बाँसुरीको धुनमा लठ्ठिएको ‘राष्ट्रवाद’

0
297

fb_img_1481612644939

मनिकर कार्की निवर्तमान /

सरकारले ५ नम्बर प्रदेशको सीमांकन हेरफेरसहितको संविधान संशोधन प्रस्ताव दर्ता गर्दैगर्दा त्यसको विरोधमा ५ नम्बर प्रदेशकै केही जिल्लाहरु एक साता भन्दा बढी समयदेखि आन्दोलित छन् । लुम्बिनी अञ्चलका रुपन्देही, पाल्पा, अर्घाखाँचीलगायतका केही जिल्लाहरुमा लुम्बिनी अञ्चल र हाल कायम ५ नम्बर प्रदेशलाई अखण्ड राख्नुपर्छ भन्दै आन्दोलनको उभार पैदा भयो । आन्दोलनका क्रममा ५ नम्बर प्रदेश विभाजन गर्ने प्रस्तावलाई राष्ट्रघाती करार गरियो र विरोधसभामा जिम्मेवार नेताहरुले संविधान संशोधनले राष्ट्रियताप्रति नै खतरा आइपर्ने भन्दै भाषणवाजी गरे ।

Advertisements

अनि सामाजिक सञ्जालमा पनि अखण्डवालाहरुको राष्ट्रवादी रोइलो सुरु भयो । त्यससँगै गतवर्षको मधेश आन्दोलन र भारतीय नाकाबन्दीताका मौलाएको ‘सडकछाप राष्ट्रवाद’को दोस्रो संस्करण अहिले सामाजिक सञ्जालहरुमा यत्रतत्र देख्न सकिन्छ । अहिले कसैले मधेशी, थारु, आदिवासी जनजाति, सीमान्तकृत, उत्पीडित एवं बहिस्कृत समुदायहरुको राजनीतिक अधिकार सुनिश्चित हुनुपर्छ भन्छ, त्यसलाई जर्बजस्त राष्ट्रघाती करार गर्न थालिएको छ । चोक, गल्ली, चिया पसलदेखि अफिस, कलेज र विद्यालयसम्मका गफहरुमा यही ‘सडकछाप राष्ट्रवाद’को विस्तार भइरहेको छ । बुटवलकै एकजना मित्रको प्रश्न थियो, ‘पहाडलाई तराईबाट अलग्याउँदा भोलि त्यो तराई भारतमा गएर मिल्दैन भन्ने के ग्यारेन्टी छ ?’ उनलाई यो पंक्तिकारको प्रतिप्रश्न थियो, ‘के प्रदेशहरुको विभाजन भनेको अलग मुलुक निर्माण हो ?’

अहँ कसैलाई फुर्सद अनि मतलब पनि छैन कि इतिहासमा हाम्रो राष्ट्रवादको निर्माण किन र कसरी भयो ? हाम्रो चलनचल्तीको राष्ट्रवाद किन यति कमजोर अनि निम्सरो बन्नपुग्यो ? अनि किन यति साँघुरो भयो कि एउटै मुलुकको एउटा समुदायले अर्कोलाई अराष्ट्रिय देख्नुपर्ने ? अनि यही भूगोलभित्र एउटा समुदायले परम्परादेखि चलिआएको आफ्नो भाषा, धर्म, संस्कार र सांस्कृतिक पहिचानलाई संवैधानिक व्यवस्था अनुकूल स्थापित गर्न खोज्दा त्यो राष्ट्रियताको घेराभित्र पर्न सकेन । त्यसो गर्दा राष्ट्रियता कमजोर हुने ? राष्ट्रियतामा खतरा आइपर्ने यो कस्तो विढंपना हो ? राष्ट्रियताको डिस्कोर्समा कथित राष्ट्रवादीहरुको सपाट तर्क छ कि त्यस्ता आन्दोलनहरुले मुलुकको राष्ट्रियता नै खतरामा पर्‍यो । त्यसैले उनीहरु अहिले राज्यबाट वर्षौंदेखि उत्पीडित र सीमान्तकृत समुदायले आफ्नो अधिकार र पहिचानको कुरा गर्दा ‘सबैभन्दा पहिले हाम्रो नेपाल र हामी नेपाली’ को मनोवैज्ञानिक हतियार उचालिहाल्छन् ।

