बढुवाका लागि दुई हजार सरकारी हाकिम बिदामा !

0
244

७ पुस, काठमाण्डौ   । जनताले तिरेको करबाट तलव खाने सरकारी कर्मचारीहरु लोक सेवा आयोगले लिने बढुवाको परीक्षाका लागि लामो समयदेखि बिदामा बसिरहेका छन् । सहसचिव र उपसचिवका लागि खुलेको बढुवाका लागि अहिले करिव दुई हजार सरकारी हाकिम बिदामा बसिरहेको र बिदा नलिएका कतिपय अधिकृतस्तरका कर्मचारी पनि हाजिर गरेर कार्यालयबाट घर फर्किने गरेको  बिहीबार प्रकाशित नयाँ पत्रिका दैनिकले खवर छापेको छ ।

Advertisements

लोकसेवा आयोगले अहिले विभिन्न सेवा समूहको सहसचिव पदको परीक्षा लिँदै छ । गत १९ मंसिरदेखि सुरु परीक्षामा सहभागी हुन जिल्लादेखि केन्द्रसम्म कार्यरत उपसचिव र अधिकृतस्तरका करिब दुई हजार निजामती कर्मचारी परिक्षाको तयारीमा छन् । उनीहरू बिदा बस्न थालेपछि मन्त्रालय, विभाग तथा विभिन्न निकायको कामकाज प्रभावित हुन थालेको छ ।

सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार लोकसेवाको परीक्षा दिन भन्दै निजामती कर्मचारी हरेक वर्ष ६ महिनाभन्दा बढी समय कार्यालयमा मन लगाएर काम गर्दैनन् । परीक्षा आउनुभन्दा ६ महिनाअघिदेखि नै उनीहरू कार्यालयमा एक–दुई घन्टा काम गरेर विभिन्न ट्युसन र कोचिङ सेन्टर जाने गरेको मन्त्रालयका कर्मचारीहरू नै बताउँछन् । ‘सहसचिवको परीक्षा सञ्चालन भएको र उपसचिवको छिटै सुरु हुन लागेकाले दुई हजारभन्दा बढी कर्मचारी कुनै न कुनै रूपमा बिदामा बसेका छन्,’ मन्त्रालयका एक अधिकारीले भने ।

कर्मचारी लोकसेवाले लिने विभिन्न परीक्षाको तयारीका लागि ६ महिनाअघिदेखि कार्यालय आउने र बाहिरिने गरे पनि त्यसको अनुगमन हुन सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले कहिलेकाहीँ कर्मचारीहरू समयमा आए–नआएकोबारे आकस्मिक छड्के निरीक्षण गर्दै आएको छ । तर, केन्द्रले कर्मचारीले कार्यालयमा कति समय दिन्छन् भन्ने सम्बन्धमा कुनै अनुगमन गर्न सकेको छैन ।

LEAVE A REPLY