बोक्सी, समाज र अर्थ

0
375

राम लोहनी-

 

नेपालीमा बोक्सी शब्द भन्ने बित्तिकै महिलालाई सङ्केत गरेको बुझ्‍ने चलन छ। नेपाली भाषामा बोक्सीको पुलिङ्गी ‘बोक्सो’ भनेर प्रचलनमा पनि देखिन्छ। बोक्सी एक प्रकारको प्राकृतिक “धर्म” हो, religion को अर्थमा ! प्रकृतिमा भएका शक्तिलाई मानवीय उपयोगको लागि दोहन गर्ने विद्याको रूपमा पनि मान्न सकिन्छ बोक्सी विद्यालाई। प्रकृतिमा अपार शक्ति छ, त्यसलाई मान्छेले आफूलाई लाभ हुने गरी विभिन्न रूपमा प्रयोग गर्न सक्छ। भविष्य थाहा पाउने, बिमार निको पार्ने, असाधारण तरिकाले काम सम्पन्न गर्ने आदि मानिसले कल्पना गरेका विषयहरू जबदेखि उनीहरूले सोचविचार गर्न थाले। संसारका हरेक समुदायमा बोक्सी विद्याको प्रारूप विकास भएको पाइन्छ। कति सफल, कति असफल बेग्लै बहसको विषय हो यो।

Advertisements

कुनै पनि विद्याको सकारात्मक र नकारात्मक पाटो हुन्छ नै। बोक्सी विद्यालाई पनि मानव जातिलाई लाभ हुने काममा मात्र प्रयोग नगरेर हानि गराउने काममा पनि दुरुपयोग गर्ने क्रम रह्यो। विशेष गरेर शत्रु नाश गर्न, कसैलाई दु:ख दिन पनि यो विद्याको प्रयोग गर्न सकिन्छ भन्ने अवधारणा विकास भयो। समयक्रममा बोक्सी भनेकै गलत उद्देश्यले प्रयोग हुने विद्या हो भन्ने स्थापित भयो। यो विश्वाससँगै बदला लिनु पर्ने मानिसहरूलाई बोक्सीको आरोप लाग्यो। पुरुषप्रधान समाजको उत्कर्षमा स्वाभाविक रूपले एकल महिलाहरु धेरै कमजोर हुन्छन्। उनीहरू यस्ता आरोपको शिकार भए। विनाप्रमाण यस्ता आरोप लगाएर अमानुषिक यातना दिने क्रम अझै जारी छ। मध्याकालीन युरोपमा बोक्सी परीक्षण गर्न पानीमा डुबाइन्थ्यो। बोक्सीहरू पानीमा उत्रिन्छ भन्ने विश्वास थियो। पानीमा उत्रिनेलाई ढुङ्गाले हानेर वा जलाएर मारिन्थ्यो। डुबे भने बोक्सी होइन भन्ने प्रमाणित हुन्थ्यो। मर्न त मर्थे नै। तर परिवार चोखिन्थ्यो। आरोपित व्यक्ति पानीमा उत्रियो भने त्यसलाई त सबैले पालैपालो ढुङ्गाले हानी हानी मार्थे नै, उसको परिवारका सदस्यको हैसियत पनि समाप्त हुन्थ्यो। बोक्सीको परिवारको नियति पलायन हुनु वा क्रमश: मारिनुमै थियो। बोक्सीको आरोपमा प्राय: महिलाहरू नै आक्रमणको शिकार हुन्थे। कतिसम्म भने सुर्यलाई ग्रहहरूले परिक्रमा गर्ने नियम पत्ता लगाउने वैज्ञानिक योहानस केप्लरकी आमालाई पनि बोक्सीको आरोप लागेको थियो। ढुङ्गाले हानेर मारिन वा ज्यूँदै जलाइनबाट अन्तिममा मात्र बचेकी थिइन्। मन नपरेका जो कोहीलाई आरोप लगाउन सकिन्थ्यो। आरोप लगाउन समाजमा शक्तिशाली हुनुपर्ने त छँदै थियो।
बोक्सी शब्द र अङ्ग्रेजीको Wicca को उद्गम उही हो भन्ने मेरो अनुमान हो। अङ्ग्रेजीमा c को उच्चारण अझै पनि कतै ‘क’, कतै ‘स’ हुन्छ – cat, certain । ती शब्दको इतिहासतिर नगई म के उल्लेख गर्न चाहन्छु भने अङ्ग्रेजीलगायत संस्कृत, ल्याटिन, ग्रिक आदिको माउ भाषा प्राक-भारोपेलीमा सय शब्दलाई *kmtom भनिन्थ्यो। यसको पहिलो ध्वनि “क” रहने भाषाहरूको वर्गलाई केन्तुम (centum, ल्याटिन उच्चारणमा पहिला यो केन्तुम नै थियो, पछिल्ला उच्चारण चाहिँ क को ठाउँमा स भएको छ) र ‘स’ हुने भाषाको वर्गलाई सतम (satem) भनिन्छ। संस्कृत भाषामा सयलाई शतम भनिन्छ, अर्थात यो सतम वर्गमा पर्छ। हाम्रो ‘सय’ यसैको विकास हो। Wicca (विका, विक्का) को क पनि ‘स’ हुनु यही नियमले बुझिहालियो। यस प्र्कार बोक्सी शब्दको अर्थ wicca सँग मेल खानु कुनै अचम्मको कुरा भएन। ‘विक्का’ हरूको काम पहिले पहिले मानवोपयोगी नै हुन्थ्यो – उपचारात्मक आदि। तर पछि यो विद्यालाई दुरुपयोग गर्ने पनि हुन थाले। विद्याको दुरुपयोग ढाँट छलको प्रयोजनमा पनि हुन थाल्यो। “छक्का” शब्द पनि यसैसँग मिल्दो जुल्दो छ – छक्याउने अर्थमा।

LEAVE A REPLY