के हो फोरजी ? कसरी चलाउन सकिन्छ ?

0
197

पुस १७, २०७३- नेपाल टेलिकमले आइतबारदेखि पोस्टपेड मोबाइलमा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) सुरु गरेको छ । फोरजीलाई ‘लङ टर्म इभोलुसन (एलटीई)’ समेत भनिन्छ । फोरजी सुरु भएपछि धेरैलाई यो सेवा के हो ? कसरी चलाउन सकिन्छ ? भन्ने लागेको छ । हामीले यहा फोरजी बारे केही प्राविधिक जानकारी राखेका छौ ।

Advertisements

के हो फोरजी

फोरजी भनेको ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात चौथो पुस्ताको ताररहितको सक्षिप्त रुप हो । यसलाई मोबाइल ब्रोडब्यान्ड (उच्च गतिको इन्टरनेट सहितको मोबाइल) सेवा मानिन्छ । प्रविधि क्षेत्रमा एकदमै तिव्र अन्वेषण र विकास भइरहेकाले नेपालमा फोरजी सुरु हुदा विकसित मुलुकमा भने यो भन्दा पनि आधुनिक पाचौ पुस्ता (फाइभ जी) को अन्वेषण सुरु भइसकेको छ । फोरजीले तेस्रो पुस्ता (थ्रिजी) सेवालाई विस्थापित गर्छ ।

फोरजी अपलिंक र डाउनलिंक गरि दुई जोडीमा वितरण हुने फ्रिक्वेन्सी (जसलाई संक्षिप्त प्राविधिक भाषामा ‘ओएफडिएम’ भनिन्छ), समयलाई विभाजन गरि वितरण हुने फ्रिक्वेन्सी (जसलाई संक्षिप्त प्राविधिक भाषामा ‘टिडिएमए’ भनिन्छ) र बहु संकेतलाई एकिकृत गरि वितरण हुने फ्रिक्वेन्सी (जसलाई संक्षिप्त प्राविधिक भाषामा ‘सिडिएमए’ भनिन्छ) प्रणालीमा चल्छ । यसको अर्थ हुन्छ, हामीले अहिले चलाइरहेको नेपाल टेलिकमको जिएसएम सिमकार्डमा फोरजी चल्छ । टेलिकमकै स्काई सिमकार्डमा समेत कम्पनीले चाहेमा फोरजी चलाउन सक्छ । टेलिकमले अहिले जिएसएममा मात्र यो सेवा सुरु गरेको हो ।

दूरसञ्चार सेवाको मापदण्ड बनाउने र व्यवस्थित गर्ने निकाय अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियू) ले फोरजीका लागि मापदण्ड तोकेको छ । आइटियूको मापदण्ड अनुसार, मोबाइलमार्फत दिइने १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबिपिएस) गतिको इन्टरनेट सहितको सेवालाई फोरजी भनिन्छ । तर, धेरै मुलुकका कम्पनीहरुले यो गतिको मोबाइल इन्टरनेट नचलाई आफ्नो सेवालाई फोरजीकोरुपमा प्रचार गरिरहेका छन् । छिमेकी मुलुक भारतमा समेत कम्पनीहरुले ४० मेगाबिट्स प्रतिसेकेन्ड (एमबिपिएस) गतिलाई फोरजीको वर्गमा राखेका छन् ।

आइटियूको मापदण्डलाई वेवास्ता गरेपनि फोरजीको गति थ्रिजीको तुलनामा भने निक्कै नै बढी हुने गर्छ । थ्रिजी सेवामा उपभेक्ताले जम्मा ३ देखि ४ मेगाबिट्स प्रतिसेकेन्ड (एमबिपिएस) गतिको मात्र इन्टरनेट चलाउन पाइरहेका छन् । नेपालमा टेलिकमले सुरु गरेको फोरजी सेवाको गति भने ३२ दशमलव ४ एमबिपिएस हो ।

उपभोक्तालाई के फाइदा हुन्छ ?

फोरजीमा उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउने छन् । यसले गर्दा थ्रिजीका लागि तिरिरहेको भन्दा बढी खर्च त लाग्ने नै छ । उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजीका उपभोक्ताले अहिले भन्दा सजिलो गरि भिडियो कल र च्याट गर्न सक्छन् । त्यत्ति मात्र होइन, फोरजीमा इन्टरनेटमा आधारित टेलिफोमा पाइने सेवाहरु पाइने छ । त्यस्तै उच्च गुणस्तीय भिडियो सहितको मोबाइल टेलिभिजन समेत हेर्न मिल्छ । यसबाट भिडियो कन्फेरेन्स गर्न सजिलो हुन्छ । फोरजी प्रविधिले मोबाइलमै थ्रिडी भिडियो समेत हेर्ने सुविधा दिन्छ ।

