बाबुरामले रात बिताएको मुसहर बस्तीको पीडा दयनीय

0
262

महोत्तरी, ३० मङ्सिर । करिब चार वर्षअगाडि ऋण लिएर तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई तामझामका साथ स्वागत गरेका महोत्तरी फुलकाहाका मुसहरको अवस्था जस्ताको तस्तै रहेको छ । तत्कालीन एकीकृत नेकपा (माओवादी) पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् देशका प्रधानमन्त्री डा बाबुराम भट्टराई फुलकाहा–६ मनहरवाका मुसहरसँग रात बिताउन आउने खबरले उत्साहित भएका मुसहरको अवस्था अहिले पनि दयनीय अवस्थामा रहेको छ ।

Advertisements

भट्टराईको प्रधानमन्त्री कार्यकाल सम्पन्न भएपछि देशमा चारवटा प्रधानमन्त्रीले शासन चलाए तापनि आफूहरुको स्थिति बुझ्न अहिलेसम्म सम्बन्धित सरोकारवाला निकाय फर्केर पनि नआएको मुसहरको गुनासो रहेको छ ।

मुसहरको जीवन ‘१२ मास ३६औँ दिन’ पीडै—पीडाको चाङले थिचिँदै गएको बस्तीका मुसहर बताउँछन् । देशमा अनेकौँ परिवर्तन भए तापनि सो बस्तीमा अहिले पनि आर्थिक, सामाजिक र शैक्षिक प्रगतिमा सुधार आउन सकेको छैन । सो बस्तीमा स्वच्छ खानेपानी, बिजुलीबत्ती, अशिक्षा, गरिबी लगायतका समस्या ज्यूँका त्यूँ अवस्थामा नै रहेको पाइन्छ ।

प्रत्येक महिनाको अन्तिम शनिबार दलित बस्तीमा रात बिताउने योजनाअनुसार तत्कालिन प्रधानमन्त्री डा भट्टराई २७ असार २०६९ सालमा मुसहरको घरमा बास बस्नु भएको थियो । देशकै प्रधानमन्त्री आफूहरुको बस्तीमा आउने खबरले उत्साहित भएका उनीहरुले प्रधानमन्त्री भट्टराईलाई ऋण काढेर भए तापनि तामझामका साथ स्वागत गरेका थिए ।

स्थानीयवासी विष्णु सदाले ६ हजार ऋण काढेर भए तापनि त्यो दिन डा भट्टराईको भव्य स्वागत–सत्कार गरेका थिए । मुसहर समुदायले आफूले खाने घुङीको तरकारी, गँगटाको अचार, ढिकीमा कुटेको चामलको भातलगायत जातीय परिकार खुवाएका थिए ।

यता प्रधानमन्त्री भट्टराईले पनि स्थानीयवासी विष्णु सदाको सानो झुपडीमा भुइँमै पराल ओछ्याएर त्यस रात गरिबले भोग्दै आएको पीडा महसुस गर्न खोज्नुभएको थियो । मुसहर बस्तीमा देशकै प्रधानमन्त्री पुगेपछि सिङ्गो दलित (मुसहर) समुदायले शिर ठाडो भएको अनुभूति गरेका थिए । प्रधानमन्त्री भट्टराईको आगमनले आफूहरुकोे घाउमा मल्हम लाग्ने आश उनीहरुले सँगालेर बसेका थिए । तर त्यसो हुन सकेन ।