अहँ इतिहासमा ‘हामी नेपाली’को भाष्य कसरी निर्माण भयो ? भन्ने कुरा खोतल्ने लेठो गर्दैनन् । अनि भन्छन्, ‘सयौं थुंगा फूलका माला हामी नेपाली’ । ती अझै पनि त्यही पारम्परिक राष्ट्रियताको हेजिमोनी सिर्जना गरिरहेका छन् । अहँ ‘सयौं थरी’ फूलको मालाले मात्र सबैको अस्तित्व स्वीकार गर्छ भन्ने सोच्दैनन् । उनीहरुको जिरह यो पनि छ, कि मुलुकको राष्ट्रियता एउटै हुन्छ । अनि एउटा तप्का यही समाजमा छ, जो राष्ट्रियताको सवालमा उग्र राष्ट्रवादी बन्दै दक्षिणतर्फ फर्केर जहिल्यै औंला ठड्याउने गर्दछ । उसले इतिहास (आधुनिक नेपाल राज्यको निर्माण) देखि अहिलेसम्म दक्षिणतर्फको वर्तमान नेपालको भूमिको रक्षा कसले गर्‍यो ? सीमावर्ती क्षेत्रमा भइरहने ज्यादती कसले सहिरहेको छ ? त्यसको खोजी गर्दैनन् ।

दक्षिणी नेपालको सीमावर्ती क्षेत्रको राष्ट्रियताको सवालमा नयनराज पाण्डेको उपन्यास लू पढे पक्कै पनि केही जानकारी हासिल हुनसक्छ । तर, कसले लेठो गर्छ ? जे कुरा हिजोदेखि चल्दै आएको छ, त्यसैको निरन्तरता नै सबैभन्दा सजिलो हो । नलेखिएको इतिहास खोतल्ने झ्याउलो र टन्टा किन लिनु ?

जहिल्यै शासन गर्ने बहुमतमा रहेको वर्गले नै हो । अनि राज्यले शासन व्यवस्था संचालनका लागि विभिन्न ऐन, कानून, नीति नियमहरुको निर्माण गर्दछ । ती नीति नियमहरुको साथसाथै समाजमा सांस्कृतिक मूल्य मान्यता तथा सामाजिक नियमहरु पनि सिर्जना गरिएको हुन्छ । अनि ती सामाजिक नियमहरु निर्माण गर्ने पनि सत्ता र शासक वर्ग नै हुन् । कुनै पनि सामाजिक नियम सत्ताको निर्देशक सिद्धान्तभन्दा अलग हु“दैन । किनकि यो समाज पनि त्यही सत्ताकै रंगले लत्पतिएको हुन्छ । यस मानेमा समाजका हामी बुद्धिजीवी र जान्नेसुन्ने पनि बहुमत समाजले के भन्छ त्यसैलाई अंगिकार गरिरहेका हुन्छौं र समाजमा चिजहरु जेजसरी चलिआएका छन्, त्यसलाई बिना कुनै जाँचपड्ताल स्वीकार गरिरहेका हुन्र्छौं । अहँ हामीले कहिल्यै पनि प्रश्न सोध्दैनौं । किनकि प्रश्न सोध्दा अनावश्यक झमेला हुन्छ । अनावश्यक मथिंगल खियाउनुपर्छ । त्यो लेठो किन र कसले गरोस् ? जे चलेको छ, त्यसैलाई ठीक मानेर स्वीकार गर्यो बस् ।

तर, समाज सधैं त्यसैगरी स्थिर भएर नबस्ने रहेछ । जब गर्भमा रहेको उत्पीडन, विभेद महसुस हुन्छ, तब त्यो आक्रोश र लाभा बनेर बाहिर निस्कने रहेछ । अनि जब भोका, नांगा, हेपिएका र चेपिएकाहरु जाग्न थाल्दछन् तब कवि गोपाल प्रसाद रिमालले भनेझैं ‘मरे भनी फालिएका जुरुजुरु उठ्ने’ रहेछन् । हो, अहिलेको अधिकारको लडाईंको अन्तर्यमा त्यही यथार्थ दृष्टिगोचर हुन्छ । तिनै भोका, नांगाहरुको आवाज मुखरित भएको महशुस हुन्छ । तर यहाँको सत्ताले ती आवाजहरुलाई अझै पनि सुन्न सकिरहेको छैन । फेरि त्यही सत्ताले निर्माण गरिदिएको राष्ट्रियताको साँघुरो परिभाषाले पनि हामीलाई सशंकित तुल्याइदिएको छ कतै भोका नांगाहरुलाई अधिकारसम्पन्न गराउँदा राष्ट्रियतामा खतरा आउने त होइन ?

