पानीको हाहाकारले धादिङमा पुनर्निर्माण ठप्प

0
240

भूकम्पपछिका पुनर्निर्माणको त कुरै छोडौं, धादिङ जिल्लाका मध्य र दक्षिणी भेगमा पिउने पानीकै हाहाकार भएको छ । यसै पनि वर्षौदेखि पानीको अभाव खेपिरहेका स्थानीयवासीहरुले भूकम्पले भत्काएको घर पुनर्निर्माण गर्न पहिलो किस्ता रकम त लिए तर सबै गाउँलेहरुले एकै पटक घर निर्माणको थालनी गर्दा पानीकै चरम अभाव देखिएको छ ।

Advertisements

गाउँवस्तीका स्वास्थ्यचौकी, विद्यालय र गाउँबस्तीमा भएका पुरानाधाराका मुहान सुक्दै जानु, भएका खानेपानी पाइपलाइनको सुरक्षा र मर्मत संभार नहुनु र सडक निर्माण गर्दा हुने पाइपलाइन क्षतिले समस्यामा झनै समस्या थपिँदै गएका छन् ।

बेलायती सहयोग नियोग (डिएफआईडी)को अनुदानमा कुम्पुर गाविसमा निर्माणाधिन खानेपानी आयोजना अध्ययन, अनुगमन गर्न गएका बेलायती राजदूत रिचर्ड चाल्र्स मोरिजलाई स्थानीय महिलाहरुले घेरेर खानेपानीकै समस्या सुनाए । डाँडामा रहेको कुम्पुरको ठूलो बस्ती, सानातिना मुहान र कुवा सबै बस्ती मुन्तिर । राजदूत मोरिज र डिएफआईडीकी काठमाडौंस्थित राष्ट्रिय निर्देशक जेल मार्जेटीसँग स्थानीय महिलाहरुले ‘पानी नभएसम्म पुनर्निर्माण गर्न नसकिने भन्दै निर्माणाधिन खानेपानी योजना तत्काल निर्माण गर्न आग्रह गरेका थिए । स्थानीय कुम्पुर भन्ज्याङ्ग निवासी दुर्गा नेपालीले भनिन्, ‘ल्याएको पहिलो किस्ता रकम लोग्नेमान्छेहरुले फुर्मासी गरेर सक्न थाले, पानी नभएर यता जग खनिएको समेत छैन, रकम जोगाउनै गाह्रो भो ।’

डिएफआईडीले करिब ६४ लाखको सहयोगमा ४ सय २४ घरधुरीलाई हुने गरी कुम्पुरमा ५ वटा खानेपानी आयोजना निर्माण गर्दैछ । उक्त दातृनिकायले स्थानीय संस्था एक्सन नेपाल र फोकस नेपालमार्फत्  गजुरी, धुषा, दार्खा, सत्यदेवी, वेनीघाट लगायतका गाविसहरुमा भूकम्पपछि समस्या परेका बस्तीहरुमा २ करोड ७४ लाख अनुदानमा खानेपानी निर्माण तथा मर्मत गर्दैछ ।
डिएफआईडीले कुम्पुरमा निर्माण गरेका खानेपानी आयोजना निरीक्षणका क्रममा बेलायती राजदूत रिचर्ड चाल्र्स मोरिज (नीलो स्वेटर)

जिल्लाका २ दर्जन गाविसहरुमा हिउँदे मौसमको आरम्भमै गाउँबस्तीमा खानेपानीको अभाव शुरु भएको छ । भूकम्प अगावै पानीको अभाव झेल्दै आएको पीडा–६, श्यामैडाँडा पृथ्वीराजमार्गको आदमघाटबाट ५ किमी टाढा दूरी रहेको स्यामैडाँडाका २ सय घरधुरीमध्ये १ सय ६१ घरपरिवार चेपाङ्ग मात्रै छन् । गाविसस्तरकै नीति निर्माण तहमा चेपाङ्गहरुको पहुँच नभएपछि बस्ती छ, पिउने पानी छैन । भएका ४ वटा कुवाका मुहान पनि भूकम्पले सुकाएकै डेढ वर्ष भइसक्यो ।

भूकम्प जानुअघि पनि यस गाउँका चेपाङ समुदायले तिर्खा मेटाउन सकेका थिएनन् । भूकम्पपछि त उनीहरूले तिर्खा मेटाउन आशै मारे । भूकम्पपछि २ सय घरधुरीको पानी खाने चारवटा धारा कुवा सुक्यो । उनीहरू झनै समस्यामा परे । के बालबालिका, के वयस्क, के वृद्धवृद्धा जोकोही पनि पानी ओसार्न एकाविहानै खटिनु परेपछि पूरा निन्द्रा कोही पनि सुत्न पाउँदैनन् ।

‘बिहान ४ बजेदेखि बेलुका ११ बजेसम्म पानी कहाँ छ भनेर खोज्दै हिँड्नु पर्छ, हाम्रो समस्या कसले बुझने ? लोग्ने मान्छेहरु पनि पानी माग्न कतै जाँदैनन्’ खानेपानी र खाद्य समस्या व्यहोर्ने श्यामैडाँडामा गठित खाद्यअधिकार समूहकी अध्यक्ष विमला चेपाङ ।

