दरवार हत्याकाण्डका घाइतेको उपचारमा संलग्न सेनाका यी डाक्टर

0
219

‘स्वास्थ खबरपत्रीका मा प्रकाशित

Advertisements

नेपाली सेनासँग डा. बच्चुराम केसीको पाँच पुस्ता जोडिएको छ । उनको सेनासँगको नाता परिवार जत्तिकै गहिरो छ । उनीभन्दा अघिका तीन पुस्ताले विशुद्ध सैनिकका रुपमा नेपाली सेनालाई योगदान दियो । उनी र उनका कान्छा छोरा विराज केसी भने चिकित्सकको हैसियतमा नेपाली सेनाको छातामुनि छन् । नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेसका कार्यकारी निर्देशक डा. केसीले नेपाली सेनामा रहेर सेवा गरेको ३४ वर्ष नाघिसक्यो । हाडजोर्नी विशेषज्ञ डा. केसीले सेनाद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पतालमा लामो समय बिताए । त्यहाँबाट २०७० सालमा उनी रिटायर्ड भएका हुन् । उनी अस्पतालको कमान्डेन्ट (प्रमुख) सम्म भए । सेनाको ओहदामा उपरथी । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को स्थापनाकालदेखिकै एसोसिएट प्रोफेसर पनि हुन् ।

डाक्टर बन्ने प्रेरणा

२०१४ साल भदौ ८ गते काभ्रे पनौतीको गैरीगाउँमा जन्मे–हुर्केका हुन् डा. केसी । उनले गाउँमा एमबिबिएस पास गरेका कोही डाक्टर भेटेनन् । बरु औषधी पसलेलाई ‘डाक्टरसाहेब’ भनेर सम्मान दिएको सुने । यो २०२९ सालतिरको कुरा हो । उनले सोधखोज गर्दै जाँदा नेपालमा डाक्टरको कमी रहेको र औषधी पसले वास्तविक डाक्टर नभएको बुझे । उनको मनले भन्यो

डाक्टरको कमी छ नेपालमा । म डाक्टर बन्छु ।’

‘केटा हो राम्रो पढ, पछि डाक्टर बन्नुपर्छ’ भनेर बेला–बेला हौस्याउने स्कुलका हेडसरको वाक्यले पनि उनको रहरलाई मजबुत पार्दै लग्यो । उनी पढ्ने सञ्जिवनी हाई स्कुलका तत्कालीन प्रधानाध्यापक पूर्णमानसिंह बस्नेत, राम्रो पढे डाक्टर बन्छौ भनिरहन्थे । औषधी पसलेले डाक्टरको उपाधि पाउने जमानामा उनका बुबाको चाहना पनि छोरोलाई डाक्टर बनाउने थियो ।

दरबार हत्याकाण्ड भएको दिन उनी घर पुग्दा केही अबेर भएको थियो । उनी सम्झिन्छन्, ‘घर पुगेको केही समयमै हस्पिटल प्रमुखको फोन आयो । फोनमा भन्नुभयो, तुरुन्तै अस्पताल पुग्नु ।’ इमर्जेन्सी केस आयो भन्ने त उनलाई थाहा भइहाल्यो । सोधखोज गरे, ‘के पर्‍यो हजुर । अस्पतालको गाडी लिन आउँदैछ कि ?’ उताबाट आत्तिएको जस्तै गरी आवाज आयो, ‘तिमी गुडेर, उडेर वा दौडेर जे गरी आए पनि तुरुन्तै अस्पताल पुग्नुपर्‍यो ।’

उनले भने, ‘बच्चा बेलामा लिएको अठोट मजबुत हुने रहेछ, तर त्यसलाई पूरा गर्ने जमर्को पनि हुनुपर्छ र परिवारको साथ पनि । बुबाले मेरो चाहनामा सहीछाप लगाउनु भएकाले म ढुक्क थिएँ, डाक्टरी पढ्नेमा ।’ एसएलसी पास गरेपछि उनको पढाइ योजना मुताबिक त्रिचन्द्र क्याम्पसमा आइएस्सीबाट सुरु भयो । आइएस्सी डाक्टर बन्ने सपना देख्नेहरुका लागि पहिलो खुट्किलो थियो ।

