आप्रवासी कामदारको अधिकार संरक्षणार्थ नेपाल–कतार समझदारी कार्यान्वयन हुने

0
275

पुस ४, २०७३- आप्रवासी कामदारको अधिकार संरक्षणार्थ नेपाल र कतारका राष्ट्रिय मानव अधिकार आयोगबीच एक वर्षअघि भएको समझदारीपत्र (एमओयू) कार्यान्वयन गर्न आइतबार काठमाडौंमा दुवै देशका आयोग प्रमुखले हस्ताक्षर गरेका छन् ।

Advertisements

राष्ट्रिय मानव अधिकार आयोग नेपाल र राष्ट्रिय मानव अधिकार समिति कतारबीच २०१५ नोभेम्बर १६ मा आप्रवासी कामदारको अधिकार संरक्षणका लागि कतारमा १० बुँदे एमओयू भएको थियो । त्यही एमओयूलाई कार्यान्वयनमा ल्याउन आयोगका अध्यक्ष अनुपराज शर्मा र समितिका अध्यक्ष अली बिन समिक अल–मारीले ११ बुँदे कार्यान्वयन योजनामा हस्ताक्षर गरेका हुन् ।

कार्यान्वयन योजनाका बुँदामा प्रभावकारी सूचना आदानप्रदान गर्न दुवै देशले सम्पर्क अधिकृत तोक्ने, नेपाली कामदारका गुनासा समाधानका लागि समितिले कतारमा नि:शुल्क सहयोग गर्ने, कामदारको अधिकारसम्बन्धी शैक्षिक सामग्री वितरण गर्ने, दुवै देशले अनुभव तथा विज्ञता आदानप्रदान गर्नेलगायत छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस (डिसेम्बर १८) को सन्दर्भ पारेर हस्ताक्षर भएको हो ।

योजनामा नेपाली कामदारको व्यावसायिक सुरक्षा तथा स्वास्थ्यसँग सम्बन्धित विषयमा अध्ययन तथा अनुसन्धानका लागि सहयोग गर्ने, वैदेशिक रोजगारमा पठाउने निजी कम्पनीलाई प्रशिक्षित गर्ने, सरोकार निकायका कर्मचारीलाई आप्रवासी कामदारको अधिकारबारे क्षमता अभिवृद्धि गर्ने, प्रवासन चक्र (माइग्रेसन साइकल) का विषयमा अनुगमन गर्ने उल्लेख छ । समझदारीपत्रको समीक्षा ६/६ महिनामा गरी त्यसको अनुभव मानव अधिकार संस्थाको एसिया प्रशान्त मञ्चमा आदानप्रदान गरिने हस्ताक्षरपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

एमओयूपछि कतारले नेपालसहित ४ देशका लागि समुदाय सहायता कक्ष (कम्प्युनिटी हेल्प डेस्क) स्थापना गर्दै सेवा दिइरहेको छ । आयोगले नेपालमा प्रवासन सहायता कक्ष स्थापना गरी गुनासा सुनुवाइ सुरु गरेको छ । केन्द्रीय कार्यालयका अलावा सबै ५ वटा क्षत्रीय कार्यालय, ३ वटा उपक्षेत्रीय कार्यालयमा प्रवासी कामदारको विषय हेर्ने गरी विषयगत अधिकृत तोकेको छ ।

आयोगको निमन्त्रणामा कतारबाट समिति अध्यक्ष अल–मारीको नेतृत्वमा ४ सदस्यीय टोली तीनदिने भ्रमणमा शनिबार नेपाल आएको हो । कूटनीतिक क्षेत्रका अधिकारी, संसद्का समिति, आप्रवासी कामदारको अधिकार क्षेत्रमा कार्यरत प्रतिनिधि लगायतको उपस्थितिमा भएको हस्ताक्षरपछि आयोग अध्यक्ष शर्माले नेपाललाई अझै अघि बढ्न सहयोग मिल्ने बताए । कतारी अध्यक्ष अल–मारीले आप्रवासीको अधिकार रक्षाका लागि विभिन्न निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । कतारमा नेपाली करिब ४ लाख छन् ।

LEAVE A REPLY