बालकोट बोलाएर देउवालाई ओलीको प्रधानमन्त्री प्रस्ताव, नयाँ गठबन्धनबारे देउवाले के भने ?

0
202

काठमाडौं, १३ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कांग्रेस नेतृ एवम् सांसद डा. आरजु राणा देउवालार्य एमाले अध्यक्ष केपी शर्मा ओलीले रात्रिभोज दिएर परामर्श गरेका छन् ।

Advertisements

गत सोमबार ओलीको बालकोटस्थित निवासमा दिइएको भोजसहितको संवाद राजनीतिक दृष्टिले अर्थपूर्ण रहेको छ । प्रधानमन्त्री प्रचण्डलाई हरतरहले असफल प्रमाणित गर्न गर्न सक्रिय ओली र प्रचण्डपछि प्रधानमन्त्री बन्ने प्रतिक्षामा रहेका कांग्रेस सभापति देउवाबीचको भेटवार्तालाई अर्थपूर्ण मान्नुपर्ने विभिन्न कारण रहेको विश्लेषकहरुको भनाई छ ।

रात्रिभोजका अवसरमा संविधान संशोधनका विषयमा छलफल हुन दिनु उचित हुने विचार सभापति देउवाले प्रकट गर्दा अध्यक्ष ओलीले संशोधन प्रस्ताव वास्तवमै राष्ट्रघाती र असंवैधानिक भएकोले फिर्ता लिनुको विकल्प नरहेको धारणा दोहोर्याएका थिए । जुन विषयमा छलफल गर्नुको कुनै अर्थ छैन त्यस विषयमा बहस गर्नु व्यर्थ हुन्छ भन्ने जवाफ ओलीले दिएपछि देउवाले मधेसी मोर्चालाई कसरी मिलाउने त भनी जिज्ञासा प्रकट गरेका थिए ।

चुनावको मिति घोषणा गरौं, त्यसपछि सबै ठीक हुँदै जान्छ भन्ने जवाफ ओलीले दिएको र त्यसमा देउवाले सहमति जनाएको बताइन्छ । सम्बद्ध सुत्रले जनाएअनुसार सो रात्रिभोजमा प्रचण्ड नेतृत्वलाई विस्थापित गर्नुपर्ने धारणा ओलीले प्रकट गरेका थिए । ‘प्रचण्डले सत्ता नछोड्ने र तपाईंलाई आगामी चैतपछि सत्ता हस्तान्तरण गर्ने कुरामा मलाई विश्वास छैन भन्दै ओलीले कांग्रेस एमाले मिलेर सरकार बनाउन देउवासमक्ष प्रस्ताव राखेको समाचार सुत्रको दावी छ ।

ओलीले आफू प्रचण्डलाई प्रधानमन्त्री बन्न दिने पक्षमा नरहेको र पाँच महिनाअघि नै देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव राखिएको स्मरण गराउँदै अहिले पनि प्रचण्डलाई हटाएर तपाई (देउवा) लाई प्रधानमन्त्रीमा समर्थन गर्न तयार रहेको बताएका थिए ।

उनीहरुबीच प्रचण्डलाई हटाउने र नयाँ सरकार गठनबारे छलफल भए पनि त्यस विषयमा ठोस निर्णय नभएको बताइन्छ । तर, यस विषयमा छलफल जारी राख्ने सहमति भने उनीहरुबीच भएको समाचार सूत्रको भनाई छ ।

रात्रिभोजमा लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगका विषयमा पनि चर्चा भएको र दुवै नेताहरु अदालतको फैसलापछि मात्र यस विषयमा संसदीय कारवाहीमा अघि बढाउनु उचित हुनेमा एकमत भएका छन् । अदालतले कार्कीका विरुद्ध फैसला गर्छ भन्ने विश्वास पनि नेताहरुले त्यस अवसरमा प्रकट गरेको समाचार स्रोतको दावी छ । घटना र विचार साप्ताहिकमा खबर छ

LEAVE A REPLY