यसरी निकालिँदैछ १० वर्षमा १० हजार मेगावाट विजुली

0
214

काठमाडौं मंसिर ३० – दश वर्षमा दश हजार मेगावाट विजुली निकाल्ने लक्ष्यका साथ काठमाडौंमा दुई दिने ऊर्जा सम्मेलन सुरु भएको छ । १० वर्षमा १० हजार मेगावट विद्युत उत्पादन गर्ने सरकारी प्रतिबद्धता पुरानै भएपनि यसपटक सरकारले दश वर्षमा १० हजार मेगावाट विजुली निकाल्ने खाकासमेत पेश गरेको छ । उर्जा मन्त्रालयका अनुसार अहिले १ सय १७ आयोजना उत्पादन अनुमति प्राप्त गरी निर्माणको चरणमा छन् । ती मध्ये ११ वटा आयोजना जलाशययुक्त आयोजनाहरु छन् जसबाट ५ हजार ३ सय ७३ मेगावाट विद्युत उत्पादन हुनेछ । यस्तै १ हजार ९ सय ७५ मेगावाट विद्युत उत्पादन क्षमता रहेका पाँच वटा आयोजना पनि निर्माणकै क्रममा छन् । सरकारको पूर्ण लगानीमा निर्माण भइरहेका आयोजनाहरुबाट २ हजार ५ सय ८७ मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसरी ९ हजार ९ सय ३५ मेगावाट विजुली दशवर्षमा उत्पादन गर्ने सरकारको लक्ष्य छ ।

Advertisements

कुन वर्षमा कति विजुली ?

दश वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको महत्वकांक्षी लक्ष्य पूरा गर्न हरेक वर्ष विजुली थप गर्दै लगिनेछ । उर्जा मन्त्रालयका अनुसार पहिलो वर्ष २ सय मेगावाट, दोस्रो वर्ष ८ सय ५० मेगावाट, तेस्रो वर्ष ४ सय मेगावाट, चौथो वर्ष ४ सय ५० मेगावाट विजुली निकालिनेछ । त्यस्तै पाँचौं वर्षमा २ सय ५० मेगावाट विजुली थप हुनेछ ।
अहिले निर्माणको चरणमा रहेका र प्रगतिको आधारमा थपिन सक्ने विद्युत परिमाणको लक्ष्य निर्धारण गरिएको सरकारले जनाएको छ । १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादनका लागि छैंटौं वर्षमा २ सय मेगावाट, सातौं वर्ष ४ सय ५० मेगावाट, आठौं वर्ष १ हजार १ सय ८५ मेगावाट, नवौं वर्ष २ हजार ३ सय ५० मेगावाट र दशौं वर्ष ३ हजार ६ सय मेगावाट विद्युत उत्पादन हुने उर्जा मन्त्रालयले जनाएको छ ।

विगतमा लक्ष्य तोक्ने तर कार्ययोजनासहित काम नगरेकाले पुरानै प्रतिबद्धता दोहोर्‍याउनु परेकाले अबको दिनमा कार्ययोजनासहित काम गर्नुपर्ने स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका महासचिव कुमार पाण्डेले बताउनुभयो । ‘सरकार, लगानीकर्ता र उर्जा उत्पादक सबै प्रतिबद्ध हुनुपर्छ, देशमा बन्द हडताल हुनुहुदैन, इन्धनको सहज आपूर्ति हुनुपर्छ अनि मात्र हामीले राखेको लक्ष्य प्राप्त गर्न सक्छौं’ महासचिव पाण्डेले बताउनुभयो ।

LEAVE A REPLY