'दृष्टिविहीनलाई बैंकमा खाता खोल्नै मुस्किल'

0
307

भरत काेइराला,पाेखरा ।  अमरसिंह नमुना माविका दृष्टिविहीन शिक्षक पुष्पराज रिमाल खाता खोल्न माछापुच्छ्रे बैंक अमरसिंह शाखामा पुगे । काउन्टरमा बसेका कर्मचारीले दृष्टिविहीनको खाता खोल्न नसकिने भनेपछि शाखा प्रबन्धकलाई भेटे ।

Advertisements

शाखा प्रबन्धकले पनि आनाकानी गरे । समाज कल्याण मन्त्रालयको सिफारिस ल्याउन भने । ‘म निरक्षर छु’ भनेर तयार पारिएको कागजमा सही गर्न लगाए । मास्टर डिग्री गरेको व्यक्तिले निरक्षरताको काजगका सही गर्न उनको मनले मानेन । रिमालले त्यो बैंकमा अझैसम्म खाता खोलेका छैनन् ।

अमरसिंह माविकै २ दृष्टिविहीन शिक्षक कुशल पौडेल र विष्णुमाया विकले भने सोही शाखामा खाता खोले । आफूहरु ‘निरक्षर’ रहेको भनेर लेखिएको कागजमा ल्याप्चे लगाएपछि मात्र उनीहरुको खाता खोलियो । उनीहरुले चेक प्रयोग गर्न पाउँदैनन् । सहयोगी लगेर मात्र आफ्नो खाताको रकम उनीहरुले निकाल्न पाउँछन् ।

‘२ जना साथीले निरक्षताको कागजमा ल्याप्चे लगाएर खाता खोल्नुभयो, मेरो मनले त्यसो गर्न मानेन, हामी दृष्टिविहीनमाथि विभेद भएको ठहर गरें, म खाता नखोली फर्किएँ,’ शिक्षक रिमालले भने ।

दृष्टिविहीन श्रीकान्त सापकोटा पृथ्वीनारायण बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् । आफूले कमाएको रकममा थपथाप गरेर घडेरी किन्न मन लाग्यो । गाउँकै दाजु प्रबन्धक भएको माछापुच्छ्रे बैंकको नयाँ बजार शाखामा पुगे । प्रक्रिया अघि बढ्यो । तर ऋण पाउने बेलामा उनले उत्तर पाए, ‘भाइ तिम्रो नाममा त ऋण दिन मिल्दो रहेनछ, आमाको नाममा निकाल्नुपर्ने भयो ।’ जति आग्रह गरे पनि उनले त्यहाँबाट नपाएपछि यति डेभलेपमेन्टबाट ऋण लिएर घडेरी पास गरे ।

स्याङ्जा स्वेरेकका विष्णु खनालले पनि त्यस्तै सास्ती खेप्नुपरेको छ । उनी तनहुँ बेलचौतास्थित जनकल्याण माविका स्थायी शिक्षक हुन् । विद्यालयले सबै कर्मचारीको सामूहिक खाता दुलेगौंडास्थित माछापुच्छ«े बैंकमा खोलिदियो । तलब बुझ्न बैंकमा पुग्दा उनले आफ्नो रकम त पाएनन नै, बरु उल्टै शाखा प्रबन्धकले ‘तपाईंको नाममा खोलेको खाता बन्द गर्नुपर्‍यो’ भनेर आग्रह गरे । उनले उत्तर खोजे ।

माथिबाट हामीलाई त्यस्तै निर्देशन आएको छ भन्ने जवाफ पाए । खनालले भने,‘कुनै ऐन कानुनमा दृष्टिविहीनले खाता खोल्न नपाउने भनेको छैन, हामी अपांगता भएका व्यक्तिलाई सहुलियत दिनुको साटो उल्टै विभेद गरिएको छ ।’

