'महेन्द्र र वीरेन्द्रको 'बुद्ध मन' नहुँदा मुलुकको हालत यस्तो भयो' मुस्ताङी राजा भन्थे,

0
304

काठमाडौः मुस्ताङी राजा जिग्मेपलबर बिष्टको राजधानीस्थित ओम अस्पतालमा शुक्रबार बिहान निधन भएको छ । उनी ८६ वर्षका थिए । मुस्ताङी राजा पलबरका उत्तराधिकारी जिग्मेसिङ्गीपलबर बिष्ट तथा ८३ वर्षीया पत्नी सिटोलपलबर बिष्ट छन् ।

Advertisements

राजा महेन्द्रले मुलुकमा राजारजौटा उन्मूलन गरे पनि भौगोलिक, सामरिक, सांस्कृतिक र भावनात्मक एकता तथा एकात्मकताका लागि चार राजा (सल्यान, बझाङ, जाजरकोट र मुस्ताङ) लाई आधिकारिक हैसियत र नेपाली सेनाको मानार्थ हैसियत प्रदान गरिएको थियो । त्यसमा मुस्ताङी राजा एक थिए ।

राजा महेन्द्रले २०१९ सालमा राजारजौटा उन्मूलन गर्दै सल्यान, बझाङ, जाजरकोट र मुस्ताङमा मानार्थ राजा कायम गरेका थिए । २०६२/६३ को राजनीतिक परिवर्तन र त्यसको दुई वर्षपछि मुलुक गणतन्त्र घोषित गरी राजतन्त्र र ‘राजा’ परम्परा औपचारिक रूपमा समाप्त गरिए पनि मुस्ताङी राजा जिग्मेपलबर बिष्टको सामाजिक तथा सम्मानजनक हैसियतमा कुनै कमी आएन । उनी मुस्ताङी राजा रहिरहे ।

मुस्ताङको नेपालसँगको एकात्मकता, खम्पा विद्रोहको समाप्ति र उक्त क्षेत्रलाई नेपालको अविभाज्य भागका रूपमा राख्न मुस्ताङी राजाको अतुलनीय योगदान रहिआएको छ । केही वर्षदेखि अस्वस्थ रहँदै आएका राजा जिग्मेपलबर बिष्ट बौद्धस्थित आफ्नो निवासमा छोरा साङ्गीको रेखदेखमा थिए । उनी प्रार्थना तथा आध्यामिक गतिविधिमै बढी व्यस्त रहन्थे ।

राजारजौटा उन्मूलनपछि महेन्द्रबाट मुस्ताङको मानार्थ राजा पदवी पाएका जिग्मेको राजपाठको ५४ औं वर्षमा शुक्रबार निधन भएको हो । निधनपछि राजा जिग्मेको शवलाई बिहानै ओम अस्पतालबाट बौद्धस्थित उनको निवास त्रिकाल गुम्बामा लगिएको थियो । उनको अन्त्येष्टि बौद्ध परम्पराअनुसार सोमबार अपराह्न १ बजे टेकुघाटमा गरिने जानकारी राजाका छोरा जिग्मेसिङ्गीले दिए ।

केही समययता अस्वस्थ राजा जिग्मेको उपचार पारिवारिक चिकित्सक ओम अस्पतालकै यूएन पाठकको निगरानीमा भइरहेको थियो । मुस्ताङी राजा राजनीतिकभन्दा धार्मिक, सांस्कृतिक, स्वास्थ्य र शिक्षाप्रेमीका रूपमा परिचित छन् ।

आफ्नो जीवनकालमा उनी बारम्बार भन्ने गर्थे, ‘राजा महेन्द्रको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ताका लागि राजनीति र राजा वीरेन्द्रले शान्तिका लागि अन्तर्राष्ट्रिय जगत्मा निर्वाह गरेको भूमिका बौद्धमार्गीले अनुसरण गर्नुपर्छ । यो राष्ट्रका लागि बुद्धत्वको अनुसरण महेन्द्र र वीरेन्द्रजस्तै अन्यले गर्न सकेको भए मुलुक आज कठिन र जटिल अवस्थाबाट गुज्रँदैनथ्यो होला । मलाई अन्तिम अवस्थामा पनि तिनै दुई राजाको सम्झना आइरहेछ ।’

राजा पलबरका उत्तराधिकारी जिग्मेसिङ्गीले बौद्धस्थित त्रिकाल गुम्बामा कुराकानी गर्दै भने, ‘मेरो बुबा एउटा सच्चा राजभक्त हुनुका पछि राजा महेन्द्र र वीरेन्द्रमा देशप्रतिको गहिरो प्रेम र बुद्धत्वप्रतिको ज्ञान एवं भक्ति नै कारण हो ।’