त्यसको ६ महिनापछि विष्णु सदाले लिएको ऋण सरकारले तिरेपनि सो बस्तीमा अहिलेसम्म परिवर्तनको नाममा कुनै उदाहरणीय काम हुन सकेको छैन । सो बस्तीका मुसहरले देखेका सपना केवल सपनामै सीमित रह्यो । पहिलेभन्दा हिजोआज मुसहरको पीडा भने झनै बल्झिएको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा पछाडि रहेको मुसहर बस्तीमा देशका प्रधानमन्त्रीलाई स्वागत गर्न पाउँदा जति मुसहर खुसी थिए । अहिले त्योभन्दा पनि बढी दुःखी रहेका छन् । चार वर्षको अन्तरालमा त्यस बस्तीमा केही पनि परिवर्तन भएको छैन । अझ उनीहरुलाई एकसय २५ परिवारको थातथलो गुम्ने खतराले सताइरहेको छ । एकसय वर्षभन्दा बढी समयदेखि बसोबास गर्दै आएका सबै मुसहरको गरेर २२ कट्ठा १२ धुर जमिन ४२ वर्षअगाडि सोनफी राय यादव नामक जमिनदारले आफ्नो नाममा लालपुर्जा निकाली बेचबिखन गरी दिएकाले सबैभन्दा ठूलो समस्या उनीहरुमा थपिएको छ ।

‘प्रधानमन्त्रीले सबैभन्दा पहिले हाम्रा पुर्खादेखि बसोबास गर्दै आएको थलोको लालपुर्जा दिलाइदिऊन्,’ त्यतिखेर नै एकै स्वरमा डा भट्टराईलाई मुसहरले भनेको सोही बस्तीका ६५ वर्षीया वृद्धा बृहस्पत्ति सदा मुसहरले भनिन्, “प्रधानमन्त्री आएपछि हामीले जग्गा रोक्का हुने सोचेका थियौँ । प्रधानमन्त्री आएर गएपछि त मुसहर बसोबास गरेको जग्गा साहुले किनबेच प्रक्रिया अगाडि बढायो । अहिले एउटै जग्गा तीन–चारपटक बिक्री भइसक्यो ।”

मङ्सिरको अन्तिम सातामा आएर अत्यधिक रुपमा बढेको शीतलहर एवम् बाक्लो मात्रामा लागेको हुस्सुको समयमा पनि न्यानो कपडाको अभावमा परालको ओछ्यानमा परालकै गुन्द्री ओढेर सुतेकी सुकनीदेवी सदाले भावुक हुँदै भनिन्, “जाडोमा चलेको शीतलहर त घरभित्रै पस्छ । भोकै पनि सुत्न दिँदैन यो गरिबलाई । पानी पर्दा घरको छानो चुहिन्छ, जाग्रामै बसेर रात बिताउँछौँ । रात बिताउने र बस्ने राम्रो घर छैन ।” मुसहरलाई लगाउने वस्त्रको पनि अभाव यथावत् नै रहेको छ । बच्चाले जाडोयाममा पनि एउटा पातलो सर्ट लगाएर बसेका छन् ।

प्रधानमन्त्री आएर मुसहरको घर बनाइदिन सहयोग हुन्छ भनेर मुसहर आश सँगालेर बसेका थिए । तर प्रधानमन्त्री मुसहर बस्तीमा पुगेपछि मुसहर अहिले साहुबाट त्रसित भएर बसेको शलवदेवी सदाले दुखेसो पोखिन् । बाउबाजेले जङ्गल फाँडेर बसोबास गरेको स्मरण गर्दै उनले भनिन्, “हामी बसेको जग्गा ऐलानी थियो । ढुक्कसँग बसेका थियौँ ।”

जग्गाको लालपुर्जा देखाउँदै धम्काउँदै टाठाबाठाले गरिब तथा विपन्न मुसहर समुदायलाई फुटाएर आफूहरुमाथि राज गरिरहेको स्थानीयवासी हरि सदाले बताए । त्यसै बस्तीका अगमलाल सदाका कुरा सुन्ने हो भने त उनको भनाइ यस्तो रहेको छ, ‘घर न घडेरी छ । कहाँ जाने, कहाँ बस्ने, मुसहर चिन्तामा डुबेका छन् । अहिले घरबारविहीन हुने पो हो कि भन्ने चिन्ताले दुःखी बनाएको छ ।’

मुसहरको घर रहेको जग्गा कट्ठाको रु चार—पाँच लाखमा बिक्री भइरहेको जानकारी दिँदै उनले अगाडि थपे, ‘दिनमा कमाएर राति के खाने भने चिन्तामा डुबेका मुसहरलाई अहिले जग्गा किन्ने आँट छैन । भोलि खान सोच्नुपर्ने गरिबी र विपन्नताका बीच मुसहर जीवन चलिरहेको छ ।’

