राजधानीमा हुने भयो विपक्षी गठबन्धनको बृहद् प्रदर्शन

0
291

व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकविरुद्ध विपक्षी गठबन्धनले राजधानीमा प्रदर्शन गर्ने भएका छन् । सदन र सडक आन्दोलन गरिरहेका प्रमुख प्रतिपक्षी एमालेसहितका दलले २२ पुसमा राजधानीमा प्रदर्शन गर्न लागेका हुन् । विपक्षी नौ दलको बिहीबार बसेको बैठकले २२ मंसिरमा काठमाडौंमा विरोधी ¥यालीसहित आमसभा गर्ने निर्णय गरेको छ । त्यस्तै, विरोध सभामा व्यापक जनसहभागिता जुटाउन एमालेले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

Advertisements

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अध्यक्षतामा बसेको नौ दलको संयुक्त बैठकले २२ पुसमा काठमाडौंमा विरोधी ¥यालीसहित आमसभा गर्ने निर्णय भएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । उनले संविधान संशोधन विधेयक फिर्ता वा स्थगन गरेर निर्वाचनको वातावरण बनाउने काम नगर्दा सम्म आन्दोलन सशक्त एवं प्रभावकारी रूपमा अगाडि बढाउँदै जाने बताए ।१७ पुसमा गर्ने भनिएको कार्यक्रम अंग्रेजी नयाँ वर्ष परेकाले सारिएको हो ।

प्रदर्शनमा सहभागी हुन निर्देशन संविधान संशोधनका विरोधमा २२ पुसमा काठमाडौंमा आयोजना गरिने विरोध ¥याली एवं आमसभाका लागि एमालेले तयारी सुरु गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तयारी तथा समन्वयन समिति गठन गरेको छ ।

महासचिव पोखरेल नेतृत्वको तयारी तथा समन्वय समितिको बिहीबार बसेको बैठकले राजधानीभित्रका पार्टी कमिटी, जनसंगठन र सम्पर्क मञ्चहरूलाई विरोध ¥याली तथा आमसभामा सहभागी हुन एवं कार्ययोजना दुई दिनभित्र केन्द्रीय सचिवालयमा पेस गर्न निर्देशन दिएको छ ।

राजधानीमा रहेका पार्टी कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई अनिवार्य रूपमा प्रदर्शनमा भाग लिन लगाउने गरी कार्ययोजना बनाउने बैठकले निर्णय गरेको एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

महासचिव पोखरेल नेतृत्वमा गठन भएको तयारी तथा समन्वय समितिको सदस्यमा केन्द्रीय सचिवालयका सदस्यहरू उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, भीमप्रसाद आचार्य, गोकर्णराज विष्ट र योगेश भट्टराई, आर्थिक विभाग प्रमुख विष्णु रिमाल र केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका साथै संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक भानुभक्त ढकाल, तीन नम्बर प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य र सहसंयोजक काशीनाथ अधिकारी, सम्पर्क समन्वय कमिटीका संयोजक छविलाल विश्वकर्मा र सहसंयोजक विजय गुरुङ रहेका छन् ।

यस्तै, बिहीबारै एमाले सचिव एवं मोर्चा संगठनका प्रमुख गोकर्ण विष्टको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमलाई सफल बनाउने निर्णय गर्दै  आ–आफ्नो क्षेत्रबाट सक्रियताका साथ लाग्न निर्देशन दिएको छ ।

विपक्षीलाई पासवानको साथ

संशोधनको विरोधमा आन्दोलन गरिरहेका दलहरूमा विश्वेन्द्र पासवान नेतृत्वको दलित जनजाति पार्टी पनि सामेल भएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल एमालेको अगुवाइमा नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, परिवार दल, जनमुक्ति पार्टी, नेपा पार्टी, मधेस समता पार्टीले आन्दोलन गर्दै आएका छन् ।

योसँगै संशोधन विधेयकको विपक्षमा रहेका दलको संख्या नौ पुगेको छ । आउँदो आइतबार नौ दलका अध्यक्षहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने बताइएको छ । असंवैधानिक रूपमा राष्ट्र र जनताको हितविपरीत आएको संशोधन फिर्ता गरी संविधानअनुसार तीनै तहको निर्वाचन गर्नुपर्ने माग आन्दोलनरत दलले गर्दै आएका छन् ।

तराई र पहाड टुक्र्याउने गरी सरकारले गत १४ मंसिरमा संसद् सचिवालयमा दर्ता गराएको संशोधन विधेयकविरुद्ध प्रदेश–५ का जनताले चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् ।

LEAVE A REPLY