उत्सवमय मिथिला

0
309

mithilaप्राचीन मिथिलाको राजधानी जनकपुरधाम साहित्य र संस्कृतिमय बन्यो । तीनदिने ‘जनकपुर साहित्य–कला उत्सव : २०७३’ को हरेक दिन नाटक मञ्चनसँगै साहित्य र संस्कृतिका अनेक विषयमा विमर्श गरिएको थियो । साहित्यकार, संस्कृतिविद्, रंगकर्मीदेखि प्राध्यापक र राजनीतिक व्यक्तित्वहरूसहितको घना सहभागिताले उत्सवलाई उचाइ दियो । यस्तै भिन्न उत्साह र उचाइसहित मंगलबार महोत्सवको समापन भएको छ ।

सोमबार विभिन्न आठ विषयमा गम्भीर बहस तथा छलफल भएको थियो । बहसमा नेपाल र भारतका दर्जनौं विषयविज्ञहरू सहभागी भए । बहस र विमर्शको क्रम मंगलबार पनि जारी रह्यो । दोस्रो दिन ‘मिथिलाको राजनीतिक सांस्कृतिक संकट तथा समाधान’, ‘मिथिला चित्रकलामा आधुनिक चेतना तथा व्यावसायिकता’, ‘मिथिलामा जातिगत विभाजनको प्रभाव तथा विकल्प’, ‘मैथिली साहित्य लेखनमा नारी हस्ताक्षर’, मैथिली कविताको स्वर र शिल्प’, ‘मैथिली गीतमा लोकलय’ ,‘निजत्व तथा आधुनिकता’, ‘मिथिलामा पर्यटनको सम्भावना’ जस्ता विषयमा बहस चल्यो भने मैथिली भाषाको दुई पुस्तकमाथि परिचर्चा भयो ।

Advertisements

सांसद विजयकुमार सिंह, महेन्द्र यादव, शत्रुघ्न महतो, पूर्व सांसद रामसरोज यादवसहितका राजनीतिक पृष्ठभूमिका सहभागीहरूले मिथिलाको सामाजिक, जातीय तथा राजनीतिक विषयहरूमा सहभागिता जनाएका थिए भने संस्कृतिविद् डा.रेवतीरमण लाल, डा. सुरेन्द्र लाभ, वृहत्तर जनकपुर क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार शर्मा, पर्यटन समितिका अध्यक्ष राजकिशोर साह, महन्थ नवलकिशोर शरण लगायतले मिथिलाको पर्यटन तथा सांस्कृतिक विषयमा छलफल चलाए । पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा रामावतार यादव, मैथिली केन्द्रीय शिक्षण विभागका प्रमुख प्राडा पशुपतिनाथ झा, अयोध्यानाथ चौधरीसँगै भारतीय साहित्यकारहरू डा. रमानन्द झा रमण, श्याम दलिहरे, विभूति आनन्द, प्राज्ञ रमेशरञ्जन झा लगायतले मैथिली कविता, कथा तथा समीक्षा विषयमा तर्क राखे ।

यसैगरी, मैथिली गीतसंगीत विषयक विमर्शमा गायक तथा संगीतकारहरू सुनीलकुमार मल्लिक, आभाष लाभ, कुञ्जविहारी मिश्र, अशोक दत्तलगायतले सहभागिता जनाए । मैथिल महिलाहरूको विषयमा मीना ठाकुर, आरती झा, सांसद मिनाक्षी झा, विजेता चौधरी लगायत बहसमा उत्रे । यसपछि सम्पन्न ‘संघीयता र मिथिला’ र ‘नेपालको भाषा नीति तथा मैथिली’ शीर्षकको विमर्शमा भाषाविद् रामावतार यादव, राजेन्द्रप्रसाद विमल, अमरकान्त झा तथा रोशन जनकपुरी बहसमा उत्रेका थिए । उत्सवमा दोस्रो दिनको प्रमुख अतिथि बनिन् पूर्वशिक्षा मन्त्री चित्रलेखा यादव । उनले बहस, विमर्श, छलफल तथा शास्त्रार्थ मिथिलाको प्राचीन परम्परा रहेको दाबी गर्दै उत्सवले आदिकालीन परम्परालाई निरन्तता दिएको प्रशंसा गरिन् ।

आइतबार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले उत्सवको उद्घाटन गरेका थिए । निधिले मिथिला ज्ञान र विमर्श भूमि भएको उल्लेख गर्दै मैथिली विकास कोषले जनककालीन यस परम्परालाई निरन्तरता दिएको दाबी गरे । मैथिली भाषा, साहित्य, कला, संस्कृतिको विकास तथा प्रवद्र्धनका लागि जिल्ला विकास समिति धनुषाले बनाएको मैथिली विकास कोषद्वारा आयोजित उत्सवको उद्घाटन समारोहमा राष्ट्रिय राजनीतिमा पानी बाराबारको अवस्थामा रहेका सबै पार्टीका नेताहरू पुगेका थिए । नेकपा माओवादी क्रान्तिकारीका उपाध्यक्ष सीपी गजुरेल, एमालेका उपमहासचिव घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, नयाँ शक्ति नेपालका सहसंयोजक रामचन्द्र झा, माओवादी केन्द्रका हेडक्वाटर सदस्य प्रभु साह, संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, तराई मधेस लोकतान्त्रिक पार्टीका कार्यसम्पादन समितिका सदस्य सांसद विजयकुमार सिंहसँगै एक दर्जन अधिक नेताहरू उत्सवमा पुगे । राजनीतिमा कटुता भए पनि संस्कृति जगेर्नाका लागि यति धेरै नेताहरू एकै थलोमा जम्मा हुनुलाई साहित्यकार भोगेन्द्र झा सकारात्मक ठान्छन् ।

उत्सवको अर्को रौनक थियो नृत्यको । बहुचर्चित नर्तकी डोली सरकार, प्रदीप–ममता, काजल र सपनाको जोडीको नृत्यले दर्शकदीर्घालाई ताली बजाउन बाध्य पारेको थिए । मिथिला नाट्यकला परिषद्ले ‘एक छल गदहा’, शिल्पी थिएटर काठमाडौंले ‘सखी’ र रंगदर्पण जनकपुरले ‘सूलीपर इजोत’ नाटकले उत्सवलाई भिन्न रंग दिएको थियो ।

LEAVE A REPLY