आफ्ना बुबा–हजुरबुबाले नेपाली सेनामा गरेको सेवाको लाभ उनलाई मिल्यो । भारतीय सेनाले नेपाली सेनाका लागि दिने एमबिबिएस कोटामा सेनाकै छोराछोरीको खोजी भयो । भनियो, ‘जसको सन्तानले आइएस्सी पास गरेको छ । उसलाई एमबिबिएस पढ्ने अवसर छ ।’ उनका बुबाले यो सन्देश आफ्नै छोराको लागि आएको ठाने । किनकि छोराले आइएस्सी पास गरिसकेको थियो । डा. केसीका लागि इन्डिया आर्मी फोर्स मेडिकल कलेजमा छात्रवृत्तिमा एमबिबिएस पढ्ने ढोका खुल्यो । उनी पढ्नलाई भारतको पुना पुगे ।

नेपाली सेनाले अस्पताल चलाइरहेकाले पढेर आएपछि जागिरका लागि दायाँबायाँ गर्न नपाउने शर्त थियो । सेनाको छात्रवृत्तिमा पढेकाले वीरेन्द्र सैनिक अस्पतालमा सेवा दिनुपर्थ्यो। खानदान नै सेना भएकाले उनलाई झन् रमाइलो भयो । २०३४ सालमा पढ्न भारत गएका उनी २०३९ सालमा मेडिकल अफिसरका रुपमा वीरेन्द्र सैनिक अस्पताल छिरे ।

सेवाका क्रममा डा. केसी मेचीदेखि महकालीसम्म पुगेका छन् । पूर्वको झापामा बटालियन मेडिकल अफिसर बनेका उनी सुदूरपश्चिमको दिपायलमा फिल्ड हस्पिटल कमान्डर भएर पुगे ।

विशेषज्ञ बन्ने अवसर

सेनाको अस्पताल भए पनि सर्वसाधरणले समेत सेवा पाउँथे । उनले सेवा थालेका बेला अहिलेजस्तो छ्यास्छ्यास्ती अस्पताल थिएनन् । त्यसैले पनि सैनिक अस्पतालमा सर्वसाधारण उपचारका लागि पुग्थे । हाडजोर्नीको उपचार आफ्नै अस्पतालमा गराउन सेनालाई विशेषज्ञ डाक्टर चाहिएको थियो । डा. केसीलाई सुरुदेखि नै सर्जरीमा रुची थियो । उनले एमबिबिएसपछि इन्टर्नसिप नै सर्जरी विभागमा गरेका थिए । त्यही बेला जर्मनीबाट हाडजोर्नीको उपचार सम्बन्धी एउटा तालिमको अवसर आयो । सेनाले डा. केसीलाई पठाउन योग्य ठहर्‍यायो । उनले तालिम लिएर विशेषज्ञता हासिल गर्ने योजना बनाए । सोही अनुरुप उनले अर्थाेपेडिक्समा एमएस गरेका हुन् ।

हाडजोर्नी विशेषज्ञका रुपमा काम थालेको झन्डै ७ वर्ष त उनी एक्लैले सेवा दिनुपर्‍यो । उनी भन्छन्, ‘हुन त अरु पनि थिए । तर, धेरै समय मैले दिनुपर्थ्यो।’ अस्पतालको हाडजोर्नी विभाग प्रमुख भएपछि उनले हाडजोर्नीको उपचारलाई व्यवस्थित बनाउने योजना अघि सारे । सब स्पेसियालिटी अवधारणामा उनले काम सुरु गरेका थिए । जसअनुसार ढाड सम्बन्धी उपचार गर्ने छुट्टै युनिट, बालबालिकाका लागि पेडियाट्रिक अर्थाेपेडिक्स, खेलका क्रममा आउने हाडजोर्नी सम्बन्धी समस्याका लागि स्पोर्टस् मेडिसिन अर्थाेस्कोपी र जोर्नी फेर्ने अर्थाेप्लास्टी लगायतका युनिट तयार पारे । अहिले त्यही अनुसार सैनिक अस्पतालबाट विशेषज्ञ सेवा प्रवाहित हुन्छ । आफूले मिहिनेत गरेर बसाएको प्रणालीप्रति खुसी हुँदै उनले भने, ‘अर्थाेपेडिक्सका रुपमा काम गर्दा भोगेका समस्याले गर्दा मैले सिस्टम बसाउन ध्यान दिएँ । त्यसैले अस्पतालमा छुट्टाछुट्टै युनिट बनाएर व्यवस्थित उपचारको अभ्यास सुरु भयो । मैले बसाएको प्रणालीअनुसार काम भइरहेका पाउँदा अहिले खुसी लाग्छ ।’

