संविधान टुङ्गो नलगाई निर्वाचनको कुरा गर्नु षड्यन्त्र: उपेन्द्र यादव

0
291

upendra

मंसिर २९, २०७३- सरकार र प्रमुख प्रतिपक्षी संविधान संशोधन प्रस्ताव निष्क्रिय राखेर स्थानीय निकायको चुनावमा जाने जानकारी बाहिर आएपछि मधेसी मोर्चा आन्तरिक गृहकार्यमा जुटेको छ ।  कसरी अघि बढ्ने भन‍्ने सम्‍बन्धमा छलफल गर्न र भावी रणनीति तय गर्न मोर्चाका नेताहरुले तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को पार्टी कार्यालय बिजुलीबजारमा बुधबार दिउँसो छलफल गर्दैछन् ।

Advertisements

मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवका अनुसार मोर्चाका नेताहरुले थप स्पष्ट हुन बुधबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवालाई भेट्ने कोशिस पनि गरिरहेका छन् ।

‘हाम्रो माग सम्बोधन गर्नकै लागि संशोधन प्रस्ताव ल्याएको प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले भन्नुभएको थियो । तर, हामीसँग छलफल नै नगरी फिर्ता लिने आशंका बढेको छ ।’ अध्यक्ष यादवले भने, ‘आन्तरिक गृहकार्य गरी आजै प्रधानमन्त्री र कांग्रेस सभापतिलाई भेट्ने तयारीमा छौं ।’ नेता यादवले मोर्चाका काठमाडौंमा उपलब्ध नेताहरु अनौपचारिक छलफलमा जुट्न लागेको प्रष्ट्याए ।

मंगलबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संसद सचिवालयमा मंसिर १४ गते दर्ता भएको संविधान संशोधन प्रस्ताव निस्क्रिय राखेर स्थानीय तहको निर्वाचनको तयारीमा लाग्ने अनौपचारिक समझदारी बनेको थियो । तीन दलका शीर्ष नेताको समझदारीपछि मोर्चालाई पुन: झस्काइदिएको छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधन विधेयक फिर्ता गर्ने कुरा साँच्चो नभएको बताए । ‘संविधानलाई टुंगो नलगाइ प्रदेश मातहत रहने स्थानीय तहको निर्वाचन गर्ने कुरा षड्यन्त्र हो’ उनले कान्तिपुरसँग भने, ‘यो संघीयता समाप्त पार्ने खेल हो, नेताहरुलाई उल्टो बुद्धि कसरी आयो ।’

सद्भावनाका महासचिव मनिषकुमार सुमनले पनि सत्तापक्षले संशोधन विधेयक फिर्ता लिनेमा आफूहरुलाई विश्वास नलागेको बताए । उनले अहिले पनि संशोधन प्रस्ताव पारित हुने अवस्था रहेको दाबी गर्दै प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरे । नेता सुमनले भने, ‘संशोधन प्रस्ताव परिमार्जन गरेर अगाडि बढ्नुपर्ने बेलामा फिर्ता लिए वा निस्क्रिय पारेमा देशका लागि दुर्भाग्य हुन्छ ।’

मोर्चालाई पेलेर निर्वाचनमा जान खोजे पनि आफूहरुले मधेसमा चुनाव हुनै नदिने उनले चेतावनी दिए ।

http://bit.ly/2htTY91

LEAVE A REPLY