अथाह पर्यटनको सम्भावना- गुल्मी-बम्घा-पिप्लेखर्क,राज्यले एकपटक यतापनि हेर्ने कि?

0
318

शब्द, तस्विर -बिजय ज्ञवाली।

 

गुल्मी जिल्ला बम्घा गा.वि.स. वार्ड नं. ३ निर्वाचन क्षेत्र नं.२ जसको पुच्छारमा छ बगाउने भन्ने स्थान। र, गुल्मी जिल्लाको निर्वाचन क्षेत्र नं. १ र २ को सिमाना छुट्ट्याउने यौटा मात्र साध्य छ बडिघाट खोला।

 मेरो घर बम्घा गा.वि.स. वार्ड नं. ३ स्थित पिप्लेखर्कमा पर्दछ र यसको फेंदमा छम्दी र बगाउने भन्ने स्थान पर्दछन भने यसक्षेत्रको ठूलो ईकाईको रुपमा बढिघाट नदिलाई लिईने गरिन्छ। गुल्मी जिल्ला बम्घा गा.वि.स. वार्ड नं.१ अन्तर्गत बढिघाट नदिको एक स्थानलाई बगाउने पनि भन्ने गरिन्छ। हाल यस क्षेत्रमा पक्की पुल बन्ने लगभग पक्का भैसकेको छ। यदि यस क्षेत्रमा पक्की पुल बन्योभने क्षेत्र नं. १ र २ का वासिन्दाहरु धेरै लाभान्वित हुनेछन भने यसक्षेत्रको व्यापार ब्यवसायलगायत पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्नेछ। लामोसमयसम्म पिछडिएको यस क्षेत्रमा बलेटक्सार, रानीवास, धोविघाट, काउले,निमुवाखर्क, माझगाऊँ, बगाउने हुँदै खैरेनी बजारसम्म कच्चि मोटरबाटो बनेपछी यसक्षेत्रको जिवनशैली नै परिवर्तन भएको छ भने यी क्षेत्रहरुमा दूरसंचार,एफ.एम. रेडियोका साथै बिद्युत प्रसारणपछि भएको कायापलटले गर्दा बिस्तारै बिस्तारै यौटा सुगम स्थानको परिचय बनाउंदै आएका छन। यस कच्चि मोटरवाटोले गर्दा गुल्मी क्षेत्र नं. १ का जनतालाई तम्घास, पाल्पा र बुटवलसम्मको यात्रा धेरै नै सहज बनेको छ भने कृषिजन्य बस्तुहरुको उत्पादन तथा बिक्रीवितरणमा व्यापक वृद्धि हुँदै आएको छ।


  1. विकाशको द्रूतर गतिको रत्ति पनि आभाष पनि गर्न नपाएको यसभेगले हालसालैका दिनहरुमा भने आफ्नो परिचयलाई नमूनाको रुपमा स्थापित गरेको छ। दैनिक दुई/दूईवटा जीपहरु संचालनमा आएको यसक्षेत्रमा अझैपनि शिक्षा र स्वास्थ्यसम्बन्धी पूर्वाधारहरुवाट भने अझै विमूख हुनुपरेको छ। ग्रामीण तहमा दूईवटा प्राथमिक विधालय भएतापनि उच्च शिक्षा अध्ययनको लागि भने अझैपनि दुई दुई घण्टाको पैदल हिंड्नुपर्ने बाध्यता रहिआएको छ भने स्वास्थ्यको लागि पनि उत्तिकै समस्या रहिआएको छ। प्रतिब्याक्ति आय औसत रहेको यसभेगका जनताको शिक्षामा भने उल्लेखनिय प्रगती रहेको छ। सामाजिक एवं जातिय विविधता भएको यसक्षेत्रका मानिसहरु भने अति मिलनसार एवं सहहृदयी रहिआएका छन। सांस्कृतिक उत्सवदेखी मृत्युको दुखद क्षणसम्म यसक्षेत्रका नागरिकहरु संगै संगै सहकार्य गर्दै आईरहेका छन भने विकाशनिर्माणको सवालमा होस्टेमा हैसे गर्दै आईरहेका छन। विगत केहिसमय अंघिसम्म राज्यको उपेक्षामा पर्दै आएको यस क्षेत्रले पाएको यौटा असल नेतृत्वले गर्दा नै आज यसक्षेत्रले मुहार फेर्न पाएको हो।

