जन्मोत्सव र दीप प्रज्वलन

0
373

Advertisements

Posted by Durga Prasad Pokhrel on Wednesday, October 12, 2016

दुर्गाप्रसाद पोख्रेल
पूर्वीय समाजमा जन्मदिनको अवसरमा आयुष्य र आरोग्यका निम्ति हनुमान् एवं षष्टिका देवीका साथ अष्टचिरञ्जीविको पूजा आराधना गर्ने परम्परा छ।
पश्चिमतिर भने जन्मोत्सव मुख्यतः गोलो आकारको केक काटेर मनाउने चलन छ। पश्चिमाहरूले ग्रीसेली चन्द्रमाकी देवी आर्टेमिस प्रसन्न हुँदा जीवनमा सौन्दर्य, ऐश्वर्य र भाग्यको अभिवृद्धि हुने कुरा बताउँछन्। प्राचीन समयमा आर्टेमिस देवीको आराधना गर्दा गोलो आकारको चन्द्रमा र बीचमा ज्योतिको रूपमा मैनबत्तीको स्थापना गर्ने प्रचलन शुरु भयो। आज पनि जन्मदिनको शुभकामनाका साथ मैनबत्ती बाल्ने अनि बलेको मैनबत्ती निभाउने र चन्द्रमाको प्रतीक केक काटेर आफ्ना साथीभाइ हितैषीहरूमाझ प्रेमपूर्वक बाँडेर खाने चलन देखिन्छ। बत्ती निभाएर गरिएको मनोकामना पूरा हुन्छ भन्ने किम्बदन्ती कतिपयले राखेको पाइन्छ, जुन उति सबल र तर्कपूर्ण छैन।
नेपाली समुदाय पनि अब पश्चिमेली शैलीको जन्मोत्सव मनाउनमा सौखिन भैरहेको छ। आजको विश्वव्यापिकरणमा त्यो स्वाभाविक पनि हो किनकि आधुनिक समयमा कोही पनि व्यक्ति बाह्य संस्कृति र चाडबाडबाट अछुतो रहन सक्दैन। तर पनि राम्रा–नराम्रा पक्षको राम्ररी मूल्याङ्कन गरेर राम्रा अनुकरणीय कुराहरू मात्र लिने बानी गर्नु उचित देखिन्छ। पश्चिमतिरको जन्मदिनमा केक बाँडेर खानु र मैनबत्ती बालेर जन्मदिन मनाउने तरिका पनि नराम्रो हैन, तर बलिरहेको बत्ती निभाउनु भने राम्रो होइन। बत्ती बलिरहोस् निरन्तर हार्दिकताको आलम्वन बनेर। ज्योति चम्किरहोस् चेतनाको संदीपक बनेर।
पूर्वीय धर्म संस्कृतिमा दीपको विशेष महत्व रहेको पाइन्छ। धार्मिक रूपले हेर्दा दीप कर्मको साक्षीरूप मानिन्छ। जबसम्म पूजाकर्म सकिँदैन, तबसम्म निरन्तर दीप प्रज्वलन भैरहनुपर्ने शास्त्रीय मान्यता रहेको छ। हामीकहाँ खालि श्राद्धको दियो श्राद्ध कर्मको समाप्तिसँगै निभाउने चलन छ। जन्मोत्सव, ब्रतवन्ध, विवाह लगायतका शुभकर्म र अन्य देवपूजा आदिमा दियो दिन–रात बालिरहनुपर्ने मान्यता रहेको छ।
बत्ती चेतनाको प्रतीक हो। चिरन्तन जीवन ज्योतिको प्रतीक, त्यो बलिरहनुपर्दछ। जन्मदिन हर्ष र उत्सवको समय हो। उत्सवको घडीमा बलेको बत्ती शुभदायक हुन्छ, श्राद्धको जस्तैगरी जन्मदिनमा समेत बत्ती निभाउनु किमार्थ उचित र सुन्दर लाग्दैन। उसो त उत्सवका बेला बलेको बत्ती निभ्नुलाई अपशकुनको रुपमा हेरिन्छ। अझ त्यसैमाथि आफैँले निभाउँदा त्यसले पक्कै पनि ओजस्वितामा हानि पुग्दछ।
शुभ जन्मदिनले उत्सव मनाउनेको जीवन ज्योतिर्मय, आरोग्यमय, आल्हादमय बनाउनु पर्दछ। निरन्तर बलेको बत्तीले आध्यात्मिक शक्तिको समेत जागरण गराउँदछ। मनमा शान्ति, मुहारमा कान्ति, स्वभावमा शान्ति प्रदान गर्दछ। वेदीमा बलिरहेको बत्ती झ्याप्प निभाएर कुनै कर्म शुभ बन्नै सक्दैन। हाम्रा सबै शुभकर्महरू दीपप्रज्वलनबाट शुभारम्भ हुन्छन्। विश्वभरको निम्ति शान्ति, समृद्धि, आरोग्यताको सर्वदा कामना गरिरहने हामी बुद्धका भाइबहिनीहरू कसरी बलेको बत्ती निभाएर उत्सवमा उल्लसित बन्न सक्छौ र?
आज २६ डिसेम्बर हाम्री छोरी सम्राज्ञीको जन्मदिन हो। उनीलगायत आज जन्मदिन हुने सबैमा हार्दिक मंगलमय शुभकामना। नवग्रहहरू दाहिना रहून्। चन्द्रमाकी देवी आर्टेमिसले मनका शुभसङ्कल्पहरू पूरा गरुन्। सबैको जीवन ज्योतिर्मय होस्।

२६ डिसेम्बर २०१२, लण्डन

LEAVE A REPLY