पहिलो पटक सौराहामा ‘हात्तीपोलो’ खेल आयोजना

0
296

पुस ६, २०७३- पहिलो पटक सौराहामा ‘हात्तीपोलो’ खेल आयोजनाका लागि तयारी पूरा भएको छ । १३ औं हात्ती महोत्सवका अवसर पारेर क्षेत्रीय होटल संघ नेपालले हात्तीपोलो गर्न लागेको हो ।

Advertisements

पुस ११ देखि १५ सम्म हुने महोत्सवका लागि बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा यसको अभ्यास सुरु भएको छ ।

‘पहिलो पटक हात्तीपोलो गर्न लागेका छौं,’ क्षेत्रीय होटल संघ अध्यक्ष सुमन घिमिरेले भने, ‘यो सफल भए यसलाई निरन्तरता दिने छौं ।’ पहिला अन्तर्राष्ट्रिय हात्ती दौडका रूपमा आयोजना गरिन्थ्यो । केही वर्षयता यसलाई परिमार्जित गरेर हात्ती महोत्सव गर्न थालिएको छ । क्रिसमस र अंग्रेजी नयाँ वर्ष लक्षित गर्दै महोत्सव गर्ने गरिन्छ । यस वर्ष भने दर्शकलाई महोत्सवमा नौलोपन दिन पोलो थप गरिएको जनाइएको छ ।

अहिले हात्तीलाई चौरमा लगेर नियमित पोलो खेलको अभ्यास गराइएको छ । पोलोलाई आवश्यक पर्ने बल इंग्ल्यान्डबाट ल्याइएको हो । पोसाक र आवश्यक स्टिक ल्याइसकिएको छ । ‘हात्ती भन्ने बित्तिकै हात्ती सफारी कि पोलोसँग जोडिन्छ,’ हात्तीपोलो खेलका संयोजक एवं पर्यटन व्यवसायी शंकर सैंजुले भने, ‘त्यही भएर सौराहामा पहिलो पटक हात्तीपोलो आयोजना गर्दै छौं ।’

पहिला यस्तो पोलो चितवनमै हुन्थ्यो । सैंजुका अनुसार ०६७ सालबाट खेल बाहिरिन पुग्यो । खेल हेर्न र सहभागिता जनाउन विदेशी टिमको पहिला प्रतिस्पर्धा चल्थ्यो । ‘पहिला टाइगर टप्स होटलले मेघौलीमा पोलो आयोजना गथ्र्योे,’ उनले स्मरण गराए, ‘पछि बर्दिया सर्‍यो, त्यहाँबाट अहिले नवलपरासीको अमलटाँडीमा सारिएको छ ।’

उनले सौराहामा गर्न लागिएको पोलोले खेलमार्फत पर्यटन प्रवद्र्धनको काम हुने आशा राखे । प्रतियोगितामा ४ टिमको सहभागिता रहनेछ । त्यसमा दुई विदेशी टिम छन् । आयोजकका अनुसार ब्लु प्लानेट जर्मनी, नेपाल कल्चर स्पोर्टस एसोसिएसन युएस तथा घरेलु टिममा कुमारी बैंक र शारदा टुर एन्ड ट्राभल्स छन् ।

विजेताले रनिङ सिल्ड जित्नेछ । महोत्सवमा हात्ती क्याट वाक, छावाबीच फुटबल, हात्ती शृंगार, टाँडा र डुंगा दौड प्रतियोगितासमेत गरिने आयोजकले जनाएको छ ।

महोत्सवका मूल संयोजक दीपक भट्टराईका अनुसार हात्ती पेन्टिङ स्पर्धा समेत हुनेछ । सन् २००४ मा अन्तर्राष्ट्रिय हात्ती दौडको रुपमा सुरु यसलाई केही वर्षयता महोत्सवमा आयोजना गर्न थालिएको हो ।

LEAVE A REPLY