खासगरी ब्राह्मण, क्षेत्री, नेवार र मगर जातीहरुको बाहुल्य रहेको यसक्षेत्रको अलिक तलतिरको भेगमा माझी जातीहरुको बस्ती रहिआएको छ भने बौंघातिर कामी र सार्की जातीहरुको बसोबास रहिआएको छ। अशिक्षित र गरिव समुदाय भनेर चिनिने माझी समुदायहरु विगत केही समयअंघिसम्म माछा मार्ने, भरियाको काम गर्दै जिविकोपार्जन गर्दै आएकोमा भने आजकल ती समुदायका ब्याक्तिहरु शिक्षित हुँदै गैरहेका छन भने बिदेश जानेदेखी लिएर व्यापार ब्यवसायमा पनि आवद्ध हुनथालेका छन। त्यस्तै गरेर बौंघा भेगतिरका कामी, सार्की समुदायका नागरिकहरु पनि बिस्तारै बिस्तारै व्यापारब्यवसायदेखी लिएर देश-बिदेशको यात्रासंगै तिनिहरुको जिवनयापन पनि सहज एवं उच्चस्तरको हुँदै आएको छ।

छुवाछुत र जातिय विभेदको संकिर्ण घेरावाट माथी उठ्दै यसक्षेत्रका जनता आजकल भने यौटा सामाजिक सद्भावको अनुपम उदाहरण पेश गरिराखेका छन। यस भेगमा ब्राह्मण र दलितबिच आजकल त्यस्तो विभेद छैन जुन आजभन्दा केहिबर्ष पहिलासम्म हुनेगर्दथ्यो। ब्राह्मण समुदायका मान्छे पनि दलितको गएर खाना खाने र दलित मित्रहरुलाई पनि ब्राह्मण समुदायका मित्रहरुले घरमै बोलाउने खाना संगै खाने र दिनभरको कुटोकोदालो संगैं गर्ने गरेका अनुपम उदाहरण यसक्षेत्रमा भेटिन्छन। शैक्षिक स्तरोन्नति, सामाजिक संजाल, संचारमाध्यम र सामाजिक जागरुकताले गर्दा आज यसभेगका जनतामा आश्चर्यजनक तरिकावाट सामाजिक परिवर्तन भएको पाईन्छ। हिंजोका दिनहरुमा ब्राह्मण समुदायबिचमा पनि मनमुटाव हुनेगर्दथ्यो। उपल्ला भाते ब्राह्मण र तल्ला भाते ब्राह्मण अर्थात `जैंसी´ ब्राह्मणविच पनि मनमुटाव कायम रहन्थ्यो। श्राद्धलगायतका सामाजिक एवं सांस्कृतिक कामकार्यहरुमा पनि यी दुई ब्राह्मणविच पनि विभेद रहन्थ्यो भने अन्य जातीहरुसंगको व्यवहार कस्तो हुन्थ्योहोला, आफै अनुमान गर्नुहोस।

म स्वयं पंक्तिकार (गुल्मी जिल्ला बम्घा गा.बि.स. वार्ड नं.३ टोल काऊले स्थान पिप्लेखर्क मेरो स्वर्णभूमी) पनि यौटा ब्राह्मण हुँ, तर जैंसी ब्राह्मण । हुन त हाम्रा जिजुबुढोबाहरु उपाध्याय नै हुनुहुन्थ्यो । तर मेरो जिजुबुढोबुवाले दोस्रो बिबाह अर्थात हाम्रोतिरको ठेंट भाषामा भन्दा `ल्याईता´ (अर्थात भगाएर ल्याएकी) तिरको सन्तान हुनाले हामी जैंसी ब्राह्मण भैएछ र पहिलो कार्यक्रम पूरा गरेर ल्याएकी जेठी श्रीमती तिरका सन्तान `ब्याईता´ अर्थात बिहे गरेर ल्याएकी आधिकारिक। यसरी वंशको गुण छुट्ट्याइंदोरहेछ। कालान्तरमा यी दुवै गुणमा पनि ठूलो र सानो कर्णको युद्ध चल्दा हामिले हार्यौं र श्राद्धलगायतका शुद्धतामा जैंसीले छोएको भान्छा चलेनछ।

जातियताको भेदभाव उल्लेख गर्न यो मैले सानो उदाहरण मात्र पेश गरेको हुँ। यसमा कोहि कसैले चित्त दुखाउनुहुन्न भन्नेमा म ढुक्क छु। आजको विश्वपरिवेशमा यो उदाहरण यौटा दन्त्यकथामा मात्र सिमित हुनजानेछ। (किनकी मेरो यौटा सानो छोरा जो भर्खर ४ बर्षमा प्रवेश गरेको छ र शहरमा हुर्कियो, गाऊँ कस्तो हुन्छ उसलाई केही थाहा छैन) र, उनीहरुलाई यी कुराहरु अपत्यारिलो लाग्न सक्छन। अलिक बुझ्ने होलान आजका नावालक र केही अध्ययन गर्लान तर आजका शहरमुखी पुस्तालाई पुरानो संस्कार र कुरीतिसंग खासै चासो भएको देखिन्न।