दरवार हत्याकाण्डको त्यो रात

२०५८ साल जेठ १९ गते । दरबार हत्याकाण्डको ऐतिहासिक कुरुप घटना । यो घटनाले डा. केसीको जीवनमा पनि गहिरो छाप छोडेको छ । हत्याकाण्डमा घाइते भएकाहरुको उपचारमा उनी संलग्न थिए । तीमध्ये गोली लागेर घाइते भएका तीन जनालाई उनले तत्काल शल्यक्रिया गरी सामान्य जीवनमा फर्काएका थिए।

शुक्रबार सैनिक अस्पतालमा उनले शल्यक्रिया गर्ने दिन पथ्र्यो । बिहान ९ बजेदेखि साढे ३ बजेसम्म उनी शल्यक्रियामा खटिन्थे । त्यहाँ काम सकेपछि उनी बेलुकाको समयमा अर्को अस्पतालमा सेवा दिन्थे । दरबार हत्याकाण्ड भएको दिन उनी घर पुग्दा केही अबेर भएको थियो । उनी सम्झिन्छन्, ‘घर पुगेको केही समयमै हस्पिटल प्रमुखको फोन आयो । फोनमा भन्नुभयो, तुरुन्तै अस्पताल पुग्नु।’

इमर्जेन्सी केस आयो भन्ने त उनलाई थाहा भइहाल्यो । सोधखोज गरे, ‘के पर्‍यो हजुर । अस्पतालको गाडी लिन आउँदैछ कि ?’ उताबाट आत्तिएको जस्तै गरी आवाज आयो, ‘तिमी गुडेर, उडेर वा दौडेर जे गरी आए पनि तुरुन्तै अस्पताल पुग्नुपर्‍यो ।’

उनलाई लाग्यो, घटना ठूलै रहेछ । उनी गाडीको इमर्जेन्सी लाइट बालेर तीव्र गतिमा बानेश्वरबाट सैनिक अस्पताल पुगे । अस्पताल पुगेर घटना विवरण सुन्दा उनलाई सपनाझैँ लाग्यो । अस्पताल पुर्‍याइएका मध्ये धेरैको ज्यान गइसकेको थियो । केही घाइते थिए, तीमध्ये तीनजनाको शल्यक्रिया गरे । उनले राति साढे ३ बजेसम्म अप्रेसन गरेका थिए । उनले भने, ‘मैले अप्रेसन गरेका तीनैजना पूर्ण रुपमा निको हुनुभयो । सबैलाई गोली लागेको थियो । अहिले पुरानै अवस्थामा जीवन बिताइरहनु भएको छ ।’

अरुको ज्यान जोगाउँदा आफू जोखिममा

डाक्टरी जीवनमा उनले कति जनाको ज्यान जोगाए, त्यसको हिसाब निकाल्न जरुरी ठान्दैनन् उनी । उनले त्यसलाई आफ्नो कर्तव्यसँग जोडेका छन् ।
कतिपय समय उनले आफ्नै ज्यान जोखिममा राखेर पनि सेवा दिएका छन् । जहाँ जरुरी पर्‍यो त्यहाँ खटाउँदा उनी हाँसीखुसी पुग्थे । २०५२ सालमा बागमतिको बाढीले रौतहटमा वितण्डा मच्चाउँदा होस् कि शान्ति सेनामा रहेका नेपाली सेनाको उपचारमा खट्दा होस् । बागमतीको बाढीले रौतहटका गाँउ डुबाउँदा उनी दुई महिना क्याम्प खडा गरेर उपचारमा खटिए । यसैगरी, युद्धरत देशमा खटिएका शान्ति सेनाको उपचारमा उनी तीन पटक विदेश गए । दुईपटक लेबनान र एकपटक इराक ।

सन् १९९३ तिर इराकमा हुँदाको एउटा घटना उनको दिमागमा सचित्र आयो । ‘अलिकति होसियारी अपनाउँदा ज्यान जोगिएको थियो,’ उनले त्यो घटना सुनाए, ‘अस्ट्रेलियन कन्टिन्जेन्ट १० वर्ष पूरा गरेर घर फर्किरहेको थियो । बाटोमा विद्रोहीको एम्बुसमा पर्‍यो । खबर पाउना साथ हाम्रो टोली उद्धार गर्न खटियो ।’

