बुटवल मेलाको तयारी तीव्र

0
259

butwal-mela

बुटवल । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नाराका साथ बुटवल उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १७ औं औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको छ । पुस ८ गतेदेखि बुटवल मण्डपमा सुरु हुने मेलाको भौतिक संरचनाको काम ६० प्रतिशत पूरा भएको आयोजकले जनाएका छन् ।

Advertisements

मेलामा स्वदेश र विदेशमा गरी ६ सय स्टल रहने र ८ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने संघका अध्यक्ष महेशमान सिंहले जानकारी दिए । यस पटकको मेलालाई गत वर्षहरूको भन्दा आकर्षक बनाउन बढी मिहेनत र आवश्यक तयारी भैरहेको उनले बताए । प्रदेश नम्बर पाँचमा चर्किएको बन्द, हड्तालले मेलालाई सम्पन्न गर्न समस्या हुने भएकाले बन्द हड्ताल नगर्न अध्यक्ष सिंहले आग्रह गरेका छन् ।

उद्योग, वाणिज्य, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका साथै कृषि क्षेत्रको व्यवसायीकरणका अतिरिक्त नेपाली संस्कृति जगेर्नामा महत्व दिएर मेला गर्न लागेको हो । बुटवलको मेलालाई नमुना बनाउने गरी तयारी गर्न विभिन्न उपसमितिहरू गठन गरिएको छ ।

औद्योगिक व्यापार मेलाका प्रचार संयोजक विमलराज भट्टराईले मेला महोत्सवले राष्ट्रिय उद्योगको जगेर्ना गर्ने मात्र नभई विदेश गइरहेको उपभोक्ताको पूँजीलाई पनि रोक्न मद्दत गर्ने बताए । बुटवलको मेलाले नै देशभर मेला गर्ने वातावरण सिर्जना गरेको उनले बताए ।

२०४१ सालमा पहिलो पटक औद्योगिक व्यापार मेलाको आयोजना गरेको संघले १७ औं पटक मेला गर्दैछ । मेलामा यसपटक ३० राष्ट्रमा उत्पादित ब्राण्डहरूसहित, राष्ट्रिय तथा स्थानीयस्तरमा उत्पादित सामग्रीको प्रदर्शनी हुनेछ । मेलामा विशेषगरी माछाको हवको रूपमा विकास भएको रूपन्देहीलाई थप प्रवद्र्धन गर्न एक दर्जन स्टलहरूमा माछाका परिकार मम, तरकारी र अरू धेरै परिकारको स्वाद दर्शकहरूले लिन सक्ने प्रचार–प्रसार संयोजक भट्टराईले जानकारी दिए ।

मेलामा हेर्न आउने दर्शकको टिकटबाट पर्यटन प्रवद्र्धनका लागि रकम छुट्याएको मेला संयोजकसमेत रहेका संघका अध्यक्ष सिंहले जानकारी दिए । यसअघि लुम्बिनी, पशुपतिनाथलगायत रहने मेलाको गेटमा यसपटक जितगढी किल्ला राखिएको छ । आयोजकका अनुसार नेपाली संस्कृतिको जगेर्ना गर्न लोकदोहोरी, लोक नृत्य, मम्मी डान्स, गायन आइडलजस्ता कार्यक्रमहरू मेलामा समावेश गरिनेछन् ।

मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुती हुने सांस्कृतिक संयोजक टंक गैरेले जानकारी दिए । बुटवलको मेलामा प्रतिभा देखाएर राष्ट्रका चर्चित कलाकार बनेको स्मरण गर्दै उनले स्थानीय प्रतिभालाई स्टेज चढाइने बताए ।

संघले मेलास्थल बुटवल मण्डपमा अस्थायी सचिवालयको स्थापना गरिसकेको छ । मेलास्थलमा रंगरोगन, सरसफाईलगायत विभिन्न उपसमितिको कामलाई तीव्रताका साथ अगाडि बढाएको आयोजकले जनाएको छ । मेला तयारीका लागि विभिन्न सरोकारवाला निकायसँग पनि छलफल गरी सकिएको संघले जनाएको छ ।

यसपटकको मेला नमुना बनाउने छौं

महेशमान सिंह
अध्यक्ष/बुटवल उद्योग वाणिज्य संघ

12471754_1017252671674935_130139676946349155_o

मेला नजिकिएको छ, तयारी कस्तो छ ?
– पुस ८ गतेदेखि हुने मेलाको तयारी तीव्र गतिमा अघि बढिरहेको छ । मेला सम्पन्न गर्न सम्बन्धित सरोकारवालासँग छलफलसहित स्टल, गेट तथा मेलास्थल सरसफाई र अरू पूर्वाधार निर्माण तीव्र गतिमा अगाडि बढेको छ । यसपटक मेलामा बुटवलको पहिचानको रूपमा लिइएको जितगढी किल्लालाई गेटमा सजाएका छौं, जहाँबाट मेला प्रवेश गर्न सकिने छ । मेला सम्पन्न गर्नका लागि बनाइएका विभिन्न उपसमितिहरूले आ–आफ्नो किसिमले काम गरिरहेका छन् ।

यस पटक विगतका मेलाभन्दा के फरक हुनेछ ?
– यसपटक विगतको तुलनामा केही फरकपन दिँदै मेला सम्पन्न गर्ने छौं । काठमाडौं बाहिर पहिलोपटक जुन खालको मेला गरेका थियौं, निरन्तर परिवर्तन हुँदै आएको छ । यसपटक विगतमा शिक्षा, स्वास्थ्य खेलकुदलगायतमा जुन बजेट छुट्टाइन्थ्यो त्यस्तैगरी यसपटक यस क्षेत्रका पर्यटकीय स्थललाई थप चिनाउन टिकटमै केही रकम छुट्टयाइएको छ । यसपटक अन्तर्राष्ट्रिय ब्राण्डका ३० वटा स्टल रहनेछन् । यसपटक फरक तरिकाले माछाका परिकारको स्वाद दिलाउन १२ देखि १५ वटा रहने छन् । त्यस्तैगरी राष्ट्रिय तथा स्थानीय स्तरमा उत्पादन भएका परिकारहरू, सामग्रीहरू पनि राखिनेछ भने सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरूका साथै स्थानीय स्तरका कलाकारलाई अगाडि बढाउन पनि मेलाले सहयोग गर्ने छ ।

यसपटक ५ नम्बर प्रदेश छुट्टाइएको विरोधमा आन्दोलन भैरहेको छ, यसले मेलालाई असर गर्छ गर्दैन ?
– बुटवल उद्योग वाणिज्य संघले गर्न लागेको १७ औं संस्करणलाई जसरी पनि सम्पन्न गर्न चुनौती छ । यद्यपि निरन्तर बन्द भयो भने त्यसको प्रभाव मेलामा अवश्य नै पर्नेछ । तर मैले यही अन्तरवार्ताबाट यो आग्रह गर्छुकी बुटवलमा हुन लागेको यो मेला हामी सबैको हो । ५ नम्बर प्रदेश छुट्टाइएको विरोध समग्र लुम्बिनीवासीको हो, तर यदि बन्द भैरहेको खण्डमा मेलालाई सम्पन्न गर्न धेरै चुनौती हुनेछ । यस क्षेत्र वरिपरीका दर्शक आए पनि पहाडी भेग र टाढाबाट आउने दर्शक आउन पाउने छैनन् ।

LEAVE A REPLY