प्राविधिक विषय पढ्ने पनि बेरोजगार

0
265

ctevt-5851ef8c8cf482-25770787

काठमाडौः सामान्य धारको पढाइको तुलनामा बजारमा छिटो रोजगारी पाउने र आकर्षक कमाई हुने भनिएको प्राविधिक धारका विषयमा भर्ना भएका विद्यार्थीमध्ये अध्ययन समाप्तिपछि आधा मात्र रोजगारीमा जाने गरेको पाईएको छ ।

Advertisements

रोजगारीमा गएकामध्ये पनि केहि विषय पढेका विद्यार्थीको कमाई मात्र आकर्षक रहेको प्रतिवेदनले औंल्याएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गत सञ्चालित तीन वर्षे डिप्लोमा र लामो तथा छोटो अवधिको प्राविधिक एसएलसी (टी एसएलसी) पढ्ने विद्यार्थीबीच यस्तो अध्ययन गरिएको थियो ।

सीटीईभीटीले आफू अन्तर्गत भईरहेको पढाईको प्रभाव, बजारमा रोजगारीका सम्भावना र सुधार्नुपर्ने पक्षका विषयमा छलफल चलाउन प्राविधिक शिक्षाका विज्ञ लगाएर यस अध्ययन गरेको हो । अध्ययनमा डिप्लोमा तह अन्तर्गत नर्सीङ, जनरल मेडीसीन, ईलेक्ट्रीकल इन्जीनियरिङ, फार्मेसी, ल्याब टेक्नोलोजी, सीभील ईन्जीनीयरीङ, कम्प्युटर ईन्जिनियरिङ र आईएस्सी एग्रिकल्चर ईन प्लान्ट साईन्स विषयलाई समावेश गरिएको थियो ।

टीएसएलसी अन्तर्गत पनि आठ वटा विषय पढीरहेका विद्यार्थीको नतिजालाई आधार मानिएको थियो । अध्ययनमा सन् २०१३ मा भर्ना भएर गत वर्ष अध्ययन पुरा गरेका दुवै तहका दुई हजार नौ जना विद्यार्थीलाई समावेश गरिएको प्रतिवेदनमा जनाईएको छ ।

डिप्लोमा तहमा नर्सिङ विषय पढेका विद्यार्थीको भन्दा १५ महिने सीएमए र अनमिको तालिम गरेकाको कमाइ राम्रो ।

अध्ययन अनुसार टीएसएलसी उत्तीर्ण गरेकामध्ये ४७ प्रतिशत जनशक्ति रोजगारीमा जाने गरेका छन् । बाँकी बेरोजगार छन् । डिप्लोमा तहका शैक्षिक कार्यक्रम पुरा गरेकामध्ये ५१ प्रतिशत पूर्ण रोजगारीमा लागेको देखिन्छ भने ४४ प्रतिशत रोजगारविहिन रहेका छन् । पाँंच प्रतिशतले स्वयमसेवा गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

स्वयमसेवा गरेकाहरुले राजगारी नपाएर स्वयमसेवा गरेको नबताएपनि उनीहरुको अवस्था हेर्दा बेराजगारीकै कारण यस्तो सेवामा लाग्नुपरेको देखिएको अध्ययन टोलीको निष्कर्ष छ । स्वयमसेवा गरिरहेकामध्ये पनि अधिकांस जनशक्ति नर्सिङ विषय पढेकाहरु रहेका छन् ।

डिप्लोमा तहमा पढेकामध्ये ल्याब टेक्निसियन विषय पढेका विद्यार्थीहरुको रोजगारी दर सबैभन्दा धेरै अर्थात ६५ प्रतिशत रहेको छ । यस्ता विषय पढेका विद्यार्थीहरुले एकै दिनमा एक भन्दा धेरै संस्थामा काम गर्न पाएको हुनाले उनीहरु पढाई र रोजगारी दुवैमा सन्तुष्ट छन् ।

तर रोजगारी दर बढी रहेको भएपनि यस्ता विषयमा कर्मचारी भएर काम गर्नेले भन्दा आफै व्यवसाय गरेकाहरुको आम्दानी उत्कृष्ट रहेको छ । स्वास्थ्य क्षेत्रसंग सम्बन्धित अन्य विषय पढेकाहरुमध्ये अधिकांसले ६ महिनादेखि एक वर्षसम्म पारि श्रमिक विना काम गर्न बाँध्य छन् ।

पारिश्रमिकविना निश्चित अवधिसम्म काम गरिसकेपछि पनि सोही संस्थामा रोजगारी पाईने निश्चित नभएको प्रतिवेदनमा छ । यस्ता विषय पढेका विद्यार्थीमध्ये ठूला अस्पतालमा सिधा सम्पर्क भएकालाई मात्र रोजगारीको सम्भावना बढी रहेको देखाईएको छ ।

आम्दानीको हिसावले डिप्लोमा तहमा नर्सिङ विषय पढेका विद्यार्थीको भन्दा १५ महिने सीएमए र अनमिको तालिम गरेकाहरुको कमाई राम्रो रहेको छ । टीएसएलसीमा सर्भे विषय पढेका विद्यार्थीको राजगारी दर सबैभन्दा थोरै २८ प्रतिशत मात्र रहेको छ ।

प्राविधिक शिक्षा विज्ञ डा. हरि प्रधानले व्यवस्थापकीय कमजोरीका कारण बेरोजगार दर बढीरहेको बताए । बजारमा रोजगारी नभएको विषयमा राज्यले लगानी गर्नुको सट्टा त्यस्ता विषयलाई बन्द गरेर उत्पादनमुलक विषयमा लगानी बढाउनुपर्ने उनको भनाई छ ।

सीटीईभीटीका निमित्त सदस्यसचिव रमेश वखतीले राज्यले प्राविधिक शिक्षामा गरेको लगानी चौतिर छरिएर रहेका कारण गुणस्तरीय शिक्षा दिन नसकिएको बताए । ‘अहिले प्राविधिक शिक्षा र व्यवसायिक तालिमको विकासका लागि १७ मन्त्रालयबाट लगानी भईरहेको छ तर कसैले चलाएको कार्यक्रम पनि प्रभावकारी हुन सकेको छैन’ वखतीले भने, ‘हामीले चलाएको कार्यक्रमको अनुगमन र मूल्यांकन गर्ने जनशक्ति पनि हामीसंग छैन । जसको सिधा असर नतिजामा देखिएको छ ।’

श्रम बजारमा माग भए अनुसारको जनशक्ति उत्पादनका लागि सीटीइभीटीको अहिले रहेको पाठ्यक्रमलाई परिमार्जन गर्नुपर्ने, पाठ्यक्रम अनुसार पढाई भए नभएको बारेमा प्रभावकारी अनुगगमन गर्नुपर्ने तथा विद्यार्थीलाई पाठ्यक्रम अनुसार प्रभावकारी रुपमा अन द जव ट्रेनिङ (ओजेटी) गराउनुपर्ने लगायतका सुझावहरु अध्ययन प्रतिवेदनले दिएको छ भने अन्नपूर्ण पोस्टमा छापियकोछ

LEAVE A REPLY