चेतनास्तरबाट पछाडि परेका मुसहर समुदायका बच्चा पढ्ने नेपाल राष्ट्रिय जनजाति प्राथमिक विद्यालयको अवस्था झनै नाजुक छ । मुसहर समुदायमा झन्डै पाँचसय स्कुले उमेरका बच्चा छन् । उनीहरु स्कुल बाहिरै छन् । करिब एकहजार जनाको बसोबास रहेको मुसहर बस्तीमा कक्षा ४ सम्म पढ्ने कृष्ण सदाभन्दा धेरै पढेको मान्छे खोज्दा विरलै भेटिन्छ ।

‘स्कुलमा नाम लेखाउने समयमा मुसहरका बच्चालाई शिक्षकले स्कुल लैजान्छन् । नाम लेखिदिन्छन् । स्कुलड्रेस दिन्छु भन्दै जीउको नापी लिन्छन् । तर स्कुलड्रेस दिँदैनन्,’ बस्तीकी अनुपिया देवी सदाले भनिन् । उनी भन्छिन्, ‘पढाउने बेलामा धनी मान्छेले आफ्ना बच्चालाई सुविधासम्पन्न सोनमाको बोर्डिङ स्कुलमा पढाउँछन् । ड्रेस वितरण हुने समयमा गरिब बच्चाको स्कुलड्रेस बोर्डिङ पढाउने धनीमानीले जबर्जस्ती खोसेर लिइदिन्छन् । उनीहरुको बच्चा स्कुल ड्रेस लगाएर बाहिर पढ्न जान्छ । गरिबका बच्चा ड्रेस नभएपछि स्कुलै जान मान्दैनन् ।’

अहिलेसम्म मुसहरका बच्चाले छात्रवृत्ति नपाएको उनले गुनासो गरिन् । उनले अघि थपिन्, ‘नुनरोटी खान नपाएर भोकभोकै स्कुल जाने मुसहरका बच्चालाई शिक्षकले राम्रोसँग रेखदेख गर्दैनन्, बरु हप्काएर पठाउँछन् ।’

बस्तीमा खानेपानीको पनि उस्तै अभाव रहेको छ । गाउँको नजिकै रहेको स्वचालितरुपमा पानी आउने बोरिङ्बाट उनीहरुले खानेपानी थाप्छन् । ६ महिना खानेपानी सजिलै पाइन्छ तर वैशाख लाग्ने बित्तिकै बस्तीमा खानेपानीको चरम समस्या हुने गरेको लालबत्ती सदाले बताइन् ।

त्यस्तै, गाउँमा सरकारी अस्पताल नहुँदा मुसहर समुदायका महिलालाई अहिले पनि घरमै बच्चा जन्माउनु पर्ने बाध्यता रहेको छ । ‘मुसहरसँग एम्बुलेन्सलाई तिर्ने भाडा हुँदैन । यसकै कारणले बस्तीभन्दा टाढा रहेको अस्पतालमा सुत्केरी गराउन मुसहर महिला जान सक्दैनन्,’ सबिता सदा भन्छिन् । अस्पतालमा पहँुच नहँुदा धामीझाँक्रीको भरमा मुसहर बाँचेका छन् ।

स्थानीयवासी जयकलादेवी सदा भनिन्, ‘विद्युतीय मिटर किनेर बिजुली बत्ती बाल्न रुपैयाँ हामीसँग छैन । चोरेर बिजुली बाले पक्राउ पर्ने डर छ । त्यसैले अन्धकारमै रात बिताउँछौँ ।’ गाउँघरमा ज्याला मजदुरी गरेर मुसहरले घरपरिवार चलाउने गरेका छन् । रोजगारीका लागि पुरुष पञ्जाब जान्छन् भने महिला स्थानीयस्तरमै माछा मारेर घर खर्च चलाउँछन् ।साभार्: ओस नेपाल

LEAVE A REPLY