सम्पत्ती विवरण, ईमान र ईज्जतका कुरा

0
475

 

fb_img_1480678142540बिजय ज्ञवाली/

 

सरकार गठवन्धनका सारथीहरुले हिंजोमात्र आ-आफ्नो ब्याक्तिगत सम्पत्ती विवरण सार्वजनिक गरेका छन। जसअनुसार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुले आ-आफुसंग भएको सम्पत्ती विवरण सार्वजनिक गरेका छन। यो यौटा लोकतान्त्रिक चरित्रभित्र पनि पर्दछ। नेपालको संविधानमै रुपमा सार्वजनिक पदमा आसिन हरेक कर्मचारीले प्रत्येक बर्ष आ-आफ्नो सम्पत्ती विवरण सार्वजनिक गर्नुपर्ने भनेर स्पष्ट रुपमा उल्लेख गरेको छ। यसरी सम्पत्तिविवरण सार्वजनिक गरिंदा हरेक सार्वजनिक ओहोदाका ब्याक्तिहरुवाट भ्रष्टाचार भएको छ/ छैन, उनीहरुको आयस्रोतमा के कस्तो थपघट भएको छ, कतै अप्रत्याशित रुपमै सम्पत्तिको जोहो पो भैरहेको छ कि, राज्यकोषको कतै दूरुपयोग पो भैरहेको छ या अख्तियारी प्राप्त अख्तियारवालाले कतै अख्तियारीको दुरुपयोग पो गरेको छ / छैन भनेर जानकारी लिनेहेतु हरेक लोकतान्त्रिक चरित्रभित्र यस्तो ब्यवस्था गरिएको हुन्छ। जुन अत्यन्त उच्चकोटिको संस्कार पनि हो। अन्य विकशित देशहरु जहाँ भ्रष्टाचारमा शून्य सहनशीलतालाई अवलम्वन गरेका छन त्यस्ता देशहरुमा लोकतान्त्रिक चरित्रलाई मूल दायित्व सम्झिएर यस्ता उच्च कोटिका अभ्यासहरुलाई अझ राज्यहितसंग जोडेर राज्य र सरकारका विच यौटा विश्वास, सुमधुर सम्बन्ध एवं आपसी सहकार्यद्वारा लोकतन्त्रलाई अझ मजवुत बमाईरहेका हुन्छन। राजनैतिक दलहरुले सत्तासिन हुंदा होस या सत्ता बाहिर रहँदा होस, कहिं कतै आर्थिक अनियमितता हुन नदिन नेतृत्वतहदेखी तल्लो स्तरसम्मका कार्यकर्ताहरुमा उच्च नैतिक चरित्रको प्रदर्शन गर्न अभिप्रेरित गरिरहेका हुन्छन। यसवाट मान्छेको नैतिक चरित्र पनि उच्च रहिरहेको हुन्छ।

Advertisements

तर विडम्वना नै भन्नुपर्दछ हामीकोमा त्यस्तो अभ्यास पटक्कै भएको पाईंदैन। लोकतान्त्रिक मूल्य र मान्यताको नै धज्जी उडाउँदै सत्तासिन या सत्ता बाहिर रहेका नेतृत्वतहदेखी सामान्य कार्यकर्ताहरुसम्म अराजकता, गुण्डागर्दी, धाकधम्की, कमिशन, भनसुन, तस्करी जस्ता गम्भीर क्रियाकलापलाई नै राजनितिको खेती मानिंदै आएको छ। सिद्धान्त र आदर्शको राजनितिलाई वर्तमान नेतृत्वले पटक्कै अवलम्बन गरेको पाईंदैन। विधिको शाषन, स्थापित मूल्यमान्यता, आत्मसंयमता एवं पारदर्शितालाई राज्यनेतृत्वसंग नजोडेर वर्तमान नेतृत्व अराजकताको बाटो दौडीरहेको छ। यस्तोमा आफूभम्दा तल्लो तहको नेताकार्यकर्ताले के सिक्नेहुन र भोलीका दिनहरुमा राज्यले कस्तो नेतृत्व प्राप्त गर्नेहो भन्ने चिन्तनतिर वर्तमान नेतृत्व गम्भिररुपले चुकेको छ। यसवाट भोलिका दिनहरुमा पर्नजाने प्रभाव र अभावबारे आजैका दिनहरुमा सोंच्न नसक्ने हो भने आगामीदिनहरुमा यौटा उच्च नैतिक चरित्रवान नेतृत्वको अझ हाहाकार पर्ने देखिन्छ। यसवाट देशको भविष्यसमेत जोखिममा पर्ने निश्चित नै छ।

