लोकमान जानुपर्छ, जाउन् तर, नेताहरुको सूची लावारिस नहुन

0
227

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदमा महाअभियोग प्रस्ताव हुनु अघि अख्तियार प्रमुख लोकमान सिंह कार्कीले छानविनका लागि सार्वजनिक गर्न लागेको भनिएको नेताहरुको सूची लावारिस हुन नहुने बताएका छन् ।

Advertisements

साथै उनले एमाले र माओवादीले राति १० बजे महाअभियोग दर्ता गर्नुको कारण खुलाउनु पर्ने बताए ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस नेता कोइरालाले भने, ‘नभए अख्तियारले कसरी काम गर्न सक्छ ? हामी जस्ता (नेताहरु)लाई न अख्तियारले छुन्छ, न अरु कुनै निकायले ।’

उनले अघि भने, ‘हामीहरु त झन् अराजक भएर जान्छौं ।’

उनले लोकमानले सार्वजनिक गर्न लागेको भनिएको सूचीमा तीनै दलका नेताहरुको नाम रहेको दाबी गरे ।

‘लोकमान जानुपर्छ, जाउन् तर, त्यो प्रकरणमा राति १० बजे संसद खुलाएर दर्ता गरिएको छ, केही व्यक्तिहरुको नाम सार्वजनिक गर्न खोजेको थियो लोकमानले भन्ने आइरहेको छ,’ उनले भने, ‘म त चाहन्छु मेरो नाम परोस् । परेको छ भने म फेस गर्छु । तर, अख्तियार प्रमुखसँग डराएर भाग्नु हुँदैन । ती नाम लावारिस नहुन् भन्ने मेरो चाहना हो ।’

उनले अघि भने, ‘त्यसमा एमालेका पनि छन्, माओवादीका पनि छन्, कांग्रेसका पनि छन् ।’

कांग्रेस नेता कोइरालाले एमालेलाई उपेक्षा गरेर संविधान कार्यान्वयन हुन नसक्ने बताए । हिनो संविधान निर्माणका बेला मधेसवादी दललाई उपेक्षा गर्ने गल्ती गर्दा अहिलेको अवस्था आएको भन्दै उनले एमालेलाई उपेक्षा गर्दा अर्को समस्या आउने दाबी गरे ।

LEAVE A REPLY