गोर्खा साम्राज्यमा गाभिनुपूर्व उनीहरुको छुट्टै भाषा, भेषभुषा, परम्परा, रीतिरिवाज, संस्कृति इत्यादिले निर्माण गरेको छुट्टै राष्ट्रियता विशाल बन्दै गएको गोर्खा साम्राज्यमा अस्वीकृत भयो र कालान्तरमा अहिलेको नेपाली राष्ट्रियताको डिस्कोर्स निर्माण गरियो ।

अचम्म लाग्छ, सीमान्तकृत समुदायले यो देशका नागरिक हुन पाउँ भन्दै गरेको आन्दोलन कसरी राष्ट्रियता विरोधी हुन्छ ? के नेपालको राष्ट्रियता उही एउटा वर्ग, समुदाय र जातका मानिसहरुले लगाउने लुगा, उनीहरुले बोल्ने भाषा, उनीहरुको पहिरन अनि धर्मसँग सम्बन्धित मात्रै हो ? यदि होइन भने यो देशमा कति राष्ट्रियताहरु छन् ? तिनलाई राज्यले खै समान रुपले मान्यता दिएको ? अनि ती विभिन्न खाले राष्ट्रियताको संयुक्त स्वरुप नै ‘राष्ट्र’ हो भन्ने कुरा किन नबुझेको ?

त्यसो त नेपाली राष्ट्रियताको कुरा गर्दैगर्दा आधुनिक नेपालका ‘राष्ट्र निर्माता’ भनिएका पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरुसम्म पुग्नु पर्ने हुन्छ । पृथ्वीनारायण शाहले युद्धमार्फत विभिन्न स्वतन्त्र अस्तित्वमा रहेका राज्यहरुमाथि सैन्य बलबाट बिजयी हासिल गरी गोर्खा साम्राज्यको निर्माण गरे । अनि ती गोर्खा साम्राज्यमा गाभिएका स-साना राज्य, रजौटाहरुलाई त्यही गोर्खाली भाषा, भेष, संस्कार र संस्कृति जर्बजस्त रुपमा अंगिकार गराइयो । गोर्खा साम्राज्यमा गाभिनुपूर्व उनीहरुको छुट्टै भाषा, भेषभुषा, परम्परा, रीतिरिवाज, संस्कृति इत्यादिले निर्माण गरेको छुट्टै राष्ट्रियता विशाल बन्दै गएको गोर्खा साम्राज्यमा अस्वीकृत भयो र कालान्तरमा अहिलेको नेपाली राष्ट्रियताको डिस्कोर्स निर्माण गरियो ।

अनि हामी आज तिनै शासकले निर्माण गरिदिएको एकल राष्ट्रियताको भारी बोकिरहेका छौं । कथित राष्ट्रियताको त्यही बाँसुरी फुकिरहेका छौं, जसको संगीत एकात्मक छ, जसमा कुनै वान्की छैन । केवल एकोहोरो धुनमात्र श्रवण भइरहेको छ । त्यही एकोहोरो बाँसुरी बजाएर सबै संगीतको धुन निकाल्न खोजिरहेका छौं । बाँसुरीको एकोहोरो लयले हामीलाई यस्तो बनाइदियो कि हामीलाई एउटै देशभित्र धेरै राष्ट्रियताहरुको लय हुन्छ भन्दा अचम्म लाग्न थालेको छ । अझ यसो भन्दा त हामी जिब्रो टोक्नु पर्ने अवस्थामा आइपुगेका छौं ।

किनकि हामीलाई हाम्रा इतिहासकारहरुले त्यसरी कहिल्यै सिकाएनन् । राष्ट्र र राष्ट्रियता भनेको एउटै कुरा हो, ‘नेपाल राष्ट्र’ र ‘नेपाली राष्ट्रियता’ भनाइयो/सिकाइयो । अहँ हामीलाई कहिल्यै पनि नेपाल बहुराष्ट्रियता भएको मुलुक हो भन्ने आभास नै भएन । अनि इतिहासमा बहुराष्ट्रियता खोज्ने चेष्टा पनि गरेनौं । फेरि सजिलै यस्ता यस्ता कुरा इतिहासमा भेटिन्नन् पनि किनकि इतिहास त जित्नेको घोडा न हो । एकथरी मानिसहरु आज पनि पञ्चायतकालीन राष्ट्रवादको स्वर्णिम वर्णन गर्न पछि पर्दैनन् । नेपालको राजनीतिक इतिहासमा पञ्चायत काल यस्तो कालखण्ड थियो जहाँ खस, आर्य एकल राष्ट्रियताको खुबै व्यापार भयो ।

त्यही बेला विभिन्न सांस्कृतिक समुदाय र भाषाभाषीहरुको पहिचानलाई संस्थागत रुपमा बहिस्कृत गर्दै बहुभाषा, बहुभेष, बहुसंस्कृति र बहुधार्मिक समुदायलाई एकल स्वरुपमा ढालियो । ती सबैको ‘नेपालीकरण’ गरियो ।

