ज्ञानेन्द्र गन गन

0
301

gyanendra-shah-585b2cf8cc4322-81070265

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले क्रान्ति र अग्रगमनका नाममा मुलुकको एकता टुक्र्याउने प्रयास भइरहेको र त्यसलाई पराजित गर्न सबैको ऐतिहासिक दायित्व बनेको बताएका छन् ।

Advertisements

‘नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको छ । आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदैछ भने तराई, पहाड र हिमालमाझको ऐक्यभाव तोड्ने भगीरथ प्रयत्न भइरहेको छ,’ बुधबार एउटा वक्तव्य जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी आदि शब्दभावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य अशोभनीयमात्र नभई असह्य पनि बनेको छ ।’

‘सबै नेपालीले राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन मुखर र प्रखर रूपले जाग्न र लाग्न’ समेत पूर्वराजा शाहले आग्रह गरेका छन् ।

‘राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यको सन्देश फैलाउनुछ भन्ने हामी मरे पनि नेपाल बाँचिरहून् भन्ने संकल्पबाटै नेपाल र नेपालीको अजय शक्तिको रक्षा गरौं । समय भड्किसकेपछिको पश्चात्तापको अर्थ रहँदैन’, उनले वक्तव्यमा भनेका छन् ।

कुनै राजनीतिक दल र शक्तिको नाम नलिई उनले निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरू बलियो हुन नसक्ने बताए ।

‘इतिहास कलंकित गर्दै निश्चित निहित स्वार्थ पूरा गर्न गरेकै कार्यहरू प्रशंसित हुन सकेनन् । माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लाञ्छित गरेर आधुनिकताको दुहाइ दिएर कथित अग्रगमनको यात्राले कदापि गति लिन सक्दैन’, उनले भनेका छन् ।

नेपालको स्थायी सत्ता भनेकै नेपाल र नेपाली रहेको उल्लेख गर्दै पूर्वराजा ज्ञानेन्द्रले थपेका छन्, ‘यसलाई सबल पार्ने भाषा, धर्म, संस्कृति इतिहास एवं त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग हो । त्यो नै सार्वभौमसत्ताको मूल आधार पनि हो ।’

पूर्वराजा शाहले नेपाली जनजीवनको मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्णुता, सहअस्तित्व र पद्धतिसँग जोडिएको यावत् विषय नै लौकिक सत्ता रहेको उल्लेख गरेका छन् । ‘दुर्भाग्यवस आजको सन्दर्भमा बाह्य शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरू हाबी गराइएको छ भने स्थायी सत्ता र लौकिक सत्ता क्रमशः धूमील भएको छ’, पूर्वराजा शाहले अप्रत्यक्ष रूपमा राजसंस्थाको वकालत गर्दै भने, ‘नेपाली मनमतिष्कमा देशभक्तिको भाव ढलेको छैन ।’

‘नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको छ । आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदैछ भने तराई, पहाड र हिमालमाझको ऐक्यभाव तोड्ने भगीरथ प्रयत्न भइरहेको छ’

LEAVE A REPLY