महिला हिंसामा कमी आएन

0
220

women-rapeकाठमाडौँ, मङ्सिर २६ गते ।  नेपालका ऐन कानुनले धेरै हदसम्म महिला अधिकार सुनिश्चित गरेको भए पनि व्यवहारमा कार्यान्वयन नभएर महिला हिंसामा न्यूनीकरण हुन नसकेको महिला नेत्रीहरूको तर्क छ ।  महिला किसान सङ्घ, नेपालद्वारा शनिबार यहाँ आयोजित खाद्य अधिकार, भूस्वामित्व तथा महिला हिंसा विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले त्यस्तो तर्क गर्नुभयो ।  महिला हिंसाको अन्त्य गर्न घरपरिवारबाटै त्यसको कार्यान्वयन आवश्यक रहेको उहाँहरूको सुझाव छ ।  कार्यालय, कार्यक्रम र सार्वजनिक स्थानमा महिलाको पक्षमा वकालत गर्नेहरूले आफ्नो घरमा महिला हिंसा गर्ने गरेको आरोप महिला नेत्रीहरूको छ ।
कार्यक्रममा पूर्व पशुपन्छी विकासमन्त्री तथा एमाले नेत्री शान्ता मानवीले संवैधानिक र कानुनी रूपमा नेपाली महिला अधिकारसम्पन्न भए पनि व्यवहारमा ठीक उल्टो रहेको तर्क गर्नुभयो ।  महिलामाथिको हिंसाको जड नेपालीको घरघरमा छ भन्दै उहाँले व्यवहार र प्रवृत्तिमा परिवर्तन नहुँदासम्म महिला हिंसा अन्त्य हुन नसक्ने बताउनुभयो ।
घरजग्गा र श्रीसम्पत्ति सबै राज्यको नाममा गरेर सबैलाई समान हैसियत बनाएमात्र भेदभाव र हिंसा अन्त्य हुने दाबी गर्दै उहाँले खाद्य अधिकारबाट समेत नेपाली चेली वञ्चित रहेको बताउनुभयो ।  उहाँले विश्वभर नै महिला हिंसा रहेकाले नै महिला हिंसाविरुद्धको अभियान सञ्चालन भइरहेको बताउनुभयो ।
अधिवक्ता शान्ति खनालले नेपालमा १७ देखि २० प्रतिशत महिलामात्र जमिनका मालिक रहेको तर्क गर्दै भूस्वामित्वमा समान हैसियत नहुँदासम्म महिला हिंसा नघट्ने दाबी गर्नुभयो ।  आदिम साम्यवादमा महिलाप्रधान समाज रहे पनि पछि पुरुषको मुठ्ठीमा समाज आएदेखि महिलामाथिको दुव्र्यवहार बढेको उहाँले तर्क गर्नुभयो ।  समाजमा महिलालाई दोस्रो दर्जाको नागरिक सोच्ने प्रवृत्ति हावी रहेको उहाँले बताउनुभयो ।
नेपाल सरकारकी सहसचिव इन्दिरा दाहालले समाजले सूर्य र छोरालाई समान रूपले हेर्ने गरेको तर्क गर्नुभयो ।  सूर्यको वरिपरि ग्रह घुमेजस्तै छोराको वरिपरि परिवारका सदस्य घुम्ने प्रवृत्ति नेपाली समाजमा हावी रहेको बताउनुभयो ।  संविधानमा महिला अधिकार छ भनेर मख्ख परेर बस्नुभन्दा त्यसको कार्यान्वयनमा नेपाली महिला लाग्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
प्राध्यापक डा. केशव खड्काले खान पाउने अधिकार मानवाधिकारको पहिलो अधिकार भएकाले महिलालाई त्यसबाट वञ्चित गर्न नहुने बताउनुभयो ।  महिलाले घरका सदस्यलाई खुवाएर मात्र आफू खाने नेपाली प्रवृत्ति रहेको चर्चा गर्दै उहाँले त्यस्तो प्रचलन अन्त्य हुनुपर्ने बताउनुभयो ।  कानुन र संविधानमा लैङ्गिक समानता भए पनि घरपरिवारभित्र त्यो कहिले कायम हुन नसकेको उहाँले तर्क गर्नुभयो ।
महिला किसान सङ्घ, नेपालकी अध्यक्ष जीवन्ती पौडेलको सभापतित्वमा भएको कार्यक्रममा पशुपति कुँवर, कमला बोहरा लगायतले महिलामाथि हुने गरेको घरेलु हिंसा र समाधानको उपायबारे चर्चा गर्नुभएको थियो ।

LEAVE A REPLY