टेरियाको लक्षणहरू देखिएको खण्डमा विवाहले हिस्टेरिया ठीक गर्छ भन्ने गलत धारणा कायमै छ । विवाहले कसैकसैलाई पहिलेको तनावयुक्त वातावरणबाट मुक्त पारिदिने हुनाले वातावरणको परिवर्तनले हिस्टेरिया ठीक पारेको हुन सक्छ । तर, कतिपयलाई हिस्टेरिया विवाहपश्चात् उत्पन्न हुन्छ । कतिपयमा त विवाहपश्चात् हिस्टेरिया झनै उग्र भएर आउ“छ । त्यसैले, हामी सबैले बुझ्नुपर्ने कुरा के भने विवाहले होइन तनावको निदानले नै हिस्टेरिया ठीक हुन्छ । त्यसैले, हिस्टेरियाको उपचार आवश्यक छ ।

हिस्टेरियाको उपचार

हिस्टेरिया होस् वा मास हिस्टेरिया होस्, यो पूर्णतया मनको खेल हो, अवचेतन मनको खेल हो । अर्को शब्दमा भन्ने हो भने यो व्यक्त गर्न नसकेको इच्छा वा समस्याहरूद्धारा पैदा भएको तनावको प्रतिरक्षा स्वरूप देखिएको मनको रोग हो । वास्तवमा यो रोग ‘म पीडित छु, मलाई सहायता गर’ भन्ने चित्कार हो । यस कुरालाई परिवार, समूह तथा वरपरका मानिसहरूले संवेदनशील भएर बुझ्न खोज्नु आवश्यक छ ।

तनावको पहिचान र त्यसपछि उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो । अहिलेसम्म कुनै ट्याब्लेट या इन्जेक्सन बनेको छैन, जसले हिस्टेरियालाई ठीक पारोस् । तर, औषधिहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त पार्दछन् । तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिने हुन्छ । निदानका लागि तनावको पहिचान आवश्यक छ । तर, तनावको पहिचान गर्न त्यति सजिलो नहुन सक्छ । यस विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ । त्यसैले यसको उपचार मनोवैज्ञानिक पद्धतिद्वारा गर्नुपर्दछ ।

हिस्टेरियाको सर्वोत्तम उपचार माइन्ड–बडी मेडिसिन हो, साइकोथेरापी हो । त्यसैले, मास साइकोथेरापी, फेमिली साइकोथेरापी, कोग्निटिभ बिहेबियर थेरापी (सीबीटी), ईएफटी तथा योग–ध्यान, प्राणायामजस्ता यौगिक क्रियाहरूद्वारा नै मास हिस्टेरियाको उपचार गर्नुपर्दछ । त्यसो त बिरामीको मनको कुरा, उसको अवचेतनमा चलिरहेको द्वन्द्व थाहा गर्न नार्काेथेरापी तथा हिप्नोटिज्मजस्ता विधिहरू पनि सहयोगी हुन्छन् । उपचारले मात्र मास हिस्टेरियाको स्थायी समाधान निस्कि“दैन, उपचारका साथसाथै परिवेश नै ठीक राख्नुपर्दछ । जस्तो कि विद्यालयका छात्राहरूमा मास हिस्टेरियाको प्रमुख कारण पढाइको बोझ भएकाले विद्यार्थीको का“धमा भकारी भारी किताब बोकाउन छोडेर पढाइलाई जेल होइन कि खेल बनाउने हो भने मास हिस्टेरिया त्यसै ठीक हुन्छ ।

पुछारमा

सम्झनाको भित्री पीडा भित्रै थियो । तर, उनलाई देवी भनेर पुज्नेहरू बढ्दै थिए । यसरी नै चार महिना बित्यो । विदेशबाट एमबीबीएस गरेर फर्केका सम्झनाका भाइले उनको मेडिकल रिपोर्ट र अवस्था देखेर अमेरिकाबाट सीबीटीमा विशेष परीक्षण प्राप्त मनोचिकित्सककहा“ लिएर गए । मनोचिकित्सकले सबैभन्दा पहिला परिवारका सम्पूर्ण सदस्यलाई खास गरी, सासूससुरा र पतिलाई यस रोग र मनोचिकित्साका बारे सम्झाए–बुझाए र उनीहरूलाई विश्वासमा लिने कार्य गरे । परिवारका सदस्यहरूलाई उनीहरूले गर्नुपर्ने सहयोग र भूमिकाबारे बताए । अनि उनले सीबीटीलाई सम्झनाको अनुकूल परिमार्जित गरे चिकित्सा सत्र सुरु गरे ।

सम्झनाको औषधिप्रतिको विश्वासलाई ध्यानमा राखेर औषधिका रूपमा प्लेसबो पिल दिए । तीन चिकित्सा सत्रपछि सम्झनालाई निकै आराम महसुस हुन थाल्यो । उनको मनभित्र गुम्सिएको कुण्ठा तथा अन्तद्वन्द्व निकै घट्दै गयो । १२ चिकित्सा सत्रपछि उनी बिल्कुल ठीक भइन् । अनि परिवारको सल्लाहबमोजिम उनले एमबीए पढ्न थालिन् । घरधन्दा र एक छोराको रेखदेख गरेर पनि उनले दुई वर्षमा प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरी बैंकमा जागिर प्राप्त गर्न सफल भइन् ।

तर, सृष्टि र कृष्टिको पीडा भने उस्तै छ ? अन्धविश्वासमा जकडिएको समाजका कारण पढेरलेखेर केही गर्ने सपना बोकेकी सृष्टिको सपना चकनाचुर हु“दै छ । होइन, कसैले त सम्झाउबुझाउ सृष्टिकृष्टि र उनीजस्तै समस्यामा परेकाहरूका आमाबा र आफन्तहरूलाई अनि यो समाजलाई । (द्रष्टव्य ः हिस्टेरिया शब्द प्रयोग गर्नु उचित होइन । यो रोग कन्भर्जन डिसअर्डर हो । तर, आम पाठकलाई बुझ्न सजिलो होस् भन्ने उद्देश्यले मात्र यो लेखमा हिस्टेरिया शब्द नै प्रयोग गरिएको छ ।)

–लेखक मनोविद् हुन् ।

LEAVE A REPLY