संशोधन प्रस्ताव स्थगन गर्न देउवा सहमत

0
264

img_9439-768x512काठमाडौं, २६ मंसिर

सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्मा दर्ता गरिएको संविधान संशोधन विधेयक स्थगन गर्न सहमत भएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार भएको भेटवार्तामा देउवाले संशोधन विधेयक स्थगन गर्ने जनाउँदै नयाँ ढंगबाट छलफल अघि बढाएर सहमति खोज्ने प्रस्ताव गरेका हुन् ।

Advertisements

सत्तारूढ प्रमुख दल कांग्रेसका सभापति देउवा आइतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुगेर अध्यक्ष ओलीसँग छलफल गरेका थिए । संसद्मा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न पुगेका देउवालाई संविधानविरोधी र राष्ट्रघाती संशोधनको विषयमा कुनै सहमति नहुने जनाउ दिएपछि स्थगन गरी नयाँ ढंगबाट सहमति खोज्ने प्रस्ताव गरेका हुन । भेटमा देउवाले गतिरोधका कारण निर्वाचनका लागि आवश्यक महŒवपूर्ण कानुन निर्माण गर्न अवरोध भएको भन्दै संसद् सुचारु गर्ने काममा सहयोग गर्न ओलीसँग आग्रह गरेका थिए । तर, ओलीले निर्वाचन कानुनको साटो संविधान मिचेर देश र जनताविरोधी संशोधन किन ल्याएको भन्दै संसदमा छलफल गर्नै अयोग्य विधेयकलाई फिर्ता लगेर निर्वाचन कानुन ल्याउन सुझाएका थिए ।

आफूहरू लामो समयसम्म संसद्मा अवरोध जारी राख्ने पक्षमा नरहेको भन्दै ओलीले निर्वाचनका लागि आवश्यक कानुन निर्माणमा बाधक नहुने जनाउसमेत दिएका छन् । भेटमा ओलीले आफू प्रधानमन्त्री भएका बेला प्रमुख प्रतिपक्षको सहमतिविना संविधान कार्यान्वयन र निर्वाचनसम्बन्धी कानुन निर्माण नहोस्, हरेक काममा विधेयक मस्यौदाकै क्रममा प्रमुख प्रतिपक्षलाई सहभागी गराइयोस् भन्ने कांग्रेसको माग स्मरण गराउँदै किन तोडियो भन्ने प्रश्नसमेत गरेका थिए । ‘मेरो पालामा प्रमुख प्रतिपक्षलाई संविधान कार्यान्वयनका लागि बनाइने कानुन निर्माणमै सहभागी गराउने काम भयो, तपाईंहरूको माग पनि त्यही थियो, अहिले प्रमुख प्रतिपक्षी नै नभएको जसरी संविधानविरोधी र राष्ट्रघाती संशोधन विधेयक आफूखुसी रातारात किन दर्ता गरियो ?’ स्रोतका अनुसार देउवासँग ओलीको भनाइ थियो । ओलीले संशोधन विधेयकमा एमालेले कुनै सम्झौता वा सहमति नगर्ने भन्दै फिर्ता लैजान सुझाएका छन् ।

ओलीको भनाइपछि देउवाले प्रस्ताव स्थगन गर्न तयार रहेको भन्दै सहमतिका साथ अघि बढ्ने नयाँ सिराबाट छलफल गर्ने बताएका छन् । ‘हामी संसद्मा दर्ता गराएको संशोधन प्रस्ताव स्थगन गर्न तयार छौं, यसै आधारमा नयाँ सिराबाट छलफल गरी सहमतिका साथ निकास खोजौं,’ बैठकमा देउवाको भनाइ थियो । एमाले अध्यक्ष ओलीले भने संसद्मा छलफलका लागि योग्य नै नरहेको विधेयकलाई स्थगन नभई फिर्ता लिएर सहमतिका साथ देशको हितमा हुने गरी मात्रै सबै काम अघि बढाउन आग्रह गरेका छन् । ‘स्थगन होइन, संविधानविरोधी संशोधन विधेयकलाई फिर्ता लिएर चुनावको वातावरण बनाउन छलफल थाल्नोस्,’ देउवालाई ओलीको सुझाव थियो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले निर्वाचनसम्बन्धी कानुन पारित गरेर अगाडि बढ्न ओली सकारात्मक रहेको जानकारी दिए । ‘जारी गतिरोध हटाउने विषयमा उहाँ पनि सकारात्मक हुनुहुन्छ । निर्वाचन कानुनका विषयममा सबैको एउटै धारणा हुनुपर्छ भन्ने नै कुराकानी भयो,’ बैठकबाट बाहिरिने क्रममा देउवाले भने । दुई शीर्ष नेताबीचको बैठकमा सहभागी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद्को गतिरोध हटाउने तथा निर्वाचनसम्बन्धी कानुनका विषयमा छलफल केन्द्रित रहेको जानकारी दिए । उनले कांगे्रस सभापति देउवाले संसद् सुचारु गर्न सहयोग गर्न अध्यक्ष ओलीसमक्ष आग्रह गरेको तथा ओलीले निर्वाचनका लागि सरकारलाई सहयोग गर्न आफ्नो पार्टी तयार रहेको जवाफ दिएका थिए ।

दुई नेताबीच अवरुद्ध बनेको तीन दलको शीर्ष नेताबीचको बैठक अघि बढाएर निकास खोज्ने सहमतिसमेत भएको छ । निर्वाचन घोषणा र निर्वाचनका लागि आवश्यक कानुन बनाउने सम्बन्धमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच छिट्टै छलफल गर्ने सहमति दुई नेताबीच भएको हो ।

LEAVE A REPLY