आफै भ्रष्टाचार, कमिसन, धाकधम्की र बल्याकमेलीङमा लागेको यौटा अख्तियार प्रमूखजस्तो अति सघन ब्याक्तिले के आफ्नो अख्तियारी निभाउला र? पछिल्ला दिनहरुमा छरप्रष्ट अख्तियारका एकपछी अर्को कालो कर्तुतहरुले नागरिकमा झनै नैराश्यता प्रदान गरेको छ। स्वतन्त्र रुपमा अख्तियारी प्राप्त ब्याक्तिवाट अख्तियारी दुरुपयोगको छानविन गरि दोषिलाई कडा दण्डसजाएं एवं जरिवाना र विधिको शाषन स्थापनाहेतु राज्यलाई सहयोग गर्ने दायित्ववाट चुकेर आफै भ्रष्टाचार र अनेकन काला कर्तुतहरुमा मुछिएपछी त्यस्तो अख्तियारवाट जनताले के अपेक्षा गर्ने? हुन त दलिय भागवण्डा एवं सत्तास्वार्थसंग अख्तियारलाई जोडेपछी निस्किने परिणाम नै यहिं हो। यसमा कुनै आश्चर्य त मान्नुपर्दैन, यद्यपि रातदिन लोकतन्त्रको दुहाई दिने नेताहरुले बिचार पुर्याउनु पर्दछ कि पर्दैन त हामी कुन धरातलमा उंभिएका छौं र हाम्रो हैशियत एवं साख के कस्तो हो भनेर? भोलीका दिनहरुमा उत्पन्न हुने प्रतिक्रिया एवं परिणामलाई आजै अन्दाज गर्ने या नगर्ने त?

जे गरेपनि हुन्छ, जसो बोलेपनि हुन्छ र जसरी गएपनि हुन्छ भन्ने मानशिकताले नै कुरा विग्रीएको हो। ब्याक्तिको चरित्रदेखी लिएर देश विकाश र स्तरोन्नतिको सवालमा यि र यस्तै कुराहरु वाधक रहंदै आएका छन। देश निर्माणको अहम अभिभारा लिएर राज्य र राजनैतिक दलमा पकड जमाएर बसेका ब्याक्तिहरुले स्वेच्छाचारीता एवं हदैसम्मको गैरजिम्मेवारीता प्रदर्शन गर्दा आज देश र जनताको दुरावस्था जस्ताको तस्तै छ। हरेक अवसर होस या आपतलाई आफ्नो स्वार्थअनुरुप कमाईखाने धन्दाको रुपमा मात्र नेतृत्वले बुझिदिनाले कुनैपनि समस्या यदासमयमै निरुपण हुन सकेका छैनन। यसको ज्वलन्त उदाहरण पछिल्लो समयमा नेपालले भोग्नुपरेको महाविपत भूकम्पलाई लिन सकिन्छ। भूकम्प र भूकम्पपिडितको नाममा आजसम्म जे जति हुंदैआएको छ त्यो सव उनीहरुमाथी कठोर राजनिती मात्रै हुंदै आईरहेको छ भने अर्कातर्फ भूकम्प पिडितका नाममा चरम भ्रष्टाचार पनि भैआएको छ। देशले यत्रो आपत ब्यहोर्दा एवं जनताले यतिविघ्न सास्ती भोगिरहँदा पनि यसैको नाममा राजनिती र भ्रष्टाचार गर्ने नेतृत्वलाई कुन रुपमा चरित्रवान नेतृत्व भनेर भन्ने हामिले? नेतृत्वले भूकम्पका नाममा भ्रष्टाचार र राजनिती मात्र गरेको छैन भूकम्पले गर्दा घरवार र आफन्ती गुमाएको पिडामाथी अझ लात हान्ने काम गरेको छ नेतृत्वले।

