नेपाल को हार सहन नसकी मैदानमै रोए दीपेन्द्र

0
288

timthumb-php

टेस्ट राष्ट्र श्रीलंकालाई पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पराजित गर्न नेपाललाई अन्तिम ओभरमा ८ रन आवश्यक थियो। दसौं ओभरमै क्रिजमा प्रवेश गरेका दीपेन्द्रसिंह ऐरी ८४ रन बनाएर टिकिरहेका थिए। उनलाई अन्तिम विकेटको रूपमा साथ दिइरहेका थिए, नन्दन यादवलेअन्तिम ओभरमा बलिङ गर्न पुनः फर्किए, श्रीलंकाका लेफ्टआर्म अर्थोडक्स बलर प्रविन जयाविक्रमा। उनले यसअघि ५ ओभर बलिङ गर्ने क्रममा २८ रन नेपालविरूद्ध खर्चिसकेका थिए। त्यसैले नेपाली खेमामा जीतको सम्भावनालाई लिएर ठूलो प्रसन्नता थियो।

Advertisements

दीपेन्द्रले जयाविक्रमाको दोस्रो बलमा मिडअन तर्फ लामो छक्का प्रहार गरेपछि नेपाली टोली मात्र होइन, नेपाली समर्थकमाझ पनि जीतको उत्साह बढेको थियो। तर, जयाविक्रमाको गुडलेन्थबाट हल्का उठेको तेस्रो बललाई सिधा खेल्नुको सट्टा दीपेन्द्रले कट गर्ने जोखिम मोले। जसको मूल्य टेस्ट राष्ट्र श्रीलंकालाई उसैको मैदानमा पराजित गर्ने अवसरबाट नेपाल मात्र होइन, त्यसको जस लिनबाट उनी स्वयम् चुके।

३२ रनको स्थितिमा माथिल्लो क्रमको ३ विकेट गुमाइसकेको अवस्थामा दीपेन्द्र १० औं ओभरमा क्रिज भित्र प्रवेश गरेका थिए। उनले श्रीलंकाविरूद्ध सुरुमै फसिसकेको खेललाई बाहिर निकालेर नेपाललाई जीततर्फ डोर्‍याएका थिए। तर, अन्यमा १ रनले पराजित हुनु परेपछि उनी मैदानमै डाँको छोडेर रोए।

श्रीलंकामा बिहिबारदेखि सुरु भएको युथ–१९ एसिया कपको तेस्रो संस्करणअन्तर्गत घरेलु टोलीसँग समूह चरणको पहिलो खेल खेल्न कोलम्बोमा उत्रिएको नेपालले टस जितेर सिंगाली टोलीलाई ब्याटिङको निम्तो दियो। जसमा नेपाली बलरको कसिलो बलिङका कारण निर्धारित ५० ओभरमा श्रीलंकाले ८ विकेटको क्षतिमा २ सय २७ रन मात्र बनायो।

प्रत्युत्तरमा ब्याटिङ गर्न आएको नेपालको सुरुवात राम्रो हुन सकेन। नेपाली ब्याट्सम्यानविरूद्ध तीन स्लिप राखेर मैदानमा उत्रिएका श्रीलंकाका तीब्र बलरले ५ रनको अवस्थामा सन्दीप सुनार(२) र आसिफ शेख (१) लाई सस्तैमा गुमायो। पहिलो विकेटको पतनमा क्रिजमा प्रवेश गरेका भीम सार्की पनि ८ रनमा आउट हुँदै पवेलियनतर्फ फर्किए। यसपछि लड्खडाएको नेपाली इनिङलाई दीपेन्द्र र आदिल खानले उद्धार गरे।

यो जोडीले चौथो विकेटका लागि ४५ रनको साझेदारी गर्‍यो। आदिलले खेलमा पहिलो छक्का प्रहार गरे। उनी ३९ रनमा एलबिडब्लुको सिकार बने। दीपेन्द्रले यस खेलमा मध्यक्रमका ती ब्याट्सम्यानसँग लामो साझेदारी गरे। उनले पाँचौ विकेटका लागि विकेटकिपर प्रकाश केसी (१४) सँग मिलेर ३५, अविनाश कर्ण (४०)सँग मिलेर छैटौं विकेटका लागि ८४ र कमलसिंह ऐरीसँग मिलेर २१ रनको साझेदारी गरेका थिए। दीपेन्द्र आफैंले ९९ बलमा एक छक्का र ९ चौकाको सहयोगले ९० रन बनाउदै एलबिडब्लुको धरापमा परे।३९ दशमलव ३ ओभर क्रिजमा डटेका दीपेन्द्रलाई उनको उच्च योगदानका लागि अन्त्यमा ‘म्यान अफ दि म्याच’ पनि घोषित गरियो।

उनले बलिङतर्फ पनि एक विकेट लिए। दीपेन्द्रले प्रारम्भिक ब्याट्सम्यान रेभेन केली र हासिथा बोयागोन्दाको सर्वाधिक ठूलो साझेदारी तोड्न केलीलाई १९ रनमा आउट गराएका थिए। श्रीलंकाको दोस्रो विकेटको जोडीले सर्वाधिक ६८ रनको साझेदारी गरेको थियो।

श्रीलंकाको इनिङलाई खुम्च्याउन कमलसिंह ऐरीले ३ र पवन सर्राफले २ विकेट लिए। कप्तान सन्दीप लामिछाने विकेट बिहिन बने। नेपालविरूद्ध हासिथाले सर्वाधिक ८३ रन बनाएका थिए। मध्यक्रममा आसेन बन्दराले ४८ रन बनाए।

नेपालविरूद्ध श्रीलंकाका कुनै खेलाडीले छक्का प्रहार गर्न सकेनन्। तर, नेपालबाट आदिल, दीपेन्द्र, प्रकाश, अविनाश र कमलसिंहले गरी ५ जनाले छक्का प्रहार गरेका थिए। यस्तै नेपाली टोलीले १७ वटा चौका प्रहार गर्‍यो।

LEAVE A REPLY