नेफ्टाको नवौं संस्करण पनि विवादमुक्त

0
239

अघिल्ला संस्करण झैं नेफ्टाको नवौं संस्करण पनि विवादमुक्त हुन सकेन । सामान्य विवाद अवार्डमा स्वीकारिएको सत्य हो तर दुबईमा बाँडिएका धेरै विधाका अवार्डमा जुरीको खेलाँची प्रष्ट देखिन्छ । फलत ः अवार्ड पाउने व्यक्तिले नै अवार्ड बहिष्कार गर्नुले निर्णयमा कतिसम्म मनपरी भयो भन्ने अनुमान लगाउन सकिन्छ ।

Advertisements

उत्कृष्ट फिल्म छानिएको ‘पशुपतिप्रसाद’ का निर्देशक दीपेन्द्र के खनाल अवार्ड कार्यक्रममा उपस्थित हुँदा हुँदै पनि अवार्ड लिन गएनन् । कारण थियो उत्कृष्ट फिल्म बनाउने निर्देशकलाई भने निर्देशकको अवार्ड नदिनू । जुरीले ‘पशुपतिप्रसाद’लाई उत्कृष्ट फिल्मको अवार्ड  त दिए तर उत्कृष्ट निर्देशकको अवार्ड भने ‘वडा नं ६’ का निर्देशक उज्जल घिमिरेलाई ।
फिल्म चैं उत्कृष्ट हुने तर निर्देशक चैं अनुत्कृष्ट संसारका निस्पक्ष अवार्डमा विरलै हुन्छ । तर यो पटकका नेफ्टा जुरीले  संसारमै नभएको जात्रा दुबई अवार्डमा देखाइदिए ।उत्कृष्ट फिल्मले कम्तीमा प्राविधिक, पटकथा र अभिनय आदि तर्फ तीन या चार विधामा अवार्ड जित्नु पर्ने मान्यता रहँदै आएको छ । नेफ्टाकै विगत हेर्ने हो भनेपनि अपवादबाहेक यसको पालना हुँदै आएको छ । तर यो पालीका जुरी तथा आयोजकले यस्ता मान्यताको धज्जी उडाउन कुनै कसर बाँकी राखेका छैनन् । मनोनयन सार्वजनिक हुँदा नै  जुरीले अनौठा मनोनयन राखेर धेरैलाई आश्चर्यचकित तुल्याएका थिए ।
सम्पादनमा ‘क्लासिक’बाट दाबेदार मानिएका सुरेन्द्र पौडेललाई सो फिल्मबाट मनोनयनमा नपारेर ‘प्रेमगीत’बाट मनोनयनमा पारिएको थियो भने छायांकनतर्फ वर्षभरी आयोजना भएका हरेक अवार्ड जित्दै आएको ‘ड्रिम्स’को छायांकन मनोनयनमा नै अटाएको थिएन । त्यस्तै मुख्य विधामा मनोनयनमा नपरेको ‘प्रेमगीत’ र ‘क्लासिक’लाई पनि उत्कृष्ट फिल्मका ५ भित्र पारिएको थियो । शुक्रबार बाँडिएको अवार्डमा पनि जुरीले सोही धर्मलाई निरन्तरता दिए ।पटकथाकै कारण बक्स अफिसमा मार खाएको सुवर्ण थापा लिखित ‘फन्को’ले उत्कृष्ट पटकथाको अवार्ड पायो भने ‘कबड्डी’ को सिक्वेल रहेको ‘कबड्डी कबड्डी’को कथा उत्कृष्ट ठहरियो ।  कसैको नजरमा नपरेको सामाजिक कथालाई पर्दामा उतार्ने हिम्मत गरेको दीपेन्द्र के खनालको ‘पशुपतिप्रसाद’को कथाभन्दा  ‘कबड्डी कबड्डी’को कथालाई जुरीको कुन विवेकले उत्कृष्ट ठह¥यायो, यसको उत्तर सायदै जुरीसँग होला । बरु ‘कबड्डी कबड्डी’ को संवाद ‘पशुपतिप्रसाद’ का भन्दा उत्कृष्ट थिए । तर जुरीले ठ्याक्कै उल्टयाइ दिए  ।

अवार्डमा मनपरी गर्ने नेफ्टा पहिलो भने होइन । तर निरन्तरताका कारण अरु अवार्डभन्दा यसलाई फिल्मकर्मीले भाउ दिने गरेका छन् । तर प्रश्न उठ्छ साँच्चिकै राम्रो काम गरेकालाई अवार्ड नदिने अनि आयोजकको चाकडी गर्ने र जुरीका ‘हाम्रा’लाई मात्र अवार्ड दिँदा यो अवार्ड कतिन्जेल टिकिरहला ? अवार्डको निर्णयप्रतिको विरोधलाई हरेक अवार्ड आयोजकले कुनै न कुनै बहानामा पन्छाउने गरेका छन् । तर यसअघिका अवार्ड आयोजकले निर्णयप्रतिको टिप्पणीलाई गम्भीरतापूर्वक नलिँदा नै आजभोलि हुने अवार्डमा  साँझ छिप्पिएसँगै खाली हलमा कार्यक्रम गरिरहनु परेको बाध्यता छ । त्यसैले अवार्ड आयोजकले आजको मात्र होइन भोलिको पनि सोचेर अवार्ड गर्नु समग्र फिल्म क्षेत्रको हितमा हुनेछ । अनि कुनै पनि अवार्डको गरिमा त्यतिबेला रहन्छ जब पाउनेका लागि पनि त्यो दुर्लभ भएको अनुभव होस् । प्रभावमा पाएको अवार्डले कोठा त सजिएला तर त्यसले सच्चा सर्जकको आत्मसम्मान सजिन्न ।

LEAVE A REPLY