सुशिल ज्ञावली :‘१७ हजार १ सय ४४ घरको पुनर्निर्माण कार्य जारी छ

0
263

पुस १०, २०७३- सरकारी राहत र अनुदानको मुख नहेरी भूकम्प गएको करिब १८ महिनामा ४१ हजार ३ सय ११ घरको पुनर्निर्माण भएको छ । पुनर्निर्माण प्राधिकरण गठन भएको एक वर्षमा आयोजित पत्रकार सम्मेलनमा जनाइए अनुसार भूकम्प प्रभावित १४ जिल्लामा उनीहरुले घर पुनर्निर्माण गरेका हुन् । ‘पुनर्निर्माण भइसकेको घर भूकम्प प्रतिरोधी भए एकमुष्ट रकम दिने तयारी गरिरहेका छौ,’ आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञावलीले भने, ‘१७ हजार १ सय ४४ घरको पुनर्निर्माण कार्य जारी छ ।’

Advertisements

एक वर्षको अवधिमा एक चरणको उपलब्धी हासिल गर्दै प्राधिकरण पुनर्निर्माण र पुनस्र्थापनाका कार्यक्रमहरुलाई योजनावद्ध र व्यवस्थित रुपमा अघि बढाउन सफल भएको उनले बताए । ‘भूकम्पको मारमा परेका, भूकम्प अति प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधनी घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम प्राप्त गर्न सूचीकृत भइसकेका छन्,’ उनले भने, ‘जसमा पुस ८ गतेसम्म ५ लाख ४३ हजार १ सय ७ घरधनीले अनुदान सम्झौता गरेका छन् भने ४ लाख ५८ हजार ५ सय ९२ घरधनीले अनुदान रकम प्राप्त गरी घर पुनर्निर्माण गर्ने वातावरण तयार भएको छ ।’ भूकम्पले कम प्रभावित १७ जिल्लामा सर्वेक्षणको काम अघि बढाइएको उनले बताए ।
‘घरधुरी सर्वेक्षण, अनुदान सम्झौता र वितरणका क्रममा २ लाख ४ हजार १ सय ७७ वटा गुनासा स्थानीय तहमा दर्ता भएका छन् । जसमध्ये प्राधिकरणको केन्द्रमा १ लाख ७ हजार गुनासा प्राप्त भएका छन्,’ उनले भने, ‘कतिपय गुनासाहरु स्थानीय तहबाटै सम्बोधन भएका छन् । केन्द्रमा प्राप्त मध्ये पनि ७९ हजार ३ सय २२ वटा गुनासाहरुको पुनरावलोकन भएको छ, जुन नयाँ अनुदान कार्यविधि पारित हुनासाथ प्रकाशन गरिने छ ।’पुरातात्विक सम्पदाहरु मध्ये १५ वटा सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न भएको उनले जनाए । ‘६९ वटा सम्पदाको पुनर्निर्माण कार्य जारी छ । चालू आर्थिक वर्ष २०७३/०७४ भित्रै थप ७४ वटा सम्पदाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने, ‘यस्तै २ सय वटा स्वास्थ्य केन्द्रको प्रिफेब्रिकेटेड संरचनामा पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १ सय ६९ वटा स्वास्थ्य केन्दको पुनर्निर्माण कार्य जारी छ ।’ चालू आर्थिक वर्षभित्रै २६८ वटा स्वास्थ्य केन्द्र तथा संस्थाको पुनर्निर्माण कार्य सम्पन्न गर्ने प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY