ज्ञान र विज्ञान

0
379

12193679_656193417855903_6562239809985979929_n

डा.मतिप्रसाद ढकाल-

 

केही जान्नु वा बुझ्नुलाई हामीले ज्ञान भन्ने गर्छौं । औपचारकि वा अनौपचारिक रूपमा लिइने शिक्षालाई पनि हामीले ज्ञान नै ठान्छौं । प्रयोगशालाको समेत उपयोग गरेर लिइने ज्ञान हाम्रो बुझाइमा विज्ञान हो । विज्ञानले सैद्धान्तिक र प्रायोगिक दुवै बुझाइको अपेक्षा राख्छ भने ज्ञान सामान्यतया सैद्धान्तिक क्षेत्रमा मात्र सीमित रहन्छ भन्ने हाम्रो परम्परागत बुझाइ छ । यस दृष्टिले ज्ञान सामान्य ज्ञान हो भने विज्ञान विशिष्टीकृत ज्ञान हो । यस्तो विशिष्टीकृत ज्ञानलाई बालकृष्ण समले किन ‘ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ’ भनी उपेक्षा गरेका होलान् ? भनेर हामी एकछिन अलमलिन्छौं । उनले अध्यात्मवादका लागि ज्ञान शब्दको र भौतिकवादका लागि विज्ञान शब्दको प्रयोग गरेको हुनुपर्छ । आध्यात्मिक ज्ञानले आपूmलाई वा आत्मालाई चिन्ने प्रयत्न गर्दछ भने भौतिकवादले सांसारिक र अनुभवजन्य ज्ञानमा बढ्ता जोड दिन्छ । यस संसारमा बाँच्नका लागि लौकिक ज्ञान वा अनुभवजन्य सांसारिक ज्ञान नभई हुँदैन भने बारम्बार पुनर्जन्मको चक्करमा रिँगिरहन नपरोस् र सांसारिक मोहबाट मुक्त भई परमात्मामा लीन हुन पाइयोस् भन्ने आकाङ्क्षाले ज्ञानलाई पनि हामीले जीवनकै अभिन्न अङ्गका रूपमा स्वीकार गर्नु अपरिहार्य छ । विज्ञानको द्रुततर विकास भइरहे पनि हामी आन्तरिक रूपमा दिनानुदिन दुःखी बन्दै गएका छौं भने विज्ञानका तुलनामा ज्ञानको गहन अध्ययन अनुसन्धान नभएका कारण बाह्य रूपमा दुःखीजस्तो देखिन परे पनि ज्ञानी वा योगीहरू आन्तरिक रूपमा प्रसन्न छन् । विज्ञानको यही आन्तरिक दुःखान्त र ज्ञानको यही आन्तरिक प्रसन्नताकै सन्दर्भमा ‘ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ’ को तात्पर्य पनि बुझ्न सकिन्छ ।

Advertisements

वास्तवमा यो संसार ज्ञान र विज्ञानको चमत्कारबाट नै चलिरहेको छ र यी दुवैलाई बुझ्ने हो भने संसारमा कुनै पनि जान्नुपर्ने चीज बाँकी हुँदैन । हजारौं मान्छेमा कुनै एकजनाले भगवत्प्राप्ति वा कुनै कामको सिद्धिका लागि प्रयास गर्छ । त्यसरी प्रयास गर्ने सिद्धहरूमध्येमा पनि कुनै एउटाले मात्र भगवान्लाई वा कुनै सिद्धिलाई तात्त्विक रूपमा बुझ्दछ । त्यसैले भगवत्प्राप्ति वा कुनै सफलता प्राप्त गर्ने सौभाग्य सबैले प्राप्त गर्न सक्तैनन् र जजसले सफलता प्राप्त गर्न सक्छन् तिनीहरू नै वास्तवमा ज्ञानी र विज्ञानी भएका कारण सुखी पनि हुन सक्छन् ।

संसारमा दुई प्रकारका प्रकृति छन् : जड प्रकृति र चेतन प्रकृति । यिनलाई क्रमशः अपरा र परा पनि भनिन्छ । पृथ्वी, जल, तेज, वायु, आकाश, मन, बुद्धि र अहङ्कार यी आठ जड प्रकृति हुन् भने जसद्वारा यो सम्पूर्ण जगत् धारण गरिएको छ त्यस्ता भगवान्को जीवरूप प्रकृति नै चेतन प्रकृति हो । संसारका सबै प्राणीहरू यी दुवैद्वारा उत्पन्न हुन्छन् र सम्पूर्ण जगत्को उत्पादक र संहारक पनि भगवान् नै हुन् ।