उनले घटनाको थप विवरण सुनाए, ‘घाइतेलाई उद्धार गरेर पहिले त्यहाँको स्थानीय अस्पतालमा पु¥याइयो । त्यहाँ उपचार हुन नसक्ने घाइतेका लागि हेलिकोप्टर मगाइयो । हेलिप्याड र अस्पतालबीच थोरै दूरी थियो । मेरो काम घाइतेलाई एम्बुलेन्समा राखेर हेलिप्याडसम्म पुर्‍याउने थियो । पहिलो घाइते पु¥याएर फर्किँदा सामान्य नै थियो । तर दोस्रो घाइते पुर्‍याउँदा विद्रोहीको पक्षमा रहेका स्थानीयले हेलिप्याड घेरिसकेका थिए । घाइतेलाई हेलिकोप्टरमा राखेर फर्किंदा हामी स्थानीयको घेरामा पर्‍यौँ । एकैछिनपछि हाम्रो एम्बुलेन्स सहितका गाडीमा ढुंगामुडा बर्सियो । भीडमा भाग्ने कुरा पनि थिए । एक मनले त लाग्यो अब यहीँ सिध्याउने भए । तर हाम्रो दिन बलियो, कसोकसो भीड पन्छाएर हामी फुत्कियौं । उनीहरुको निशानामा एम्बुलेन्स र गाडी पर्‍यो ।’ उनी सम्झिन्छन्, ‘भीडबाट निस्केर सुरक्षित ठाउँमा पुगेपछि हेर्दा हाम्रो एम्बुलेन्सको एउटा पनि सिसा सद्दे थिएन । त्यसरी निस्केर नहिँडेको भए हामीमाथि स्थानीयको आक्रमण बढ्ने पक्का थियो ।’

जीवनका महत्वपूर्ण पाँच वर्ष

डा. केसीले सैनिक सेवाबाट तीन वर्षअघि सेवानिवृत्त भए पनि सेनाले नै सञ्चालन गरिरहेको चिकित्साशास्त्र अध्ययन महाविद्यालयको जिम्मेवारी सम्हालेका छन् । आफ्नो सीप हस्तान्तरण गर्ने काममा निरन्तर लागिरहेका छन् । उपचार सेवा पनि दिइरहेकै छन् ।

सैनिक अस्पतालको प्रमुख भएर २०७० साल चैत २७ गते सेवानिवृत्त भएका उनी रिटायर्ड लाइफ चुपचाप बिताउने मुडमा थिएनन् । हुन पनि ६ दशक उमेरको हाराहारीमा पुगेका डा. केसी अझै चुस्त दुरुस्त छन् । उनी रिटायर्ड भएपछि आफूले हासिल गरेका ज्ञानसीप अरुलाई बाँड्ने चरणमा छन् अहिले ।

तीन दशक बढी सेवा जीवनबाट उनले गौरव गर्न लायक ५ वर्ष निकालेका छन् । त्यो समय हो, २०५८ सालदेखि २०६३ सम्मको । जुनबेला उनी दिनरात जस्तो अस्पतालमा बिताउँथे । त्यो समयमा तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । तत्कालीन शाही नेपाली सेना माओवादीविरुद्ध कारबाही अभियानमा २०५४ सालदेखि संलग्न थियो । भीडन्तमा घाइते भएर वा एम्बुसमा परेर उपचारका लागि ल्याइने सेना र सर्वसाधरणको घुइँचो हुन्थ्यो, वीरेन्द्र सैनिक अस्पतालमा । उनीहरुलाई जीवन दान दिन, अझ हातखुट्टा केही गुम्न नदिई उपचार सफल पार्न उनी निरन्तर खटिरहेका हुन्थे । ‘त्यो मेरो जीवनकै उत्कृष्ट समय हो । आफूलाई धेरैको सेवामा लगाउन पाएँ । उक्त अवसर पाएकोमा गर्व गर्छु,’ डा. केसीले द्वन्द्वको घाउमा मल्ह्म लगाउन पाउँदाको सन्तोष व्यक्त गरे ।

