आकाशमा उड्दाको मज्जा: सोनी

0
259

sony-3

पाँ च वर्षसम्म सिम्रिक इयरमा इयर होस्टेस भएर काम गरेकाले हुनसक्छ, आकासमा उड्न मलाई पटक्कै डर लाग्दैन । पोखरा घर भएकाले थरीथरीका बाहानबाट आकाशमा उड्ने सुविधा पनि प्राप्त छ मलाई । आकाशमा उड्ने कुनै नयाँ प्रविधी आउनासाथ म त्यसलाई प्रयोग गरिहाल्छु ।

Advertisements

यो पटक बिदामा काठमाडौंबाट पोखरा घर पुगेपछि आकाशमा उड्ने नयाँ प्रविधी प्रयोग गर्ने विचार आयो, प्यारा हाइक । एक वर्षअघि आएको यो प्रविधी किन नयाँ छ भने, यो उड्न प्याराग्लाईडिङमा जस्तो अग्लो ठाउँ पुग्नु पर्दैन । इन्धनले चल्छ, पेट्रोलमा केही मिसाएपछि यो उडाउने इन्धन बन्दो रहेछ ।

बिहान १० बजे पामे पुगे । तीन वटा पांग्रा भएको यो यन्त्र स्कुटर जसरी कुदाउन पनि मिल्ने रहेछ । उड्नुअघि १० मिटर जति गुडेपछि पछाडी रहेको प्यारासुट खुल्ने रहेछ र हजाईजहाज जसरी नै माथि उड्ने रहेछ ।

पछाडी यसको पाइलट बस्छ, अगाडी यात्रु । बस्ने सिट नै हुने रहेछ । उड्ने बेला कौतुहल र उड्दा हवाइजहाजमा आउने जस्तै मज्जा आउने रहेछ, यसमा । जति माथि पुग्यो, पोखराको सुन्दर दृष्यले उत्तिकै आनन्द आयो, खल्तीको ५ हजार रुपैयाँ सकिएपनि । झण्डै ३० मिनेट पोखरा शहर आकाशबाट घुमेपछि पामेमै झरियो । झर्दा पनि हवाईजहाज जसरी नै केही मिटर जमिनमा गुड्दो रहेछ ।

यो प्रविधी निकै सुरक्षित किन लाग्यो भने, आकाशमा ग्लाइडर बिग्रिदा पनि जहाँ सुकै झार्न मिल्ने बाटो, खेत जहाँ पनि।

डेढ वर्षअघि प्याराग्लाईडिङ गरेको थिएँ । यसमा उड्न अग्लो ठाउँमै पुग्नुपर्छ, त्यसैले सराङकोट पुगें । प्यारासुट खुलेपछि पाइलटसँग उकालोबाट ओरालोतिर केही दौडेपछि प्याराग्लाइडिङ बल्ल उड्छ । प्याराग्लाइङिमा सबैभन्दा मज्जा आउने समय नै यही हो । हेम्जामा झर्नुअघि ३० देखि ४० मिनेटसम्म पोखरा शहर र हिमालय श्रृंखला नजिकबाट हेर्न पाइन्छ । फेवाताललाई माथिबाट हेर्न पाउनु यसको अर्काे मज्जा हो । यसका लागि ६ हजार रुपैयाँ तिर्नुपर्छ ।

त्यसअघि जीप फ्लाइङ गरेको थिएँ । यो बाँधेको तारमा बेल्टको भरमा उकालोबाट ओरालो झर्ने खेल हो । सराङकोटबाट हेम्जासम्म यसका लागि पोलहरु गाडेर तार बाँधिएको छ, जसमा झुण्डिएर झर्दा केही खतरा लागेपनि निकै मज्जा आउँछ । २५ सय रुपैयाँ तिरेर १० सेकेण्ड मात्र झर्दा पनि यसमा स्वर्गीय आनन्द अनुभव हुन्छ ।

बेल्ट बाँधेर झर्नुपर्ने गन्तव्यतर्फ हेर्दा ठाडो ओरालो देखेर केही डर लागेपनि झर्न थालेपछि बीचमा देखिने दृष्यहरुले अघिको डर सबै बिर्साइदिन्छ । तल पुगेर आफू आएको ठाउँ हेर्दा अर्कै आनन्द ।

अब मेरो चाहना छ, एडभेन्चरस खेल बन्जी जम्प र स्काई डाइभिङ गर्ने । ‘डरके आगे जीत है’ भन्ने भनाई नै छ ।

LEAVE A REPLY