धागामा उनिएको मणिजस्तै सारा जगत् भगवान्मै गाँसिएकाले जगत् सञ्चालनमा भगवान्भन्दा अर्को कुनै पनि निमित्त छैन । त्यसकारण भगवान्ले आपूmलाई जलमा रस, चन्द्रसूर्यमा प्रकाश, सबै वेदमा ओङ्कार, आकाशमा शब्द, मान्छेमा पुरुषत्व, पृथ्वीमा पवित्र गन्ध, अग्निमा तेज, सबै प्राणीहरूमा जीवन र तपस्वीहरूमा तपस्या हुँ भनेका छन् । त्यसका साथै सम्पूर्ण प्राणीहरूको बीज, बुद्धिमान्हरूको बुद्धि, तेजस्वीहरूको तेज, बलवान्हरूको काम र रागले रहित भएको बल तथा सबै प्राणीहरूमा धर्मअनुकूलको काल पनि मै हुँ भनेर भगवान्ले स्वीकार गरेका छन् । सात्त्विक, राजसिक र तामसिक गुणद्वारा हुने भावहरू पनि भगवान्बाट नै उत्पन्न हुन्छन् तर तिनमा भगवान् अनि तिनीहरू भगवान्मा भने रहँदैनन् । यी तीन प्रकारका भावद्वारा यो सारा संसार मोहित भएका कारण ‘भगवान् यी तीनवटै गुणभन्दा पर छन्’ भन्ने कुरा बुभ्mन नसकिएको हो । यो दैवी त्रिगुणमयी मायाबाट तर्न अत्यन्त कठिन छ तर जुन व्यक्तिले भगवान्को निरन्तर भजन गर्छ त्यही व्यक्ति सांसारिक मायाबाट मुक्त हुन्छ । सांसारिक मायाद्वारा आफ्नो सारा ज्ञानलाई हराइसकेका आसुरी प्रवृत्तिका नराधम र मूर्ख व्यक्तिले भगवान्लाई भज्न रुचाउँदैनन् । जसका कारण यस्ता नास्तिक व्यक्तिहरू सदैव सांसारिक मायाजालमा नै फसिरहन्छन् ।

सांसारिक पदार्थ प्राप्तिका लागि भज्ने ‘अर्थार्थी’, संशय निवारणका लागि भजन गर्ने ‘आर्त’, भगवान्को वास्तविक स्वरूप जान्ने इच्छाले भज्ने ‘जिज्ञासु’ र ज्ञानको चाहनाले भजन गर्ने ‘ज्ञानी’ गरी चार प्रकारका भक्तजनले भगवान्को भजन गर्छन् । ती चारै प्रकारका भक्तजनहरूमध्ये एकाग्रतापूर्वक सदैव भगवान्मा भक्ति राख्ने ज्ञानी नै सर्वश्रेष्ठ भक्त मानिन्छ । किनकि ज्ञानीका लागि भगवान् अत्यन्त प्रिय हुन्छन् भने भगवान्का लागि ज्ञानी पनि अत्यन्त प्रिय नै मानिन्छ । सबै भक्तजनहरू उदार हुन्छन् तर ज्ञानी भने साक्षात् भगवान्कै स्वरूप हो किनकि ज्ञानी अत्युत्तम गतिस्वरूप भगवान्मा नै सदैव दत्तचित्त रहन्छ । धेरै जन्महरूको अन्तमा तत्त्वज्ञानलाई प्राप्त गरेको ज्ञानी भक्तले ‘वासुदेव नै सर्वस्व हुन्’ भन्ने ठानेर भगवान्लाई भज्दछ र त्यस किसिमको महात्मा पाउन भगवान्लाई दुर्लभ हुन्छ ।