पुनर्स्थापना केन्द्रको स्थापना

सशस्त्र द्वन्द्वका क्रममा धेरैको ज्यान गयो । त्योभन्दा धेरै घाइते भए । डा. केसी जस्ता चिकित्सकहरुको अहोरात्र खटाइले घाइतेमध्ये धेरै सहज जीवनमा फर्किए तर केही अंगभंग भएर बस्नुपर्ने वाध्यतामा पुगे । कतिले प्यारालाइसिस ब्यहोर्नुपर्‍यो ।

यो स्थितिले डा. केसीको मन पोल्यो । उनलाई पुनस्र्थापना केन्द्र खोलेर घाइतेहरुको जीवनयापनमा सहजीकरण गर्ने योजना सुझ्यो । नेपाली सेनामा पुनर्स्थापना केन्द्रको स्थापनाका लागि उनले प्रस्ताव लगे । प्रस्ताव पास भयो । त्यसपछि खुल्यो नेपाली सेनाको पुनस्र्थापना केन्द्र । जुन अहिले सेनाको मेडिकल कलेजसँगै छ ।

जहाँ विभिन्न कारणले शरीरका अंग गुमाएका वा प्यारालाइसिस भएकाहरुलाई पुनः स्थापित हुन सघाइन्छ । त्यहाँ हातखुट्टा गुमाएकालाई कृत्रिम हातखुट्टा दिने र प्रयोग गर्न सिकाउने, पक्षघात भएकालाई फिजियोथेरापी लगायतका सेवा दिने गरिएको छ । यति मात्रै होइन, पुनर्स्थापना केन्द्रमा कृत्रिम हातखुट्टा बनाएर आवश्यक पर्नेहरुलाई दिने गरिन्छ । यसका लागि आइसिआरसी नामक संस्थाले सघाएको छ ।

पुनस्र्थापना केन्द्रको उनले ६ वर्ष नेतृत्व गरे । उनले सो केन्द्रमा पुनः स्थापित हुन सघाएकाहरु अहिले पारा ओलम्पिकमा राम्रो प्रगति गरिरहेका छन् । उनी भन्छन्, ‘निको भएकाहरु र फरक क्षमता प्रस्तुत गरिरहेकाहरु देख्दा गर्व लाग्छ । जीवनमा यो पनि एउटा पुण्यको काम गरियो ।’
वीरेन्द्र सैनिक अस्पतालको कमान्डेन्टको जिम्मेवारी सम्हाल्नु परेपछि उनले केन्द्र छाडेका थिए । तर, यसलाई थप प्रभावकारी बनाउने र विस्तार गर्ने सपना उनीसँग बाँकी छ । भन्छन्, ‘राष्ट्रियस्तरको पुनर्स्थापना केन्द्र बनाउने लक्ष्य हो मेरो ।’

सेवापछि शिक्षामा

डा. केसीको जीवन चिकित्सा पेसामै समर्पित भयो । सैनिक अस्पतालको प्रमुख भएर २०७० साल चैत २७ गते सेवानिवृत्त भएका उनी रिटायर्ड लाइफ चुपचाप बिताउने मुडमा थिएनन् । हुन पनि ६ दशक उमेरको हाराहारीमा पुगेका डा. केसी अझै चुस्त दुरुस्त छन् । उनी रिटायर्ड भएपछि आफूले हासिल गरेका ज्ञानसीप अरुलाई बाँड्ने चरणमा छन् अहिले ।

नेपाली सेनाले चलाइरहेको शिक्षण अस्पतालको स्थापनामा उनी सहभागी भए । उनले स्थापनाकालदेखि नै हाडजोर्नी विभाग प्रमुखको जिम्मेवारी सम्हाले। चिकित्सा सेवासँगसँगै उनले प्राध्यापन पनि छाडेका थिएनन् । जुन अनुभव सेनाको शिक्षण अस्पतालमा उनले खन्याइरहेका छन् । २०७३ साल भदौदेखि नेपाली सेनाको शिक्षण अस्पतालको कार्यकारी निर्देशक बनेका डा. केसी अबको समय चिकित्सा शिक्षालाई योगदान गर्न प्रतिबद्ध छन् । उनको सपना छ, शिक्षण अस्पताललाई मेडिकल शिक्षामा अब्बल साबित गर्ने । जसका लागि उनी रातदिन नभनी खटिरहेकै छन् ।

LEAVE A REPLY