संशोधन, महाभियोग प्रस्ताव र चुनाव प्रतिपक्षीले रोके : प्रधानमन्त्री

0
297

prachanda-pushpa-kamal-dahal

पुस ३, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले संसद चल्न नदिएर प्रतिपक्षी दलहरुले मुलुकका लागि महत्वपूर्ण तीन मुख्य काम गर्नबाट रोकेको आरोप लगाएका छन् । संविधान संशोधन प्रस्ताव, अख्तियार दुरुपयोग नियन्त्रण आयोगका तत्कालीन प्रमुखमाथिको महाअभियोग प्रस्तावको टुंगो र चुनावको मिति घोषणा गर्नुपर्ने काम प्रतिपक्षका कारण अवरुद्ध भएको प्रधानमन्त्रीले बताए ।

Advertisements

पार्टीको १ नम्बर प्रदेश भेलामा सहभागी हुन आएका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुरा गर्दै आइतबार यस्तो बताएका हुन् ।‘संसद अवरोधका कारण यी तीन महत्वपूर्ण कुरा रोकिएका छन्,’ दाहालले भने, ‘जानेर वा नजानेर यो रोक्न खोज्नु भनेको मुलुकका लागि दुर्भाग्यपूर्ण कुरा हो ।’

अनावश्यक रुपमा संसद अवरोध गरेर गैरलोकतान्त्रिक र गैरसंसदीय चरित्र प्रदर्शन भइहरेको उनले बताए । ‘संसद चल्न र महत्वपूर्ण प्रस्तावहरु पारित हुन जति ढिलो हुन्छ उति नै बढी प्रतिपक्षी दलहरुले नोक्सानी ब्यहोर्नुपर्नेछ,’ दाहालले भने, ‘चाँडै अवरोध सकिए समस्याको निकास निस्किएर स्थिरता हुने छ ।’

मधेस, पहाड र हिमाललाई जोडेर चुनावमा जान ढिलो भइरहेको भन्दै प्रधानमन्त्रीले संशोधन प्रस्तावलाई संसदमै छलफल हुन दिएर पारित अथवा फेल जे हुन्छ त्यो सबैले स्वीकार्नु पर्नेमा जोड दिए । वैधानिक सरकारले संसदमा कुनै प्रस्तावै राख्न नपाउने जस्तो गरी प्रतिपक्षले बितण्डा मच्चाएको आरोप पनि उनले लगाए । संशोधन प्रस्तावमा मधेसवादी दलको समर्थन रहेको दाबी प्रधानमन्त्रीले गरे ।

हालको गतिरोध अन्त्य भएपछि चुनावको मिति घोषणा हुने प्रधानमन्त्रीले बताए । पहिले स्थानीय तह निर्वाचन, त्यसपछि प्रदेशिक अनि संघीय निर्वाचन गरिने उनले जनाए । एकैचोटि केन्द्रीय निर्वाचन गर्न संविधाननत: नमिल्ने उल्लेख गरे । सुरुमै केन्द्रीय निर्वाचनको कुरा उठाइनु गम्भीर विषय भएको भन्दै दाहालले भने, ‘यसो गर्नु भनेको संविधानको मर्ममाथि प्रहार हो ।’

गतिरोध अन्त्य भए चुनाव कहिले हुन्छ त भन्ने जिज्ञासामा प्रधानमन्त्री दाहालले भने, ‘चुनाव वैशाखमा हुन्छ ।’

LEAVE A REPLY