पहिले त खाता खोल्नै मुस्किल । खोलिहाले पनि दृष्टिविहीनले पैसा निकाल्ने बेलामा निकै झन्झट खेप्नु परेको छ । खातावाला आफै उपस्थित भएर मात्र पुग्दैन । नागरिकताको सक्कल, अनि २ जना साक्षी लिएर जानुपर्छ । शिक्षक खनाल भन्छन्, ‘अझ ती साक्षीको पनि परिचय पत्रको फोटोकपी मागिन्छ ।’ शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गरेर नाम निकाल्दा लागेको खुसी तलब बुझ्ने बेला दुखमा परिणत भएको दुखेसो उनले पोखे ।

अमरसिंहका शिक्षक रिमालले नेपाल सरकारले पत्याएर शैक्षिक योग्यता र प्रतिस्पर्धाको आधारमा जागिर खानेहरुलाई पनि ‘निरक्षर’ भनेर कागज गराउनु विभेदको चरम नमुना भएको भन्दै आक्रोस पोखे । उनले भने,‘यो विभेद विरुद्ध हामी कानुनी उपचारको खोजीमा छौं ।’
नेपाल नेत्रहीन संघ केन्द्रीय सदस्य एवं सूचना प्रविधि विभाग प्रमुख खोमराज शर्माले पोखरा र आसपासमा शाखा धेरै भएकाले माछापुच्छ्रे बैंकको नाम आए पनि दृष्टिविहीहरुले सबैजसो बैंकमा विभेद खेप्नुपरेको सुनाए ।

माछापुच्छ्रे लगायत अन्य बैंकको केन्द्रीय कार्यालयमा पुगेर आफूले कुरा राख्दा सकारात्मक जवाफ पाए पनि कार्यान्वयन भने नभएको उनले गुनासो पोखे । आफ्नो खाता स्टान्डर्ड चार्टर बैंकमा रहेको र ठूलै कसरतपछि एटिएम कार्ड लिए पनि मुलुकभरका दृष्टिविहीनले खाता भए पनि एटिएम कार्ड पाउन नसकेको उनले बताए ।

धेरैजसो दृष्टिविहीनले नोट पहिचान गर्न नसक्ने, १ हजारको नोट लिए पनि ५ सय रुपैयाँको नोट पाएको हो भन्ने जस्ता समस्या आउन सक्नेजस्ता तर्क दिएर आफूहरुलाई दुख दिने गरिएको नेपाल नेत्रहीन संघ केन्द्रीय सदस्य शर्माले उल्लेख गरे । ‘अहिले कतिपय दृष्टिविहीनहरु सूचना प्रविधिमा पोख्त भएकोले इन्टरनेट बैंकिङ सुविधा लिन सक्छन्, खाता नै खोल्न नदिनु ठूलो विभेद हो,’ उनले भने ।

दृष्टिविहीनले प्रयोग गर्नसक्ने आवाज सहितको एटिएम मेसिन भारतका धेरै सहरमा प्रयोग आइसकेकोले नेपालमा पनि त्यस्ता मेसिन भित्रयाउन उनले आग्रह गरे ,समाधानमा खबर छ ।

माछापुच्छ्रे बैंकका कानुनी सल्लाहार टीका भट्टराईले रकम जम्मा र भुक्तानीका बेलामा समस्या आउने भएकाले सुरक्षाका दृष्टिले सामान्यलाई भन्दा बढी सोधपुछ गरिने बताए । उनले भने,‘दृष्टिविहीनको खाता नै खोल्न नमिल्ने हैन, कति पैसा दिएको हो र कति लिएको हो भनेर थाहा पाउन समस्या हुने भएकाले साक्षी भने अनिवार्य गरेका हौं ।’ खातावाला र बैंक दुवैको सुरक्षाका लागि साक्षी खोजिएकाले यो विषयलाई अन्यथा ठान्न नहुने तर्क उनले राखे ।

नेपाल राष्ट्र बैंक पोखराका निर्देशक चिरञ्जीवी चापागाईंले नागरिकका हैसियतबाट दृष्टिविहीनले खाता खोल्न पाउने बताए । उनले भने,‘दृष्टिविहीनले खाता खोल्न नपाउने र साक्षी चाहिने व्यवस्था कहीं कतै छैन, विभेद गरेको पाइएमा कारवाही प्रक्रिया अघि बढाउँछौं ।

LEAVE A REPLY