राजा महेन्द्रले राजारजौटा उन्मूलन गर्दा पनि आफ्ना बुबालाई मुस्ताङी राजपदवी दिँदै मानार्थ नेपाली सेनाको प्रमुख सेनानी पद दिएकोमा आफूहरूमात्र नभएर मुस्ताङबासी नै हर्षित रहेको उनले बताए ।

मुस्ताङी राजा ३५ वर्षदेखि उच्च रक्तचापको रोगी रहेको तथा पछिल्लो समयमा निमोनियाबाट पीडित भएको छोरा सिङ्गीले बताए ।

उनले बुधबार ओम अस्पताल भर्ना भएका बाबुले आफूसँग बारम्बार छेउमै बस्न आग्रह गरेको स्मरण गरे । आफूलाई राजाको कर्तव्य निर्वाह गर्न, जनता र सहयोग माग्न आउने जोकोहीलाई खाली हात नफर्काऊ भनिरहेको सम्झना गर्दै उनले आँसु झारेका थिए ।

मुस्ताङी राजाले आठौं र १४ औं शताब्दीमा निर्माण भएका करिब एक दर्जन गुम्बा पुनर्निर्माण गरेको उनका भान्जा छेवाङ बिष्टले बताए । उनका अनुसार मुस्ताङ गुरु पहमा सुब्बाले आठौं शताब्दीमा निर्माण गरेको लोगेकर गुम्बालाई १३ औं शताब्दीपछि आएर पुनर्निर्माण गरे । यस्तै १४ औं शताब्दीमा पहिलो मुस्ताङी राजा अभिपालले निर्माण गरेका चराङ, झप्पाम्पा, थुप्चेन लोमान्थाङ, निफुकलगायत गुम्बा पुनर्निर्माण गरे । यी सबै गुम्बा पुनर्निर्माण राजा पलबरको आग्रहमा हिमालयन फाउन्डेसन अमेरिकाको सहयोग र सद्भावमा सन् १९९२ मा भएको हो ।

सरकारले सन् १९९२ मा विदेशीका लागि मुस्ताङ यात्रा खुला गरेपछि प्राप्त अमेरिकी सहयोगको सदुपयोगले त्यहाँ धेरै गुम्बा, विद्यालय, बाटो निर्माणमा समेत सहयोग पुगेको जानकारी छोवाङले दिए ।

बिष्ट परिवारका एक सदस्यले भने, ‘पूर्वराजाको अधीनमा रहेको लोमन्थाङ दरबारको अंशबन्डा गर्नुपर्ने मागसहित उनकी भाइबुहारी डिक्कीडोलकर बिष्टले तत्कालीन मुस्ताङी राजा जिग्मीपलबरविरुद्ध मुद्दासमेत दिएकी थिइन् ।

उक्त मुद्दा मुस्ताङ जिल्ला अदालत, पुनरावेदन अदालत बागलुङ हुँदै सर्वोच्चसम्म पुगेको थियो । यो मुद्दामा सर्वोच्चले पाँच वर्षअघि ऐतिहासिक एवं पुरातात्विक महत्वको दरबारलाई भागबन्डा गर्न नमिल्ने भन्दै राजाकै पक्षमा फैसला दिएको थियो । उक्त दरबारलाई उत्तरी सिमानाको सुरक्षाको प्रतीकका रूपमा लिइन्छ ।

राजाका सहयोगी डिल्लीराम तिवारीका अनुसार जिग्मे फाउन्डेसन ट्रेकिङका संरक्षक मुस्ताङी राजा जिग्मे नेपाली भाषा कम बुझ्ने भए पनि नेपाल र नेपालीको विकासमा सधैं चिन्तित थिए । त्यसैको परिणाम उनले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सक्दो सहयोग जुटाउने कार्य गरेको जानकारी तिवारीले दिए ।

मुस्ताङी फुर्सदको समयमा आफ्ना कर्मचारी र सहयोगीसँग राजा महेन्द्र र वीरेन्द्रका विषयमा चर्चापरिचर्चा गर्न राजा रुचाउँथे । राष्ट्रियता, अन्तर्राष्ट्रिय सम्बन्धमा यी दुई राजाको भूमिका र उनीप्रतिको प्रेमका विभिन्न विषय र प्रसंग आफूहरूसँग राख्ने गरेको तिवारीले बताए ।

लेख :चिरन्जिबी ढुंगाना, अन्नपूर्ण पोस्ट

LEAVE A REPLY