संसदको बुधबारको बैठक पनि अवरुद्ध बैठक भाेली दिउँसो १ बजेसम्मलाई स्थगित

0
229

पुस १३, २०७३- संसदको बुधबारको बैठक पनि प्रतिपक्षी दलहरुले अवरुद्ध पारेका छन् ।

Advertisements

संविधान संशोधन विधेयक फिर्ता वा स्थगनको माग गर्दै एमालेसहितका प्रतिपक्षमा रहेका दलहरुले सदन चल्न नदिएका हुन् । बैठकको सुरुमा बोल्दै नेपाल परिवार दलका सांसद एकनाथ ढकालले संशोधन विधेयक गैरसंवैधानिक, राष्ट्रियता विपरीत अदृश्य शक्तिको बलमा ल्याइएको आरोप लगाउँदै फिर्ता नलिइञ्जेलसम्म सदन चल्न नदिने बताए ।

सांसद ढकालले चुनावको मिति घोषणामा भइरहेको ढिलाइप्रति पनि असन्तुष्टि पाेखेका थिए । उनले भनाइ राखिसकेपछि एमालेसहितका विपक्षमा रहेका दलका सांसदहरु अा-आफ्नो ठाउँमा उभिए ।

सभामुख ओनसरी घर्तीमगरले पटक पटक आसन ग्रहणका लागि आग्रह गरिन् । उनले दलहरुबीच सहमतिको लागि आफूले समय दिएको स्मरण गरिन् । संशाेधन विधेयकको कार्यसूचि अगाडि बढाउन अनुरोध गर्दै सभामुख घर्तीले विधेयक पारित वा अस्वीकार गर्ने अधिकार भएको पनि बताइन् । तर, पनि विपक्षी दलका सांसदहरुले आफ्नाे अाग्रह नमाने पछि सभामुख घर्तीले भाेलि बिहीबार १ बजेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरिन् ।

मंसिर १६ गते यताका प्राय: सबै बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गर्दै आएका छन् । तर, हिजो मंगलबार भने पूर्वसांसद बुद्धरत्न मानन्धरको निधनमा शोक प्रस्ताव पारित गर्नका लागि बोलाइएको संसद बैठक विपक्षी दलहरुले चल्न दिएका थिए ।

मधेसी मोर्चाको माग पूरा गर्न भन्दै सरकारले सदनमा प्रस्तुत गरेको संशोधन विधेयक फिर्ता नगरेसम्म बैठक चल्न नदिने अडानमा विपक्षी दलहरु छन् । सत्ता पक्षले भने प्रक्रियामा सहमति जनाएर विधेयक फेल गराउन चुनौती दिएको छ ।

LEAVE A REPLY