भ्रष्टाचार र नेपाल एकअर्कामा परिपुरक बनिसके। भ्रष्टाचारले गर्दा आज देश भित्रभित्रै कंगाल बन्दै आएको छ भने विधी र विधानलाई नै चुनौती दिंदै आज राज्यका हरेक अंग एवं संरचना ध्वस्तप्राय: छन। भ्रष्टाचारको मामिलामा दक्षिण एसियामा नेपाल अव्वल मात्र नभई तस्करी, अपराध, घुसपैठ एवं अराजकतामा पनि उत्तिकै बद्नाम छ। यसले गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको शान दिनानुदिन गिर्दो अवस्थामा छ भने नागरिकलाई पनि अत्यन्तै तल्लो दर्जाको व्यवहार गरिंदै आएको छ। यसको पछिल्लो उदाहरणका रुपमा पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई लिन सकिन्छ। हङ्गकङ्गको अध्यागमन विभागमा हरियो पासपोर्ट देखाएकै भरमा उनीमाथी तल्लो ब्यवहार प्रदर्शन गरिनु एवं छनविन प्रकृयामा लैजानु निश्चयपनि हाम्रोलागी सुखद कुरा होईन। देशको प्रधानमन्त्री भैसकेको ब्याक्तिमाथी त यसरी छानविनको नाममा तल्लो स्तरको ब्यवहार प्रदर्शन गरिन्छ भने सहजै अनुमान लगाउन सकिन्छ आम नागरिकको विश्वका कस्तो हालत होला? यसतर्फ नेतृत्वले सोंच्ने कि नसोंच्ने आखिर किन र कसरी यस्तो अवस्था आईपुग्यो? कहिंकतै खराव नेतृत्व र गलत आचरणले गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको साख दिनानुदिन खस्कंदै गएको त होईन? यसमा दोषी को त? नेतृत्वले गम्भिर आत्मसमिक्षा गर्नुपर्ने बेला आएको छ।

जहाँसम्म सम्पत्ति विवरणको सवाल छ, यसपाली पनि नेतृत्व जनतासामु सरासर झुठ बोलिराखेको छ। तिन करोड नागरिक कसैले पनि रत्ति पनि विश्वास गर्न नसक्ने कुरा आखिर किन वारम्बार दोहोर्याईरहन्छ नेतृत्ववर्ग? किन जनतासंग सरासर झुठ बोल्दछ नेतृत्व? विवेकलाई किन सहिरुपमा प्रयोग गर्न सक्तैन नेतृत्व? आखिर केले छेक्तछ नेतृत्वलाई सत्यतथ्य बोल्न र विधिको शाषन स्थापित गर्न? गरिव र असल नेतृत्व को हो को होईन आजका दिनमा जनता आफै बुझ्न सक्षम छन। अव जति नै लुकाएर र बंगाएर सत्यतथ्यलाई लुकाउन खोजेपनि त्यो लुक्नेवाला छैन। यथार्थ त यो हो कि आजका दिनमा नेपालका कुनैपनि नेता, उपल्लोस्तरका कर्मचारी र `जुझारु` कार्यकर्ता कोहिपनि गरिव छैनन। गरिव त ति छन जसले ईमान्दारिता र देश अनि दायित्ववोध गरेको छ र अर्काथरी गरिव ति छन जुन भौतिकरुपमा सम्पन्न हुंदाहुंदै पनि मानशिकरुपमा गरिव छन। त्यस्ता मानशिकरुपमा गरिव हालका नेतृत्ववर्ग नै पर्न जान्छन। प्रधानमन्त्रीदेखी लिएर मन्त्री, नेता, कार्यकर्ता आजका दिनसम्म आईपुग्दा कोहि पनि गरिव छैनन। त्यसैले सम्पती विवरण बुझाउने नाममा जगहंसाईको कार्य नगर्दा नै वेश होला। जव लोकतान्त्रिक मूल्यमान्यतालाई नै धज्जी उडाउंदै जनतासामु सरासर झुठ बोलिन्छ त्यस्तो सम्पती विवरण सार्वजनिक गर्नुको अर्थ नै के रहन्छ र? त्यसैले हिंजोका चप्पलवाला नवधनाड्यले जनतामाझ हाँसोको रिहर्सल नगर्नु नै राम्रो हुनेछ।

बम्घा-३,गुल्मी।

LEAVE A REPLY