एउटै गीतका २८ ट्युन

0
262

narayan-gopal-5845056ad40bf8-93722378काठमाडौं: संगीतकर्मी दीपक जंगम र स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको सांगीतिक यात्राले रफ्तार लिइरहेका बेला जंगमलाई राजदरबारबाट एउटा गीत प्राप्त भयो । त्यतिबेला गुलाम अलीको गीत निकै चर्चित थियो । तत्कालीन महारानी ऐश्वर्यका स्वकीय सचिवले जंगमलाई टेलिफोन गरेर गुलाम अलीको गीतभन्दा त्यस गीतलाई चर्चित बनाउनुपर्ने आदेश सुनाएछन् ।

जंगमले अलीको गीतभन्दा चर्चित बनाउनु या नबनाउनु आफ्नो हातमा नभएको तर आफ्नो शतप्रतिशत सीप लगाएर गीत तयार गर्ने वचन दिएछन् । त्यतिबेला दरबारको गीत रेडियो नेपाल बाहिरका संगीतकर्मीको हातमा पर्नु अनौठो कुरा थियो । जंगमसम्म त्यो गीत आइपुग्नु नै उनको लागि ठूलो चुनौती थियो । साथीहरूले पनि उनलाई यो गीत राम्रो बनाउनै पर्ने दबाब दिए । जंगमको नजरमा त्यो गीत गाउन सक्ने एउटै मान्छे नारायणगोपाल थिए ।

Advertisements

नारायणगोपालको २६ औं स्मृति दिवसमा आइतबार सांस्कृतिक संस्थानमा आयोजित स्मृतिसभामा सहभागी हुन पुगेका जंगमले भने, ‘नारायण दाइको दरबारसँग राम्रो छैन भन्ने सुनेको थिएँ, गीतकारको नाम छोपेर ट्युनिङ बनाएँ, देखाएँ ।’ गीतकारको नामै नबताए पनि नारायणगोपाललाई त्यो गीतको फर्म, ट्युन मन परेन ।

जंगमले चारवटा ट्युन बनाउँदासम्म पनि नारायणगोपाललाई मनै परेन । त्यसपछि उनले जंगमसँग गीतकारको नाम सोधे । यो गीतको पछाडि लाग्नुको कारण सोधे । जंगमले गीतकारको नाम बताउनै पर्‌यो । नारायणगोपालले दरबारसँग आफ्नो कुनै नराम्रो नभएको बताएपछि ढुक्क भएर गीतको ट्युन बनाउन थाले ।

‘मिटर’ लामो भयो भनेर गीत मन नपराएका नारायणगोपाललाई २८ वटा ट्युन बनाउँदासम्म चित्त बुझाउन सकिएन । हैरान भएर जंगमले ‘यो गीत जसरी पनि गाउनैपर्छ’ भनेपछि ती २८ मध्येबाट दुईवटा ट्युन छनोट भयो । एउटा ट्युनमा म्युजिक नेपालबाट रेकर्ड भयो । गीत हो, ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा’ दरबारले पहिलो पटक पैसा दिएर ‘प्राइभेट’ कम्पनीबाट रेकर्ड गराएको गीत थियो त्यो ।

यही गीत जुन अहिलेसम्म श्रोताको मनमा डेरा जमाएर बसेको छ । सदाबहार बनेको छ । नारायणगोपालले गाएका गीत थोरै मेहनतले बनेका थिएनन् भन्ने कुरा यही घटनाले प्रमाणित हुन्छ ।

कार्यक्रममा नारायणगोपालका कालजयी गीतहरू नयाँ पुस्ताका कलाकारले प्रस्तुत गरे । गीतसँगै नारायणगोपालसँगका स्मृति उनीसँगै काम गरेका व्यक्तिहरूले सुनाए । चलचित्रकर्मी प्रकाश सायमीले सम्झिए, ‘नारायणगोपालको स्वर कहिले बिहान जस्तो लाग्छ, कहिले साँझ जस्तो लाग्छ, कहिले छुट्टीको घामजस्तो लाग्छ ।’ लोचनले उनीसँग काम गर्दाका अनुभूतिका टुक्काहरू सुनाइन् ।

२०३७ देखि ०४० सम्म तत्कालीन नाचघरको महाप्रबन्धक भएर काम गरेका नारायणगोपालको स्मृति दिवसमा गत वर्षदेखि कार्यक्रम गर्न थालिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बताए ।

नारायणगोपाल संगीत कोषले हरेक वर्ष झैं यस पटक पनि स्मृति सभा आयोजना गर्‌यो । राजधानीका धेरै ठाउँमा नारायणगोपालका गीत गाएर, सुनेर उनलाई स्मरण गरियो ।

LEAVE A REPLY