विश्लेषक युग पाठक तर्क गर्छन्, ‘१०३ वर्ष राणाहरुले अपहरण गरेको सत्ता शाह वंशको हातमा ल्याउने रिहर्सल महेन्द्रले २०१२ सालदेखि सुरु गरिसकेका थिए । उनका लागि ‘वीर नेपाली जाति’, ‘राष्ट्रभाषा नेपाली’, ‘शाहवंशद्वारा नेपालको एकीकरण’ जस्ता भाष्यहरु शाहवंशलाई पुनः एकपटक सत्तामा स्थापित गर्ने गजब अवधारणाहरु बन्न पुगे ।’ हो, उनले यिनै भाष्यहरुलाई स्थापित गरेर २०१७ सालको कू र पञ्चायती व्यस्थाको स्थापनासँगै उनले यिनै अवधारणाहरुलाई व्यापक बनाए र त्यसैलाई राष्ट्रियता वा राष्ट्रवादको आधार बनाए । त्यही बेला विभिन्न सांस्कृतिक समुदाय र भाषाभाषीहरुको पहिचानलाई संस्थागत रुपमा बहिस्कृत गर्दै बहुभाषा, बहुभेष, बहुसंस्कृति र बहुधार्मिक समुदायलाई एकल स्वरुपमा ढालियो । ती सबैको ‘नेपालीकरण’ गरियो ।

यो अवधिमा मुलुकलाई नै एउटै भाषा, भेष, धर्म, संस्कार र संस्कृतिमा ढाल्ने चेष्टा गरियो । महेन्द्रले तिनका जिजुबाबुले पनि गर्न नसकेको काम गरेर देखाइदिए । अनि हामी अहिले पनि त्यही महेन्द्रीय राष्ट्रवादको चर्चा गरिरहेका हुन्छौं । अहिलेको गतिशिल विश्वमा राष्ट्रियताको गतिशित परिभाषा निर्माण गर्नुको साटो खाली शासकहरुले आफ्नो शासनसत्ता लम्ब्याउनका लागि आफूलाई राष्ट्रवादको पर्याय घोषित गरेको ‘प्रतिमान’लाई नै हामी राष्ट्रवाद मानिरहेका छौं ।

के महेन्द्रीय राष्ट्रवादमा जनताको अधिकारको कुरा छ ? जनताको समृद्धिको कुरा छ ? जनताका मौलिक पहिचान, संस्कार, परम्परा, धर्म, संस्कृतिको जगेर्नाको कुरा छ ? मुलुकमा भएका विभिन्न जाति, भाषाभाषि, वर्ग र समुदायका मौलिक पहिचानको संरक्षण छ ? जनतालाई अधिकार सम्पन्न मालिक बनाउने विषयवस्तु छ ? जनतालाई उत्पीडनको चंगुलबाट मुक्त गराउने योजना छ ? अनि राष्ट्रियता भनेको शासकहरुले जनताका लागि खडा गरिदिएको ‘उपमा’ मात्रै हो ? जसलाई उनीहरुले जीवनभर बोक्नुपर्ने । राष्ट्रियताको परिभाषामा जनता पर्दैनन् ? जनताको अधिकार पर्दैन ? जनताको समृद्धि पर्दैन ? यदि पर्छ भने अहिले नेपाल र नेपालीको डिस्कोर्समा यी विषयहरु किन निषेध गरिए ? यसर्थ अबको नेपाली राष्ट्रियता विगतको निरन्तरता होइन ।

यसमा विभिन्न जाति, भाषा, धर्म, लिंग, वर्ण, क्षेत्र र समुदायका मानिसहरुले फरकफरक पहिचान झल्किने बहुराष्ट्रियताका विम्बहरुलाई स्वीकार गर्नुपर्छ । तबमात्र यो मुलुक साँच्चिकै राष्ट्र बन्नेछ । राष्ट्रियता फगत शासकवर्गले निर्माण गरिदिएको साँघुरो परिभाषा मात्र होइन । अनि यो फगत भूगोल मात्र पनि होइन । यो एउटा सभ्यता अनि देश र जनताको समृद्धि पनि हो । साँच्चै भन्नुपर्दा राष्ट्रियता जनता हो । जनताको संस्कार र संस्कृति हो । जनताको स्वाभिमान र उनीहरुको पहिचान हो । अनि त्यही पहिचानले निर्माण गरेको साझा अर्थतन्त्र र समृद्धि हो । राष्ट्रियता केवल बाँसुरीको एकोहोरो ध्वनि होइन परन्तु यस्तो संगीत हो जसमा सयौं थरीका बाजाहरु प्रयोग भएको हुन्छ । अनि हामी सबै जना त्यो संगीतको लयमा झुम्न सक्छौं । बाँसुरी बजाउँदै सडकछाप राष्ट्रियताको धुन उराल्नेहरुले साँच्चिकै राष्ट्रियताको संगीतमय लय कहिले बुझ्लान् ?

ट्वीटरमा : @nibartaman

– See more at: http://www.sajhapost.com/2016/12/12/55130.html#sthash.GaoI3lGe.dpuf

LEAVE A REPLY