विभिन्न भोगहरूको चाहनाले गर्दा जसको ज्ञान नै हराएको छ त्यस्ता व्यक्तिहरू आप्mनो वैयक्तिक स्वभावद्वारा अभिप्रेरित भएर तत् तत् नियमलाई पालना गरी अन्य देवताहरूको भजन र पूजा गर्दछन् । जुन जुन सकाम भक्तले श्रद्धापूर्वक जुन जुन देवताको पूजा गर्दछन् ती ती भक्तको श्रद्धा तत् तत् देवतामा स्थिर रहन्छ । त्यसरी श्रद्धापूर्वक जुन जुन देवताको पूजा गरे पनि पूजा गर्ने व्यक्तिले तत् तत् देवताद्वारा आफ्नो अभीष्ट प्राप्त गर्दछ । परन्तु अल्पबुद्धिवाला भक्तले प्राप्त गरेको फल नाशवान् छ । देवताहरूलाई पुज्ने व्यक्तिले देवतालाई प्राप्त गर्दछन् भने दत्तचित्त भएर एउटै भगवान्को भजन गर्ने व्यक्तिले पनि इच्छित भगवान्लाई प्राप्त गर्दछ ।

मूर्ख व्यक्तिहरूले भगवान्को अनुत्तम र अविनाशी भावलाई नजानेर भगवान्लाई पनि मान्छेलाई जस्तै व्यक्तिभाव प्राप्त गरेको ठान्दछन् । योगमायाद्वारा ढाकिएको हुँदा भगवान् सबैका सामु प्रकट हुँदैनन् । जसका कारण अज्ञानी जनसमुदायले अजन्मा अविनाशी भगवान्लाई बुझ्न नसकी भगवान् पनि जन्मन्छन् र मर्दछन् भन्ने भूल गर्छन् । भगवान्ले भूत, वर्तमान र भविष्यमा हुने सबै प्राणीहरूलाई जान्दछन् तर भगवान्लाई श्रद्धा र भक्तिले हीन भएको कुनै पनि व्यक्तिले चिन्न सक्तैन ।

संसारमा इच्छा र द्वेषद्वारा उत्पन्न भएको द्वन्द्वरूपी मोहले गर्दा सम्पूर्ण प्राणीहरू अत्यन्त मूर्खतालाई प्राप्त गरिराखेका छन् भने पुण्यकर्म गर्ने व्यक्तिहरूको पाप नष्ट हुनाका साथै द्वन्द्वरूपी मोहद्वारा मुक्त र दृढनिश्चयी भएका कारण तिनले भगवान्को भजन गरिराखेका छन् । भगवान्को शरणमा परेर जुन जुन व्यक्ति जरा र मरणबाट मुक्त हुनका लागि प्रयास गर्छन् त्यस्ता व्यक्तिहरूले परब्रह्मलाई, सम्पूर्ण अध्यात्मलाई र सबै कर्मलाई पनि जान्दछन् । जसले अन्तकालमा पनि आधिभौतिक, आधिदैविक र आध्यात्मिक स्वरूपको भगवान्लाई जान्दछ त्यस्ता व्यक्तिले भगवान्लाई अवश्य पनि प्राप्त गर्दछ ।

ज्ञानविनाको विज्ञान र विज्ञानविनाको ज्ञान दुवै अपाङ्ग हुन्छन् । शारीरिक अपाङ्गले जस्तो ज्ञान वा विज्ञानमात्रको अपाङ्गले आफूलाई अपाङ्ग देख्न सक्तैन । आफ्नो अपाङ्गता देख्न नसक्ता मान्छे अहङ्कारको शिखर चढिरहन्छ । वर्तमान विश्वमा विज्ञानको अहङ्कार बढी छ भने ज्ञानले पनि विज्ञानको अहङ्कारलाई न्यून गर्न सकिरहेको छैन । ज्ञान र विज्ञान दुवैका अहङ्कारको द्वन्द्वले वर्तमान संसार दिनानुदिन दुःखी हुँदै गएको छ । तसर्थ साङ्ग जीवन जिउने हो र विश्वलाई पनि अपाङ्गमुक्त तथा यथासम्भव द्वन्द्वरहित बनाउने हो भने बालकृष्ण समले भनेझैं ‘ज्ञानविज्ञानको हात जोड्नुपर्दछ कर्ममा’ भन्ने मूलमन्त्र जप्तै हाम्रा पाइलाहरू अग्रसर भइरहनु आवश्यक छ ।

LEAVE A REPLY