‘भूकम्पले भत्केको घर बनाउन सरकारले पैसा दिन्छ रे, खानेपानी त छैन कसरी घर बनाउने, पानी बोकेर घर बनाउन पर्‍यो भने पानी बोक्ने ज्याला पुग्दैन’ समूहकी सदस्य संगीता चेपाङले भनिन्, ‘सरकारले पहिला गाउँमा पानी ल्याउने योजना सञ्चालन गर्न पर्‍यो अनी बल्ल घर बनाउने ।’
यस्तो समस्या श्यामैडाँडामा मात्र होइन । सल्यानटार गाविसका हुनेखानेले पनि ट्यांकरमा पानी २६ सय रुपैयाँमा किनेर गुजारा गरिरहेका छन् । विपन्नवर्ग भने पानीकै अभावमा टार वरिपरिका रैथाने कुवा र मुहान धाउदै दिन बिताई रहेका छन् ।‘ सल्यानटारमा रहेका २३ सय घरधुरीमध्ये दुई हजार २ सय घर निर्माण गर्नुपर्नेमा खानेपानी समस्याले नै पुनर्निर्माणको लागि प्रमुख समस्या देखा परेको’ पूर्वगाविस अध्यक्ष फणिकान्त छत्कुली बताउँछन् ।

अहिले प्रतिएक लिटर पानीको ढुवानी एक रुपैयाँ पर्ने गरेको स्थानीय साना किसान सहकारीका व्यवस्थापक सन्जु श्रेष्ठले बताइन् । सामान्य किसिमको घर बनाउन २१ हजार लिटर पानी लाग्ने अनुमान छ । अझ हुनेखानेले पक्की घर बनाए भने पानी बढी लाग्छ । सबैले सामान्य किसिमको मात्र घर बनाए भने पनि सल्यानटारमा चार करोड ६२ लाख पानी ढुवानीमा खर्च हुने श्रेष्ठले बताए । पानी समस्या सल्यानटार मात्रै हैन जिल्लाका मध्यभागमा रहेका सदरमुकाम नगरपालिकासहित कटुन्जे, मैदी, खरी, नलाङ, चैनपुर, खाल्टे, केवलरपुर, लगायतका २ दर्जन गाविसहरु भूकम्प अगावै खानेपानी समस्या व्यहोर्दै आएका गाविसहरु हुन् । ‘भूकम्पपछि त पानीको समस्या  झनै चर्को भयो, सरकारले पाइप दिएर के गर्नु मुहानै छैन’– सदरमुकाम सुनौलाबजारका समाजसेवी झंकनारायण श्रेष्ठले भने ।

भूकम्पअघि खानेपानी समितिले छ हजार रुपैयाँ लिएर घर बनाउन पानी दिँदा स्थानीयले आफूहरूले खानेपानी खान नपाएका बेला घर बनाउन पानी दिन नहुने भन्दै आएका थिए । अहिले एकगाग्री पानीका लागि ३ घण्टासम्म समय लाग्ने गरेको स्थानीयको गुनासो छ । कतिपय बस्तीहरुमा गाईवस्तु र मान्छेले एउटै कुवाको पानी प्रयोग गर्नु पर्ने बाध्यता छ ।

मंसिरको दोस्रो सातासम्म ५२ हजार ९ सय १७ घर पुनर्निर्माणका लागि पहिलो किस्ताको ५० हजार रकम निकासा भएको जिविसका सूचना अधिकृत भोला गौतमले बताएका छन् । पैसा निकासा भए पनि पुनर्निर्माणले खासै गति लिन सकेको छैन । जिल्लाभर ८५ हजारभन्दा बढी घर पुनर्निर्माण गर्नुपर्ने छ ।

जिल्लाका ८५ प्रतिशत मानिसको खानेपानीमा सहज पहुँच भएको तथ्यांक खानेपानी तथा सरसफाई डिभिजनको भूकम्प जानुअघिको तथ्यांक छ । खानेपानीमा भूकम्पका कारण कति क्षति पुग्यो भन्ने एकीन तथ्यांक नरहे पनि ७ सयभन्दा बढी निवेदन कार्यालयमा दर्ता भएको छ । विवादकै कारण भूकम्प गत आर्थिक वर्षमा खरिद गरिएका करिब १ करोड रकमबराबरका पोलिथिन पाइप कार्यालय चौरमै थन्केका छन् ।

खानेपानीसम्बन्धी संरचना पुनर्निर्माणमा २३ वटा योजनाका लागि बजेट आएको छ । डिभिजनले ५० बहुवर्षीय योजना सञ्चालन र ४० वटा नयाँ योजना सञ्चालन गरेको डिभिजनका प्रमुख इन्जिनियर जक्की अमहद अन्सारीले बताए,

LEAVE A REPLY