Advertisements

ब्राह्मण-ब्राह्मण बिचमा त यतिविधि विभेद हुन्छ भने अन्य जनजातीहरुबिचमा कत्तिको विभेद हुंदोहो, अब सहजै अनुमान लगाउन सकिन्छ। तर यो पराकाष्ठा तोडेर भएपनि यसभेगका नागरिकले यस समयमा आफ्नो कौशलतालाई राष्ट्रसामु प्रस्तुत गरेका छन। अब यसक्षेत्रमा जातियता विभेद भन्नेकुरा बिस्तारै हराउंदै गएको छ र यौटा सामाजिक सद्भावको अनुपम उदाहरण राष्ट्रसामु पेश हुंदैछ।

बम्घा गा.वि.स. काऊलेस्थित केही यस्ता ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकिय स्थलहरु पनि समाविष्ट छन जसको महत्व र ऐतिहासिकताको बारेमा जानेर हर कोहि पनि खुशीले गदगद हुनेछन। बम्घा गा.वि.स. टापुमा स्थित बम्घा कोतको ऐतिहासिक धरोहरको बारेमा यसपछिको अर्को आलेखमा उल्लेख गरौंला, तर त्यहाँको पर्यटकिय स्थलको बारेमा वर्णन नगरी सुखै छैन। उक्त टापुमा पुगीसकेपछी एकपटक स्वर्गको अनुपम आनन्द प्राप्त गर्न सकिन्छ। गुल्मीकै पहिलो अग्लो डाँडाका रुपमा परिचित उक्त डाँडाको टापुमा पुगिसकेपछि सवैभन्दा पहिला आनन्द लिन पाईन्छ स्याङ्जास्थित नागबेलीझैं बेरिएको कालीगण्डकीको मोहक दृश्य भने मौसम सफा भएको खण्डमा दक्षिणतिरको सुनौली बजार पनि स्पष्ट देख्न सकिन्छ। उत्तरका हिमचुचुराको चुलबुलसंगै पूर्वको पहिलो लाली यहिंवाट अवलोकन गर्न सकिन्छ।

त्यहिं चुचुरोको सोझै तल अर्थात करिव पौने घण्टाको ओरालोपछि आईपुगिन्छ गोड्खाला भन्ने स्थान। यो स्थान बडिघाट खोलादेखी करिब ४०० मिटरको उंचाईमा पर्दछ। यसभेगको सिरसिर हावा, बढिघाट नदिको सर्पहिंडाई, खैरेनी बजारको मनमोहकता, लुम्पेकको लेक, मृगसावकहरु मूख्य आकर्षक हुन भने कलिला स्कूले बालबालिकाको आतेजाते, घाँस काट्दाका घंसियालाहरुको सुसेली अर्को मनमोहकता हो। दिनभरजसो यतै भूलिरहुँ जस्तै लाग्ने यस ठाऊँमा साँझ परेपछि भने सिरसिर हावासंगै भुटेका मकै र मोहि र नुनखुर्सानीको खुवै याद आउनेगर्दछ।

गोडखालावाट अलिकति पश्चिमतर्फ लागिसकेपछि यस पंक्तिकारको सुवर्णभूमी (पिप्लेखर्क) आईपुग्दछ। यो ठाऊँ विशेष गरेर मकै, कोदो, धान, तोरी र गहुँको लागि प्रख्यात छ। काऊलेखोलाको झरना यहाँबाट स्पष्ट देख्न सकिन्छ। बाँदर लाग्ने ठाँऊँको रुपमा पनि परिचित यस ठाऊँमा आईसकेपछी बाँदरको अलावा ढेंडु, घोरल, कालिज, मृग, हरिण, स्याल, बाघ, चितुवालगायतका जिवजन्तुहरुको अवलोकन पनि गर्न पाईन्छ। पारीपट्टी काऊले खोलाको झरझर झरनाक फोहरा एवं घना जंगल र पशुपंक्षीको व्यापक उपस्थितिले पनि यस क्षेत्रको शोभा अझै बढाएको छ।

तसर्थ, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिय अनुपमाले सु-सज्जित यस भेगको अवलोकनको लागि एकपटक यहाँहरु सवैमा सादर अनुरोध छ। सामाजिक सद्भावदेखी लिएर आपसी समन्वय एवं सांस्कृतिक एकता अनि प्राकृतिक मनोरमाको आनन्द उठाउन एकपटक यहाँहरु अवश्य पाल्नुहोला। विकासे बामे सर्दै गरेको यस क्षेत्रलाई अझ थप मजवुत बनाउन यहाँहरुको भ्रमण अझै महत्त्वपूर्ण हुनेछ।

LEAVE A REPLY