अब नेपालमा नै ६ हजार डलर पुरस्कार राशीको ब्याडमिन्टन सुरु

0
285

रत्नजित तामाङ र विष्णु कटवाल काठमाडौमा मंगलबारदेखि सुरु भएको नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

Advertisements

दुबैले त्रिपुरेश्वरको कभर्डहलमा सुरु भएको प्रतियोगिताको पुरुष एकलमा विजयी सुरुवात गरे। रत्नजितले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टीलाई २१–१६ र २५–२३ तथा विष्णुले बंगलादेशका मोआजम होसैनलाई २१–१९ र २१–१५ को सोझो सेटमा हराए।

नेपालका अर्का युवा खेलाडी दीपेश धामीले इन्डोनेसियाका इमाम अदि कुसुमा अत्मजाबाट वाक ओभर पाउदै अन्तिम १६ मा स्थान बनाए।

पुरुष एकलको अन्य खेलमा ९ खेलाडीले पहिलो खेल नै गुमाउन पुगे। नेपालका इर्फान अन्सारी बंगलादेशका तुसारकृष्ण रोयसँग १२–२१ र ८–२१ को सेटमा पराजित भए। यस्तै, सुमन लिम्बु भियतनामका दुक फाट लीसँग २–२१ र ११–२१, दीपक बोहरा भारतका अमन कुमारसँग २१–२३ र १०–२१, विजित थापामगर भारतका सिद्धार्थ ठाकुरसँग १०–२१ र २०–२२ को सेटमा पराजित भए।

नेपालका जोसेफ अधिकारी पनि इरानका अमिर जब्बारीसँग ६–२१ र १०–२१ पराजित भए। राजनकृष्ण ताम्रकार भने भियतनामी खेलाडी काउ कुङ फामसँग रिटायर्ड भए। उनी ४–११ ले पछाडि परेको बेला रिटायर्ड भएका थिए।

नेपालका भुगोल गुरुङ पनि बंगलादेशका मोहम्मद सल्मान खानसँग १०–२१ र ५–२१, सुदीप सेढाई भने भियतनामका दक गियङ गुयेनसँग कडा स्पिर्धामा २१–१९, १८–२१ र ९–२१ को सेटमा पराजित भए। उनले पहिलो सेट आफ्नो कब्जामा पारे पनि पछिल्लो दुई सेट गुमाउन पुगेका थिए। नेपालका सन्जिव खड्का पनि भारतका अभिषेक येलेगरसँग १७–२१ र १५–२१ को सेटमा पराजित भए।

भियतनामका क्वेङ हु दाङले बंगलादेशका मोहम्मद अनामुल हकलाई १६–२१, २१–१४ र २१–१५, भारतका अरुणकुमार अशोक कुमारले माल्दिभ्सका हुसैन जयन साहिदलाई २१–१२ र २१–१४ ले पराजित गर्दै प्रिक्वाटर फाइनलमा प्रवेश गरे।

महिला एकलतर्फ मंगलबार ४ खेलाडी अघिल्लो चरणमा प्रवेश गर्न सकेनन्। नेपालकी सुनैना मुखियालाई बंगलादेशकी एलिना सुल्तानाले २४–२६ र ९–२१, शोभा गौचनलाई पाकिस्तानकी पल्वासा बसिरले ५–२१ र ८–२१, अनुमाया राईलाई इन्डोनेसियाकी देवी युनिता इन्डाह सरीले ६–२१ र १५–२१, जेसिका गुरुङलाई माल्दिभ्सकी माइसा फथुहुल्ला इस्माइलले १५–२१ र १८–२१ को सेटमा हराए।

मिक्स डबल्समा भारतका आर नभनीथा कृष्णन र बी. बाइलुपुदीको जोडीले नेपालका दीपेश धामी र पूजा श्रेष्ठको जोडीलाई २१–१८, २०–२२ र २१–८ तथा भारतका सौरभ शर्मा र अनौषका पारेखको जोडीले पाकिस्तानका मुहम्मद इर्फान सइद भट्टी र साइमा मन्जुरको जोडीलाई १७–२१, २१–१३ र २१–१६ को सेटमा पाखा लगाउदै क्वाटरफाइनल प्रवेश गरे।

प्रतियोगितामा नेपालका २१, भारतका २३, भियतनामका ७, बंगलादेशका ९, इरान, इन्डोनेसिया र मलेसियाका ३–३, माल्दिभ्सका ४ र पाकिस्तानका ६ खेलाडी सहभागी छन्। नेपाल ब्याडमिन्टन संघद्वारा आयोजित प्रतियोगिताको कूल पुरस्कार राशी ६ हजार अमेरिकी डलर रहेको छ। प्रतियोगिता शनिबारसम्म चल्नेछ।

LEAVE A REPLY