फोरजीका उपभोक्ताले आफ्नो स्मार्टफोनमा यो सेवा सुरु गर्दैमा सबै सुविधा पाउछन् भन्ने भने हुँदैन । स्मार्टफोनको गुणस्तर र त्यसले सर्पोट गर्ने प्रविधिका आधारमा उपभोक्ता पाउने सुविधा खुम्चिन सक्नेछ । धेरै नेपाली उपभोक्ताले स्मार्टफोनका पुराना मोडेल  र फिचर्स फोन चलाउने भएकाले फोरजीको सुविधाबाट बन्चित हुनुपर्ने हुनसक्छ । अहिले भने धेरै आयातकर्ताले फोरजी समेत चल्ने मोबाइल सेट भित्र्याउन थालेका छन् ।

कहाँकहाँ चल्छ
नेपाल टेलिकमले हाललाई काठमाडौं उपत्यका र पोखराबाट यो सेवा सुरु गरेको छ । काठमाडौंको चक्रपथ भित्र, ललितपुर र भक्तपुरमा यो सेवा चल्छ । पोखराको लेकसाइड, न्युरोडलगायतका बजार क्षेत्रमा पनि यो सेवा चलाउन सकिन्छ ।

कुन मोबाइल सेटमा चल्छ ?
तपाईको मोबाइल सेट फोरजी चल्ने हुन पनि सक्छ नहुन पनि सक्छ । त्यसका लागि तपाई आफ्नो मोबाइल सेटको नेटवर्क सेटिङमा गई कुन प्रविधिमा चल्छ भन्ने हेर्न सक्नुहुन्छ । तपाइको सेटिङमा फोरजी वा एलटिई भन्ने ‘अप्सन’ भएमा मात्र यो सेवा चल्छ । यस बाहेक आइफोन सिक्स, सिक्स एस, सेभेन र सेभेन प्लसमा यो सेवा हाललाई चल्दैन । एप्पलले यी मोडलमा पनि चल्ने बनाइदिने प्रतिबद्धता जनाइसकेकाले चाडै नै चल्ने टेलिकमले जनाएको छ । यसका अतिरिक्त तपाईको मोबाइल सेटले १ हजार ८ सय ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट नगर्ने रहेछ भने पनि फोरजी नचल्न सक्छ । त्यसका लागि भने मोबाइल किन्दा तपाईलाई दिएको विवरण पुस्तिका हेर्नुहोस् ।

कसरी सेवा लिने ?
फोरजी सबै सिमकार्डमा चल्दैन । त्यसका लागि युनिभर्सल सिमकार्ड हुन जरुरी छ । त्यो थाहा पाउन तपाईले आफ्नो मोबाइलबाट *444#  डायल गरेर कल गर्नुपर्नेछ । यसरी कल गरेपछि तपाईलाई फोरजी एक्टिभ गर्ने तरिका सहितको एसएमएस आउनेछ । त्यसैका आधारमा तपाई फोरजी सेवा सुरु गर्न सक्नुहुन्छ । कल गर्दा तपाईको सिमकार्डले फोरजी सर्पोट नगर्ने भएमा पनि त्यसको जानकारी आउनेछ । फोरजी चल्ने सिमकार्ड भने तपाईले ५० रुपैयाँ तिरेर टेलिकमको काउन्टरबाट लिनुपर्ने हुन्छ ।

कहाँकहाँ पाइन्छ फोरजी सिमकार्ड ?

काठमाडौंका चावहिल, हात्तिगौडा, गोंगबु, सुन्धारा, छाउनी, बबरमहल, जावलाखेल, साझा भवन, ठिमी, भक्तपुर र पोखरा महेन्द्रपुलमा रहेका टेलिकमका कार्यालयबाट फोरजी सिमकार्ड पाउन सकिन्छ ।

महसुल कति लाग्छ ?
टेलिकमले जनवरी महिनाभर पोस्टपेड ग्राहकका लागि ४ जिबी डाटा सित्तैमा दिएको छ । यो डाटा प्याकेज तपाई जुनसुकै बेला लिन सक्नुहुन्छ । जनवरी महिनाभर पाइने भएपनि एउटा ग्राहकले एक पटक मात्र यो सेवा लिन सक्नेछन् । सित्तैमा पाउने बाहेक तपाईले थ्रिजी र टुजीकै डाटा प्याकेजमा फोरजी चलाउन सक्नुहुन्छ । प्याकेज बिना चलाउनेले भने प्रति एमबी कर बाहेक १ रुपैयाँ तिर्नुपर्छ । टेलिकमको डाटा प्याकेज तपाई यहा (https://www.ntc.net.np/tariff/datapkgs.php) हेर्न सक्नुहुन्छ ।

पहिलेको डाटा प्याकेज के हुन्छ ?
तपाईले थ्रिजी वा टुजीको डाटा प्याकेज चलाइरहनु भएको भए, फोरजी सुरु भएपछि कभरेज भएको क्षेत्रमा फोरजीको गति पाउनु हुनेछ । यसका लागि फोरजी भने तपाईले एक्टिभेट गर्नुपर्ने हुन्छ । यसको अवधि भने पहिले एक्टिभ गरेको प्याकेज अनुसारकै हुनेछ ।

LEAVE A REPLY